महिला यू-१९ विश्वकप : दोस्रो अभ्यास खेलमा अमेरिकासँग हार्‍यो नेपाल

द एभरेष्ट पोष्ट
२ माघ २०८१ १६:४२
महिला यू-१९ विश्वकप : दोस्रो अभ्यास खेलमा अमेरिकासँग हार्‍यो नेपाल

काठमाडौँ : आईसीसी यू–१९ महिला टी–२० विश्वकपका लागि मलेशियामा रहेको नेपाली महिला यू-१९ टोली दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ।

मलेशियाको रोयल सेलान्गोर क्लबमा आज भएको दोस्रो खेलमा नेपाल अमेरिकासँग ५ विकेटले पराजित भएको हो।

जितका लागि नेपालले पहिले ब्याटिङ गर्दै दिएको ५९ रनको झिनो लक्ष्य अमेरिकाले १४ ओभरमा ५ विकेटमात्र गुमाएर पूरा गरेको थियो।

अमेरिकाका लागि इसानी वाघेलाले सर्वाधिक २४ रन बनाइन् भने पूजा शाहले १० रन बनाइन्।

नेपालका लागि रिया शर्माले ३ विकेट लिइन् भने कप्तान पूजा महतोले एक विकेट खसालिन्।

अमेरिकाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ५८ रनमात्र बनाउन सक्यो।

नेपालका लागि साना प्रविनले १२ रन र कप्तान पूजा महतोले १० रन बनाउनुबाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन नसकेपछि नेपालको स्कोर प्रतिष्पर्धी हुन सकेन।

बलिङमा अमेरिकाका लागि इसानी वाघेला, पूजा शाह, ऋतु सिंह, माही माधवन, सुहानी थडानी र सानवी इम्मादीले १/१ विकेट लिए।

यसअघि सोमवार भएको पहिलो अभ्यास खेलमा पनि नेपाल वेष्ट इण्डिजसँग ९ रनले पराजित भएको थियो।

यू–१९ महिला टी–२० विश्वकप माघ ५ गतेदेखि मलेशियामा शुरु हुनेछ।

विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ। यो समूहमा अष्ट्रलिया, बंगलादेश र स्कटल्याण्ड छ।

नेपालले समूह चरणको पहिलो खेल आगामी माघ ५ गते बंगलादेशसँग खेल्दै विश्वकपको शुरुवात गर्नेछ। नेपालले दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग खेल्नेछ भने तेस्रो खेल अष्ट्रेलियासँग माघ ९ गते खेल्नेछ।

विश्वकपको समूह ‘ए’ मा आयोजक मलेशियासहित भारत, श्रीलंका र वेष्ट इण्डिज छन्।

समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन्।

समूह ‘सी’ मा न्युजिल्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाइजेरिया छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस