रवि लामिछानेलाई थुनामा पठाउन सरकारी वकिलको जोड

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउन सरकारी वकिलहरुले जोड दिएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा जारी थुनछेक बहसका क्रममा सरकारी वकिलहरुले कास्की अदालतले गरेको आदेशलाई मौन राखेर लामिछानेलाई थुनामै पठाउन माग गरेका हुन् ।
लामिछानेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले, जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालसहित ११ जनाले बहस गर्दैछन्, जसमा अहिले ५ जना सरकारी वकिलहरूले बहस सकेका छन् ।
पोखराबाट ६५ लाख धरौटीमा रिहा भएका लामिछानेविरुद्ध स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन आरोपमा मुद्दा दर्ता गरिएको छ । उक्त सहकारीबाट अपचलन भएको रकमसहित एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदाबी गरिएको छ । यस प्रकरणका दुई अभियुक्त यसअघि नै धरौटीमा छुटिसकेका छन् । मुख्य अभियुक्तमध्येका जीबी राई फरार छन् भने अर्का अभियुक्त कुमार रम्तेल कास्की कारागारमा छन् । लामिछाने र गोरखा मिडियाका सञ्चालक जीबी राईविरुद्ध ५ करोड ८ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको छ ।