चिनियाँ ह्याकर खोज्नेलाई एक करोड डलर पुरस्कार दिने अमेरिकाको घोषणा

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले मंगलबार कम्प्युटर फायरवाल ह्याक गरेको आरोपमा एक चिनियाँ व्यक्ति र उनका सह-षड्यन्त्रकारीको गिरफ्तारीका लागि सूचना दिनेलाई एक करोड डलर पुरस्कारको प्रस्ताव गरेको छ ।

विदेश मन्त्रालयका अनुसार ३० वर्षीय गुआन तियानफेङ चीनको सिचुआन प्रान्तमा बस्दै आएका छन् । गुआनलाई कम्प्युटर धोखाधडी गर्ने र तार धोखाधडी गर्ने षड्यन्त्रको आरोप लगाउँदै मंगलबार मुद्दा खोलिएको थियो ।

अर्थ मन्त्रालयले गुआनले सिचुआन साइलेन्स इन्फर्मेसन टेक्नोलोजी कम्पनी लिमिटेडका लागि काम गरेको कम्पनीमाथि प्रतिबन्ध लगाएको बताएको छ । अभियोगअनुसार गुआन र सिचुआन साइलेन्सका सह-षड्यन्त्रकारीहरूले कथित रूपमा बेलायतमा आधारित साइबर सुरक्षा कम्पनी सोफोस लिमिटेडद्वारा बेचिएको फायरवालमा रहेको कमजोरीको फाइदा उठाएका थिए ।

“प्रतिवादी र उनका सह-षड्यन्त्रकारीहरूले विश्वभरका दशौँ हजार नेटवर्क सुरक्षा उपकरणमा क्षति पुर्‍याउने गरी आक्रमण गरे, जसका कारण उनीहरू विश्वभरका प्रयोगकर्ताहरूको डाटा चोर्न सफल भए”, उप महान्यायाधिवक्ता लिसा मोनाकोले विज्ञप्तिमा भने ।

सन् २०२० को अप्रिलमा विश्वभरका ८१ हजार फायरवाल उपकरणमा एकै समयमा आक्रमण गरिएको थियो, जसको उद्देश्य प्रयोगकर्ता नाम र पासवर्ड लगायत डाटा चोर्नु र रानसमवेयरद्वारा कम्प्युटरहरूलाई सङ्क्रमित गर्नु थियो ।

अमेरिकाका करिब २३ हजार फायरवाल उपकरण थिए, तीमध्ये ३६ वटा ‘महत्त्वपूर्ण पूर्वाधार कम्पनीका प्रणालीहरू’ सुरक्षित गरिरहेका थिए । “गुआन तियानफेङ र उनका सह-षड्यन्त्रकारीहरूले फेला पारेको र दोहन गरेको जिरो-डे कमजोरीले अमेरिकाका व्यावसायिक संस्थाहरूलाई असर पार्‍यो”, एफबीआई एजेन्ट हर्बर्ट स्टापलेटनले भने, “यदि सोफोसले द्रुत रूपमा कमजोरीको पहिचान र व्यापक प्रतिक्रिया तैनाथ नगरेको भए क्षति अझ गम्भीर हुन सक्थ्यो ।”

अभियोगअनुसार सिचुआन साइलेन्सले आफ्ना सेवाहरू र ह्याकिङबाट प्राप्त डाटालाई चिनियाँ व्यवसाय र सार्वजनिक सुरक्षा मन्त्रालय लगायत सरकारी संस्थाहरूलाई बेचेको थियो ।

सिचुआन साइलेन्समा दर्ता गरिएको फोन नम्बरमा कलको जवाफ दिने एक व्यक्तिले कम्पनीले ‘अन्तर्वार्ता स्वीकार नगरेको’ र प्रतिबन्धहरूमा टिप्पणी गर्न अस्वीकार गरेको बताए । आफ्नो परिचय नदिने ती व्यक्तिले गुआनसँग ‘सम्पर्क गर्न असम्भव छ’ भने ।

दक्षिण कोरियाका पूर्वरक्षामन्त्रीको हिरासतमै आत्महत्या प्रयास

एजेन्सी – दक्षिण कोरियाका पूर्व रक्षामन्त्रीले यस महिनाको मार्सल ल अपरेसनमा उनको भूमिकाका लागि औपचारिक रूपमा गिरफ्तार हुनुभन्दा केही समयअघि आत्महत्या गर्ने प्रयास गरेको कारागारका एक वरिष्ठ अधिकारीले बताएका छन् ।

राष्ट्रपति युन सुक येओलले डिसेम्बर ३ मा मार्सल ल घोषणा गर्दै सैनिक र हेलिकोप्टरहरू संसद्मा पठाए । तर, संसद् सदस्यहरूले यसलाई अस्वीकार गरेपछि केही घण्टामा नै त्यो आदेश फिर्ता लिन बाध्य भए।

रक्षामन्त्री किम योङ–ह्युनले गत बिहीबार राजीनामा दिएका थियो र मंगलबार ‘विद्रोहको समयमा महत्त्वपूर्ण कार्यमा संलग्न’ र ‘अधिकारको प्रयोगमा बाधा पुर्‍याउने दुरुपयोग’ लगायतका अभियोगमा औपचारिक रूपमा पक्राउ परेका थिए ।

संसदीय सुनुवाइका क्रममा कोरिया करेक्शनल सर्भिसका आयुक्त जनरलले पूर्वमन्त्रीले आफ्नो गिरफ्तारीको घोषणा हुनुभन्दा अघि आत्महत्याको प्रयास गरेको बताए।

‘मंगलबार पूर्व रक्षामन्त्री किम योङ–ह्युनले सोल डोङबु हिरासत केन्द्रमा आत्महत्याको प्रयास गर्नुभयो’, सिन योङ–हेले भने।

बुधबार बिहान आफूले रिपोर्ट प्राप्त गरेको उल्लेख गर्दै सिनले किमले आफ्नो कपडाको डोरी प्रयोग गरेर शौचालयमा आत्महत्या गर्ने प्रयास गरेको बताए।

‘कन्ट्रोल रुमका एक कर्मचारी सदस्यले हस्तक्षेप गरे र जब उनीहरूले ढोका खोले, उहाँले तुरुन्तै आत्महत्यको प्रयास त्याग्नुभयो’, सिनले भने।

सिनका अनुसार किम अहिले सुरक्षित सेलमा र राम्रो स्वास्थ्यमा रहेको बताए।

 

एनपिएल: सुदूरपश्चिमले टुङ्ग्याइदियो जनकपुरको अपराजित यात्रा

काठमाडौं । एनपीएलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सको अपराजित यात्रा टुङ्ग्याइदिएको छ ।

बुधबार भएको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको हो । ४ खेलमा अविजित रहेको जनकपुरको यो पहिलो हार हो भने सुदूरपश्चिमको चौथो जित ।

सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको जनकपुर १२.१ ओभरमा ५१ रन बनाएर अलआउट भयो । जनकपुरका लागि जोशुआ ट्रोम्पले रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

सुदूरपश्चिमका लागि भने कप्तान दीपेन्द्रसिंह ऐरी, हर्मित सिंह र इशान पाण्डेले २–२ तथा स्कट कुग्गेलिजन, सैफ जैब र नरेन साउदले १–१ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १२३ रन बनाएको थियो । सुदूरपश्चिमका लागि विनोद भण्डारीले ३३ र सैफ जैबले २१ रन बनाए । इशान पाण्डेले १७ र ब्राण्डन म्याकमुलनले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

जनकपुरका लागि किशोर महतोले ४ विकेट लिए । जनकपुरका लागि शेर मल्ल,र अरनिको यादवले २–२ तथा हर्ष थाकेरले १ विकेट लिए ।

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीको छापा

काठमाडौं ।  दक्षिण कोरियाली प्रहरीले राष्ट्रपति युन सुक योलको कार्यालय र प्रहरी मुख्यालयमा बुधबार छापा मारेको छ।

