शुभ-यात्रा प्रकाश भाई

प्रिय भाई प्रकाश,
तिमी धनगढीमै केही ईलम गर्ने अठोटका साथ फर्किएको हिजो जस्तै लाग्छ । अमेरिकाको सबै थोक बेचेर मात्र आएका थिएनौ, तिमी त्यहाँको सबै सुख, सुबिधा छोडेर धेरै आशा, सपना र योजना बोकेर आएका थियौ ।
यस्तो लाग्थ्यो, तिमी उमेरभन्दा बढि परिपक्व भएछौ । राष्ट्रवादका कुरा गर्नेहरुभन्दा धेरै बढि तिमी भित्र देश प्रेम छ । तिमी अथाह कमाएर फर्किएका थिएनौ, तर तिमी अथाह संभावना बोकेर पक्कै आएका थियौ । प्रायः युरोप र अमेरिकामा बस्नेहरुको रेडिमेड जवाफ हुन्छ, मलाई त स्वदेश फर्किने मन थियो । तर श्रीमतीले मानिन । बच्चाको भविश्यका लागि बस्न बाध्य छु । भन त भाई तिमी सानी छोरी बोकेर सपरिवार स्वदेश फर्किन गाह्रो भएन । तिमीलाई छोरीको भविश्यको चिन्ता अरुलाई झै भएन ?
देश त बर्बाद भयो । सबै बिग्रे । मै सब सपार्छु । तिमी चटक देखाउन वा त्यो ढोंग गर्न पनि आएका थिएनौ । तिमीले हल्ला गरेनौ । काम ग¥यौ । हो, अमेरिकाबाट फर्केपछि तिमीले चुपचाप कर्म गरिरह्यौ । धनगढीमा साथी मार्टको शुरुवात ग¥यौ । एग्रो फर्म खोल्यौ । कालिज पाल्यौ । कृषि पर्यटनमा हात हाल्यौ । र, अरु पनि थुप्रै योजनाहरु साकार पार्ने तिम्रो अठोट थियो ।
ज्यानै फालेर चोरबाटोबाट अमेरिका जान मरिहत्ते गर्नेहरुको भीडमा तिमी अपवाद थियौ । तिमी त्यो चिज छोडेर आयौ, जुन चिज प्राप्तीका लागि मान्छे ज्यानको बाजी लगाउछन् । हो, तिमी संसारभरीका नागरिकको सपनाको देश अमेरिका छोडेर आएका थियौ । तिमीले गलत काम कहिल्यै गरेनौ । सही काम गर्न तिमी भित्र कहिल्यै डर भएन । तीन वर्षमै तिमी थाक्ने छौ, बिचलित हुने छौ भन्ने कहिल्यै लागेन ।
सबै सपनाहरुलाई थाँती राखेर तिमी आज अमेरिका फर्किदै गर्दा नमिठो लागेको छ । तिमीलाई कसले गलायो ? समय वा व्यवस्थाले ? तिमी यति चाँडै कसरी गल्यौ ? नथाक्ने, नभाग्ने, न बिचलित हुने मानसिंह साउँद जस्तै लाग्थ्यौ, तिमी । भन त, यति चाँडै कसरी बिचलित भयौ ? यसलाई तिम्रो पलायन भनु कि ? तिम्रो सपनाको पलायन ? उज्यालोका लागि संघर्ष गरिरहेका तमाम प्रकाशहरुको सुनौलो योजनाको अवसान हो, तिम्रो पलायन ।
शासकहरुका लागि तिम्रो पलायन सामान्य घट्ना हुन सक्छ । त्यो कुनै अभिलेखमा पनि नरहला । एउटा कर्मठ प्रिय भाईले देश छोडेको पीडा भन्दा पनि तिमीबाट शुरु भएको देश छोड्ने श्रृंखला कही डढेलो झै नफैलियोस भन्ने चिन्ता हो ।
धनगढी जति द्रुततर गतिले विकास भइरहेको तराईमा अर्को शहर थिएन । चिन्ता यो होईन कि तिमी पलायन भयौ, चिन्ता यो हो कि, तिमी जस्ता आफ्नै देशमा केही गर्ने हुटहुटीले स्वदेश फर्किएका युवाहरुको पलायन हुने श्रृंखला नरोकिए, कही यो मृत शहर त हुने होईन ? शहर उज्यालो भएर मात्र नहुदो रहेछ, त्यहाँ बस्ने नागरिकको अनुहार र मनमा पनि उज्यालो हुन जरुरी छ ।
