ओलम्पिक कमिटिको निर्वाचन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट

काठमाडौं । नेपाल ओलम्पिक कमिटिको निर्वाचन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। आगामी शनिबारका लागि तयारी भएको निर्वाचन रोक्न माग गर्दै ओलम्पिक कमिटिका सदस्य कमलबहादुर चित्रकारले वारेसमार्फत रिट दायर गरेका हुन्।

रिटमा ओलम्पिक कमिटिका अध्यष जिवनराम श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र जिल्ला प्रशासन कार्यालय ललितपुरलाई विपक्षी बनाइएको छ। निर्वाचन गर्ने सम्बन्धि निर्णयहरु, अवैधानिक पत्रहरु लगायत अन्य कार्यहरु बदर गर्न आदेश माग गरिएको छ। जीवनरामलाई नेपाल ओलम्पिक कमिटिको नामबाट कुनै पनि गतिविधि नगर्नु भनि प्रतिषेधको आदेश समेत माग गरिएको छ।

जिवनरामले प्रेसित गरेको पत्रका आधारमा अवैधानिक रुपमा नेपाल ओलम्पिक कमिटिको निर्वाचन पुस १३ गते हुन लागेको भन्दै अन्तरिम आदेश मार्फत निर्वाचनमा रोक लगाउन समेत माग गरिएको छ। ओलम्पिक कमिटिमा अन्य सदस्यहरु सर्वसम्मत भएपनि अध्यक्ष र उपाध्यक्षमा निर्वाचन हुन लागेको छ। अध्यक्षमा तीनजनाको उम्मेदवारी परेको छ। जसमा हालका अध्यक्ष जीवनराम श्रेष्ठ पनि छन्। निलेन्द्रराज श्रेष्ठ र तेजबहादुर गुरुङले पनि अध्यक्षमा दाबी गरेका छन्।

उपाध्यक्षमा ७ सिटका लागि ९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। ज्योति राणा, गोपालसुन्दर लाल कक्षपति, प्रकाशशमशेर राणा, दावा गुरुङ, अनिलप्रसाद शर्मा, तुल्सी थापा, अशोकरत्न बज्राचार्य र चतुरानन्दराज वैद्यले उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन्।

महासचिवमा राजीव श्रेष्ठको मात्र उम्मेदवारी परेको छ। यस्तै कोषाध्यक्षमा टासी घले र उपमहासचिवमा रामजीबहादुर श्रेष्ठको एकल उम्मेदवारी परेको छ। तीन सचिवका लागि रमेशप्रसाद शिवाकोटी, भीमसिंह गुरूङ र रामकृष्ण श्रेष्ठले नाम दर्ता गराएका छन्।

पाँचजना सदस्यमा गीता क्षत्री राणा, लाक्पा छिरिङ लामा, राम अवाले, मनीष जोशी र जितेन्द्रबहादुर चन्द छन्।

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

काठमाडौं । दक्षिण कोरियामा विपक्षी दलले बिहीबार कार्यवाहक राष्ट्रपति हान डक–सूविरुद्ध महाभियोग प्रस्ताव दायर गरेको छ ।

राष्ट्रपति हानले आफ्नो पूर्ववर्तीलाई पदबाट हटाउने प्रक्रिया पूरा गर्न संवैधानिक अदालतका न्यायाधीशहरू नियुक्त गर्न अस्वीकार गरेपछि विपक्षीले महाअभियोग प्रस्ताव दर्ता गरेको हो ।

हाल निलम्बित राष्ट्रपति युन सुक योलले डिसेम्बर ३ मा सैनिक कानून घोषणा गरेपछि दक्षिण कोरिया राजनीतिक सङ्कटमा परेको छ ।

यस कार्यलाई लिएर डिसेम्बर १४ मा संसद्ले युनको अधिकार खोसेको थियो तर महाभियोग प्रक्रिया पूरा गर्न सांसदहरूको निर्णयलाई समर्थन गर्ने संवैधानिक अदालतको फैसला आवश्यक छ ।

तर कार्यवाहक राष्ट्रपति हानले संवैधानिक अदालतको नौ सदस्यीय बेन्च भर्नका लागि तीनजना मनोनीत न्यायाधीशको नियुक्तिलाई अनुमोदन गर्न अस्वीकार गरेर अनिवार्य रूपमा युनलाई हटाउने प्रक्रियालाई रोके ।

त्यसैले विपक्षी डेमोक्रेटिक पार्टीले अब हानलाई पनि महाअभियोग लगाउन खोजिरहेको छ ।

“हामीले प्रस्ताव पेस गरेका छौँ… र यसलाई आज पूर्ण अधिवेशनमा रिपोर्ट गर्नेछौँ”, सांसद पार्क सुङ–जुनले हान विरुद्धको कारबाहीबारे राष्ट्रिय सभामा पत्रकारहरूलाई भने, “हामी यसलाई भोलि मतदानमा राख्नेछौँ ।”

“हानले तीन न्यायाधीशको औपचारिक नियुक्ति गर्न अस्वीकार गर्नुले उहाँमा संविधान कायम राख्ने इच्छा वा योग्यता छैन भन्ने प्रमाणित गर्छ”, डेमोक्रेटिक पार्टीका फ्लोर लिडर पार्क चान–डाएले पत्रकारहरूलाई भने ।

यदि अदालतले थप तीन न्यायाधीश बिना नै महाअभियोग प्रक्रिया अगाडि बढाउने हो भने हालका सबै छ न्यायाधीश युनलाई पदबाट हटाउन सर्वसम्मतिले सहमत हुनुपर्नेछ । एक मात्र असहमति मतले युनलाई पुनर्बहाली गर्नेछ ।

हानले उनको सत्तारूढ पिपुल पावर पार्टी र विपक्षीले मनोनयनमा सम्झौता गरेमा मात्र न्यायाधीशहरूको नियुक्तिलाई प्रमाणित गर्ने बताएका छन् ।

“हाम्रो संविधान र कानूनमा अन्तर्निहित सुसङ्गत सिद्धान्त भनेको संवैधानिक संस्थाहरूको नियुक्ति लगायत महत्त्वपूर्ण विशेष राष्ट्रपतिको अधिकारको प्रयोग गर्नबाट टाढा रहनु हो”, ७५ वर्षीय क्यारियर ब्युरोक्रेट हानले तर्क गरे, “जनताको प्रतिनिधित्व गर्ने राष्ट्रिय सभामा सत्तारूढ र विपक्षी दलहरूबीच पहिले सहमति हुनुपर्छ ।”

यदि विपक्षीले शुक्रबारको मतदानमा हान विरुद्धको महाभियोग प्रस्ताव पारित गर्यो भने यो लोकतान्त्रिक दक्षिण कोरियाले कुनै कार्यवाहक राष्ट्रपतिमाथि महाअभियोग लगाएको पहिलो पटक हुनेछ ।

त्यस्तो अवस्थामा हानको स्थानमा अर्थमन्त्री चोई साङ–मोकले कार्यवाहक राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन् । एएफपी

ओलीको पार्टी निष्कासन निर्णयविरुद्ध उत्रिन भीम रावलको अपिल

काठमाडौं । नेकपा एमालेबाट आफूलाई निष्कासन गर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णयविरुद्ध उत्रिन भीम रावलले अपिल गरेका छन्।

सामाजिक सञ्जाल एक्समार्फत् रावलले आफूलाई निष्कासन गर्ने एमाले सचिवालय बैठकको निर्णयविरुद्ध उत्रिन आफ्ना समर्थकलाई आग्रह गरेका छन्।

‘सबै देशभक्त, न्यायप्रेमी, सुशासन, सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिबद्ध इमान्दार पार्टी कार्यकर्ता र जनसमुदायले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा म विश्वस्त छु,’ उनले लेखेका छन्।

ओलीले आफूलाई पार्टीबाट निष्कासन गरेर सत्ताउन्माद, निरकुंश, स्वेच्छाचारी र तानाशाही चरित्र देखाएको उनको आरोप छ।

कैलालीमा केबलकार सञ्चालनका लागि निर्माण सुरु

कैलाली । कैलालीको चिसापानीदेखि राजकाँडासम्म केबलकार सञ्चालनका लागि निर्माण सुरु गरिने भएको छ । यहि शनिबार केबलकार निर्माणको शिलान्यास गरिने भएको हो ।

परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले शिलान्यास गर्ने कार्यक्रम तय भएको सञ्चालक सूर्यबहादुर थापाले जनाउनुभयो । केबलकार निर्माणका लागि एक हजार आठ सय बढी रुख कटान भइसकेको छ भने २० बिगाह जग्गा पनि जालपादेवी केबुलकारको नाममा आइसकेको बताइएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जिल्ला समन्वय समिति कैलालीका पूर्वसभापति सूर्यबहादुर थापाको समूहले जालपादेवी केबुलकार निर्माण गर्न लागेको हो । अध्यक्ष ढकाल चन्द्रागिरी केबुलकारका सञ्चालकसमेत हुन ।

थापाका अनुसार सात अर्ब रुपियाँको लगानीमा निर्माण हुन लागेको केबलकारको कूल लम्बाइ तीन दशमलब एक किलोमिटरको हुनेछ । दश मिनेटको यात्रा दुरी रहने केबलुकारमा १५ वटा टावर र ३४ वटा गोन्डुला रहने गरी डिपिआर निर्माण भएको सञ्चालक थापाले जानकारी दिए ।

केबलकारको यात्रामा कर्णाली नदी, जालपादेवी, कालभैरब, कालिकादेवी, कैलाश धामलगायतका धार्मिकस्थल, हात्ती ढुङ्गा लगायत पर्यटकीयस्थलको अवलोकन गर्न सकिनेछ । केबलकारबाट हुने कूल आम्दानीको दुई प्रतिशत स्थानीय सरकारलाई उपलब्ध गराउने बताइएको छ ।

