रामदत्त जोशी : जसले बदले सामुदायीक विद्यालय प्रतिको दृष्टिकोण

दार्चुलाको सदरमुकाम खलंगा । त्यसै साँघुरो सडक । त्यसमाथि सडक नै ढाक्ने विद्यार्थीको हुल । छात्र र छात्राको संख्या उस्तै । सबै टाई, बेल्ट र जुत्ता सहित पोशाकमा छन् । हेर्दा निजी विद्यालयका विद्यार्थी जस्तै ।
ओहो ! यति विद्यार्थी कुन निजी विद्यालयका हुन, मनको प्रश्न अचानक मुखमा आयो ? संगै रहेका पत्रकार कमलराज जोशीले पलभरमै जवाफ दिए– कहाँ निजीका हुनु ? यी विद्यार्थी त सामुदायिक विद्यालयका हुन् ।
विश्वास लागेन । फेरि सोधे– साँच्चै ? हो दाई साँच्चै हुन् । कमल टसमस भएनन् । उनको जवाफ उही थियो– हो दाई ।
हाम्रो गाडी विद्यार्थीको त्यही भीड छिचोल्दै विस्तारै अघि बढिरहेको थियो । विद्यालयको गेट आयो । कमलले भने, दाई यी विद्यार्थी यही विद्यालयका हुन् । त्यो गेट महेन्द्र नमूना माविको थियो ।
गुरुजीलाई गाडी रोक्न भने । र, कमल भाईलाई अगाडी लगाएर आफू उनकै पछि पछि विद्यालय भित्र पसे ।
विद्यालय हेर्न मन लाग्यो । त्यसको अगुवाई गर्ने हेडमास्टरलाई भेट्ने ईच्छा भयो । र शिक्षकहरुले पढाउने बिधि जान्न मन लाग्यो ?
त्यस्तो के जादु छ ? कि यो विद्यालयसंग यतिधेरै विद्यार्थी भए ? मनभित्र उब्जिएको प्रश्नको जवाफ खोज्दै प्रधानअध्यापकको कार्यकक्षमा पुगे । त्यही थिए–प्रधानअध्यापक रामदत्त जोशी ।
सामुदायिक विद्यालयमा विद्यार्थीहरुको खडेरी परेका बेला । दुईरतीन वटा विद्यालय ‘मर्ज’ गर्नुपर्ने बाध्यतात्मक परिस्थिति देशभरीकै सरकारी विद्यालयको नियति बनेका बेला । कसरी महेन्द्र मावि फरक भयो ?
महाकाली किनारमा तिर्खाएका यी प्रश्नहरुको प्यास भने रामदत्त जोशीको जवाफबाट मेटिन्थ्यो । महेन्द्र मावि दार्चुलाको उत्कृष्ट सामुदायिक विद्यालय हो । असफलताको चाङमा उभिएका हजारौ सामुदायिक विद्यालयहरुका अगाडि महेन्द्र मावि सफलताको सुत्र पहिल्याउनेहरुका लागि एउटा विश्व विद्यालय हो । अझ सामुदायिक विद्यालयको पढाई त खत्तम हुन्छ भनेर आलोचना गर्नेहरुका लागि त दरो जवाफ हो, महेन्द्र मावि । कोसिस गरे असम्भव केही छैन भन्ने सन्देश पनि हो, सामुदायिक विद्यालयहरुका लागि महेन्द्र मावि ।
३६ वर्ष शिक्षण पेशामा बिताएका जोशीले २० पुस २०८१ मा अवकाश लिए । महेन्द्र माविको यो सफलतामा नेतृत्वदायी भूमिका निर्बाह गर्ने रामदत्त जोशी र उनले अपनाएको शिक्षण बिधिका विषयमा यहाँ चर्चा गर्नेछु ।
रामदत्त जोशीको जन्म र शिक्षा
बि.स. २०२१ साल कार्तिक २० गते जन्मिएका रामदत्त जोशी बीरदत्त जोशी र स्वर्गीय झिमादेवी जोशीका माईला सन्तान थिए । उनीभन्दा जेठा दाई थिए । र उनीभन्दा कान्छा एक भाई, एक बहिनी ।
उनी जन्मिएको गाउँ तत्कालीन धाप पञ्चायत – ९ पौने खोला गाउँ, जो हाल महाकाली नगरपालिका– ८ मा पर्छ, त्यहाँ न बाटोको सुबिधा थियो । न त गाडीको । सदरमुकाम खलंगा पुग्न पैदल एक दिन लाग्थ्यो ।
गाउँमा पौनेखोला प्रावि थियो । जहाँ तीन कक्षासम्म पढाई हुन्थ्यो । उनले प्रारिम्भक शिक्षा त्यहीबाट पास गरे । तीन कक्षामा पढ्दै गर्दा आमाको निधन भएपछि उनले एक वर्ष पढ्न पाएनन । एक जना दाईले उनको पढ्ने ईच्छा बुझेर पढाई छुटाउन नहुने सल्लाह दिए । त्यही कारण पढ्न पाएको उनी अहिले पनि बिर्सेका छैनन ।
थप पढ्न खलंगा जानु पर्ने भयो । खलंगामा उनका मामाको घर थियो । मामाले उनको थप पढाईको जिम्मेवारी लिए । र मामाकै घरबाट चार देखि १२ कक्षासम्मको पढाई पुरा गरे ।
महेन्द्र माविमा चार कक्षामा भर्ना भएका उनले पछाडि फर्केर कहिल्यै हेर्नु परेन । धमाधम पास भए । २०३९ सालमा उनले त्यही विद्यालयबाट एसएलसी दिए । एक वर्षपछि नतिजा आयो । परीक्षा दिने ९० जना विद्यार्थी थिए । प्रथम श्रेणीमा पास हुने दुई जना थिए । जसमध्ये उनी एक थिए । अर्का थिए, प्रेमदत्त भट्ट । जो अहिले ईञ्जिनियर छन् ।
११ र १२ कक्षाको पढाई भने सीमावर्ती भारतीय बजार धार्चुलाको गभरमेण्ट ईन्टर कलेज (जिआईसी) बाट पुरा गरे । थप पढ्ने हुटहुटीले उनलाई पु¥यायो, पिथौरागढ । त्यहीको राजकीय महाविद्यालय बेरिनागबाट बिज्ञानमा स्नातक गरे । पढ्ने उत्कण्ट चाहना यतिमै सिमित भएन । उनले ललित शिक्षा क्याम्पस पाटनबाट एक वर्षे बीएड गरे । पिथारौगढको पोष्ट ग्राजुयट कलेजबाट एमएएको अध्ययन पुरा गरे ।
शिक्षण पेशामा प्रवेश
उनी बीएस्सी पास भए । यो खवर जिल्लाभरी फैलिएको थियो । किनकी उनी बिएस्सी पास हुने दार्चुला जिल्लाकै पहिलो विद्यार्थी थिए । त्यो सुनेर उनका गुरुले पढाउन बोलाए । उनले गुरुका आग्रह टार्न सकेनन । र २०४५ सालमा मालिकार्जुन मावि धापबाट शिक्षण पेशामा प्रवेश गरे । तीन वर्ष अस्थायी शिक्षकका रुपमा पढाए । २०४८ सालमा स्थायी भए । र सरुवा भएर पुगे, आफैले अध्ययन गरेको महेन्द्र मावि । २०६६ सालमा उनी विद्यालयको सहायक प्रधानअध्यापक भए । २०७० बैशाख २४ गते प्रधानअध्यापकको जिम्मेवारी पाए ।
जोशीको बैबाहिक जीवन
बि.स. २०३७ सालको मंसिर महिनामा रामदत्त सात कक्षाको परीक्षा दिईरहेका थिए । त्यही बेला उनको बिबाहको कुरा चल्यो । उनले हुन्न भनेनन । व्यास गाँउपालिकाको तिगरमकी १४ वर्षीया जानकी जोशीसंग बिहा भयो ।
जोशी दम्पत्तीका तीन सन्तान छन् । जेठी छोरी स्टाफ नर्स छन् । माईलो छोरा ईञ्जिनियर छन् । कान्छो छोराले पुरा गरे, कृषिमा स्नातक ।
जोशीको नेतृत्वमा महेन्द्र माविको छलाङ
भनिन्छ, जित्ने मान्छे फरक काम गर्दैन । उसको काम गर्ने तरिका फरक हुन्छ । त्यही फरक तरिकाले उसले जित हात पार्छ । जोशीको हकमा पनि यही कुरा लागु भयो ।
जतिबेला उनले प्रधानअध्यापकको जिम्मेवारी पाए । त्यतिबेला महेन्द्र माविमा ११०० विद्यार्थी थिए । उनलाई ती विद्यार्थी कसरी जोगाउने भन्ने चिन्ता त छदै थियो । तिनको भविश्य कसरी सफल बनाउने चिन्ता पनि थियो ।