दक्षिण कोरियाको योनहाप समाचार संस्थाले यो जानकारी दिएको हो।

सियोल महानगरीय प्रहरी र राष्ट्रिय सभा प्रहरी गार्डको कार्यालयमा पनि छापा मारिएको प्रहरीले जनाएको छ।

बीबीसीका अनुसार यो प्रहरी कारबाही राष्ट्रपति युन सुक योलले मार्सल ल (सैनिक कानुन) लागू गरेपछि भइरहेको अनुसन्धानको एक हिस्सा हो।

योनहापको रिपोर्टअनुसार छापा मार्दा राष्ट्रपति युन आफ्नो कार्यालयमा थिएनन्।

गत हप्ता मंगलबार दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले देशमा मार्सल ल घोषणा गरेका थिए।

तर, चर्को विरोधपछि उनले ६ घण्टामै आफ्नो निर्णय फिर्ता लिएका थिए।

युनको यो कदमपछि दक्षिण कोरियामा उनको ठूलो विरोध भइरहेको छ र उनीविरुद्ध अनुसन्धान भइरहेको छ।

अमेरिकाले रुसबाट जफत गरेको सम्पत्तिबाट युक्रेनलाई दियो २० अर्ब डलर

अमेरिका :  अमेरिकाले युक्रेनलाई २० अर्ब डलरको कोष दिएको छ। अमेरिकाले यो कोष रुसको जफत गरिएको सम्पत्तिबाट लिएको हो।

बीबीसीका अनुसार यो आर्थिक सहायता ५० अर्ब डलरको प्याकेजको एक हिस्सा हो, जुन जी७ समूहका सदस्य राष्ट्रहरूले गत जुनमा घोषणा गरेका थिए।

अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनले जफत गरिएको सम्पत्तिबाट आर्थिक सहायताको अर्थ “रूसले आफ्नो अवैध युद्धको मूल्य चुकाउनु पर्ने” बताए।

उनले मङ्गलबार अमेरिकाले विश्व बैंकको कोषमा २० अर्ब डलर जम्मा गरेको र युक्रेनले उक्त रकम पाउने बताए।अमेरिकाले युक्रेनलाई यो सहयोग त्यस्तो समयमा दिएको हो, नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले केही साताअघि मात्र आफूले पदभार सम्हालेपछि रुस–युक्रेन युद्ध अन्त्य गर्ने बताएका थिए।
ट्रम्पले आगामी जनवरी २० देखि अमेरिकी सत्ता सम्हाल्दै छन्।

रविलाई पर्साबाट पोखरा पठाइँदै

वीरगञ्ज । पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पोखरातर्फ पठाएको छ। बयान सकिएपछि विमानबाट कास्की पठाउने क्रममा हाल उनी सिमरा विमानस्थलमा छन्।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले रविसँग मंगलबार बयान लिएको थियो।

पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख किशोर लम्सालले रविलाई सिमराबाट काठमाडौं हुँदै कास्की पु‍र्‍याइने जानकारी दिए।

सुदूरपश्चिमले जनकपुरलाई दियो १२४ रनको लक्ष्य

काठमाडौं, २६ मंसिर।

कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएलमा) को पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२४ रनको लक्ष्य दिएको छ ।

टस जितेर फिल्डिङ रोजेको जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १२३ रनमा सिमित गरेको हो । सुदूर पश्चिम रोयल्सले निर्धारित २० ओभर खेल्दै ९ विकेट गुमाएर १२३ रन बनाएको हो ।

यसअघिका चार खेलमध्ये तीन खेलमा उत्कृष्ट प्रदर्शन गरेको सुदूर पश्चिम रोयल्सका खेलाडीहरुको प्रदर्शन बुधवार कमजोर रह्यो । सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए । यसैगरी सैफ जैबले २१, इशान पाण्डेले १७ र ब्राण्डन म्याकमुलेनले ११ रन बनाए । अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

एनपीएलमा डेब्यु गर्दै वान डाउनमा ब्याटिङ गरेका हर्मित सिंह १ रनमा आउट भए । कप्तान दीपेन्द्र सिंह ऐरीले खाता खोल्न सकेनन् । आरिफ शेख ६, स्कट कुगेलेइन ७, नरेन साउद ३ रनमा आउट भए । नरेश बुढाएर ९ रनमा अविजित रहे ।

५५ रनमा पहिलो विकेट गुमाएको सुदूरपश्चिमको इनिङ्स त्यसपछि धर्मराएको थियो । सुदूरपश्चिमका सैफ जैब र विनोद भण्डारीले पहिलो विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए । हर्श थाकरले आठौं ओभरमा यो साझेदारी तोडेपछि सुदूले नियमित अन्तरालमा विकेट गुमाउन थाल्यो । त्यसपछि कुनै पनि विकेटका लागि राम्रो साझेदारी बन्न सकेन ।

जनकपुरका लागि किशोर महतोले ४ ओभरमा ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । शेर मल्लले ४ ओभरमा १९ तथा अरनिको यादवले ३ ओभरमा १६ रन खर्चेर २-२ विकेट लिए ।

आठ अंकसहित शीर्ष स्थानमा रहेको जनकपुर लगातार पाँचौँ जितको खोजीमा छ । जनकपुरले पहिलो खेलमा विराटनगर र दोस्रो खेलमा कर्णाली याक्सलाई समान आठ विकेट, पोखरालाई सात विकेट तथा लुम्बिनीलाई एक रनले हराएको थियो । एक खेल हारेको सुदूरपश्चिम जनकपुरलाई हराउँदै अंक बराबरी गर्ने लक्ष्यमा छ । अन्तिम खेलमा चितवनसँग ३३ रनले हारेको सुदूरपश्चिमले विराटनगरलाई ९० रन, काठमाडौंलाई ७३ रन र लुम्बिनीलाई ४५ रनले हराएको हो ।

जनकपुर बोल्ट्सले रोज्यो फिल्डिङ, सुदूरपश्चिम रोयल्स ब्याटिङ गर्दै

काठमाडौँ, २६ मंसिर ।
कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ ।
जनकपुर बोल्ट्सका कप्तान अनिल साहले बुधबार टस जितेपछि फिल्डिङ गर्ने निर्णय गरेपछि सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको हो ।

यी दुई टीमबीचको प्रतिस्पर्धा एनपीएलका अहिलेसम्मका सबैखेलमध्ये रोमाञ्चक हुने अनुमान गरिएको छ ।

मंसिर १५ गते शुरु भएको एनपिएलको शुरुवाती चरणका खेलहरुको नतिजापछि क्रिकेटका दर्शकहरुमा दुई वटा टीमले गहिरो छाप छोडे । ती दुई टीम थिए, सुदूर पश्चिम रोयल्स र जनकपुर बोल्ट्स । धेरैको अनुमान गरे, फाईनलमा यी दुईटै टीमबीच प्रतिस्पर्धा हुनेछ । हुन पनि दुईटै टीमले लगातार तीन वटा खेलमा सहज जित हात पारे ।

आफ्नो चौथो खेलमा सुदूर पश्चिम रोयल्सले हार बेहोर्दा जनकपुर बोल्ट्स पनि चौथो खेलमा पनि अपराजित रह्यो ।

तीन खेलसम्म अंक तालिकामा छ अंक सहित शीर्षस्थानमा रहेको सुदूर पश्चिम रोयल्स चौथो खेलमा पराजित भएपछि दोस्रो स्थानमा झर्दा जनकपुर बोल्ट्स भने चौथौ खेलमा अबिजित हुदै ८ अंक जोडेर पहिलो स्थानमा उक्लियो ।

एनपीएल अन्तर्गत आज दुई खेल हुँदैछन् । जसमध्ये एनपीएलको उपाधीको दावेदार मानिएका सुदूर पश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच ९ः३० बजे शुरु भएको हो ।

एनपीएलमा आज : सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै

काठमाडौं,२६ मंसिर ।
कीर्तिपुरमा मंसिर १५ गते शुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल) शुरुवाती चरणका खेलहरुको नतिजापछि क्रिकेटका दर्शकहरुमा दुई वटा टीमले गहिरो छाप छोडे ।  ती दुई टीम थिए, सुदूर पश्चिम रोयल्स र जनकपुर बोल्ट्स । धेरैको अनुमान गरे, फाईनलमा यी दुईटै टीमबीच प्रतिस्पर्धा हुनेछ । हुन पनि दुईटै टीमले लगातार तीन वटा खेलमा सहज जित हात पारे ।

आफ्नो चौथो खेलमा सुदूर पश्चिम रोयल्सले हार बेहोर्दा जनकपुर बोल्ट्स पनि चौथो खेलमा पनि अपराजित रह्यो ।

तीन खेलसम्म अंक तालिकामा छ अंक सहित शीर्षस्थानमा रहेको सुदूर पश्चिम रोयल्स चौथो खेलमा पराजित भएपछि दोस्रो स्थानमा झर्दा जनकपुर बोल्ट्स भने चौथौ खेलमा अबिजित हुदै ८ अंक जोडेर पहिलो स्थानमा उक्लियो ।

एनपीएल अन्तर्गत आज दुई खेल हुँदैछन् । जसमध्ये एनपीएलको उपाधीको दावेदार मानिएका सुदूर पश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच बिहान सवा नौ बजे पहिलो खेल हुदैछ ।

आजको खेल एनपीएलका अहिलेसम्मका सबैखेलमध्ये रोमाञ्चक हुने अनुमान गरिएको छ ।

त्यस्तै दोस्रो खेल गुर्खाज र लुम्बिनी लायन्सबीच दिउँसो सवा १ बजे शुरु हुनेछ ।

महासंघमा तीन जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा देविका घर्ती मगर, सावित्री रसाइली र रीता बुढाथोकी निर्विरोध चयन भएका छन्।

घर्ती मगर आदिवासी जनजाति महिला, रसाइली दलित सदस्य महिला र बुढाथोकी दलिततर्फको सदस्यमा निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ। बाँकी पदमा मंसीर २८ मा मतदान हुँदै छ।

संघको अध्यक्षमा निर्मला शर्मा, देवीप्रसाद सापकोटा, रमेश विष्ट र लालसिंह लामाले उम्मेदवारी दिएका छन्। त्यस्तै, महासचिवमा जन्मदैव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ।

वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईं, दामोदरप्रसाद दवाडी, दीपक आचार्य र रोशन पुरीले उम्मेदवारी दिएका छन्। उपाध्यक्षमा महिलातर्फ गंगा पौडेल (बराल) र नितु पण्डित उम्मेदवार बनेका छन्। उपाध्यक्षमा समावेशीतर्फ उमिदप्रसाद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साहले उम्मेदवारी दिएका छन्।

सचिवमा खुलातर्फ उत्तमसिंह विष्ट, कुमार ओझा, केदारनाथ भट्टराई, छविलाल दाहाल, बालकृष्ण अधिकारी, माधव दुलाल र रमेश खतिवडा उम्मेदवार बनेका छन्।

सचिवमा महिलातर्फ कल्पना शर्मा, सरिता बराइली र सोनी शर्मा, आदिवासी जनजातितर्फ टीकाराम प्रधान, भिसन राई र सबिन प्रियासन, मधेशीतर्फ अशोककुमार तिवारी, प्रवीणकुमार चौधरी र श्रीजन झा, दलिततर्फ प्रकाश धौलाकोटी, भीमबहादुर विश्वकर्मा, वसन्त विक र सन्तोषकुमार बराइली तथा एसोसिएटतर्फ योगेश खपांगी, रामकृष्ण ज्ञवाली र वैकुण्ठराज पराजुलीले उम्मेदवारी दिएका छन्।

कोषाध्यक्षमा रामकृष्ण अधिकारी, रामकृष्ण ज्ञवाली र शन्तराम बिंडारीले उम्मेदवारी दिएका छन्। अध्यक्षदेखि कोषाध्यक्षसम्म एक-एक पद रहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग लिखित जवाफ माग्ने आदेश दिएको छ । रास्वपाका केन्द्रीय पदाधीकारीमाथि अदालतको अवहेलनामा मुद्दमा सर्वोच्च अदालतका न्यायाधीशद्वय विदेश शर्मा र महेश शर्मा पौडेलेको संयुक्त इजलालले मंगलबार रास्वपाका केन्द्रीय पदाधिकारसँग लिखित जवाफ माग गर्ने आदेश दिएको छ ।

रास्वपाका सभापति रवि लामिछाने पक्राउनपछि रास्वपाका केन्द्रीय पदाधिकारीले अदालतको अवहेलना गरेर आन्दोलन गरेको भन्दै अधिवक्ता अनुपम भट्टराईले गत कात्तिक २८ गथे सर्वोच्चमा रिट निवदेन दिएका थिए । उक्त परिटमाथि मंगलबार सुनुवाई गर्दै लिमित आदेश माग गर्न आदेश भएको छ ।

 

कुवेतमा पुर्‍याएर मानव बेचबिखन गर्ने दुई जना पक्राउ

काठमाडौँ । कुवेतमा पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर घर भएका ५७ वर्षीय चन्द्र बहादुर आले मगर र मोरङ घर भएका ५१ वर्षीय पुष्प सुनार उर्फ पुष्प विक छन् ।

फ्री भिषा र टिकेटमा कुवेतमा पठाएर जागिर मिलाइदिने प्रलोभन देखाएर उनीहरुले एकजना महिलालाई २०८१ भदौ २३ मा दुबई पठाएका थिए । दुबईबाट कुवेतस्थित महिला एजेन्टकहाँ लगेर उनीहरुले बेचबिखन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

३ लाख रकम लिएर उनीहरूबाट बेचिएकी ती महिला कुवेतस्थित जाहरा शहरमा घरेलु कामदारको रूपमा चरम श्रम तथा यौनशोषणको सिकार भएकी थिइन् । प्रहरीको मानव बेचबिखन ब्यूरोको पहलमा उनलाई उद्धार गरेर काठमाडौँ ल्याइएको ब्यूरोका एसपी भावेश रिमालले बताए ।

पुष्प सुनुवारविरुद्ध यसअघि पनि ब्यूरोमा थप दुईवटा मुद्दा दर्ता भएको भेटिएको छ ।

एनपिएल : पोखरामाथि कर्णालीको सहज जित

काठमाडौं । विलियम बोसिस्टोले कीर्तिमानी प्रदर्शन गर्दै एकै खेलमा ६ विकेट लिँदा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित हात पारेको छ ।

सुरुवाती दुई खेलमा पराजित भएको मंगलबार पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै कर्णालीले लगातार तेस्रो जित दर्ता गरेको हो ।

५ खेलमा ३ खेल जितेको कर्णाली ६ अंक जोडेर चौथो स्थानमै छ । कर्णाद्यीले यस जितपछि प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । सुदूरपश्चिम रोएल्स र चितवन राइनोजको पनि समान ६ अंक भएपनि कर्णाली नेटरनरेटमा पछि छ । पोखराको भने चार खेलमा यो तेस्रो हार हो । चार खेलबाट पोखराको खातामा २ अंक मात्र छ ।

पोखराले दिएको १०४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।

कर्णालीका लागि ग्लसन झाले अविजित रहँदै ४९ रन बनाए । उनले ३७ बल खेलुदै ३ चौका र ४ छक्का प्रहार गरे । यस्तै चाडविक वाल्टनले ३४ बलमा ६ चौका र १ छक्का मदतमा ४२ रन योगदान गरे ।

१४ रनमै २ विकेट गुमाएको कर्णालीका लागि वाल्टन र गुल्सनले ६० रनको साझेदारी गरेका थिए ।

