६७ वर्ष पहिले हवाई सेवा शुरु भएको थियो धनगढीमा

धनगढी, २१ पुस ।
राजा महेन्द्रले वि.स.२०१४ सालमा सुदूर पश्चिम भ्रमणको ईच्छा जाहेर गरे । धनगढीमा बिमानस्थल थिएन । राजाको सवारी कसरी चलाउने ? दरबारलाई सकस भयो ।
दरवारको आँखामा सयौ बिगाहाका मालिक डिल्लीराज भण्डारीको जग्गा प¥यो । दरबारको आदेशमा भण्डारीको ३५ बिगाहा जग्गा अधिग्रहण भयो । र शुरु भयो, बिमानस्थल बनाउने कार्य । देशभरीबाट हात्तिहरु धनगढी झिकाईए ।
लडिया (गोरु गाडा) मा रातदिन त्यहाँ ढुंगा खसालियो । हात्तीलाई हिडाएर जमिन समथर बनाउन लगाईयो । दुई तलाको टर्मिनल भवन बन्यो । त्यहीमाथि टावर राखियो । केही महिनामै ५००० फिट लम्बाईको धावन मार्ग तयार भयो ।
यसरी केही महिनामा धनगढी बिमानस्थल सञ्चालनमा आयो । सडक सञ्जालमा २०५१ पछि जोडिएको सुदूरपश्चिमलाई त्यही बिमानस्थलले ६ दशकअघि काठमाण्डौंसंग जोडेको थियो । नागरिक उड्डयन प्राधिकरणको रेकर्डमा धनगढी बिमानस्थल सन १९५८ जुलाई ६ मा सञ्चालनमा आएको उल्लेख छ ।
राजा महेन्द्रको सवारीका लागि निर्माण भएको त्यही बिमानस्थलको विकसित रुप नै हालको धनगढी बिमानस्थल हो । २०३७ सालसम्म धनगढीमा सञ्चालन भएको बिमानस्थल त्यसपछि भने गेटामा सारियो । यता बिमानस्थलको जग्गा संरक्षण गर्नुको साटो बेचियो । अतिक्रमण गरियो । हालको कभर्डहलबाट सुदूरपश्चिमाञ्चल साहित्य समाजसम्मको क्षेत्रमा बिमानस्थल सञ्चालनमा थियो । जसको अहिले नामोनिशान छैन ।
राजाको सवारी हुने भएपछि केही महिनामै बिमानस्थल तयार गरिएको हो । बिमानस्थल निर्माणका लागि देशभरीबाट हात्ती ल्याइएका थिए ।
शुरुवाती वर्षहरुमा नेपाल वायु सेवा निगमको डेकोटा चल्थ्यो, पछि ट्विनेटर चल्न थाल्यो ।
धनगढी भएर काठमाण्डौं जानेहरु बडाहाकिम, अञ्चलाधिश, नेपाली सेनाका अफिसर, पञ्चायत समर्थकहरु हुन्थे, ९५ वर्षीय शिवदत्त जोशी सम्झिन्छन्, सर्वसाधारण त मुस्किलले जहाज चढथे ।
जोशीका अनुसार शुरुवाती वर्षहरुमा धनगढीबाट काठमाण्डौंसम्म जहाजको भाडा एक सय ७५ रुपैया थियो । पछि बढेर ती सय ७० रुपैया पुगेको थियो ।
धनगढीबाट उडेको जहाज नेपालगञ्जमा ईन्धन भथ्र्यो, जोशी भन्छन्, र त्यहाँबाट समेत यात्रु चढाउथ्यो । अनि काठमाण्डौंका लागि उड्थ्यो ।