जहाँ ईच्छा, त्यहाँ उपाय भने झै उनले पठन पाठनमा नयाँ उपाय प्रयोग गरे । शिक्षक,विद्यार्थी र अभिभावकलाई संगै लगे । पहिले विद्यार्थी कमजोर हुनुको दोष विद्यार्थीलाई मात्र दिईन्थ्यो । शिक्षक कहाँ निर चुके ? यसको खोजी नै हुदैनथ्यो । र सन्तानलाई विद्यालय पठाए पछि त अभिभावक सम्झिन्थे, अव सबै जिम्मेवारी शिक्षकको हो ।
हरेक विषयमा विद्यार्थीहरुबीच गरिने सामूहिक छलफलले नजान्ने विद्यार्थीलाई पनि जान्ने बनायो । र विद्यार्थीहरुबीच हरेक पाठका विषयमा गरिने छलफलले कोही बोल्ने, कोही बोल्दै नबोल्ने समस्याको समाधान पनि भयो । जोशी भन्छन्, शिक्षक र प्रधानअध्यापकबीचको समन्वयले पनि पठनपाठन प्रभावकारी भयो ।
उनले विद्यार्थीको होमवर्क डायरी बनाए । हरेक विद्यार्थीले हरेक दिन, हरेक होमवर्क त्यसमा टिपोट गर्नैपर्ने । शिक्षकलाई पनि होमवर्क डायरी अनिवार्य बनाए ।
पहिले शिक्षकको कक्षामा जाने कुनै निश्चित समय र तालिका हुन्थेन । विद्यार्थीहरुको मनिटर हुन्थ्यो । तर शिक्षकको मनिटर हुने कुरै भएन । उनले प्रत्येक कक्षामा मनिटर डायरी बनाए । र संगै शिक्षक डायरी पनि । शिक्षक कतिखेर कक्षामा आए । के पढाए रु त्यसको हरेक दिनको अनुगमन गरे । कमजोरी विद्यार्थीलाई पछाडिको बेञ्चबाट अगाडिको बेञ्चमा सारेर मात्र उसले सिक्दैन । उसलाई त सिक्न प्रोत्साहित गर्नुपर्छ । विद्यार्थीहरुले शिक्षकलाई दण्ड दिने अधिकारी होईन, सिकाईको साथी ठान्नु पर्छ । तव मात्र शिक्षक र विद्यार्थीका बीचमा अन्तरसंवाद हुन्छ । र आफ्ना सन्तान प्रति अभिभावकको पनि दायित्व हुन्छ । त्यो दायित्व विद्यालय र शिक्षकसंगको संवाद र सन्तानको निगरानीबाट पुरा हुन्छ । तव मात्र विद्यार्थी सफल हुन्छ ।
विद्यार्थी संख्या बढेपछि सेक्सनहरु थपिए । सेक्सनहरु थपिएपछि सबै कक्षाकोठामा गएर अनुगमन गर्न कठिनाई हुन थाल्यो । र उनले ४२ वटालाई एकसाथ अनुगमन गर्न सीसी टीभी जडान गरे । जसको मनिटर आफ्नो कार्यकक्षामा राखे ।
अन्य सरकारी र निजी विद्यालयलाई विद्यार्थी कसरी जोगाउने चिन्ता हुन्छ । उनलाई भने नयाँ शैक्षिक सत्र शुरु भएपछि अभिभावकहरुको दवाव खेप्न समस्या हुन्छ ।
उनी प्रधानअध्यापक हुनु अघि ११०० मा थिए । उनले अवकाश लिदा विद्यार्थी संख्या दुई हजार छ सय थियो । एउटै कक्षाका छ वटा सेक्सन छन् । आठ कक्षामा पाँच वटा सेक्सन छन् । ११ कक्षामा ६ वटा सेक्सन । १२ मा पाँच वटा सेक्सन छन् ।
शिशु कक्षा र ११ कक्षामा त विद्यार्थीको चाँप थेगि नसक्नुछ । गतवर्ष ११ कक्षामा तीन सय विद्यार्थी थपिए । शिशुमा दुई सय ५० विद्यार्थी । अन्य कक्षामा पनि विद्यार्थी भर्ना गरिदिनु प¥यो भनेर त्यस्तै दवाव आउछ ।