धेरैले सोच्छन, अमेरिकामा डलर फल्छ । र त, अमेरिकामा रहेका आफन्त तथा साथीहरुसंग नेपालमा बस्नेहरु आश गरिरहन्छन । कोही अमेरिकाबाट आउदै गरेको थाह पाए, कति सजिलै भन्छन्, मलाई एउटा आईफोन ल्याई दिनु । त्यो आईफोनको मूल्य, उसैलाई थाह छ, जो चार वर्षअघिको मोवाईल चलाएर बसेको छ । र, स्क्रिन चर्किएको उसले बिर्सिसक्यो ।
अमेरिका र युरोपमा बस्नेहरु सबैको अवस्था राम्रो छैन । ९० प्रतिशतको अवस्था त्यहाँ पनि निर्बाहमुखी छ । १० प्रतिशतमा पनि तीन प्रतिशतको आर्थिक अवस्था धेरै राम्रो छ । बाँकी सात प्रतिशतको अवस्था भने ठिकै भन्न मिल्छ । र, त्यहाँ गर्नु पर्ने संघर्ष त भनि साध्य छैन । र, त्यो संघर्षबाट पनि खुशी प्राप्त हुन्छ भन्ने होईन । सुख प्राप्त हुन्छ । खुशी होईन । किनकी खुशी पैसाले किन्न सकिने चिज होईन । सुख र खुशी फरक कुरा हुन् ।
तिमीले अमेरिका राम्रोसंग बुझेका छौ । नेपालमा भन्दा त्यहाँ सबै कुराको संभावना बढि छ । तर तिमी आफ्नै देशमा अथाह संभावना देखेर फर्किएका थियौ । र, तिमीभित्र केही अलग काम गर्ने अठोट थियो । रुखोसुखो जे जस्तो भएपनि ‘जिना यहाँ मरना यहाँ’ को भावनाबाट तिमी अमेरिकाबाट आएका थियौ । र, तिमीजस्तै थुप्रै, तिमी भन्दा अघि र तिमीपछि विदेशबाट फर्किएकाले धनगढीमा केही नयाँ उद्यमहरु शुरु गरे । कोरियाबाट धर्मराज जोशीहरु, अष्टे«लियाबाट दिवस जोशी र राजेन्द्र चन्दहरु फर्किए ।
केही समय अघि तिमी सहित धनगढीका युवा व्यवसायीहरुका बारेमा एउटा स्टोरी लेख्दै गर्दा तिमीले भनेको सम्झिन्छु, दाई तपाई मलाई यही बस्न दवावमा पार्दै हुनुहुन्छ, जसलाई शिर्षक दिएको थिए, ‘पौरखी युवा : जो उद्यम गर्न स्वदेश फर्किए’ ।
धर्मराज जोशीले गार्मेन्ट्स, हार्डवेयर र वालपेपरमा हात हालेका छन् । दिवसले होटल र मिट सप चलाएका छन् । सरकारी काम र कर्मचारीको व्यवहारबाट उनीहरु आजित छन् । उनीहरुसंग यस्तो व्यवहार भएको छ, मानौ व्यवसाय गर्नु अपराध हो । उद्योग दर्ता गर्दा घुस । विद्युतको ट्रान्सफर्मर जडान घुस नदिई नहुने । करको करकाप उस्तै छ । धर्मराज सुनाउदै थिए, सरकारी कर्मचारीहरु हाजिर गरे वाफत तलव खान्छन् । काम गरे वाफत घुस ।
होटल चलाइरहेका दिवसले केही दिनअघि प्रहरीबाट नमिठो व्यवहार खेपे । उनीसंग प्रहरीले यस्तो व्यवहार ग¥यो, मानौ, उनले होटलमा आतंकवादी लुकाईराखेका छन् । पालिकाको सहयोग गर्ने नीति नै छैन । नक्सा पास, पोत, उद्योग दर्ता सबै चिजमा कर, त्यो पनि उद्योग मुनाफामा नजादै ।
भए भरका कर लिने सरकारको व्यवसायीको सुरक्षा गर्ने दायित्व हो कि होईन, व्यवसायीहरु भन्छन्, बोहनी भएको हुदैन । अझ भएन भने हरेक महिना बिभिन्न नामका रसिदहरु लिएर पालिकाका कर्मचारीहरु आउछन् ।