विलियम बोसिस्टो २ रनमा अविजित रहे । ओपनिङमा आएका बाबर हायत ७ रनमा बउट हुँदा खेव खनालले खाता खोल्न सकेनन् ।

बलिङमा पोखराका विपिन खत्री, सागर ढकाल र कुशल भुर्तेलले १-१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १६.३ बलमै सबै विकेट गुमाएर १०३ रनमा अलआउट भएको थियो । विलियम बोसिस्टोले उत्कृष्ट बलिङ गर्दै एक्लद्ये ६ विकेट लिएपछि पोखरा अलआउट भएको थियो । बोसिस्टोले ४ ओभरमा २८ रन खर्चेर ६ विकेट लिए ।

कप्तान सोमपाल कामी, विपिन शर्मा र युनिश सिंह ठकुरीले  समान एक/एक विकेट लिए ।

पोखराका लागि दिनेश खरेलले २६, आन्द्रेस गौसले २५, रेमोन रेइफरले २० र कप्तान कुशल भुर्तेल र विपिन खत्रीले समान १०/१० रन बनाए भने अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पोखराले कर्णालीलाई दियो १ सय ४ रनको लक्ष्य

काठमाडौं । पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध १ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा पोखराले १६.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३ रनमा समेटिएको हो ।

स्पिनर विलियम बोसिस्टोले ६ खेलाडीलाई पेभिलियनको बाटो देखाएपछि अन्तर्गत कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्स सामान्य लक्ष्यमा अलआउट भएको हो ।

कर्णालीलाई कम रनमा रोक्न बोसिस्टोले चार ओभरमा २८ रन खर्चिँदै सर्वाधिक ६ विकेट लिए ।

एकै खेलमा ६ विकेट लिने खेलाडी बने कर्णालीका विलियम

काठमाडौं । कर्णाली याक्सका अलराउण्डर विलियम बोसिस्टो नेपाल प्रिमियर लिगमा एकै खेलमा  ६ विकेट लिने पहिलो खेलाडी बनेका छन् ।

बोसिस्टोले पोखरा एभेन्जर्सविरुद्ध घातक बलिङ गर्दै ४ ओभरमा २८ रन खर्चेर ६ विकेट लिएका हुन् । कर्णालीका बोसिस्टोले पोखरा एभेन्जर्स विरुद्ध अहिले भइरहेको खेलमा ६ विकेट लिएका हुन् ।

अष्ट्रेलियाका ३१ वर्षिय अलराउण्डर बोसिस्टोले ४ ओभर स्पेलमा २८ रन खरेचेर ६ विकेट लिएका हुन् । उनले खेलको १४औं ओभरमा ३ विकेट लिएका थिए ।

बोसिस्टोले यसअघि विराटनगर किंगु विरुद्ध ब्याटिङमा अर्धशतक बनाएर प्लेअर अफ दि म्याच बनेका थिए ।

बीआरआई नेपालको हितमा छ, यसलाई अगाडि बढाउनुपर्छ: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) नेपालको हितमा रहेको बताएका छन् ।

आज चितवनमा पत्रकारसँग कुरा गर्दै उनले चीन र अमेरिका अहिलेका मुख्य प्रतिस्पर्धीका रुपमा देखिएकाले दुईवटा रणनीति आउँदा एकले अर्काको विषयमा चासो राख्नु स्वाभाविक भएको बताए ।

उनले भने, ‘बीआरआईप्रति, एमसीसीप्रति सबैको चासो हुने नै गर्छ । किनभने अहिले चीन र अमेरिका मुख्य प्रतिस्पर्धीको रुपमा देखिएका छन् र दुई जनाको रणनीति अगाडि आउँदाखेरी एकअर्काले कन्सर्न राख्नु स्वाभाविकै हो । प्रधानमन्त्रीमा मेरो दोस्रो कार्यकालमा बीआरआईका लागि सम्झौता गरिएको हो । त्यही अनुसार अहिले अगाडि जानुपर्नेमा कन्फ्युजन छ । तर यो अगाडि बढ्नुपर्छ ।’

अमेरिकी पपस्टार टेलर स्वीफ्टले विश्व संगीतमा रचिन नयाँ कीर्तिमान

काठमाडौं । अमेरिकी पपस्टार टेलर स्वीफ्टले विश्व संगीतमा नयाँ कीर्तिमान रचेकी छन् । उनको बहुचर्चित ‘इरास टुर’ सांगीतिक इतिहासमा अहिलेसम्म धेरै कमाइ गर्ने सांगीतिक टुर बनेको छ ।

सोमबार अन्तिम दिन टुर सकिंदासम्म विश्वभर दुई बिलियनभन्दा धेरै टिकट बिक्री भएको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । यो कमाइ संगीतको कुनै जनरा, कुनै युग र कुनै कलाकारले राखेको पहिलो कीर्तिमान भएको उल्लेख छ ।

कोल्डप्लेको कीर्तिमानलाई टेलरले तोडेकी हुन् । कोल्डप्लेको ‘म्युजिक अफ द स्फियर्स वर्ल्ड टुर’ सन् २०२२ देखि सुरु भएको हो, यो हाल पनि जारी छ । यी दुईको कमाइबीच ९०० मिलियन डलरको अन्तर रहेको बिलबोर्ड म्यागजिनले उल्लेख गरेको छ । २१ महिनासम्म चलेको टेलरको ‘इरास टुर’मा कुल एक करोडभन्दा धेरै दर्शक उपस्थित रहेको तथ्यांक पनि सार्वजनिक भएको छ ।

इरास टुर सन् २०२४ को मार्चमा एरिजोनाबाट सुरु भएको थियो, जुन ३ घण्टा बढी चलेको थियो । अन्तिम कन्सर्ट क्यानडाको भानकुभरस्थित बीसी प्लेस स्टेडियममा आयोजना गरिएको थियो ।

गृहमन्त्रीले भने- रविलाई दुर्व्यवहार भएको छैन, प्रचण्डले बोल्नु दुर्भाग्यपूर्ण

काठमाडौं-  गृहमन्त्री रमेश लेखकले सहकारी प्रकरणमा रवि लामिछानेमाथिको अनुसन्धानलाई प्रभावित गर्ने काम भइरहेको बताएका छन् ।

मंगलबार सुर्खेतमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री लेखकले सहकारी प्रकरणमा अनुसन्धान हुँदै गर्दा जिल्ला प्रहरी र सरकारी वकीलको कार्यालय घेरेर अनुसन्धान प्रभावित गर्न खोजिएको बताएका हुन् ।

उनले रवि र रास्वपाका कार्यकर्ताले अनुसन्धानलाई प्रभावित पार्न यस्ता हर्कत गरेको पनि बताएका छन् । मन्त्री लेखकले लामिछानेमाथि प्रहरीबाट अभद्र व्यवहार भएको भन्ने हल्ला गलत भएको बताए ।

उनले सबैको मानवअधिकारको प्रश्नमा सरकार गम्भीर रहेको भन्दै लामिछानेमाथि न्यायपूर्ण ढंगले अनुसन्धान भइरहेको उल्लेख गरेका छन् ।न्यायिक प्रक्रिया प्रभावित गर्ने ढंगले कसैले बोल्नु गलत हुने उनले बताए । गृहमन्त्री लेखकले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रवि प्रकरणमा सरकारले प्रतिशोध साँध्यो भनेर बोल्नु दुर्भाग्यपूर्ण रहेको पनि बताए ।

‘प्रमुख प्रतिपक्षी दलका नेताले यस्ता कुरामा बोल्नु दुर्भाग्यपूर्ण हो’, उनले भने, ‘कसैले पनि अनुसन्धानलाई प्रभावित गर्न खोज्नु गलत हो ।’

उनले कुनै पनि कुरालाई अतिरञ्जनपूर्ण ढंगले प्रस्तुत गर्ने र भीड जम्मा गरेर अनुसन्धान प्रभावित गर्ने काम बेठिक भएको पनि बताए ।

गृहमन्त्री लेखकले नेकपा एमाले र नेपाली कांग्रेसबीच सुमधुर सम्बन्ध रहेको बताउँदै सहमति अनुसार नै वर्तमान सरकार अघि बढ्ने पनि उल्लेख गरेका छन् । गृहमन्त्री लेखकले सरकारलाई अस्थिर बनाउने षड्यन्त्र भइरहेको पनि बताएका छन् ।

‘सरकार ढल्छ भन्ने हल्लामा कुनै आधार छैन, सरकारमा भएका दलहरूबीच सौहार्दपूर्ण सम्बन्ध छ,’ उनले भने, ‘प्रधानमन्त्रीले नै आलापोलोको सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता गर्नुभएको छ, सम्झौताअनुसार अबको १८ महिनापछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ ।’

एनपिएल : चितवन राइनोजलाई ३३ रनले हराउदै लुम्बिनीको पहिलो जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा लुम्बिनी लायन्सले पहिलो जित हासिल गरेको छ । त्रिवि क्रिकेट मैदानमा भइरहेको लिगको आफ्नो पाँचौँ खेलमा आएर लुम्बिनीले पहिलो जित हासिल गर्दै प्लेअफ सम्भावना जीवितै राखेको   हो ।

मंगलबार भएको १६ औँ खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ३३ रनले पराजित गरेको हो ।

चितवनले १६८ रनको चुनौती पछ्याउने क्रममा ८ विकेटको क्षतिमा १३४ रनमात्र बनाउन सक्यो ।

लुक बेन्केन्स्टेनले ३१, नर सार्कीले १२ बलमा अविजित रहँदै २२ तथा कप्तान कुशल मल्लले २० रन जोडे ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले १७ रन खर्चेर ४ विकेट लिए । त्यस्तै रामोन साइमन्डस्ले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले कप्तान रोहित पौडेललको कप्तानी इनिङ्समा ६ विकेटको क्षतिमा १६७ रन बनायो ।

अलराउन्डर रोहितले ५७ बलमा ८० रन बनाए । रोहितसँग मिलेर पाँचौँ विकेटका लागि ११४ रनको साझेदारी गर्ने क्रममा साद बिन जाफरले रनआउट हुनुपूर्व ३५ बलमा ५२ रन जोडे । चितवनका रिजन ढकालले ३ विकेट लिए ।

लगातार चार हारसहित सबैभन्दा कमजोर मानिएको लुम्बिनी पहिलो जितसहित पुछारबाट पाँचौ स्थानमा पुगेको छ ।

चितवन भने पराजित हुँदा ५ खेलबाट ६ अंकसहित तेस्रो स्थानमा छ ।

दुई अंकका पोखरा एभेन्जर्स, काठमाडौँ गुर्खाज र विराटनगर किंग्सलाई लुम्बिनीले उछिनेको छ ।

आजको दोस्रो खेलमा दिउँसो १ बजे कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दै छन् ।

यसअघिका खेल
–१५ औँ खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजसँग ३३ रनले पराजित भएको छ ।

–१४ औँ खेलमा जनकपुर बोल्ट्सले सनसनीपूर्ण जित हासिल गरेको छ । जनकपुरले लुम्बिनी लायन्समाथि एक रनको सनसनीपूर्ण जित हासिल गरेको हो ।

–१३ औँ खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ ।
–१२ औँ खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको छ ।

–११ औँ खेलमा पोखरा एभेन्जर्सले कीर्तिमानी जित हासिल गरेको छ । पोखराले लुम्बिनी लायन्समाथि १० विकेटको कीर्तिमानी जित हासिल गरेको हो । एन्द्रेस गोसले ५५ बलमा १०४ रन बनाए । यो पहिलो शतक हो ।

–दशौँ खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले हरायो ।

– नवौँ खेलमा काठमाडौँ गुर्खाजमाथि ७३ रनको जित हासिल गर्दै सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हासिल गर्यो ।

– आठौँ खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो ।

–सातौँ खेलमा विराटनगर किंग्सले लुम्बिनी लाइन्समाथि २ विकेटको रोमाञ्चक जित हासिल गर्दै पहिलो जित हासिल गरेको छ । लुम्बिनीबाट पाएको १९२ रनको फराकिलो चुनौती विराटनगरले १९.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो ।

– छैटौँ खेलमा काठमाडौँ गुर्खाज विजयी भएको छ । काठमाडौँले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो ।

– पाँचौ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई हराएको छ । पोखरा ८८ रनले पराजित भएको हो ।
– चौथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हरायो । सुदूरले ७ विकेटको क्षतिमा १८२ रन बनाएकामा विराटनगर ९२ रनमा समेटियो ।

– तेस्रो खेलमा जनकपुर बोल्टसले कर्णाली याक्समाथि ८ विकेटको जित हासिल गरेको हो ।

–दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । विजयी शुरुआत गर्ने क्रममा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो ।

–उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो ।

पहिलो पटक आयोजित एनपीएलमा आठ टिम रहेका छन् ।

 

बसिर सिरियाका नयाँ प्रधानमन्त्री

दमास्कस । सिरियाका नयाँ प्रधानमन्त्रीको रूपमा मोहम्मद अल बसिरले नेतृत्व गर्ने भएका छन् । बसिरले अन्तरिम प्रधानमन्त्रीको रूपमा देशको संक्रमणकालीन सरकारको नेतृत्व गर्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विद्रोही समूह हयात ताहिर अल सामकोतर्फबाट इडलिब सरकारका पूर्व प्रमुख रहेका बसिर संक्रमणकालीन प्रधानमन्त्रीको जिम्मेवारी दिन लागिएको हो ।

सिरियाको नयाँ प्रशासनले मोहम्मद अल बसिरलाई संक्रमणकालीन सरकारको प्रधानमन्त्रीको रूपमा चयन गर्ने तयारी गरेको अल जजीरा अरबीले जनाएको छ ।

इडलिब सहर इस्लामवादी लडाकु समूह र यसका सहयोगीको लागि एउटा प्रान्त थियो, जहाँबाट उसले असद सरकारको बिरूद्ध दुई हप्ता अघि आक्रमण सुरु गरेको थियो। ।

 

एनपीएलमा जनकपुर बोल्ट्स अंक तालिकामा शीर्ष स्थानमा

काठमाडौँ, २५ मंसिर ।

नेपाल प्रिमियर लिग (एनपीएल) मा अन्तर्गत आइतबारसम्म सम्पन्न १५ खेलमध्ये आफ्ना सबै खेलमा बिजयी हुदै जनकपुर बोल्ट्स अंक तालिकामा शीर्ष स्थानमा रहेको छ । चार खेलमा अपराजित रहेको जनकपुर बोल्ट्स आठ अङ्क जोड्दै शीर्ष स्थानमा रहेको हो ।

मङ्सिर १५ गतेदेखि सुरु भएको एनपीएलको उद्घाटन खेलमा जनकपुर बोल्टसले उद्घाटन खेलमा विराटनगर किङ्ग्सलाई आठ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा कर्णाली याक्सलाई आठ विकेटले नै हराएको थियो । तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको जनकपुरले चौथो खेलमा लुम्बिनी लायन्सलाई एक रनले पराजित गरेको थियो ।

एनपीएलमा चार खेल खेलेको सुदूरपश्चिम रोयल्स छ अंक सहित दोस्रो स्थानमा छ । तीन खेलमा जीत हात पारेको सुदूर पश्चिमले चौथौ खेलमा चितवन राईनोजसंग हार व्यहोरेको थियो । सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा विराटनगरलाई ९० रनले, दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले तथा तेस्रो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको थियो । चौथो खेलमा भने सुदूरपश्चिम रोयल्स चितवन राइनोजसँग ३३ रनले हारेको थियो ।

तीनमा जित र एउटामा हार बेहोरेको चितवन राइनोजको ६ अङ्क सहित तेस्रो स्थानमा छ । चितवन राइनोजले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो । तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो ।

चार अङ्क सहित अंक तालिकामा चौथो स्थानमा रहेको कर्णाली याक्सले चार खेलमा दुईमा जित र दुईमा हार ब्यहोरेको थियो । पहिलो खेलमा जनकपुरसँग आठ विकेटले पराजित कर्णालीले दोस्रो खेलमा काठमाडौँ गुर्खाजसँग तीन विकेटले हार ब्यहोरेको थियो । त्यसपछिका दुई खेलमा भने कर्णालीले लगातार जित निकालिको थियो । कर्णालीले तेस्रो खेलमा चितवनलाई ६ विकेटले तथा चौथो खेलमा विराटनगरलाई सात रनले हराएको थियो ।

तीन खेल खेलेको पोखरा एभेन्जर्स दुई अङ्कसहित पाँचौँ स्थानमा रहेको छ । एक खेलमा जित हात पारेको पोखराले दुई खेलमा हार ब्यहोरेको छ । पोखरा पहिलो खेलमा चितवनसँग ८७ रनले र दोस्रो खेलमा जनकपुरसँग सात विकेटले पराजित भएको थियो । तेस्रो खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो ।

तीन खेलमध्ये दुईमा पराजित भएको काठमाडौँ गुर्खाज दुई अङ्कसहित छैटौँ स्थानमा छ । पहिलो खेलमा चितवनसँग पाँच विकेटले हारेको काठमाडौँले दोस्रो खेलमा भने कर्णालीलाई तीन विकेटले हराएको थियो । तेस्रो खेलमा भने काठमाडौँले सुदूरपश्चिमसँग ७२ रनले हार ब्यहोरेको थियो ।

दुई अङ्कका साथ सातौँ स्थानमा विराटनगर किङ्ग्सले अहिलेसम्म तीन खेलमा हार तथा एउटामा मात्र जित निकालेको छ । पहिलो खेलमा विराटनगर जनकपुरसँग आठ विकेटले हारेको थियो । दोस्रो खेलमा सुदूरपश्चिमसँग ९० रनले हारेको विराटनगरले तेस्रो खेलमा भने लुम्बिनीलाई दुई विकेटले पराजित गरेको थियो । चौथो खेलमा विराटनगर कर्णालीसँग सात रनले हारेको थियो ।

अङ्क तालिकाको पुछारमा रहेको लुम्बिनी लायन्स चारवटै खेलमा हार बेहोरेको छ । लुम्बिनी लायन्स पहिलो खेलमा विराटनगरसँग दुई विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले, तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले तथा चौथो खेलमा जनकपुरसँग एक रनले पराजित भएको थियो ।

एनपीएलमा आज : लुम्बनी र चितवन तथा कर्णाली र पोखरा भिड्दै

काठमाडौं, २५ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुने भएका छन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पहिलो खेल बिहान ९ः१५ बजेदेखि सुरु हुनेछ भने दोस्रो खेल दिउँसो १ः१५ बजे आरम्भ हुने छ ।

चितवन राइनोज अङ्क तालिकाको तेस्रो स्थानमा छ । उसले हालसम्म चार खेल खेलेको छ । तीनमा जित र एउटामा हार बेहोरेको चितवन राइनोजको ६ अङ्क छ ।

चितवन राइनोजले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो । तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो ।

यस्तै लुम्बिनी लायन्स चारवटै हेलमा हार बेहोर्दै अङ्क तालिकाको पुछारमा छ । लुम्बिनी पहिलो खेलमा विराटनगरसँग दुई विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले, तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले तथा चौथो खेलमा जनकपुरसँग एक रनले पराजित भएको थियो ।

कर्णाली याक्सले मध्यम प्रदर्शन गरेको छ । कर्णाली याक्सले चार खेलमा दुईमा जित र दुईमा हार बेहोर्दै चार अङ्क जोडेको छ । कर्णाली चौथो स्थानमा छ । कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजसँग तीन विकेटले हारेको थियो । कर्णालीले तेस्रो खेलमा चितवनलाई ६ विकेटले तथा चौथो खेलमा विराटनगरलाई सात रनले हराएको थियो ।

यसैगरी पोखरा एभेन्जर्स दुई अङ्कसहित पाँचौँ स्थानमा छ । उसले तीन खेलमा एकमा जित दुईमा बेहोरेको छ । पोखरा पहिलो खेलमा चितवनसँग ८७ रनले र दोस्रो खेलमा जनकपुरसँग सात विकेटले पराजित भएको थियो । तेस्रो खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो ।

 

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं,२५ मंसिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, साउदी अरेबियन, थाई भाट, युएई दिराम, स्विडिस क्रोनर, डेनिस क्रोनर, हङ्कङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको मूल्य बढेको छ ।

यस्तै, जापानी येन, साउथ कोरियन वन र मलेसियन रिङ्गेटको मूल्य भने घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८८ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४३ रूपैयाँ १३ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ ७७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रूपैयाँ ८९ र बिक्रीदर एक सय ७३ रूपैयाँ ६५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५३ रूपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ६५ पैसा कायम गरिएको छ ।

केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ २२ पैसा र बिक्रीदर ८७ रूपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रूपैयाँ ७० पैसा र बिक्रीदर ९६ रूपैयाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रूपैयाँ शून्य पाँच पैसा र बिक्रीदर एक सय एक रूपैयाँ ४९ पैसा निर्धारण गरेको छ ।

जापानी येन १० को खरिददर आठ रूपैयाँ ९९ पैसा र बिक्रीदर नौ रूपैयाँ शून्य तीन पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १८ रूपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ शून्य एक पैसा र बिक्रीदर ३६ रूपैयाँ १७ पैसा, कतारी रियाल एकको खरिदर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ शून्य एक पैसा र बिक्रीदर चार रूपैयाँ शून्य तीन पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रूपैयाँ, मलेसियन रिङ्गेट एकको खरिदर ३० रूपैयाँ ५७ पैसा र बिक्रीदर ३० रूपैयाँ ७१ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रूपैयाँ ४५ पैसा र बिक्रीदर नौ रूपैयाँ ४९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ४२ पैसा र बिक्रीदर १२ रूपैयाँ ४७ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रूपैयाँ १९ पैसा र बिक्रीदर १९ रूपैयाँ २८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रूपैयाँ ४० पैसा र बिक्रीदर १७ रूपैयाँ ४८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रूपैयाँ २९ पैसा र बिक्रीदर चार सय ४२ रूपैयाँ २५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रूपैयाँ ७२ पैसा र बिक्रीदर तीन सय ६० रूपैयाँ ३१ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५१ रूपैयाँ ३८ पैसा, बिक्रीदर तीन सय ५२ रूपैयाँ ९४ पैसा तोकिएको छ । यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

इजरायली बर्बरताको विरोधमा प्रचण्डको हस्ताक्षर

काठमाडौं ।  पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ‘इजरायली बर्बरता’को विरुद्धमा उभिएका छन् । प्यालेस्टाइनी माथि इजरायलले गरेको हिंस्रक अभियानको विरोधमा उनले आज हस्ताक्षर गरेका छन्, जुन शान्तिबाटिक रत्नपार्कमा आयोजित कार्यक्रम थियो ।

प्यालिस्टीनी माथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान उद्घाटन कार्यक्रममा नेकपा माओवादीका अध्यक्षसमेत रहेका प्रचण्डले हस्ताक्षर गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

दक्षिण कोरियाली राष्ट्रपतिमाथि यात्रा प्रतिबन्ध

सियोल- दक्षिण कोरियाली राष्ट्रपतिमाथि सोमबार यात्रा प्रतिबन्ध लगाइएको छ ।

दक्षिण कोरियाको न्याय मन्त्रालयले राष्ट्रपति युन सुक योललाई सैनिक शासनको घोषणा गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको भन्दै यात्रा प्रतिबन्ध लगाएको जनाएको हो ।

संसदीय सुनुवाइमा एक सांसदले मंगलबार सैनिक शासन घोषणा गरेर विद्रोहको नेतृत्व गरेको आरोप लागेका युनलाई देश छोड्न प्रतिबन्ध लगाइएको हो भनी गरिएको प्रश्नमा न्याय मन्त्रालयका अध्यागमन सेवा आयुक्त बे साङ-अपले भने, “हो, यो सही हो ।”

“उत्तर कोरियाली कम्युनिस्ट शक्तिले निम्त्याएको खतराबाट जोगाउन र जनताको स्वतन्त्रता र सुखलाई लुट्ने राज्य विरोधी तत्वलाई समाप्त पार्न नागरिक शासन निलम्बन गरिएको हो,” युनले घोषणाका क्रममा भनेका थिए । उनको घोषणा कोरियाली जनताको विरोधका सामु लामो समय टिकेन र ‘मार्शल ल’ लागु भएको घोषणा भएको केही घण्टा पछि उनले आफ्नो निर्णय फिर्ता लिएका थिए ।

राष्ट्रपतिको घोषणासँगै सेना प्रमुख जनरल पार्क आन-सुको आदेशमा राजनीतिक गतिविधि र पार्टी, ‘गलत प्रचार’, हडताल र ’सामाजिक अशान्ति भड्काउने जमघट’ माथि प्रतिबन्ध लगाइएको थियो ।

घोषणाको जिम्मेवारी लिँदै रक्षामन्त्री किम योन ह्युनले पदबाट राजीनामा दिएका थिए भने उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको छ । घटनामा दोषी रहेको आरोपमा तीन जना सैनिक जनरललाई पनि निलम्बनपछि अनुसन्धान थालिएको छ ।

 

हाइटीको राजधानीमा भएको हिंसामा १८४ जनाको मृत्यु

जेनेभा । हाइटीको राजधानीमा भएको हिंसामा पछिल्लो एक हप्तामा १८४ जनाको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार प्रमुखले हाइटीको राजधानीमा सामूहिक हिंसाका कारण १८४ जनाको मृत्यु भएको सोमबार बताएका हुन् ।

जेनेभामा पत्रकारहरूसँग कुरा गर्दै भोल्कर तुर्कले भने, “गत साता मात्र हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा एक शक्तिशाली गिरोहका नेताद्वारा आह्वान गरिएका आक्रमण र प्रत्यक्रमणका क्रममा कम्तीमा १८४ जनाको मृत्यु भएको छ।

उनका अनुसार यी पछिल्ला घटना र यसबाट मृत्यु भएका मानिसहरूको सङ्ख्यासँगै यो बर्ष मात्र हाइटीमा हिंसात्मक आक्रमणका कारण मृत्यु हुनेहरूको सङ्ख्या पाँच हजार पुगेको छ ।” रासस

कास्की प्रहरी हिरासतबाट रविलाई वीरगञ्ज लगियो

पोखरा । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई वीरगञ्ज लगिएको छ ।

लामिछानेलाई पोखराबाट काठमाडौं र काठमाडौंबाट बुद्ध एयरको जहाजबाट सोमबार सिमरा पुर्‍याइएको हो । सिमराबाट उनलाई गाडीमार्फत वीरगञ्ज पुर्‍याएको हो । यसै प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट वीरगञ्ज लगिसकिएको छ ।

रविसहित १४ जनाविरुद्ध सानोपाइला सहकारीको रकम अपचलनको बारेमा १९ मंसिरमा पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

यो सहकारीका पूर्वसञ्चालक तथा संरक्षक जीबी राई हुन् । तत्कालिन वीरगञ्ज उपमहानगरपालिकाको ८, १३, १४, १८ र १९ नम्बर वडा कार्यक्षेत्र रहेको सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत जम्मा गरेको थियो ।

सहकारीले ऐन विपरीत सदस्य समेत नरहेका वीरगञ्ज बाहिरका व्यक्तिलाई ऋण दिएर रकम अपचलन गरेको आरोप छ । बचतमध्ये करिब ९२ करोड रुपैयाँ कार्यक्षेत्र बाहिर गएर लगानी गरेर अपचलन गरेको आरोप छ ।

यो सहकारीबाट जीबी राई सञ्चालक रहेको नेचर हब इन्टरनेसनलाई १ करोड ३७ लाख, नेचर नेष्ट प्रालिलाई १ करोड ८५ लाख र स्प्रीङ वुड रियल स्टेटलाई १ करोड एक लाख कर्जा प्रवाह गरिएको छ ।

त्यस्तै विशाल तामाङको नाममा ६ करोड ८३ लाख, छविलाल जोशीको नाममा १ करोड ८६ लाख, तिर्थराज लामिछानेको नाममा १ करोड ६ लाख, विमला पौडेलको नाममा २ करोड सात लाख कर्जा प्रवाह गरिएको खुलेको छ ।

लामिछानेमाथि यसअघि कास्कीको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा बयान भइसकेको छ ।

लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । सुरुमा लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो भने पछि कास्की प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थालेको थियो ।

जोर्डन: आगोबीचको फूल

संसारकै होचो भूभाग डेड सी (मृत सागर) को देश जोर्डनका लागि दिल्लीबाट उडान भर्दै गर्दा जहाजसँगै कैयौं जिज्ञासासहित मेरो मन पनि एकतमासले उडान भरिरहेको थियो । गुगलमा भेटेको मृत सागरमा तैरिएर जोर्डन टाइम्स पढ्दै गरेको एउटा मान्छेको तस्बिरले निकै रोमाञ्चित भएको थिएँ म ।

न पौडिरहेको । न कुनै सहारा । स्थिर । मृत सागरमा कसरी त्यो मान्छे पत्रिका पढिरहेको होला ? मेरो यो कौतूहलको अन्त्य भने मृत सागरमा आफैं तैरिएपछि भयो । अनौठो अनुभूति हुन्छ, मृत सागरमा हाम फाल्दा । गहिरो छ । तर, डुब्ने भय हुँदैन । पौडिन नजाने पनि नुनको बाक्लो तहले मान्छे स्वतस् माथि तैरिन्छ । पानीलाई तकिया बनाएर पत्रिका पढ्न सकिने । न बग्ने । न डुब्ने । न छालहरूले हुत्याउने ।

नदी तथा समुद्रमा डुबेर दिनहुँ थुप्रै मान्छेको मृत्यु भएको समाचार पढिरहेका मेरा लागि यो अनौठो दृश्य थियो । चारैतिर पहाड । त्यही पहाडको बीचमा फैलिएको छ, मृत सागर । वारि जोडर्न । पारि इजरायल । बाह्य घुसपैठ रोक्न मृत सागरमा स्टिमरमा पहरा दिंदै गरेका जोर्डनका सुरक्षाकर्मीहरू ।

तर, पर्यटकहरूलाई भने न सुरक्षाको चिन्ता छ । न त कुनै भय । शरीरभरि मृत सागरको माटो लगाएर निस्फिक्रीसँग मृत सागरमा तैरिएर आनन्द लिइरहेका छन् ।

नुनको मात्रा अधिक भएकै कारण जलीय जीवजन्तु (माछा र बिरुवा) बाँच्न नसक्ने भएकाले ‘मृत’ भनिने त्यही सागरले जोर्डनको पर्यटन र अर्थतन्त्रलाई जीवन दिएको छ ।

मृत सागरको किनारमा फैलिएका सुविधासम्पन्न अनगिन्ती होटलहरू प्रायः पर्यटकले खचाखच भरिएका हुन्छन् । बिहान मृत सागरमा तैरिन लाग्ने पर्यटकको भीड साँझपख जोर्डनको संगीतमा झुमिरहेको हुन्छ । नाचिरहेको हुन्छ ।

मृत सागर नजिकै छ, जोर्डन नदी । र, नजिकै छ, व्याप्टिज्म । यशुले ज्ञान प्राप्त गरेको विश्वास गरिने व्याप्टिज्म ख्रिष्टियनहरूका लागि पवित्र भूमि मानिन्छ । रोज सिटी (गुलाबी सहर) का नामले चिनिने पेट्रा पर्यटकको आकर्षणको केन्द्र हो । साँघुरा गुफा, पहाडभित्र बनाइएका ऐतिहासिक र पुरातात्त्विक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण घरहरू पेट्राका आकर्षण हुन् । वादी रम अझ गजबको छ । रातो मरुभूमि । चन्द्रमाजस्तो उपत्यका । मनमोहक सूर्योदयको दृश्य । जति हेरे पनि नथाकिने । हेरिरहूँ लाग्ने, वादी रम ।

मदावाको प्राचीन सभ्यताले पर्यटकलाई लोभ्याउँछ । जेरस धार्मिक दृष्टिकोणले अत्यन्त महत्त्व राख्छ । माउन्ट नेवोबाट देखिने दृश्यावलोकन कम्ती मनमोहक छैन । त्यहाँ रहेको पुरातात्त्विक तथा धार्मिक संंग्रहालयले पनि पर्यटकलाई आकर्षण गर्छन् ।

जोर्डनसँग सीमा जोडिएको सिरिया आधा दशकदेखि जारी गृहयुद्धले तहसनहस भएको छ । द्वन्द्वले सिरियाभन्दा पहिले ध्वस्त भएको इराक आईएसआईको जगजगीबाट उम्किन सकेको छैन । छिमेकी इजरायलसँगको उसको सम्बन्ध उतारचढावपूर्ण नै छ । विद्रोह र आतंकका लागि बन्द जोडर्नका ढोका शरणार्थीका लागि सधैं खुला छन् । शरणार्थीप्रति उदार जोर्डनले लाखौँ सिरियन, इराकी, प्यालेस्टाइनीलाई बिनाहिच्किचाहट आश्रय दिइरहेको छ । जोर्डनमा इराक, सिरिया, प्यालेस्ट्राइनका झन्डै ४० लाख शरणार्थी छन् ।

जोर्डन विश्वमा पानीको सर्वाधिक अभाव भोगिरहेका देशको सूचीमा १०औं देशभित्र पर्छ । तीव्र गतिमा भइरहेको जनसंख्या वृद्धि, त्यसमाथि लाखौंका संख्यामा थपिएका शरणार्थीहरूलाई शुद्ध पानीको आपूर्ति गर्नु जोर्डनका लागि कम्ती चुनौतीपूर्ण छैन । यो चुनौतीलाई सामना गर्न उसले हरसम्भव प्रयत्न गरिरहेको छ । तिनै प्रयत्नले पानीको अभाव र त्यसले सिर्जना हुने समस्याले विकराल रूप लिन पाएको छैन ।

गृहयुद्ध, विद्रोह र छिमेकीसँगको शत्रुतापूर्ण सम्बन्ध मध्यपूर्वका देशहरूका नमीठा अनुभव हुन् । गृहयुद्ध नबेहोरे पनि छिमेकी इराक, सिरिया, लेबनानका युद्धका बाछिटाहरू उसको आँगनभित्रै आइपुगेका छन् । युद्ध शरणार्थीहरूको सामना र तिनको व्यवस्थापन उसका लागि युद्धभन्दा कम्ती चुनौतीपूर्ण भने छैन ।

यद्यपि जोर्डन शान्त छ । राजधानी अम्मान त झनै अनौठो । न डर छ । न कसैको त्रास । सरकारले सुनिश्चित गरेको सुरक्षाका कारण मध्यरातमा पनि रात्रि जीवनमा निस्फिक्रीसँग रमाइरहका हुन्छन्, विदेशीहरू । र, ढुक्कसँग सुत्छन्, जोर्डनका नागरिक ।

चारैतिर द्वन्द्वको आगो छ । यस्तो लाग्छ, जोर्डन आगोबीचको फूल हो । आगोका रापहरू ऊसम्म पुग्न नपाउँदै शीतल भइसक्छन् । तर, त्यही आगोको बीचमा जोर्डन भने शान्त, स्थिर र विकासमा फड्को मारिरहेको छ । मध्यपूर्वभन्दा बाहिरसम्म फैलिएको जोर्डनको सुरक्षित र उत्कृष्ट पर्यटकीय गन्तव्यको सन्देश बर्सेनि ६० लाखभन्दा बढी पर्यटक भित्र्याउन सहयोगी भएको छ । मेडिकल टुरिज्मका लागि समेत ख्यातिप्राप्त जोर्डनले सन् २००८ मा उपचारका लागि आएका अढाई लाख विदेशीबाट एक बिलियन डलर आम्दानी गरेको थियो ।

जोर्डनमा इराक, सिरिया, कुवेत, इजरायल, प्यालेस्टाइन, लेवनान, लिबियालगायत देशसँगै युरोप, एसिया र अफ्रिकाबाट उपचारका लागि आउँछन् । अशान्त र असुरक्षित ती देशहरूको बीचमा जोर्डन कसरी शान्त र सुरक्षित रहन सकेको होला ? मृत सागरमा मान्छे कसरी तैरिएर अखबार पढिरहेको होला भन्ने कौतूहलसँगै यो अर्को जिज्ञासा मेरो मनमा थियो ।

राजा अब्दुल्लाह द्वितीयले १९९९ लिएको उदार आर्थिक नीति र कुशल नेतृत्वकै कारण मध्यपूर्वमा जोर्डन सुरक्षित र विकसित भएको बुझाइ छ । त्यही आर्थिक उदार नीतिपछि भित्रिएको वैदेशिक लगानी विकासको एउटा आधार मानिन्छ ।

अरब मुलुकहरूमा मदिरा वर्जित छ । रात्रि जीवन छुट छैन । क्यासिनो र डान्स बारहरूको नाम लिनु अपराध मानिन्छ । मध्यपूर्वमा जोर्डन यस्तो देश हो, जहाँ मुस्लिमको बाहुल्य त छ । तर, जीवनशैली भने अमेरिकन छ । जहाँ कुनै चीजमा बन्देज छैन । अम्मानमा एक कार्यक्रममा सहभागी भएर राति होटल फर्किंदै गर्दा ट्याक्सीचालक युसुफ सोध्दै थिए, डान्स बार जानुहुन्छ ?

डान्सबार छन् र ? जिज्ञासा राख्न नपाउँदै उनले एक सासमा जवाफ दिइहाले— जति भने पनि । रात छिप्पिँदै गएपछि राजधानी अम्मान मदिरा र संगीतको तालमा व्यस्त हुँदै जान्छ । मस्त हुँदै जान्छ । डान्स बारहरूमा उन्मुक्त भएर नाचिरहेका पर्यटकहरू हेर्दा मुस्लिम देशमा भएको छनकसम्म हुँदैन ।

मुस्लिम मुलुकमा नदिइएका अधिकार र स्वतन्त्रता जोर्डनका नागरिकले उपभोग गर्न पाएका छन् । अभिव्यक्ति स्वतन्त्रता । आफ्नो ढंगले जीवनयापन र व्यवसाय गर्न पाउने स्वतन्त्रता । तर, त्यो स्वतन्त्रता राष्ट्र, राष्ट्रियता र राष्ट्रिय सुरक्षाभन्दामाथि छैन । मध्यपूर्वका मुलुकहरूमा अधिकार प्राप्तिका नाममा दन्केको विद्रोहको आगोबाट त्यही कारण जोर्डन अहिलेसम्म टाढा छ ।

खोज्नुहोस