क्याप्टेन बेद उप्रेतीका अनुसार धनगढी बिमानस्थल सञ्चालनमा आएको केही वर्ष धनगढीबाट नेपालगञ्ज हुदै काठमाण्डौं उड्ने गरेको भएपनि महेन्द्रनगरमा बिमानस्थल सञ्चालनमा आएपछि काठमाण्डौंबाट उडेका जहाज नेपालगञ्ज, धनगढी हुदै महेन्द्रनगर सम्म उड्थ्यो । र महेन्द्रनगरबाट यात्रु बोकेर त्यसैगरी काठमाण्डौं पुग्थ्यो ।
२०३८ साल माघ २० गते गेटा बिमानस्थलबाट दुई सय ५० रुपैयाको टिकट काटेर जहाजबाट काठमाण्डौं पुगेको अमेरिकाको मेरिल्याण्डमा रहेका दमन बिक्रम शाहको अनुभव छ । बयस्कको पाँच सय रुपैया टिकट थियो । १०वर्ष मुनीका बच्चाको आधा टिकट लाग्थ्यो, शाहले सुनाए, धनगढीबाट उडेको जहाज डोटी पुग्थ्यो । डोटीबाट नेपालगञ्ज । नेपालगञ्जमा जहाज परिवर्तन हुन्थ्यो । नेपालगञ्जबाट उडेको जहाज भैरहवा अवतरण हुन्थ्यो । र भैरहवाबाट काठमाडौं जान्थ्यो । यसरी धनगढीबाट बिहान ११ बजे उडेर साँझ ६ बजे काठमाडौं पुग्थ्यौ ।
डा. गणेश बहादुर सिंहसंग काठमाण्डौंबाट धनगढी, महेन्द्रनगर हुदै बझाङ उडेको अनुभव छ । भन्छन्, काठमाण्डौंबाट सोझै बझाङ जहाज चल्थेन । जहाज काठमाण्डौंबाट धनगढी, महेन्द्रनगर हुदै बझाङ जान्थ्यो ।
धनगढीबाट सेनाको स्काई भ्यानले पहाडी जिल्लामा चामल ढुवानी गथ्र्यो । सेनाको टोली झिसमिसेमै पहाडी जिल्लामा खाद्यान्न ढुवानीका लागि तयार भईसकेको हुन्थ्यो, उप्रेती अझै सम्झिन्छन्, हामी बिहान स्कुल जाने बेलासम्म त सेनाको स्काई भ्यान उडिसकेको हुन्थ्यो ।
पाईलटले जे गरेपनि कसैले केही भन्न सक्थेनन । बिमानस्थलको सुरक्षामा सेना खटिएको थियो । एक साँझ अचानक धनगढीको आकाशमा जहाज उड्यो । आकाशमा फन्को लगाएर एकछिन पछि बिमानस्थलमा अवतरण भयो ।
सेनाका अफिसरले सोधेछन, किन उडाएको ? पाईलटले जवाफ दिएछन्, मनलाग्यो उडाए । खासमा पाईलट बिमानस्थल छेउमा निस्किएका रहेछन् । त्यहाँ फलफुल किन्दै गर्दा छेउमा रहेकी दुई महिलाले यो प्लेनमा चढ्न पाए हुन्थ्यो भनेछन । पाईलटले केही छिनमै प्लेनमा राखेर धनगढीको आकाशमा एक फन्को लगाएर अवतरण गराएछन् । पाईलटलाई लिएर यस्ता तमाम किस्सा पाका मान्छेहरुबाट सुन्नमा आउछन् ।
दरबारले भण्डारीको जग्गा अधिग्रहण गरेपछि भण्डारीले जग्गा फिर्ता गरिदिन पटक पटक दरवारमा बिन्ति पत्र हालेका थिए रे ? तर दरवार आफैमा कानुन थियो । र संबिधान पनि । भण्डारीको आग्रह सुनुवाई भएन ।
(अमेरिकी पीसकोरको फोटो ग्यालरीबाट साभार गरिएको यो तस्वीर पीसकोर ड ह्याचले सन १९६६ मा खिचेका हुन् । )