पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण गर्ने दुई जना पक्राउ

झापा,६ माघ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका ११ का ४९ वर्षीय भक्तबहादुर कटुवाल र कनकाई नगरपालिका ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठ रहेका छन् । उनीमाथि शनिबार साँझ कनकाई नगरपालिकाको जुकेखाडी स्थित पूर्वपश्चिम राजमार्गमा आक्रमण भएको हो ।
विद्युत प्राधिकरण सुरुङ्गाका कर्मचारी चढेको बा.१ झ १८७० नम्बरको गाडीलाई थापा चढेको बा १ झ ६५३ नम्बरकोगाडीले ओभरटेक गर्न खोजेपछि विवाद भएको थियो । थापाको सुरक्षामा खटिएका सुरक्षाकर्मीले ‘भीआईपी’ भनेर जानकारी गराउँदै गर्दा एक युवकले मुक्का प्रहार गरेका थिए ।
आक्रमणबाट थापा घाइते हुनुहभएको छ। उनको आँखामा चोट लागेको छ । उहाँको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको वार्षिक साधारणसभाबाट फर्कंदै गर्दा उनीमाथि आक्रमण भएको थियो ।
नेपाली कांग्रेस झापाले घटनाको निन्दा र भत्सर्ना गरेको छ । नेपाली कांग्रेस झापा सचिव नवीन विमलीले सांघातिक आक्रमण गर्ने कटुवाल र श्रेष्ठलाई कानुनी कारबाहीको माग गरेका छन् ।
पक्राउ परेका दुई जनालाई इप्रका बिर्तामोडमा राखिएको छ ।