यस्तै केबुलकारको निर्माणसँगै चिसापानीमा ५० बेड र राजकाँडामा एक सय बेड क्षमताका होटेल र सभाहल निर्माण गरिने बताइएको छ । केबलकारको बटम स्टेशन कर्णाली चिसापानीमा रहने जनाइएको छ । केवलकार सञ्चालनले सुदूरपश्चिमको पर्यटन विकाससंगै आर्थिक उपार्जनमा समेत सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

इमर्जिङ क्रिकेटर विपिनलाई स्वस्तिमाको आइफोन उपहार

काठमाडौं । नेपाल क्रिकेट लिग (एनपीएल)मा इमर्जिङ प्लेयर अवार्ड जितेका कर्णाली याक्सका क्रिकेटर विपिन शर्मालाई अभिनेत्री स्वस्तिमा खड्काले आइफोन उपहार दिएकी छन् ।

स्वस्तिमा कर्णाली याक्सकी प्रवर्धन दूत समेत हुन् । आफ्नो टीमका हरेक खेलको क्रममा टीयू क्रिकेट ग्राउन्डमा उपस्थित भएर खड्काले टीमलाई हौसला प्रदान गर्दै आएकी थिइन् ।

क्रिकेटर शर्माले सामाजिक संजालबाट क्रिसमस गिफ्टको रुपमा आफूलाई स्वस्तिमाले फोन गिफ्ट दिएको जनाएका छन् । उनले आफूले पाएको गिफ्ट र स्वस्तिमाले दिएको लिखित नोट पनि शेयर गरेका छन् ।

नोटमा स्वस्तिमा लेख्छिन्, ‘एनपीएलमा तिम्रो यो अविश्वसनीय सफलताप्रति बधाई छ । यो फोन तिम्रो कडा परिश्रम र समर्पणको लागि प्रशंसाको सानो प्रतीक हो । यसले तिम्रो जीवन र मैदानमा दुबैतिर अनगिन्ती राम्रो कलहरू ल्याउन सकोस् । तिमीले उत्कृष्ट अवसरहरू पाउन सकोस् भन्ने शुभकामना ।’

शर्माले एनपीएलमा कर्णालीका लागि १३ विकेट लिएका थिए ।

सरकारको प्रस्तावमा समितिको कैँची, पाँच वर्षपछि प्रज्ञाप्रतिष्ठानमा ऐनमा व्यापक संशोधन

भानुभक्त आचार्य / कैलाली । २०७६ सालमा पारित भइसकेको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा ५ वर्षपछि व्यापक हेरफेर गरिएको छ । उक्त ऐन २०७७ असार ११ गते प्रमाणीकरण गरिएको थियो । मुख्यमन्त्री प्रतिष्ठानको कुलपति र सामाजिक विकास मन्त्री सहकुलपति रहने सरकारको व्यवस्थालाई सामाजिक विकास समितिले व्यापक संशोधन गरेको हो ।

अब मुख्यमन्त्री र सामाजिक विकास मन्त्री कुलपति र उपकुलपति हुने छैनन् । समिति पास गरेको प्रतिवेदनमा मुख्यमन्त्रीलाई प्रमुख संरक्षक र सामाजिक विकास मन्त्रीलाई संरक्षकको जिम्मेवारी दिइएको छ । प्रज्ञा प्रतिष्ठानमा एक उपकुलपति रहने र कुलपति नै प्रतिष्ठानको प्रमुख पदाधिकारी रहने व्यवस्था समितिले पास गरेको छ।

यस अघि उपकुलपतिलाई प्रमुख रुपमा कानुनमा चित्रण गरिएको थियो । यस अघि सामाजिक विकास मन्त्री सहकुलपति रहेको समितिले उपकुलपतिका नियुक्त गर्ने व्यवस्था रहेको थियो। त्यसमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र सामाजिक विकास मन्त्रालयको सचिव सदस्य रहने व्यवस्था थियो । समितिले सामाजिक विकास मन्त्री नै अध्यक्ष रहेको छनोट समितिको सदस्यमा भने दुई सचिवको ठाउँमा भाषा साहित्य, लोक साहित्य, संस्कृति , ललितकला नाट्यकला, सङ्गीतको क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिमध्येबाट मुख्यमन्त्रीले तोकेका २ जना सदस्य रहने छन् ।

समितिले प्रतिष्ठान समावेशी बनाउन कुलपति वा उपकुलपति मध्ये एक जना महिला अनिवार्य गराएको छ । यो सरकारले बनाएको ऐनमा थिएन । अघिल्लो प्रदेश सभाले पारित गरिसकेको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा वर्तमान सरकारले केही संशोधन गर्ने तयारी गरेको थियो । अघिल्लो माघ १७ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभा दर्ता गराएको थियो ।

माघ २२ प्रदेश सभामा प्रदेश सभामा प्रस्तुत भएको उक्त संशोधन विधेयकमा २३गते सामान्य छलफल पछि फागुन १६ गते दफावार छलफलको लागि सामाजिक विकास समितिमा पठाइएको थियो । तत्कालीन अवस्थामा शिवराज भट्ट अन्तरिक मामिला मन्त्री हुँदा ल्याएको संशोधनको खाकामा भट्ट नै ज्येष्ठ सदस्यको हैसियतले सामाजिक विकास समितिको नेतृत्व गर्दा व्यापक हेरफेर गरेका छन् ।

‘हामीले धेरै छलफल र परामर्शपछि ऐनमा संशोधन गरेका हौँ’ ज्येष्ठ सदस्य भट्टले भने । ‘तपाइनै मन्त्री हुँदा ल्याएको संशोधनमा पनि धेरै संशोधन गर्नु भयो नि ? ’ प्रश्नमा समितिको नेतृत्व गरेका भट्ट भन्छन्, ‘हामीलाई त्यो अधिकार छ ।सरकारले ल्याएको विषयमा पनि समितिले हेरफेर गर्न सक्छ ।’ संशोधनसहितको प्रतिवेदन प्रदेश सभा सचिवालयमा दर्ता भइसकेको छ ।

अबको बैठकमा उक्त विधेयक पेश हुने छ । सरकारले ल्याएको ऐन भन्दा समितिले गरेको संशोधन उपयुक्त गरेको साहित्यकार तथा प्राज्ञिक व्यक्तित्वहरूको भनाइ छ । ‘पहिले मुख्यमन्त्री र मन्त्री नै हाबी हुने जस्तो प्रतिष्ठान थियो । त्यसले प्राज्ञ व्यक्तित्वहरूको विषयमा समेट्न सकेको थिएन ’ नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभा सदस्य जनक रसिदले भने, ‘छनोट समितिदेखि कुलपति उपकुलपतिसम्मको व्यवस्था हेरफेर भएको हो भने त्यो राम्रो भयो । ’

मङ्कीपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्यमा सुधार हुँदै

काठमाण्डौ – मङ्कीपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६ वर्षीय युवकको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा।युवानिधि बसौलाले जानकारी दिए ।

मङ्कीपक्स सङ्क्रमण भएकालाई कम्तीमा तीन साता एक्लै राखेर उपचार गर्नुपर्ने भएकाले त्यही अनुसार उपचार भइरहेको निर्देशक बसौलाले दिनुभयो । साउदी अरवबाट आएका ती युवकमा यही पुस ५ गते मङ्कीपक्स सङ्क्रमण भएको पुष्टि भएको हो ।

पाकिस्तानको आक्रमणबाट अफगानिस्तानमा ४६ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानी हवाई आक्रमणमा परी ४६ जनाको मृत्यु भएको जनाएको छ । मंगलबार राति पाक्टिकाको बर्मल जिल्लामा भएको आक्रमणमा मारिनेमा अधिकांश महिला र बालबालिका रहेका छन् ।

बर्माल जिल्ला दक्षिण वजिरिस्तानको वाना र रज्माक क्षेत्रनजिक पर्छ । तालिबान अधिकारीहरूका अनुसार वजिरिस्तानका शरणार्थीहरूलाई लक्षित गरी आक्रमण भएको थियो ।

तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले समाचार एजेन्सी एएफपीलाई पाक्टिका प्रान्तका चार क्षेत्रलाई निशाना बनाइएको बताएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।

तालिबान सरकारका उपप्रवक्ता हमदुल्लाह फित्रातले पनि मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेको बताए ।

उनले भने, ‘मंगलबार राति पाक्टिका प्रान्तको बर्माल जिल्लामा चार ठाउँमा बम विष्फोट हुँदा ४६ जनाको ज्यान गएकोमा निकै दुःख लागेको छ । ६ जना घाइते भएका छन् । धेरै घर ध्वस्त भए । मारिनेमा अधिकांश महिला र बालबालिका रहेका छन् ।’

पक्तिका अस्पतालका एक अधिकारीले बीबीसीलाई बताएअनुसार २२ शवसहित ४६ घाइतेलाई उनीहरूको स्वास्थ्य केन्द्रमा लगिएको छ । तीमध्ये केहीलाई राम्रो उपचारका लागि उत्कृष्ट उपकरणसहित अस्पतालमा पठाइएको छ ।

तालिबान सरकारको रक्षा मन्त्रालयबाट जारी गरिएको विज्ञप्तिमा उक्त हमलाको निन्दा गर्दै यसलाई ‘बर्बर’ भनिएको छ ।

‘पाकिस्तानी सेनाको बमबारीले सर्वसाधारणलाई निशाना बनाएको थियो, जसमा अधिकांश वजिरिस्तानका शरणार्थी थिए । आक्रमणमा बालबालिकासहित धेरै सर्वसाधारण मारिएका र घाइते भएका छन्,’ ‘अफगानिस्तानको इस्लामिक इमिरेट्स यो क्रूर कार्यलाई सबै अन्तर्राष्ट्रिय मान्यताको उल्लङ्घन भएको विश्वास गर्दछ र यसको कडा निन्दा गर्दछ ।’

यस्तो मनोमानी कारबाही कुनै पनि समस्याको समाधान नभएको पाकिस्तानी पक्षले बुझ्नुपर्ने तालिबानी सरकारको सुझाव छ ।

