यस्तो छ आजको विदेशी मुद्राको बिनिमय दर

काठमाडौं,२२ मङ्सिर  । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपियाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपियाँ ८१ पैसा कायम भएको  छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४३ रूपियाँ सात पैसा र बिक्रीदर एक सय ४३ रूपियाँ ७१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रूपियाँ ५७ र बिक्रीदर एक सय ७३ रूपियाँ ३३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५४ रूपियाँ आठ पैसा र बिक्रीदर एक सय ५४ रूपियाँ ७६ पैसा कायम गरिएको छ ।

शुक्रबार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रूपियाँ २८ पैसा र बिक्रीदर एक सय ३५ रूपियाँ ८८ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४२ रूपियाँ ३९ पैसा र बिक्रीदर एक सय ४३ रूपियाँ २ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रूपियाँ सात र बिक्रीदर एक सय ७२ रूपियाँ ८३ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर एक सय ५३ रूपियाँ एक पैसा र बिक्रीदर एक सय ५३ रूपियाँ ६९ पैसा कायम गरिएको थियो ।

अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपियाँ ८३ पैसा र बिक्रीदर ८७ रूपियाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रूपियाँ ३० पैसा र बिक्रीदर ९६ रूपियाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रूपियाँ ९२ पैसा र बिक्रीदर एक सय एक रूपियाँ ३७ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रूपियाँ ९८ पैसा र बिक्रीदर नौ रूपियाँ दुई पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपियाँ ६१ पैसा र बिक्रीदर १८ रूपियाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपियाँ र बिक्रीदर ३६ रूपियाँ १५ पैसा, कतारी रियाल एकको खरिदर ३७ रूपियाँ नौ पैसा र बिक्रीदर ३७ रूपियाँ २५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रूपियाँ ९८ पैसा र बिक्रीदर तीन रूपियाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपियाँ ८१ पैसा र बिक्रीदर ३६ रूपियाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रूपियाँ ५९ पैसा र बिक्रीदर ३० रूपियाँ ७३ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रूपियाँ ५२ पैसा र बिक्रीदर नौ रूपियाँ ५६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपियाँ ४३ पैसा र बिक्रीदर १२ रूपियाँ ४९ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रूपियाँ १८ पैसा र बिक्रीदर १९ रूपियाँ २७ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपियाँ ३८ पैसा र बिक्रीदर १७ रूपियाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रूपियाँ ५ पैसा र बिक्रीदर चार सय ४२ रूपियाँ , बहराइन दिनार एकको खरिददर तीन सय ५८ रूपियाँ ५५ पैसा र बिक्रीदर तीन सय ६० रूपियाँ १४ पैसा, ओमनि रियाल एकको खरिदर तीन सय ५१ रूपियाँ १९ पैसा, बिक्रिदर तीन सय ५२ रूपियाँ ७५ पैसा र भारतीय रूपियाँ एक सयको खरिददर एक सय ६० रूपियाँ र बिक्रीदर एक सय ६० रूपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

एनपीएल : लुम्बिनी बिरुद्ध सुदूरपश्चिम ब्याटिङ गर्दै

काठमाडौं, मंसिर २२ । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत शनिबार बिहान हुने खेलमा सुदूरपश्चिम रोयल्सले सुरुमा ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले टस जितेर सुरुमा फिल्डिङ गर्ने निर्णय गर्दै सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई ब्याटिङको निम्तो दिएका हुन् । एनपीएलमा पहिलो पटक लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले आम्नेसाम्ने भएका हुन्।

जारी एनपिएलमा दुुवै टोलीको यो तेस्रो खेल हो। दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार ब्यहोरेको छ। लुम्बिनीले आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएको छ।

सुदूरपश्चिम रोयल्सले भने दुईवटै खेल जितेको छ। सुदूरपश्चिमले पहिले खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले हराएको हो ।

मुख्यमन्त्री शाहद्धारा दृश्यमा सुदूरपश्चिम बिमोचन

धनगढी, २२ मंसिर ।
मुख्य मन्त्री कमल बहादुर शाहले सुदूर पश्चिममा छायांकन गरिएका म्युजिक गीतहरुको संगालो दृश्यमा सुदूरपश्चिम बिमोचन गरेका छन् ।

एभरेष्ट ग्यालरीले उत्पादन गरेको दृश्यमा सुदूरपश्चिमको शुक्रवार धनगढीमा आयोजित एक समारोहमा प्रमुख अतिथि मुख्यमन्त्री शाहले बिमोचन गरेका हुन् ।

मुख्यमन्त्री शाहले सुदूरपश्चिमको जनजीवन र परिवेशलाई समेटेर तयार पारिएको म्युजिक गीतहरुको संगालो दृश्यमा सुदूरपश्चिमबाट सुदूर पश्चिमको पर्यटन प्रबद्र्धन हुने विश्वास गरे ।

सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति टीएन जोशी यस्ता म्युजिक भिडिओहरुको उत्पादनबाट सुदूर पश्चिमको भाषा र संस्कृति र पर्यटकीय क्षेत्रको प्रबद्र्धन हुने बताए ।

कार्यक्रमका अतिथिहरुले सुदूर पश्चिमको जीवन र परिवेशलाई चिनाउन यस्ता म्युजिक गीतहरुले योगदान पु¥याउने चर्चा गरे ।

सुदुर पश्चिममका चर्चित मोडेल तथा कलाकार सनम कठायतले एभरेष्ट ग्यालरीले थालनी गरेको सानो प्रयासलाई राष्ट्रिय अभियानको रूपमा स्थापना गर्न सहयोग गरेर आफ्नो हौसला बढाएकोमा  सबैलाई धन्यवाद दिए ।

म्युजिक भिडिओमा सुदूरपश्चिम प्रदेशको समसामयीक कथा र परिवेशलाई सुन्दर तरिकाले प्रस्तुत गरिएको कठायतले बताए ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान मुख्य प्रवद्र्धन, कैलाली उद्योग बाणिज्य संघ प्रवद्र्धन र जोरायल गाउँ पालिका डोटीको विशेष सहयोगमा उत्पादन गरिएको म्युजिक भिडिओको बिमोचन समारोहमा प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ, सामाजिक विकास मन्त्री मेघराज खड्का, आन्तरिक मामिला मन्त्री हिरा सार्की, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरी, प्रदेश सभा सदस्य शिव सिंह ओली, जोरायल गाउँ पालिका अध्यक्ष दुर्गा ओझा, कैलारी गाउँ पालिका अध्यक्ष राजसमझ चौधरी लगायतको उपस्थिति रहेको थियो ।

सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति टीएन जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन केपी कलौनीले गरेका थिए ।

शुक्रवार बिमोचन गरिएको दृष्यमा सुदूर पश्चिममा भुल्नै गाह्रो भो, सय वर्ष र माया गर्ने जोडी बोलका तीन वटा गीत समेटिएका छन् ।  म्युजिक भिडिओमा सुदूरपश्चिम प्रदेशको समसामयीक कथा र परिवेश समेटिएको छ । सुदूरपश्चिम प्रदेशको कैलारी गाउँपालिका तथा डोटी जोरायल गाउँ पालिका क्षेत्रमा छायांकन गरिएको दृश्यमा सुदूरपश्चिममा दुई वटा म्युजिक गीतहरु समावेश छन् । सनम कठायत र पवित्रा साँकीको उत्कृष्ट प्रस्तुती रहेको उक्त म्युजिक भिडियोमा जोरायल गाउँ पालिका अध्यक्ष दुर्गा दत्त ओझा लगायत थुप्रै कलाकारले अभिनय रहेको छ ।

मोडेल तथा कलाकार सनम कठायत र पवित्रा साँकीको उत्कृष्ट प्रस्तुती रहेको उक्त म्युजिक भिडियोमा जोरायल गाउँ पालिका अध्यक्ष दुर्गा दत्त ओझा लगायत थुप्रै कलाकारले अभिनय रहेको छ ।

जोरायल गाउँ पालिका र भारतमा छायांकन गरिएको उक्त म्युजिक भिडियोमा दिपक गीरीको छायांकन, अमृत चापागाईंको सम्पादन र जनक सिंहको निर्देशन रहेको छ  ।

सोही कार्यक्रममा सुदूर पश्चिममा बिभिन्न बिधा र क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

साहित्यकार निर्मल कुमार भण्डारीलाई साहित्य सम्मान, खप्तड छान्ना गाउँ पालिका अध्यक्ष उत्तम रोकायालाई एभरेष्ट पर्यटन प्रवर्द्धन सम्मान, देउडा गायक भुवन दाहाललाई एभरेष्ट देउडा रत्न सम्मान, माया प्रकाश भट्टलाई एभरेष्ट पर्यटन सम्वद्र्धन सम्मान, चित्राङ्ग थापालाई पत्रकारिता सम्मान, किरण मल्ललाई युवा समाजसेवी र उद्यमी सम्मान, योगेन्द्र हमाललाई शिक्षा तथा समाजसेवी सम्मान, खड्क मल्ल लाई कृषि उद्यमी सम्मान र भरत बिक्रम शाहलाई युवा पर्यटन प्रचारप्रसार सम्मान प्रदान गरिएको थियो ।