२०७४ सालदेखि उनले अंग्रेजी माध्यमा पढाई शुरु गरे । र विद्यार्थीहरुलाई टाई, बेल्ट, जुत्ता र पोशाक अनिवार्य गरे । चर्को शुल्कका कारण निजी विद्यालयमा आफ्ना नानीहरुलाई पढाउन नपाएका अभिभावकहरुलाई आकर्षण गर्ने गजवको तरिका थियो । जसले विद्यार्थीहरुलाई पनि तान्यो ।
के निजी विद्यालयको झै देखिने पोशाक टाईबेल्ट र जुत्ताले विद्यार्थी र तिनका अभिभावकलाई तानेको हो, पंक्तिकारको प्रश्न थियो, उनले जवाफ दिए–त्यो पनि एउटा कारण हो । उनले थपे–मुख्य आकर्षण पढाईको गुणस्तर हो ।
गुणस्तर देखिने ठाउँ हो, परीक्षाको नतिजा । २०७५ मा सालमा एसएलसी परीक्षा दिने २०२ जना विद्यार्थीमा कोही पनि फेल भएनन । तीन जनाले ए प्लस ल्याए । १९ जनाले ए ग्रेड ।
विद्यार्थी बढेसंगै शिक्षक थप्नु प¥यो । उनले शिक्षक थपे । सरकारी दरबन्दी थपिएन । अहिले ५४ जना शिक्षक सहित ६६ जना कर्मचारी छन् । सरकारी दरबन्दीमा २५ जना शिक्षक कार्यरत छन् । बाँकी २७ जना निजी स्रोतमा । सरकारी आदेश छ–विद्यार्थीसंग कुनै पनि बहानामा शुल्क नलेउ ।
शुल्क नलिई विद्यालय चलाउने कसरी ? अभिभावकबाट सहयोग भनेर लिएर विद्यालय चलाएका छौ, जोशी भन्छन्, यो हाम्रो बाध्यता हो ।
नतिजा मात्र खोज्ने सरकारी संयन्त्रले यो बाध्यता बुझि दिए कति सहज हुन्थ्यो ? भन्छन्, यो ओपन सेक्रेट बाध्यता सरकारी आँखामा परिदिए दरबन्दी थपिन्थ्यो कि ?
प्लस टुमा विज्ञान, शिक्षा, व्यवस्थापन संकाय पढाई हुन्थ्यो । उनले २०७५ सालमा डिप्लोमा ईन सिभिल ईञ्जिनियरिङको पढाई पनि शुरु गरे । भन्छन्, प्राबिधिक शिक्षा अध्ययनका लागि बाहिर जानु नपरोस भनेर प्राबिधिक शिक्षाको पठनपाठन शुरु गरेका हौ ।
निजी विद्यालयलाई विद्यार्थी जोगाउन सकस
शहर होस वा गाउँ । नजिकमा निजी विद्यालय खुले सामुदायिक विद्यालयलाई आफ्ना विद्यार्थी जोगाउन हम्मेहम्मे हुन्छ । तर खलंगाको परिस्थिति भने फरक छ । यहाँ निजी विद्यालयलाई आफ्ना विद्यार्थी जोगाउन सकस छ ।
जिल्लादेखि राष्ट्रिय राजनीतिमा छाएका पूर्व विद्यार्थीहरु
राष्ट्रिय राजनीतिमा पहिचान बनाएका पूर्व सुचना तथा सञ्चार मन्त्री दिलेन्द्र बडु यही विद्यालयका उत्पादन हुन् । पूर्व मन्त्री गणेश ठगुन्नाले यही विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका हुन् । पूर्व प्रदेश सभा सदस्य ग्याल्बु बोहरा, जिल्ला समन्वय समितिका पूर्व प्रमुख करबीर कार्कीले बनाएको पहिचानमा यही विद्यालयको योगदान छ ।
भक्तपुरको क्षयरोग केन्द्रका प्रमुख डा.बीएस टिंकरीको सफलता र पहिचानको जग महेन्द्र मावि नै हो । यसले शिक्षक, चिकित्सक, नेता मात्र जन्माएको छैन, थुप्रै ईञ्जिनियरहरु पनि देशलाई दिएको छ ।
जिल्लाभित्रै पनि बिभिन्न पेशा र क्षेत्रमा महेन्द्र माविका उत्पादनहरुले सेवा गरिरहेका छन् । देशविदेशमा पनि विद्यार्थीहरुले नाम र दाम दुबै कमाएका छन्, जोशी भन्छन्, विद्यालयले कमाएको पूँजि भनेकै यही हो ।