‘इस्लामिक इमिरेट्सले यस क्रूर कार्यको जवाफ दिनेछ । यो आफ्नो भूमि र क्षेत्रको रक्षा गर्न आफ्नो अधिकार मान्छ,’ विज्ञप्तिमा भनिएको छ ।

यस घटनाबारे पाकिस्तान सरकारले भने हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

सुदूरपश्चिम समाज क्यालिफोर्नियाको अध्यक्षमा बोगटी निर्विरोध निर्वाचित

क्यालिफोर्निया, ११ पुस ।
सुदूरपश्चिम नेपाली समाज क्यालिफोर्नियाको अध्यक्षमा दल बोगटी निर्विरोध निर्बाचित भएका छन् । हालै सम्पन्न समाजको पहिलो साधारण सभाबाट बोगटी अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

समाजको उपाध्यक्षमा नवराज मुडभरी, खेमु रेग्मी, महासचिवमा तपेन्द्र बहादुर भुल, सचिवमा सन्तोष कुमार बोहरा, कोषाध्यक्षमा वीरेन्द्र बटाला चयन भए ।

त्यस्तै सदस्य पदमा रन बहादुर बडुवाल, विनोद बजगाई, गिरिजा प्रसाद उपाध्याय, पुष्पा जोशी, वीरेन्द्र बिष्ट, पुर्ण बहादुर बोहोरा, टिना खनाल चयन भईन ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका तर्फ चक्र बहादुर भण्डारी ,हेम ठकुल्ला र मनिराम न्यौपानेले निर्वाचित भएको प्रमाण पत्र प्रदान गरे

समाजका अध्यक्ष कर्ण चन्दको सभापतित्वमा सम्पन्न साधारण सभामा प्रमुख अतिथि नेपाल सरकारका महावाणिज्यदूत ऋषी ढकाल, विशिष्ट अतिथि समाजका बरिष्ठ सल्लाहकार  गणेश भट्टराइले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साधारण सभामा एकता समाजका अध्यक्ष रोशन अधिकारी, ईन्टरटेनमेण्ट ८८४८ का अमृत महतो , गुरुङ समाज का अधक्ष्य ( श्री जोसेफ घले, पशुपति तथा बुद्ध फाउन्डेसनका अध्यक्ष रामेश्वेर भण्डारी, बुद्ध तथा फाउन्डेसनका बिमल श्रेष्ठ,  जनसम्पर्क समाजका अध्यक्ष मदन पाठक, नेवा समाजका अध्यक्ष कनया श्रेष्ठ अतिथि रहेका थिए ।

लामो समयदेखि समाजलाई सहयोग गर्दै आएका वेद भक्त जोशी, ऋषि ढकाल, सुरेश खनाल, चक्र बहादुर भण्डारी, भरत भुल,गणेश भट्टराई, श्री प्रेम बहादुर सार्की, गोविन्द चन्द, ईन्टरनेशनल ईण्डिया बजारलाई साधारण सभामा सम्मान गरिएको थियो ।

एमालेले भीम रावललाई साधारण सदस्यबाट हटायो, विन्दा र उषाकिरणलाई ६ महिना निलम्बन

काठमाडौं । नेकपा एमालेले पार्टी नेता भीम रावललाई संगठित सदस्यबाट निष्काशन गरेको छ ।

पार्टी कार्यालय च्यासलमा बुधबार बसेको एमाले सचिवालय बैठकले रावलका अभिव्यक्तिहरु पार्टीविपरीत गरेको भन्दै संगठित सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । पार्टीलाई निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएका कारण रावललाई संगठित सदस्यबाट मुक्त गरिएको ज्ञवालीले बताए ।

त्यस्तै, बैठकले पार्टी कार्यालय निर्माणका सन्दर्भमा दिएको अभिव्यक्तिका बारेमा स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई सोधिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै पार्टीको निर्देशनमा चल्न निर्देशित गर्दै ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले सरकारको कामकारवाहीका सन्दर्भमा सन्तुष्ट रहेको भन्दै सरकारका काममा गति ल्याउनुपर्ने आवश्यकता बोध गरेको उपमहासचिव ज्ञवालीले बताए । वर्तमान सरकारका कारण आर्थिक अवस्था सुुधार हुँदै गएको, अन्तराष्ट्रिय सम्बन्ध सुदृढ हुदै गएको उनले बताए ।
सचिवालय बैठकले संविधान संशोधन गर्न, संसदमा बिचाराधिन रहेका विधेयकलाई अन्त्य गर्नका लागि र बिभिन्न बिषयमा समान धारणा बनाउन चार–चार सदस्यीय दुईदलीय संयन्त्र बनाउने निर्णय गदै संयन्त्रको सुझावका आधारमा अघि बढ्ने निर्णय गरेको छ । बैठकले पार्टीको केन्द्रीय कमिटी बैठक पुष २१ र २२ गते बोलाउने निर्णय गरेको छ ।

बैठकका लागि राजनीतिक प्रतिवेदन, संगठनात्मक कामका बारेमा जानकारी , यसअघि सचिवालय, स्थायी कमिटी तथा पोलिट्व्युरो बैठकले गरेका निर्णय अनुमोदन र समसामायीक प्रस्ताव सहितका चार वटा एजेण्ड तयार गरेको ज्ञवालीले बताए ।

धनगढीमा निता स्मृति राष्ट्रिय उसु प्रतियोगिता आयोजना हुँदै

धनगढी । सुदूरपश्चिम प्रदेश उसु सङ्घले निता स्मृति राष्ट्रिय उसु खुला प्रतियोगिता-२०८१ आयोजना गर्ने भएको छ। उसु खेल क्षेत्रकी विशिष्ट खेलकर्मी निता खड्काको सम्झनामा प्रतियोगिता आयोजना गर्न लागिएको  हो । यही पुस १४ देखि १६ गतेसम्म धनगढीको खुलामञ्चमा  प्रतियोगिता सञ्चालन हुने उसु सङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष राजिव गुप्ताले जानकारी दिए ।

प्रतियोगितामा पुरुषतर्फ ४८ , ५२ , ५६ , ६०, ६५ , र ७० किलोग्रामका तौल समूहहरू समावेश छन्  । यस्तै महिलातर्फ ४८, ५२ , र ५६ किलोग्रामका तौल समूहहरू रहेका छन्। यस प्रतियोगितामा १०८ पुरुष र ७८ महिलासहित कुल १८६ खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विभिन्न प्रदेश स्तरीय टिमहरूले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

दिवङ्गत निता खड्काप्रति सम्मान व्यक्त गर्नु, शोकाकुल परिवारलाई मनोबल प्रदान गर्नु, खेल क्षेत्रका प्रतिभावान युवा खेलाडीहरूको प्रोत्साहन गर्दै उनीहरूलाई राष्ट्रिय स्तरमा चिनाउन अवसर दिनु र उसु खेलप्रति नयाँ पुस्ताको आकर्षण बढाउनु प्रतियोगिताका प्रमुख उद्देश्यहरू रहेका छन्  । साथै, यो प्रतियोगिताले प्रदेश र राष्ट्रिय स्तरमा उसु खेलको लोकप्रियतालाई अझ विस्तार गर्ने विश्वास लिइएको  अध्यक्ष  गुप्ताले  बताए ।
सहयोगको अपिल
कार्यक्रम सफल बनाउन स्थानीय निकाय, विद्यालय, अस्पताल, व्यावसायिक समुदाय लगायतका विभिन्न क्षेत्रहरूबाट सहकार्य गरिएको छ। आयोजकले मिडिया प्रतिनिधि, खेल प्रेमी, र स्थानीय बासिन्दालाई यस ऐतिहासिक प्रतियोगितामा सहभागी भई सहयोग गर्न अपिल गरेको छ।

यो प्रतियोगिताले उसु खेलको प्रचार मात्र नभई, प्रदेश र देशको खेल क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

६७ यात्रु सवार विमान कजाखस्तानमा दुर्घटना

काठमाडौं । काजखस्तानमा ६७ यात्रु सवार विमान दुर्घटना भएको छ । अजरबैजान एअरलाइन्सले सञ्चालन गरेको फ्लाइट नम्बर जे२(८२४३ भएको विमान आगोमा लपेटिँदै अक्ताउ शहर नजिक खसेर दुर्घटनाग्रस्त भएको हो ।

कजाखस्तानको आपत्कालीन मन्त्रालयका अनुसार दुर्घटनामा १४ व्यक्तिको जीवितै उद्धार भएको छ भने उनीहरूलाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ । दुर्घटनाको खास कारण पत्ता लागेको छैन ।

विमान अजरबैजानको बाकुबाट रूसको ग्रोज्नीतर्फ उडिरहेको थियो । तर ग्रोज्नीमा तुँवालोका कारण विमानलाई अर्को दिशातर्फ पठाइएको रूसी समाचार एजेन्सीले जनाएको छ । विमानमा लागेको आगो निभाइसकिएको छ ।

सोनु निगमको कन्सर्टबाट महानगरले हटायो मदिराजन्य विज्ञापन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भारतीय गायक सोनु निगमको कन्सर्टमा प्रायोजन गरेर विज्ञापन गरिएका मदिराका १ सय ५० बोर्ड हटाएको छ।

सोनु निगम हायात होटलको मैदानमा आयोजना हुने कन्सर्टका लागि बुधबार नै नेपाल आइपुगेका छन्।

कन्सर्टमा अनाधिकृत रूपमा राखिएका १ सय ५० वटा मदिराजन्य विज्ञापन बोर्ड महानगर प्रहरीले हटाएको हो।

महानगर प्रहरीले सुरक्षाकर्मी परिचालन गरेर यी बोर्डहरू हटाएको महानगरले जानकारी दिएको छ।

मदिराजन्य सामग्रीको विज्ञापनलाई नियन्त्रण गर्ने महानगरको नीति अन्तर्गत यी बोर्डहरु हटाइएका हुन्। जनस्वास्थ्य ऐन २०७५ को दफा ४५ मा मदिरा, सुर्तिजन्य पदार्थको विज्ञापन तथा प्रचारप्रसार निषेध गरिएको छ।

क्रिसमस–डेको अवसर पारेर हायात रिजेन्सी होटलको मैदानमा बेलुका ‘सोनु निगम लाइभ इन नेपाल’ हुँदैछ।

हाइटीमा पत्रकार सम्मेलनका क्रममा गोली चल्यो, दुई पत्रकारसहित तीन जनाको मृत्यु

काठमाडौं । क्यारेबियन देश हाइटीको प्रमुख सरकारी अस्पताल पुनः खोल्ने घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा एक हतियारधारी व्यक्तिले गोली चलाएको छ ।

हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा भएको गोलीकाण्डमा तीन जनाको ज्यान गएको छ भने कैयौं घाइते भएका छन् । यो सार्वजनिक अस्पताल जुलाइअघि हिंसात्मक समूहले कब्जा गरेको थियो।

गोली चल्दा पत्रकारहरु स्वास्थ्यमन्त्रीलाई पर्खिरहेका थिए । रिपोर्टका अनुसार दुई पत्रकार र एक प्रहरीको मृत्यु भएको छ । हमला भिभ अन्सानम समूहले गराएको थियो।

यो गोलीबारीपछिका धेरै भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । हाइटी क्यारिबियन सागरमा स्थित एक देश हो।

‘शेख हसिनालाई भारतबाट फिर्ता ल्याउनु बंगलादेश सरकारको प्राथमिकता’

ढाका : बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसका प्रेस सचिव शफिकुल आलमले शेख हसिनालाई भारतबाट फिर्ता ल्याउनु सरकारको प्राथमिकता रहेको बताएका छन्।

शफिकुल आलमले भने, ‘सरकारले बंगलादेशको कानून अनुसार शेख हसिनालाई जतिसक्दो चाँडो फिर्ता ल्याउने काम गरिरहेको छ।’

बंगलादेशले भारतसँग शेख हसिनालाई सुपुर्दगी गर्न माग गरेको छ ।

बंगलादेशको विदेश मन्त्रालयका सल्लाहकार मोहम्मद तोहेद हुसेनले भर्खरै शेख हसिनालाई न्यायिक प्रक्रियामा सामेल हुन फिर्ता पठाउनुपर्ने कुरा भारतलाई जानकारी गराएको बताएका छन्।

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना अगस्ट ५ देखि भारतमा छिन् ।

भारतको विदेश मन्त्रालयका प्रवक्ताले यसको पुष्टि गर्दै भने, ‘हामीले बंगलादेशको उच्चायोगबाट सुपुर्दगी अनुरोध प्राप्त गरेका छौं।’ बीबीसी

त्यो धनगढी र सृजना ट्राभल्स

त्यो समय, जतिबेला मान्छेको रहर साईकल चढ्ने हुन्थ्यो । उनीसंग बसहरु थिए । र, आफ्नै बस ट्राभल्स । पश्चिम नेपालको यातायात क्षेत्रको ब्राण्ड थियो, सृजना ट्राभल्स । र, अर्को ब्राण्ड थियो, सृजना फोटो स्टुडियो । उनी ती दुईटै ब्राण्डका संस्थापक । कोडाकको युगका ती दुई ब्राण्ड । कोडाक झै जनजिब्रोमा थिए, परिचित ।

मोटरसाईकल चढ्ने मान्छे पो ठूलो त ! २०३५ सालतिर फर्किएर उनी सम्झिन्छन्, धनगढीमा दुई जना लव सत्याल र जयराज भट्टसंग मात्र मोटरसाईकल थियो । त्यो पनि भारतीय नम्बर प्लेटका ।

४० देखि ६० को दशक सृजना ट्राभल्सको युग थियो । त्यो दुई दशक सुदूर पश्चिममा उनको ब्राण्डको नाम नसुन्ने सायदै कोही थियो होला । मान्छेले साईकल किन्न सोच्नुपथ्र्यो । उनी भने प्रत्येक वर्ष बस थप्थे ।

को हुन् उनी, यति चर्चा गरिसकेपछि कतिपयले अनुमान गरिसक्नुभयो होला । कतिपयलाई जिज्ञासा होला, को हुन्, त्यो ब्राण्डका मालिक । यहाँ हामी तिनै ब्राण्डका मालिक रमेश पौडेलका बारेमा चर्चा गर्दैछौ । जो दुई दशक यता गुमनाम छन् । काठमाण्डौंमा भेटिएका पौडेलसंग उनको व्यवसायीक उतारचढाव र संघर्षका ती दिनहरुका बारेमा जान्ने हुटहुटी थियो । सायद तपाईहरुलाई पनि होला ।

रुपन्देहीको छपियाबाट व्यवसायीक संभावना हेर्ने रहरले डो¥याएर उनलाई २०३३ सालमा धनगढी पु¥यायो । धनगढीको एकसरो सडक घुमे । त्यही सडक भएर हरेक दिन कतिले ओहोर दोहोर गरे होलान । अरुले फगत सडक देखे । र देखे धुलो । उनी त्यही एक सरो सडक र धुलोमा व्यवसायीक संभावना देखिरहेका थिए ।

जिल्ला प्रशासन कार्यालयको अगाडि अर्जुन सिटौलाको फोटो संचार थियो । सिटौलाको स्वामित्वमा रहेको फोटो स्टुडियोमा भुवन शर्मा काम गर्थे । त्यतिबेला फोटोका लागि फोटो सञ्चारको बिकल्प थिएन । सिटौला धनगढी मावि र उनकी पत्नी त्रिनगर माविकी प्रधानअध्यापक थिईन । पछि शर्माले मुनाल स्टुडियो खोले ।

रमेशले धनगढीमा फोटो स्टुडियोमा राम्रो संभावना देखे । र खोले, फोटो स्टुडियो । नाम जुराए–सृजना फोटो स्टुडियो । सृजनाको अर्थ शुरुवात । सृजनाको अर्थ नयाँ चिजको निर्माण । सन्तान वा प्रियजनको नामबाट व्यवसायको नामाकरण गर्ने चलन छ । तर उनले जुन नामबाट व्यवसायीक पहिचान बनाए । त्यही नाम छोरीलाई दिए । पछि छोरीको जन्म भयो । नाम दिए–सृजना ।

नागरिकताका लागि अटो साईजका तीन वटा फोटो आवश्यक हुन्थ्यो । जसको शुल्क थियो, चार रुपैया । अन्यत्र अर्जेन्ट फोटोका लागि १५ देखि २० रुपैया चार्ज लाग्थ्यो । कतिसम्म भने एउटै फोटोका लागि ग्राहकले पुरै रीलको पैसा तिर्नुपथ्र्यो । उनले तत्काल फोटो दिनु परे १० रुपैया शुल्क लिन थाले । र, अर्को दिन दिनु परे पाँच रुपैया । अन्यत्र भने दोस्रो दिन फोटो लिनु परे १५ रुपैया नै शुल्क लाग्थ्यो । तेस्रो दिन मात्र पाँच रुपैया ।

सस्तोमा चाँडो सेवा दिन थालेपछि उनी कहाँ ग्राहकको घुईँचो हुन थाल्यो । कान्छो भाई खेम बुटवलमा एसएलसी दिने तयारीमा थिए । उनलाई धनगढी बोलाए । २०३९ सालमा महेन्द्रनगरमा स्टुडियो खोले । त्यसको जिम्मेवारी भाईलाई दिए । भाईले बुटवलको साथीसंग मिलेर उनलाई बस खोल्न सुझाव दिए । भाईकै सल्लाहमा २०३९ सालमा उनले पहिलो बस किने । र, बस व्यवसायी भए ।

उनले सपना देखेर कुनै काम गरेनन । काम गरे । र, सपना देखे । उनले काम पछ्याए । सपनाले उनलाई पछ्यायो । उनी निष्काम कर्मयोगी थिए । बस्, कर्म गरी रहे । त्यही कर्मले उनलाई नाम दियो । र, दियो अलग पहिचान ।

सृजना फोटो स्टुडियो नामै काफि थियो । उनलाई फोटो खिच्न भ्याई नभ्याई थियो । त्यही व्यस्तताका बीच उनले थाले, बस व्यवसाय । जसलाई नाम दिए, सृजना ट्राभल्स ।

त्यतिबेला यातायात क्षेत्रमा महेन्द्रनगरका व्यवसायीको एकाधिकार थियो । महेन्द्रनगरका गाडी सबैतिर जान पाउथे । तर धनगढीको गाडी महेन्द्रनगर जान पाउदैनथ्यो ।

धनगढीमा हेमकुण्ड ट्राभल्सका बस चल्थे । हेमकुण्डका मालिक थिए, सरदार सुरजित सिंह । उनका दुई बस थिए । ती बस धनगढी–गोदावरी रुटमा चल्थे ।

त्यसपछि धनगढीका सडकमा सृजना ट्राभल्सका बसहरु पनि गुड्न थाले । भक्त बहादुर चन्द र मीन बहादुर खत्रीका बस थपिए । गुणाकर भट्ट र टेकराज ओझाले साझेदारीमा नयाँ गाडी किने । यसरी केही समयमै धनगढीमा बसको संख्या पुग्यो– १४ । उनी एक्लैका बस ६ वटा थिए । त्यसपछि बस व्यवसायमा लगानी गर्ने थपिदै गए । २०४३ सालमा टेकराज जोशीले डिके ट्राभल्स सञ्चालनमा ल्याए ।

महेन्द्रनगरमा महाकाली सेती बस व्यवसायी समिति थियो । धनगढीमा त समिति पनि थिएन । शुरुमा सुरजीत सिंहको अध्यक्षतामा धनगढी समिति गठन भयो । जसको सचिव थिए, भक्त बहादुर चन्द ।

केही समयपछि धनगढीका व्यवसायीहरु मिलेर सुदूर पश्चिमाञ्चल बस व्यवसाय समिति खोले । प्रशासनमा दर्ता गरे । केन्द्रमा यातायात व्यवसायीहरुको एउटै महासंघ थियो । केन्द्रीय महासंघमा आवद्धताका लागि सुदूर पश्चिमाञ्चल बस व्यवसाय समितिले पौडेललाई काठमाण्डौं पठायो । तर त्यहाँ दर्ता गर्न अवरोध भयो । उनी भन्छन्, ‘महाकाली सेती बस व्यवसाय समिति छदैछ भनेर हामीलाई रोक्न निकै कोशिस गरे । हाम्रो समितिलाई मान्यता दिन महासंघका केन्द्रीय अध्यक्ष ईन्द्र बहादुर केसी सहमत भए । र, हामी केन्द्रमा जोडियौ ।’

त्यसपछि सुदूरपश्चिमाञ्चल बस व्यवसाय समितिले विभिन्न जिल्लाहरुमा सेवा थप्दै लग्यो । लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्री थिए । कल्पना बिष्ट यातायात मन्त्री । उनले उद्घाटन गरिन्, धनगढी–डोटी बस सेवा । यसैबीच धनगढी–टीकापुर, धनगढी–भजनी र धनगढी –डडेल्धुरा बस सेवा शुरु भयो ।

२०४९ सालमा धनगढीबाट काठमाण्डौं बस चल्न थाल्यो । सुदूरका सडकमा गुड्ने सृजनाका बसहरु त्यसपछि काठमाण्डौं रुटमा पनि गुड्न थाले । कर्णाली नदीमा पुल थिएन । नदीमा फेरी चल्थ्यो । फेरीले बस ताथ्र्यो । फेरी बिहान १० बजे खुल्थ्यो । साँझ ४ बजेपछि बन्द हुन्थ्यो । तिब्र गतिले बहने हावाका कारण नियन्त्रण गुमाउने भएका कारण बिहान र साँझ फेरी चल्थेन ।

मोहन बहादुर शाह जिल्ला विकास समितिका सभापति थिए । उनैले फेरी सञ्चालनमा ल्याएका थिए । २०५१ मा कर्णाली नदीमा पुल सञ्चालनमा आयो । त्यसपछि फेरी बन्द भयो । कर्णालीमा पुल नहुदा धनगढीका मीन बहादुर खत्रीको जुनेली ट्राभल्सले नेपालगञ्जबाट काठमाण्डौं रुटमा बस चलाएको थियो ।

महेन्द्रनगर बिहान ७ बजे हिडेको गाडी दिउँसो ३ बजे पुग्थ्यो । गन्तव्यमा पुग्दा यात्रु धुलोले नचिनिने हुन्थ्यो । धनगढी–टीकापुरको अवस्था पनि त्यो भन्दा फरक थिएन । ४२ सिटको गाडीमा सय जना हुन्थे ।

४० को दशकमा धनगढी–गोदावरीको बस भाडा ३ रुपैया थियो । नेपालगञ्जको ११० र महेन्द्रनगरको २७ रुपैया । धनगढी–टीकापुरको भाडा ४४ रुपैया थियो । धनगढी–काठमाण्डौं ३८४ पुगिन्थ्यो । धनगढीबाट काठमाण्डौं जाने सबै गाडी ‘प्याक’ हुन्थे ।

‘पहिले धनगढीबाट काठमाण्डौं १२/१३ घण्टामा पुग्थ्यौ’, भन्छन्, ‘बाटो बन्यो । बसको दूरी र समय बढ्यो । त्यही रुटको यात्रा तय गर्न २० घण्टाभन्दा बढि लाग्न थाल्यो ।’

अरुको गाडीको बाटो छेक्ने । अरुका गाडीका यात्रुहरु तान्ने । जहिल्यै लफडा । जहिल्यै झगडा । बस व्यवसायीहरुका यस्ता तमाम कमजोरी सुधार्नु पर्ने उनको सुझाव छ । यही कारण न सरकारको न समाजको, कसैको पनि बस व्यवसायीलाई हेर्ने दृष्टिकोण राम्रो भएन, भन्छन्, व्यवसायीले सर्वस्व लगाएको एउटा यही व्यवसाय होला जहाँ प्रतिष्ठा छैन । दुई चार जनाले बिगार्दा त्यसको असर सबैलाई प¥यो ।

‘लगानी जतिसुकै गरेपनि भाषा, व्यवहार र संस्कारले त्यो व्यवसायलाई मर्यादित बनाउछ ।’ उनी अनुभव सुनाउछन्, ‘आफ्नो जायजेथा र ज्यान जोखिममा राखेर गर्ने यही एउटा व्यवसाय हो, जो कहिल्यै मर्यादित भएन । र, सम्मानित पनि भएन ।’

बस व्यवसायी प्रति सरकारको हेर्ने सोच राम्रो छैन । व्यवहार राम्रो छैन । अझै संकटमै छन्, बस व्यवसायीहरु । उनले बस व्यवसायीको भविश्य राम्रो देखेका छैन ।

त्यो समय कटासे बजार गुल्जार थियो । मध्यपश्चिम र सुदूरपश्चिमका पहाडबाट झरेर हटारुहरु कटासे पुग्थे । र, त्यहाँबाट बस चढेर गड्डाचौकी । अनि त्यहाँबाट कोही काला पहाड । कोही दिल्ली जान्थे । उनीहरुको नाईके हुन्थ्यो । जसलाई माउडे भनिन्थ्यो । माउडेसंग सम्पर्क भए उसले सबै हटारु ल्याउथ्यो । र, कटासे आएका हटारुले एकछिनमै बस भरिन्थ्यो ।

शुरुवाती चरणमा राम्रो मुनाफा दिएपनि बससंख्या थपिदै गएपछि बस व्यवसाय संकटमा परेको उनको अनुभव छ । भन्छन्, पहिले गाडी कम थिए । जे गर्दा पनि हुने । पछि गाडी थपिए ‘क्यू’ नपाईने भयो । पहिले कुनै दिन बस ‘होल्ड’ हुदैनथ्यो । पछि महिनामा बढि पाँच ट्रिप पाईन थाल्यो । यहीबाट शुरु भयो, बस व्यवसायको अद्योगति ।

बसमा आफ्नो सम्पूर्ण जायजेथा लगानी गर्ने । तर आफू बसमा नहिड्ने । कर्मचारीको भरमा बस छोड्नेहरु कोही व्यवसायी जोगिएनन । जोगिनेहरु अपवादमा पर्छन । कर्मचारी मोटाए । मालिक दुब्लाए । यसले सन्देश दिन्छ, अरुको भरमा लगानी गर्नेहरु डुब्ने निश्चित छ । कुरा, ढिलो चाँडोको हो ।

जनसंख्यालाई पनि व्यवसायमा उतारचढाव ल्याउने कारक मान्छन्, उनी । भन्छन्, नारायणघाटबाट पूर्वी भागमा जनसंख्या धेरै छ । त्यहाँ बसको क्षमता अनुसार यात्रु पाईन्छन । र, बस व्यवसायी डुब्दैन ।  त्यहाँको रुटमा चल्ने गाडीले राम्रो कमाउछन् । सुदूर पश्चिममा यात्रु नहुदा तेल खर्च निस्किन मुस्किल हुन्छ । उनले अनुभव सुनाए, कहिलेकाही बस रित्तो हुन्थे । कहिले मुस्किलले पाँच छ जना यात्रु मिल्थे । त्यसरी पनि हामीले बस व्यवसाय जोगाएका थियौ ।

उनी सबै व्यवसायी बाँच्ने वातावरण हुनुपर्छ भन्ने सोच राख्थे । र, सबैको हीतका लागि काम गर्थे । उनले बस व्यवसायीहरुको हकहीत र बस व्यवसाय प्रबद्र्धनका लागि खोलिएको सुदूरपश्चिमाञ्चल बस व्यवसायी समितिको कोषाध्यक्ष बाहेक सबै पदमा रहेर काम गरे । उनी अध्यक्ष भईसकेका थिए । संकटमा परेको समिति बचाउन अध्यक्ष पछि महासचिव भए । टेकराज जोशी सचिव थिए । त्यसको केही कार्यकालपछि जोशी अध्यक्ष भए ।

बस व्यवसायसंगै सामाजिक सेवामा पनि उनी उत्तिकै सक्रिय रहे । नेपाल रेडक्रस सोसाईटीको २० वर्षसम्म उपसभापति रहे । १९९३ मा धनगढी जेसिजको अध्यक्ष भए । डा.चेतराज पन्त, नरेन्द्र प्रधानसंगै मिलेर उनले १९८३ मा जेसिज एभरेष्ट ईंगलिस स्कुल शुरु गरे । धनगढीमा ऐश्वर्य विद्या निकेतपछिको दोस्रो निजी विद्यालय थियो एभरेष्ट । जसको पहिलो प्रिन्सिपल थिईन्, उदया ओझा ।

एक बसबाट व्यवसाय थालेका उनीसंग ६० को दशकसम्म आईपुग्दा ११ बस थिए । पछि भाईहरुलाई बस बाडे । उनको भागमा तीन बस परे । ती बस पनि बेचिदिए ।

२०५८ सालमा भतिजा मित्रलाई सृजना फोटो स्टुडियो सुम्पिए । मित्र स्टुडियो बन्द गरेर २०६५ सालमा कपिलवस्तु सरे । २०६५ पछि उनी बस व्यवसायबाट पनि अलग भए । अढाई दशक लामो संघर्ष र त्यो संघर्षले दिएको पहिचान ‘कोडाक’ झै भयो । अहिलेको युवा पुस्तालाई सृजना ट्राभल्स र सृजना फोटो स्टुडियोको त्यो युगका बारेमा थाह छैन । त्यो युगका साक्षीहरु कोही अस्ताए । कोही पलायन भए ।

उनको बिडो दुई भतिजाले थामेका छन्, यतिबेला । भतिजा अविशेक पौडेलले धनगढीबाट काठमाण्डौं रुटमा सोफासेट सहितको सुबिधा युक्त बस हालेका छन् । ४० को दशकमा चार लाखमा नयाँ गाडी तयार हुन्थ्यो । अविशेषले एउटै गाडीमा एक करोड १३ लाख खर्चेका छन् । अर्को भतिजा असीम धनगढी–दिल्ली रुटमा गाडी चलाउछन् ।

भैरहवाबाट २४ वर्षको उमेरमा धनगढी आएका उनको जवानी यही बित्यो । क्यामेराबाट शुरु भएको व्यवसायीक जीवन बसमा पुगेर टुंगियो । उनको व्यवसाय सबैलाई गन्तव्यमा पु¥याउने थियो । जीवनभर अरुलाई गन्तव्यमा पु¥याएका उनी जीवनको उत्तराद्र्धमा गन्तव्य बिहीन भए । जो कहिल्यै चुपचाप बसेनन । कहिल्यै छोड्न नचाहेको त्यही धनगढी ५७ वर्षको उमेरमा उनले चुपचाप छोडे ।

उनी धनगढीमा २०३३ देखि २०४३ सम्म भाडामा बसे । २०४४ सालमा तारानगरमा घर बनाए । र, आप्mनो घरमा सरे । ६० को दशकमा धनगढीको घरजग्गा बेचेर काठमाण्डौं सरेका उनले त्यसपछि घर जोडेनन् ।

एक समय थियो, कोडाक र नोकियाको । समय बदलियो । तर कोडाक र नोकिया हठी निस्किए । बदलिन तयार भएनन । न त आफूलाई बदल्न तयार भए समयको बेगसंगै । त्यो समयले दुईटै ब्राण्डलाई ईतिहास बनाई दियो ।

यतिबेला गुमनाम जीवन बाँचिरहेका सृजना ट्राभल्सका पौडेललाई पनि नोकिया र कोडाकले झस्काईरहन्छ।त्यही कोडाकको रिलले शुरु गरेको व्यवसायबाट प्राप्त सफलताले उनलाई सुदूर पश्चिमकै सबैभन्दा ठूलो बस ट्राभल्सको मालिक बनाएको     थियो ।

बस व्यवसाय ओरालो लाग्दै थियो । तर उनले व्यवसाय फेर्ने सोचेनन । बससंगै शुरु भएको व्यवसाय बसमै टुंगियो, भन्छन्, अरु व्यवसायका बारेमा सोच्नै सकेन । समयमै अरु व्यवसायमा सिफ्ट भएको भए यस्तो अवस्था आउदैनथ्यो कि ? उनी एकछिन्, घोत्लिन्छन् । पछुताएर के फाईदा ? र, सोच्छन्, अव फर्केर सोच्ने समय छैन । जे भयो   भयो ।

बंगलादेशको भारतलाई कुटनीतिक नोट, भन्यो- ‘हसिनालाई फिर्ता पठाईदेउ’

ढाका- बंगलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई ढाका फर्काउन भारतलाई कूटनीतिक नोट पठाएको जनाएको छ ।

हसिना गत अगस्ट ५ देखि भारतमा निर्वासित जीवन बिताइरहेका छन् । विद्यार्थी आन्दोलनको बीचमा उनी देश छोडेर भारत गएकी थिइन् । सो अघि शेख हसिना बंगलादेशमा २० वर्षसम्म सत्तामा रहेकी थिइन् । उनी पहिलो पटक २३ जुन १९९६ मा प्रधानमन्त्री बनेकी थिइन् ।

ढाकास्थित इन्टरनेशनल क्रिमिनल ट्रिब्युनल (आईसीटी) ले हसिना र उनका मन्त्रीहरू, सल्लाहकारहरू, सैन्य र प्रशासनिक अधिकारीहरूविरुद्ध, मानवता विरुद्धको अपराध र नरसंहाको लागि पक्राउ पुर्जी जारी गरेको छ ।

अन्तरिम सरकारका विदेशमन्त्री तौहीद हुसेनले आफ्नो कार्यालयमा पत्रकारहरुसँग भने, ‘हामीले भारत सरकारलाई कूटनीतिक सन्देश पठाएका छौँ कि हसीनालाई बंगलादेशमा न्यायिक प्रक्रियाका लागि ढाका फिर्ता पठाइयोस् ।’ यसअघि गृह मन्त्रालयका सल्लाहकार जहाँगिर आलमले अपदस्थ प्रधानमन्त्री हसिनालाई भारतबाट सुपुर्दगी गर्न आफ्नो कार्यालयले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको जानकारी दिएका थिए ।

एक प्रश्नको जवाफमा उनले सञ्चारमाध्यमलाई भने, ‘हामीले उनको (हसिना) सुपुर्दगीका सम्बन्धमा परराष्ट्र मन्त्रालयलाई पत्र पठाएका छौं। प्रक्रिया अझै चलिरहेको छ।’ ढाका र नयाँ दिल्लीबीच सुपुर्दगी सन्धि भएको आलमले बताए । यो सन्धि अन्तर्गत हसिनालाई बंगलादेश फर्काउन सकिनेछ ।

कैलालीमा तीन लाख २४ हजार मेट्रिकटन धान उत्पादन

कैलाली । कैलालीमा यस वर्ष तीन लाख २४ हजार आठ सय ८४ मेट्रिकटन बर्खे धान उत्पादन भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार गत वर्षको तुलनामा यस वर्ष झिनो मात्रामा बर्खे धान उत्पादनमा वृद्धि भएको हो ।

यस वर्ष ६८ हजार पाँच सय ४१ हेक्टर क्षेत्रफलमा बर्खे धान खेती गरिएकामा चार दशमलव ७४ मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शङ्करदत्त अवस्थीले जानकारी दिए ।

उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष शून्य दशमलव दुई प्रतिशतले बर्खे धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष पनि सोही क्षेत्रफलमा धान खेती गरिएकामा तीन लाख २३ हजार दुई सय ८० मेट्रिकटन धान उत्पादन भएको उनले जानकारी दिए । उनले भने, “गत वर्ष र यस वर्ष बराबरी क्षेत्रफलमा बर्खे धान खेती गरिएको थियो, उत्पादन बढ्न सकेन, झिनो मात्रामा बढेको छ ।” गत वर्ष धानको उत्पादकत्व चार दशमलव ७२ मेट्रिकटन प्रतिहेक्टर रहेको उनले बताए ।

यस्तै जिल्लामा यस वर्ष छ हजार चार सय ६१ हेक्टर क्षेत्रफलमा मकै खेती गरिएकामा १५ हजार एक सय ९२ मेट्रिकटन मकै उत्पादन भएको उनले जानकारी दिए । सूचना अधिकारी अवस्थीका अनुसार जिल्लामा एक सय तीन हेक्टर क्षेत्रफलमा कोदोखेती गरिएकामा एक सय २७ मेट्रिकटन कोदो उत्पादन भएको छ ।

ज्ञान केन्द्रले उत्पादन बढाउनका लागि किसानलाई ५० प्रतिशत अनुदानमा मेसिनरी औजार, बीउबिजनलगायत उपलब्ध गराउँदै आएको उनको भनाइ छ । त्यस्तै किसानलाई तालिमसमेत दिने गरिएको सूचना अधिकारी अवस्थीले बताए।

बाजुरामा हिमपात, जनजीवन प्रभावित

बाजुरा, पुस ९ गते । बाजुरामा पुनः हिमपात सुरु भएपछि यहाँको जनजीवन प्रभावित भएको छ । हिमाली क्षेत्रका उच्च ठाउँमा बिहानदेखि हिमपात भएपछि चिसोका कारण यहाँको जनजीवन निकै प्रभावित भएको हो ।

बिहान सात बजेदेखि पुन यहाँ हिउँ पर्न सुरु भएपछि चिसो पनि निकै बढ्न थालेको बुढीनन्दा नगरपालिका स्थानीय टेकबहादुर थापाले बताए । उजले भने, “बडिमालिका, बुढीनन्दा, जगनाथ, हिमाली, स्वामिकार्तिक लगायतका उच्च स्थानमा हिउँ पर्न सुरु भएपछि त्यो हिउँको चिसोले यहाँको जनजीवन प्रभावित भएको छ ।”

बिहान सात बजेदेखि यहाँ पुन बाक्लो हिमपात भएपछि अहिले यहाँका बालबालिका तथा वयोवृद्धहरुलाई घर बाहिर आउजाउ गर्न निकै कठिन भएको थापाले बताए । हिउँदको महिना यहाँ त्यसै पनि निकै चिसो हुन्छ । यतिबेला फेरि यहाँ दुइ पटक हिउँ परेपछि अहिले यहाँको जनजीवन निकै प्रभावित हुन थालेको छ ।

मङ्सिर, पुस र माघको महिनादेखि नै यहाँका अधिकाशं ठाउँमा धेरै चिसो हुने गर्दछ । मङ्सिरको २३ गते देखि हिउँ पर्न सुरु भएपछि त्यो हिउँको चिसोले यहाँका बालबालिका तथा ज्येष्ठ नागरिकहरुलाई निकै समस्या गरेको छ ।

पटकपटक यहाँ हिमपात हुन थालेपछि अहिले यहाँका स्थानीयलाई गाई भैँसी भेडाबाख्रालाई वनमा चरिचरन गराउँन समेत समस्या भएको छ । हिउँले यहाँको जमिन पूरै सेताम्य भएपछि यहाँका स्थानीयलाई भेडाबाख्रालाई बाहिर ल्याएर चरिचरन गर्न समस्या हुने गरेको हो । बाजुरामा प्राय अधिकांश हिउँदे खेतीमा सिचाइको अभाव हुने गरेको छ । सिँचाइ अभावका कारण हिउँदे बाली गहुँ जौ सुक्ने गर्दछ ।

समयमै हिमपात परेपछि यहाँका कृषक भने निकै खुसी भएका छन् । सिँचाइ अभावका कारण सुक्न लागेको ती गहुँ जौ बालीमा बाक्लो हिमपात भएपछि खेती राम्रो हुने आशले यहाँका किसान निकै हर्षित भएका हुन् । बाजुरामा दुई लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर जमिन खेतीयोग्य छ भने यसमा पाँच हजार २३५ हेक्टर जमिनमा मात्र वर्षभरिमा सिँचाइ हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख दसिराम साहनीले बताए ।

 

बाजुरा भूकम्पमा सात सय संरचना ध्वस्त, ६२८ भवनमा आंशिक क्षति

धनगढी: शनिबार बाजुराको गोत्री केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण झडै सात सय भौतिक संरचनामा पूर्ण रुपमा क्षति पुगेको छ। बाजुरामा निजी र सरकारी गरी छ सय ८४ वटा संरचनामा क्षति पुगेको हो।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमातहतको प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार सरकारी छ सय ५५ र निजी २९ भौतिक संरचनामा पूर्ण क्षति भएको हो। शनिबार बिहान ४ः१४ बजे जगन्नाथ गाउँपालिका–५ को गोत्री केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको थियो।

जगन्नाथमा सबैभन्दा बढी दुई सय ८९ वटा घरमा पूर्ण क्षति गरेको केन्द्रले जानकारी दिएको छ। यसै गरी बुढीनन्दा नगरपालिकामा एक सय ३२, हिमाली गाउँपालिकामा एक सय २१, स्वामीकार्तिक गाउँपालिकामा एक सय ४२ भवनमा पूर्ण क्षति भएको जनाइएको छ।

भूकम्पका कारण छ सय २६ वटा निजी घर र दुई वटा सरकारी भवनमा आंशिक क्षति पुगेको केन्द्रले जानकारी दिएको छ।

लोकसेवा फेलपछि विक्षिप्त भएका मिलनले किन गरे बुबा र भाइको हत्या ?

काठमाडौं । मिलन आचार्यले आइतबार बिहान बुबा र भाइको हत्या गरेको स्वीकार गरेका छन् ।

मंगलबार प्रहरीको सम्पर्कमा आएका मिलनले बुबा कुलप्रसाद र भाई प्रविणमाथि सुतेका बेला सिलौटा र डम्बेल प्रहार गरेर हत्या गरेको स्वीकार गरेका हुन् ।

हत्यापछि आफूलेसमेत झुन्डिएर आत्महत्या गर्ने प्रयास गरेको तर सफल नभएको बयान प्रहरीलाई दिएका छन् । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार मिलनले बुबा कुलप्रसाद र भाई प्रविणको हत्या योजनाअनुसार गरेको बयान दिएका छन् ।

मिलनले प्रहरी अधिकारीसँग बयानमा भनेका छन्,‘‘बुबाले धेरै नै माया गर्नुहुन्थ्यो । मलाई सरकारी जागिर खाएको देख्ने उहाँको सपना थियो । मैले प्रयाससमेत गरेँ । तर, ६–७ पटक परीक्षा दिँदासमेत पास भइनँ । त्यही तनावमा बुबाले समेत आत्महत्या प्रयास गर्नुभयो । त्यही दिनदेखि मलाई पनि बुबालाई खुसी पार्न सकिएन भन्ने लाग्यो । सबै मारेर मुक्ति हुन्छ भनेर यो अवस्थामा पुगेको हुँ ।’’

भाइ प्रविण पनि सधैँ दिउँसो १२ बजेसम्म सुत्ने र केही गर्न नसक्ने भनेर हत्या गरेको बताएका छन् । बुबा र भाइको हत्याको योजना केही दिनअघि देखिनै बनाएर गरेको पनि प्रहरीलाई बताएका छन् ।

हत्या आइतबार बिहान करिब चार बजेतिर गरेर कोठा बन्द गरेको बयान दिएका छन् । मिलनले परिवारका अन्य सदस्यलाई पनि मार्ने योजना बनाएको प्रहरीसमक्ष बयान दिएका छन् ।

कहाँ बसेका थिए मिलन हत्या पछिका दुई दिन ?

सोमबार बिहान शव फेला परेपछि भने प्रहरीले मिलनलाई नै शंका गरेर अनुसन्धान तीव्र पारेको थियो । तर, हत्या लगत्तै फरार मिलनलाई प्रहरीले पक्राउ गर्न सकेन । मंगलबार बिहान भने उनी आफैँ प्रहरीको सम्पर्कमा आएका थिए ।

प्रहरीले उनलाई प्रहरी वृत्त महाराजगञ्जमा राखेर अनुसन्धान थालेको छ ।  प्रहरीका अनुसार हत्यालगत्तै कोठाबाट आत्महत्या गर्न मिलन भक्तपुरको बिरुवा पुगेको बयान दिएका छन् । तर, आत्महत्या गर्न नसकेपछि उनी त्यहाँबाट फर्किएर भक्तपुरस्थित दरबार स्क्वायर पुगेका थिए । आइतबार दिनभर दरबार स्क्वायरमा नै बसेको प्रहरीको बयानमा बताएका छन् ।

त्यहाँबाट भने उनी सार्वजनिक यातायात चढेर चाबहिलस्थित एक होटलमा पुगेका थिए । त्यही होटलमा उनी दुई दिन बसेको खुलेको छ । प्रहरी अधिकारीका अनुसार लोकसेवा पास नभएपछि उनी विक्षिप्त भएको देखिएको छ ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का कुलप्रसाद आचार्य हुलाका कर्मचारी हुन् । उनी भक्तपुरमा बस्दै आएका छोराहरुलाई भेट्न केही दिन अघिमात्रै आएका थिए ।

बुवा र भाईको हत्या गरी फरार युवकले गरे प्रहरीमा आत्मसमर्पण

काठमाडौँ, ९ पुस ।
बुवा र भाईको हत्या गरी फरार रहेका एक युवकले प्रहरीमा आत्मसमर्पण गरेका छन् ।

भक्तपुरको सूर्यबिनायक नगरपालिका–२ स्थित बालकोटमा मृत भेटिएका कुल प्रसाद आचार्य र छोरा प्रबिन आचार्यको हत्या आफूले गरेको स्वीकार गर्दै मिलन आचार्यले प्रहरीमा आत्मसमर्पण गरेका हुन् । मिलन कुल आचार्यका जेठा छोरा हुन् । उनले बुवा र भाईको हत्या गरेको स्वीकार गर्दै प्रहरी वृत्त महराजगञ्जमा आत्मसमर्पण गरेका हुन् ।

सोमबार खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ घर भएका ५६ वर्षीय कुल प्रसाद आचार्य र कान्छो छोरा २२ वर्षका प्रबिन आचार्य मृत भेटिएका थिए । जेठा छोरा मिलन फरार थिए । उनले मंगलवार बिहान प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् ।
प्रहरीले मिलनले हत्या गरेको आशंका गरेको थियो ।

राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित भए रबि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने राज्य व्यवस्था समिति सदस्यबाट समेत हटेका छन् ।

सहकारी ठगीका साथै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दर्ता भएपछि संघीय संसद सचिवालयले सोमबार लामिछानेलाई प्रतिनिधिसभा सदस्यबाट निलम्बन गरेको थियो ।

लामिछाने प्रतिनिधिसभा सदस्यबाट निलम्बनमा परेसँगै राज्य व्यवस्था समितिको सदस्य समेत नरहेको राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडाले बताएका हुन् ।

लामिछाने राज्य व्यवस्था समितिमा सदस्य थिए । मंगलबारको बैठकमा सभापति खतिवडाले सांसद पदबाट निलम्बित भएसँगै राज्य व्यवस्था समितिबाट समेत निलम्बित भएको बताएका हुन् ।

मंगोलियामा ५० वर्षयताकै चरम जाडो

काठमाडौं । मंगोलियाले आधा शताब्दीपछिको सबैभन्दा कठोर जाडो सामना गरिरहेको छ।

चिसो अचाक्लि बढ्दा गत हिउँदमा ४७ लाखभन्दा बढी पशु मरेका थिए । त्यतिबेलै चिसोले हजारौं मानिसको जीविका र खाद्य आपूर्तिमा खतरा उत्पन्न गर्ने अन्तर्राष्ट्रिय रेडक्रसले चेतावनी दिएको थियो । त्यहाँको मौसम विज्ञान तथा वातावरणीय राष्ट्रिय एजेन्सीले सोमबार बिहानसम्म देशका २१ मध्ये पाँच प्रदेशमा हिमपात जारी रहेको जनाएको छ ।

योसँगै मंगोलियाको ६४ प्रतिशत भूभाग हाल हिउँले ढाकिएको छ । गत हिउँदमा मंगोलियामा पाँच दशक यताकै सबैभन्दा ठूलो हिमपात भएको थियो, जसका कारण ठूलो बाढी आउँदा र लाखौं पशुधनको क्षति भएको थियो । यस हिउँदमा, एसियाली देशका अधिकांश भागहरूमा दीर्घकालीन औसतभन्दा चिसो बढ्ने मौसमविद्ले जनाएका छन् ।

मंगोलियाको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले देशका केही क्षेत्रमा कडा मौसमको चेतावनी जारी गर्दै सोमबार रातिदेखि तीव्र हावा र हिमआँधी सुरु हुने पूर्वानुमान गरेको छ।

हिमआँधीले पश्चिमी, मध्य, र दक्षिणी गोबी प्रान्तहरूमा आगामी दुई दिनसम्म असर पार्ने पुर्वानुमान गरिएको छ। नागरिकहरू विशेष गरी घुमन्ते पशुपालक र चालकहरूलाई सतर्कता अपनाउन र सम्भावित प्रकोपविरुद्ध रोकथामका उपायहरू अपनाउन आग्रह गरिएको छ ।

तापक्रम अत्यधिक बढ्ने अवस्थालाई ‘ड्युज’ भनिन्छ जसले तापक्रममा ठूलो गिरावट ल्याउँछ । यस्तोमा हिउँ र बरफले चरन क्षेत्रहरू ढाक्छ र खाद्य शृङ्खला प्रभावित हुन्छ ।

मंगोलियामा करिब ३ लाख मानिस पारम्परिक घुमन्ते पशुपालक छन् र आफ्नो जीवन निर्वाहका लागि गाई, बाख्रा र घोडामा निर्भर छन् ।