एभरेष्ट ग्यालरीले यसवर्षदेखि बिभिन्न बिधामा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गर्न थालेको जनाएको छ ।


ऐँठन: एक युद्ध-विरोधी ‘मिसाइल’

सीताराम भट्ट ।

विवेक ओझाद्वारा लिखित २०७९ को मदन पुरस्कार विजेता उपन्यास ‘ऐंठन’ संसारका हरेक सशस्त्र-युद्ध, युद्धजन्य हातहतियार र स्वयम् योद्धाहरुकै विपक्षमा लेखिएको एक सशक्त ‘शब्दास्त्र’ हो ! यसले विश्वसभ्यतामा महान ठानिएका वा घृणित ठानिएका सबै खाले सशस्त्र युद्धको औचित्यलाई खारेज गरेको छ, प्रश्न उठाएको छ ! यस आलेखमा ‘युद्ध-साहित्य’को रुपमा ‘ऐंठन’लाई संक्षिप्त विश्लेषण गर्ने जमर्को गरिएको छ !

युद्ध र युद्ध-साहित्य

विश्वप्रशिध्द पुस्तक “सेपियन्स: अ ब्रिफ् हिस्ट्री अफ ह्युमनकाईंन्ड्”मा लेखक युवल नोह हरारीले कसरी ‘एक महत्वहीन जनावर’बाट मानवजाति सर्वशक्तिमान “सेल्फ-मेड गड”सम्म बन्न पुग्यो भन्नेसम्मको विकासक्रम सविस्तार वर्णन गरेका छन् ! उनका अनुसार, आज मानिसले आफ्नो ‘सुविस्ता र मनोरन्जन’का खातिर अन्य प्राणी र पूरै ईको-सिस्टमलाईलाई नै ‘तबाह’ गर्नेसम्मको क्षमता र स्वाभाव विकास गरेको छ ! पुस्तकको अन्तमा हरारीले एउटा प्रश्न उठाएर टुङ्ग्याउँछन्: “आफूले के चाहेको हो भन्ने नै थाह नभएका यस्ता असन्तुस्ट र गैर-जिम्मेवार ‘भगवान’हरूभन्दा खतरनाक अरू के होला ?”

होमरको ‘ईलियाड़’ होस् वा व्यासको महाभारत वा वाल्मिकीको रामायण अथवा शेक्सपियरका नाटक हौऊन्, ती युद्धको गौरवगाथा-सरह भएका छन् ! मर्ने र मार्ने उद्योग गौरवपूर्ण बहादुरीको काम मानियो !

हरारीले सीधै नभनेको, तर प्रसंगवश ठाउँठाउँमा देखाएको तथ्य के हो भने शक्तिसंचय भइसकेपछि हरेक सत्ताधारी र शक्तिशालीले आफूलाई ‘भगवान’ ठानेकै हो ! तिनका लालसा, लहड र गैर-जिम्मेवारीपनको शिकार अन्य प्राणीमात्रै होईन, स्वयम् मानवजाति नै भएको छ, हुँदैआएको छ ! ईतिहासको विभिन्न कालखण्डमा भएका युद्धहरू यसका प्रमाण हुन् ! विभिन्न धर्म-संस्कृतिमा चलिआएका देउता र राक्षसका लड़ाईका मिथकीय कथाहरू, ईतिहासमा  राजाहरू, देशहरू र वीरहरू आपसमा लडेका कथा बग्रेल्ती पाइन्छन् ! पृथ्वीका छोटेमोटे ‘भगवान’हरु अझै पनि युद्धका कथा रचिरहेका छन् ! यिनै युद्धकथाहरूले मान्छेका ईतिहास, बौध्दिकता, संस्कृति र राजनीतिलाई निर्माण र निर्धारण गर्दै आएका छन् ! मानिसहरुको ‘सामूहिक चेतना’ निर्माण र विनिर्माण गर्न युद्धकथाको अहम् बूमिका छ !  अहिलेको विश्वसमाज जे-जे र जस्तो अवस्थामा छ, त्यो यिनै युद्ध र युद्ध-साहित्यका कारणले छ भन्नु अतिशयोक्ति नहोला !