प्रिय भाई, सधै आशा र सपनाका कुरा गरे । आज पलायन र निराशाका कुरा गर्दैछु । यसको अर्थ यो होइन कि, सबै चिज सकियो, अव केही बाँकी छैन । तर तिम्रो पलायन केवल एउटा युवाको पलायनका रुपमा मात्र हेरिन हुदैन भन्ने हो । घोडा चढ्ने मान्छे लड्छ । तर यहाँ न त घोडा रह्यो । न त घुडा ।
केही बर्षमा धनगढीमा थुप्रै नयाँ व्यवसायको थालनी भयो । फन पार्क खुल्यो । स्वीमिङ पुलहरु खुले । रेष्टुरेण्ट खुल्ने त लहर नै चल्यो । कफि सपहरु खुल्नेक्रम जारी छ । मार्टहरु खुले । डिपार्टमेण्टल स्टोरहरु खुले । फ्रेञ्चाईज चेन रेष्टुरेण्टहरुप्रतिको आकर्षण र सञ्चालनले धनगढी ठूलो शहरका रुपमा विकास हुदै गरेको छनक दिएको थियो । बिडम्बना, ती मध्ये अधिकांश व्यवसाय बन्द भईसकेका छन् । हो, पछिल्ला दिनहरु आम व्यवसायीका लागि सुखद छैनन ।
सुदूर पश्चिमकै पहिलो डिपार्टमेण्टल ‘चौलानी’ को अन्तिम स्टोर बन्द भयो । बीबी मार्ट असमयमै बन्द हुन पुग्यो । हेलो मार्टका तीन वटा शाखा मध्ये एक बन्द भएको छ । साथी मार्टले चौलानीकै नियति भोग्यो । यसलाई केही व्यक्ति वा व्यवसायीको असफलताका रुपमा मात्र हेरिन हुदैन । नयाँ मानसिंह साँउद र प्रकाशहरु जन्मिन बर्षौ लाग्नेछ । कसैले फेरि यस्तो नयाँ व्यवसायको थालनी गर्ने दुस्साहस आँट गर्ने छैनन, चिन्ता यो हो ।
तीनै तहका सरकारका सञ्चालकहरु, अझ खासगरी स्थानीय सरकार सञ्चालकहरुले सोच्न जरुरी छ, विकासका नाममा कही दाजुभाई र आफन्तहरुसंग संवाद गर्न ढिला त भएन ? प्रकाशहरुको पलायनको रमिता हेर्ने कि ? पलायन रोक्नका लागि बैंक, वित्तीय संस्था र सम्बन्धित पक्षहरु, जोबाट आम व्यवसायीहरु प्रभावित भएका छन्, जसको व्यबहारका कारण हतोत्साही भएका छन्, उनीहरुसंग समस्या समाधानका लागि सहजीकरण गर्ने ? शासकहरु लोकप्रिय हुने कि सफल ? प्रकाशहरुको पलायन शासकहरुको असफलताको शुरुवात हो । यहाँ नागरिकलाई बाँच्न गाह्रो भईसक्यो । शासक उज्यालो सपना देखाउदैछ । यो बुझ्न जरुरी छ, चिहानको उज्यालो पनि डरलाग्दो हुन्छ ।
‘भोलि उठी कहाँ जाने केही थाह छैन’ गीत जस्तै भएको छ, आम व्यवसायीसंगै धेरैको जिन्दगी । न गन्तव्य छ । न सपना बाँकी छन् । न त कुनै रहरहरु । एउटा व्यवसायी सुनाउदै थिए, अचेल उज्यालोदेखि डर लाग्छ । हो, रात अनिन्द्रामा कोल्टे फेरेर बित्छ । उज्यालो भएपछि बैंक र साँहुहरुको फोन आउने डरले सताउछ ।
चार जना व्यवसायी एउटा ठाँउमा बस्दा पहिले कि रमाईलो कुराकानी, कि मोवाईलमा व्यस्त हुन्थे । अचेल छेउको साथीले के बोलिरहेको छ, कसैलाई वास्ता हुदैन, बस्, उ टोलाईरहेको हुन्छ । यस्तो लाग्छ, व्यवसायीहरु हाँस्न बिर्सिसके । हुन पनि मुटुभरी पीडा बोकेर हास्नु पनि कसरी ?