उनीहरूका लागि चौपाया नै जीवन निर्वाहको एकमात्र माध्यम हो । मौसमी घटनाले उनीहरू केही महिनामै गरिब बनेका छन् । आईएफआरसीका एसिया प्रशान्त क्षेत्रीय निर्देशक एलेक्जान्डर मथेउले सीएनएनसँग कुरागर्दै भने, ‘उनीहरूमध्ये धेरै अब आफ्नै परिवारलाई खान दिने या घर तताउने अवस्थामा पनि छैनन्।’

आईएफआरसीका अनुसार, नोभेम्बरयता २ हजार २५० पशुपालक परिवारले आफ्नो ७० प्रतिशतभन्दा बढी चौपाया गुमाएका छन्। ७,००० भन्दा बढी परिवारले पर्याप्त खानाको पहुँच गुमाएका छन् ।

ड्जुडले देशको तीन(चौथाई भागलाई प्रभावित गरेको छ र जाडो अझै लम्बिने भएकाले अवस्था झन् बिग्रने अनुमान छ ।

रवि लामिछानेको निलम्बनविरुद्ध रास्वपा अदालत जाँदै

काठमाडौं । पार्टी सभापति रवि लामिछानेलाई सांसदबाट गरिएको निलम्बनविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अदालत जाने भएको छ ।

राजनीतिक पूर्वाग्रह प्रेरित भएर कानुन विपरीत निलम्बन गरिएको भन्दै रास्वपाले अदालत जाने तयारी गरेको हो । सभापति लामिछानेविरुद्ध अदालतमा मुद्दा दायर भएसँगै कास्की प्रहरीले संसद सचिवालयलाई पत्र पठाएको थियो । सोही पत्रमा टेकेर सभामुखले सोमबार मुद्दाको फैसला नआउँदासम्म रविलाई निलम्बन गरेका थिए ।

सभामुखले उल्लेख गरेको ‘सम्पत्ति शुद्धीकरण ऐन, २०६४’ को दफा २७ मा सांसदको निलम्बनबारेमा स्पष्ट व्यवस्था नभएको रास्वपाको जिकिर छ ।

यस्तो अवस्थामा, ‘प्रतिनिधि सभा सञ्चालन नियमावली, २०७९’ को दफा २४८ (३०) अनुसार कारबाही प्रक्रिया अगाडि बढाइनुपर्ने उनीहरूको दाबी छ ।

सो नियमावलीअनुसार, सांसद पद निलम्बन हुनका लागि व्यक्तिलाई पुर्पक्षका लागि थुनामा राखिनु अनिवार्य हुन्छ । तर, रवि अहिले न्यायिक हिरासतमा मात्र छन्, पुर्पक्षको लागि जेल गाइसकेका छैनन् ।

यसैले निलम्बन कानुनसंवत् नभएको भन्दै अदालत जाने तयारीमा रहेको नेताहरूले बताएका छन् ।

हिजै रास्वपाका तीन सांसदहरूले सभामुख देवराज घिमिरेलाई भेटेर तत्काल निलम्बन नगर्न आग्रह गरेका थिए ।

नियमावलीको प्रावधान देखाउँदै पुर्पक्षको सुनवाइभन्दा अगाडि नै निलम्बन गर्न नमिल्ने तर्क गरेका थिए । सभामुखले भने आफूले कानूनसम्मत निर्णय लिने आश्वासन दिए । तर, बेलुका निलम्बनको सूचना जारी गरेका थिए ।

रास्वपाले तत्काल संसदीय दलको नेता समेत चयन नगर्ने भएको छ । रास्वपाका एक नेताले भने, ‘हामीले रविको निलम्बन स्वीकारेका छैनौँ । कानुनी निरूपण नभएसम्म अर्को संसदीय दलको नेता खोज्दैनौँ,’ उनले भने ।

रुसी सेनामा कार्यरत कञ्चनपुरका बिष्ट सहित थप १० को मृत्यु

काठमाण्डौं, ९ पुस । बढिमा एक वर्ष युद्ध लड्ने भन्दै कञ्चनपुरबाट रुस पुगेका दुई युवकको युक्रेनसंगको लडाईमा मृत्यु भएको छ । संगै गएका अर्का युवक घाईते छन् । जनही सात लाख खर्चेर गतवर्ष तिहारपछि रुस पुगेका कञ्चनपुरको वेदकोट–९ सुन्दरपुरका ४५ वर्षीय बिराजन बिष्ट, उनका भाई निराजन बिष्ट र लोकेन्द्र बहादुर युक्रेनसंगको लडाईमा सामेल भएका थिए ।

४५ वर्षीय बिराजनको मृत्यु भएको ८ महिनापछि लोकेन्द्रको मृत्यु भएको भएको हो । युक्रेनको तोकमोकमा बंकरभित्र ड्रोन आक्रमणमा परी दाई बिराजनको मृत्यु हुदा घाईते भएका भाई निराजन रुसमै उपचाररत छन् । बिराजनको गत बैशाख ५ गते मृत्यु भएको पुष्टि भएको थियो ।

सोमवार परराष्ट्र मन्त्रालयले रुसका तर्फ लडिरहेका लोकेन्द्र सहित थप १० जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो । लोकेन्द्र रुसको नियन्त्रणमा रहेको युक्रेनको जैपसोरिजिया क्षेत्रमा मारिएका हुन् ।

कञ्चनपुरको वेदकोट–९ सुन्दरपुरकी कमलादेवी विष्टलाई रुसी सेनामा भर्ती भएका छोरा लोकेन्द्रले गत असारमा ऋण तिरिसकेकोले चिन्ता नलिन आश्वस्त पार्दै फर्केर घर बनाउने बाचा गरेका थिए । त्यसयता सम्पर्क बिहीन भएका लोकेन्द्रको मृत्युको खवर आएपछि सुन्दरपुरस्थित घर शोकमा डुबेको छ । घरमा रुवावासी चलेको छ ।

मस्कोस्थित नेपाली दूतावासले पुस ८ सम्म परराष्ट्र मन्त्रालयमा पठाएको विवरणअनुसार हालसम्म रुस–युक्रेन युद्धमा मृत्यु हुने नेपालीको संख्या ४९ पुगेको छ । मन्त्रालयले मोरङका जीवन राई, कञ्चनपुरका विराजन र लोकेन्द्रबहादुर, रोल्पाका गणेशसिंह पुन, स्याङ्जाका गणेश श्रेष्ठ, उदयपुरका ओमबहादुर मगर, जीवन लिम्बू, मोहन तामाङ र ध्रुव घर्तीमगर तथा चितवनका रञ्जित गुरुङको पनि मृत्यु भएको पुष्टि गरेको छ ।

पति विराजनको अन्तिम संस्कार र क्षतिपूर्तिका लागि बिराजनकी पत्नी चाँदनी भोलि (बुधबार) दिल्लीबाट रुसको राजधानी मस्को जादैछिन् । उनले क्षतिपूर्ति नपाएसम्म मस्कोमै रहने बताएकी छन् । त्यहाँ रहदा घाईते देवरलाई समेत भेट्ने उनको योजना छ ।

करिब १५ सय नेपाली रुसी सेनामा भर्ना भएको अनुमान छ । त्यसमध्ये एक वर्ष करारपत्र रद्द गरेर १ सय ६२ जना नेपाल आइसकेको तथ्यांक नेपाली दूतावाससँग छ । नेपाल सरकारको पहलपछि रुसले गत मेबाट नेपालीलाई भर्ना लिन छाडेको परराष्ट्रको दाबी छ ।

यस्तो छ आजको विदेशी मुद्राको बिनियम दर

काठमाडौँ, ९ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । अष्ट्रेलियन डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, हङ्कङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य पनि बढेको छ ।

केन्द्रीय बैंकले तय गरेको विनिमयदरअनुसार युके पाउण्ड स्टर्लिङ, स्विस फ्रयाङ्क, क्यानेडियन डलर, जापानी येनको मूल्य भने घटेको छ । निर्धारित दर अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ५० पैसा कायम भएको छ ।

घटेको युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ९४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ १९ पैसा, स्विस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ३२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८५ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९४ रुपैयाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय रुपैयाँ ६०  पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६७ पैसा र बिक्रीदर आठ रुपैयाँ ७० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८ रुपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ १८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ १६  पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा युएई दिराम एकको खरिददर ३७ रुपैयाँ र बिक्रीदर ३७ रुपैयाँ १६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४० पैसा निर्धारण भएको छ ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १२ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ तीन पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७ रुपैयाँ ५७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४१ रुपैयाँ दुई पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ९७ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ १९ पैसा र बिक्रीदर तीन सय ६१ रुपैयाँ ७८ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५२ रुयैयाँ ९७ पैसा र बिक्रीदर तीन सय ५४ रुपैयाँ ५३ पैसा तोकिएको छ । त्यसैगरी  भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको    छ ।

नेपाल जेसिजको अध्यक्ष पदमा रजनी थापा निर्वाचित

काठमाण्डौं, ९ पुस ।
नेपाल जेसिजको अध्यक्ष पदमा ३०९ मतको फराकिलो अन्तर सहित रजनी थापा बिजयी भएकी छन् ।

थापाले ७६२ मत पाउदा उनका निकटतम प्रतिद्धन्दी जीवन कार्कीले ४५३ मत पाए । २५ वर्षपछि नेपाल जेसिजले महिला नेतृत्व पाएको हो । एक पटक अध्यक्ष पदमा हार व्यहोरेकी थापाले दोस्रो पटक जित हात पारेकी हुन् ।

कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा,एलिजा महर्जन,कृष्ण सापकोटा सौरभ श्रेष्ठ बिजयी भएका छन् ।

राष्ट्रिय उपाध्यक्षमा सन्दीप खत्री, दीपक अधिकारी, धनराज कँडेल, सुजन थापा काजी, संगम कार्की, बबिता पाण्डेय,अभिषेक दुलाल,सुमित्रा भट्टराई,उज्ज्वल कावरा, सुवास गौतम र राघव कोईराला बिजयी भएका छन् ।

खोज्नुहोस