युद्ध-साहित्यको परम्परा निकै लामो छ ! होमरको ‘ईलियाड़’ होस् वा व्यासको महाभारत वा वाल्मिकीको रामायण अथवा शेक्सपियरका नाटक हौऊन्, ती युद्धको गौरवगाथा-सरह भएका छन् ! मर्ने र मार्ने उद्योग गौरवपूर्ण बहादुरीको काम मानियो !  युद्ध लड्न नमान्ने अर्जुनलाई भगवान श्रीकृष्णले हौसला र सहयोग दुवै दिएर लडाएको वृतान्त महाभारतमा छ ! अर्थात् हाम्रा पवित्र ग्रन्थहरूका केन्द्रमा युद्ध छ ! ती युद्धसाहित्य हुन् ! ‘धर्म-युद्ध’, ‘जेहाद’ वा ‘क्रुसेड’ जेसुकै नाम दिए पनि धर्महरूले युद्धको आवश्यकता र औचित्यका बारेमा आफ्नै खाले प्रशस्त चिन्तन गरेका छन् !

‘ऐंठन’: युद्ध-साहित्यको विधा-भन्जन

परम्परागत ‘युद्ध-साहित्य’मा हिरो र भिलेनलाई केन्द्रमा राखेर, तिनको वीरता र पराक्रमको गुण गाउने गरिएको पाईन्छ ! खराब तत्वको ‘नाश’लाई अपरिहार्य जिम्मेवारीका रूपमा नायकले लिन्छ र सर्वजन हीताय (नर)संहार गर्छ ! समाजले त्यो ‘बहादुरी’वापत उसलाई नायक मान्छ; रक्षक र उद्दारक मान्छ ! तर, अपवाद बाहेक, तिनबाट मारिने सबै खराब नै हुन्छन् भन्ने बुझिन्छ ! भुँईं-तहका आम मानिसको र तिनका परिवार र आफन्तजनको पीड़ालाई किनारामा पारिन्छ ! नायकहरू पराक्रमको कथामात्रै केन्द्रमा देखाएको हुन्छ !

‘ऐंठन’ उपन्यासले परम्परागत युद्ध-साहित्य विधालाई भन्जन गरेको छ ! केन्द्रमा रहेका युद्ध सर्दारहरूलाई देखाउँदै नदेखाई वा अलि संक्षिप्त उल्लेख मात्रै गरेर, युद्धको त्रासदी भोगेको बबनकुमार उर्फ़ बीरध्वजलाई केन्द्रीय पात्र बनाएको छ ! दाङको स्कूलमा पढाउने एउटा मास्टर ऊ, घरभित्रै भएका श्रीमती र छोरालाई सेनाको गोलीबाट गुमाउँछ ! आफू विद्रोहीहरूको बन्धक बन्नपुग्छ ! तिनबाट अवर्णनीय यातना र अपमान झेल्छ ! अछामको मंगलसेन आक्रमणपछि तिनीहरूबाट मुक्त भएर फर्किने क्रममा बसमा खानतलासी हुँदा शङ्का हुनगई  सेनाको नियन्त्रणमा पर्छ ! सेनाबाट पनि नारकीय यातना झेल्छ ! अन्तत: भागेर एक अद्भूत बस्तीमा पुग्छ ! अर्थात् ‘ऐंठन’ उपन्यास भिक्टिम-केन्द्रित उपन्यास हो ! यसले युद्ध मच्चाउने हिरोहरूलाई गाली, आलोचना र तिरस्कार गरेको छ ! बबनकुमार युद्ध-विभीषिकाको साक्षी हो, भोक्ता हो ! त्यसैले उसले गरेको युद्धको घृणा र तिरस्कार जायज छ ! उसलाई युद्ध र युद्धसित सम्बन्धित पुस्तकसित यति नफरत छ कि सपनामा गान्धारीलाई प्रश्न गर्छ ! युधिष्ठिरलाई प्रश्न गर्छ ! अनि, ब्युँझेपछि टेबुलमा भएको महाभारतको पुस्तक झ्यालबाट मिल्काईदिन्छ ! (पृष्ठ २६०)

जादु-मिश्रित यथार्थमा लेख्नु लेखकको रणनीति पनि हो ! विवेक ओझा यो रणनीतिमा सफल पनि देखिन्छन् !  