धनगढीकै एकजना अग्रणी व्यवसायी सुनाउदै थिए, कसैले किनी दिए, सबै सम्पत्ती बेचेर धनगढी छोड्थे । यस्तो मनोदशामा बाँचेकाहरु एक होईन, दुई होईन, तमाम छन् । जसले हिजो भन्थे, जिना यहाँ मरना यहाँ । आज तिनै कतिबेला धनगढी छोड्ने, समयको पखाईमा छन् ।
हामीले सधै सफलताका कथा लेख्यौ । सयमा एक जना सफल भयो, उसका कथा लेख्यौ । त्यही पढ्यौ । बाँकी ९९ जनाको असफलताको कथा कहिल्यै लेखिएन । उनीहरुका व्यथा र पीडा कसैले सुनेन । उनीहरु किन असफल भए ? त्यसको पछाडिका कारणहरु के थिए, कसैले सोधीखोजी गरेनन । सायद उनीहरुको असफलताका बारेमा सोधीखोजी गरेर त्यसको पछाडिका कारणहरु पत्ता लगाईएको भए, त्यसलाई नजिर बनाउन सकिन्थ्यो, असफलताहरुको पाठले सफल हुने बाटो र उपाय पहिल्याउन सजिलो हुन्थ्यो । कोही किन असफल हुन्छ ? के कसैलाई असफल हुने रहर होला ? पक्कै पनि कोही पनि रहर वा खुशीले असफल हुदैन । पौडी काट्न नजान्ने मान्छे पनि अन्तिम समयसम्म मृत्युसंग संघर्ष गर्न छोड्दैन । हामीले सधै सफल हुनेहरुको उदाहरण पस्कियौ । अव असफल हुनेहरुलाई उदाहरण बनाउनुपर्छ । ताकि भोलि कोही असफल नहोस ।
समुन्द्र तैरिन हाम फालेको मान्छे मध्य भागमा पुगेर थाके भने के गर्ला ? पछाडि फर्किएला कि अघि बढ्ला ? जोसंग आत्मविश्वास छैन, त्यो पछाडि फर्किन्छ । र, उसको त्यही मृत्यु हुन्छ । जोसंग आत्मविश्वास रहिरहन्छ, त्यो पक्कै अघि बढ्छ, । र, जसरी पनि समुन्द्रको किनार चुम्छ ।
अहिले अधिकांश व्यवसायीहरुको अवस्था यस्तै छ । आर्थिक संकट समुन्द्र जस्तै छ । जसको मध्य भागमा छन्, आम व्यवसायीहरु । जसलाई पछाडि फर्किने सुबिधा छैन । हो, त्यसैले अघि बढ्नुको बिकल्प छैन । हिम्मत जोगाईरहनुको बिकल्प छैन ।
कुनै बेला धनगढीमा सटर भाडामा पाईदैनथ्यो । अहिले धनगढीमा दुई सटरमा एक खाली छ । भाडामा लागेका नयाँ सटर र भवनहरु केही महिनामै खाली भएका छन् । भाडा दर घटाएर पनि सटरमा बस्न कोही तयार छैनन । फेरि पनि धनगढीमा सटरहरु निर्माणको क्रम रोकिएको छैन । यही हो, आशा । यसैलाई भन्छन, जिन्दगी । संभावना भन्ने चिज यस्तो छ, जो मृत्यु पर्यन्त पनि जीवित रही रहन्छ ।
एउटा पहाड उक्लिएपछि थाह हुन्छ, चढ्नु पर्ने पहाडहरु अझै कति छन् ? जसले ती पहाडहरुलाई चुनौतीका रुपमा स्वीकार गर्न सक्यो, त्यो व्यक्ति उचाईमा पुग्छ । बाँकी फेदमै हराउछन् ।
मलाई विश्वास छ, तिमी थाकेको छैनौ । र, भागेका पनि होईनौ । तिमी भन्ने गर्छौ नि जिन्दगी ना मिलेगी दोबारा । हो भाई यही एकबारको जुनीमा हाम्रो भेट फेरि हुनेछ । तिमीलाई यही देशमा स्वागत गर्न पाउने विश्वास छ ।
जिन्दगी र मृत्युका बीचमा एउटा गजवको चिज हुन्छ, आशा । त्यही आशाले मान्छेलाई बचाईराख्छ । र, मान्छे संघर्ष गरिरहन्छ । जसरी तिमी केही थान सपनाहरु सहित निकै उत्साही भएर केही वर्षअघि धनगढी फर्किएका थियौ । आशा छ, केही वर्षमै तिमी फेरि त्यही उत्साह र सपनाहरु बोकेर फर्किने छौ । तर आज तिमीलाई शुभ–यात्रा भन्नु बाहेक मसंग कुनै उपाय छैन । तिम्रो सुखद भविश्यको कामना सहित शुभ-यात्रा प्रिय भाई प्रकाश ।
उही प्रिय दाई
दीर्घराज उपाध्याय