उपन्यासको कथावस्तु सलल बगेको आदि, मध्ये र अन्त्य छुट्टिने खालको छैन ! ऐतिहासिक ‘जनयुद्ध’, स्वप्नामा देखिएको कुरुक्षेत्रको कौरव-पान्डव युद्ध, अनि जादुमयी (मायावी) संसारमा पुनर्जन्मपछिको कमरेड गोकुलको अजीब गाउँ विचरण गर्छ वक्ताले ! जादू, स्वैरकल्पना र यथार्थ मिसाएर हाम्रा पौराणिक ग्रन्थहरू पनि लेखिएका छन् ! उत्तरआधुनिक लेखनमा सलमान रश्दी र ग्याब्रियल गार्सिया मार्खेजजस्ता सिध्दहस्त लेखकहरूले यसको उच्चतम अभ्यास गरेका छन् ! माछाले टेबुल चढ्नु, अनि अंग्रेजीमा लेखिएको पढ्नु, मरेको छोरासित टेलिफोन संवाद हुनु, हेलिकप्टर विशाल मांसभक्षीमा बदलिनु, रक्ताम्मे हिउँ पर्नु, रगतको खोला हुनु, पूरै गाउँ अपाँगता भएका मानिसको हुनु, सबै गाउँलेहरु बिर्सने रोगबाट ग्रस्त हुनु, मान्छेका मासुका परिकारहरु बकाईदा होटलमा निशुल्क बेचिनु, ईत्यादि कुराहरू सामान्य भौतिक जीवनभन्दा परका कुराहरू हुन् ! जादु-मिश्रित यथार्थमा लेख्नु लेखकको रणनीति पनि हो ! विवेक ओझा यो रणनीतिमा सफल पनि देखिन्छन् ! पूर्व-लडाकुको पूरै गाउँ नै बिर्सने रोगबाट ग्रस्त हुनु, मान्छेको मासु यति सस्तो कि त्यो होटलमा फ्रीमा मिल्ने हुनुजस्ता कुराहरूले युद्ध-पश्चातको अवस्थालाई कठोर व्यङ्ग्य गरेको बुझ्न गाह्रो छैन !

यसले अहिलेका कार्यकर्ताको कट्टरता र अन्धभक्ति देखाउँछ ! कसैले नेतृत्वको थोरै आलोचना गर्यो भने “तँलाई टिभी लाग्यो” भनेर कुनै ‘दिमागी रोग’ लागेको अर्थ लाउँछन् !  यो भयानक चित्रण माओवादी, तिनले लडेको युद्ध र त्यसपछि तिनमा आएको बदलाव/विचलन देख्न पर्याप्त छ !                 

माओवादी युद्ध र तिनका विचलनमाथि कठोर प्रहार 

सामान्यतया: युद्ध एउटा उद्देश्यका लागि लडिन्छ ! तर यहाँ क्रान्तिपछि विद्रोहीहरुको आफ्नो पार्टीको सरकार बन्ने बाहेक अर्को  उपलब्धि देखिएन ! ज्यान जोखिममा राखेर लडेका योध्दाहरूको पूरै गाउँ यति गरीब छ कि ती चाउचाउका कार्टुन-बक्सको सिरक ओढेर कठ्याङ्ग्रिने चिसो रात कटाउँछन्, जब कि बाहिर हिउँ परिरहेको छ ! पूँजीवादलाई सत्तोसराप गरेर  लादिएको युद्धपश्चात्, आफ्नो पार्टीको सरकार हुँदा त्यही पूँजीवाद जनाउने चाउचाउको खोलले जाडो छेक्नु ? त्यो भन्दा निर्मम मजाक र दरो झापड माओवादीको कथित जनयुद्धका लागि अरू के हुनसक्छ ? एक पेटी जीवनजल गाउँमा पुर्याउन कमरेड राकेश हेलिकप्टर चढ़ेर आउँछ ! कामरेडका सामुन्ने आँसु नदेखाउन सारा गाउँलेहरू अघिल्लै मध्येरातमा भेला भएर रून्छन्, र आँखा निखार्छन् ! भातसम्म खानलाई नपुगेर फट्यांग्रा खोजेर खानुपर्ने हालतमा भएका यी मनुवाहरू कमरेडका लागि चैं पजेरो कार किनिदिन्छन् ! आफू बुर्जुवा शिक्षा भनेर लत्याईएको शिक्षा आफ्नी छोरीलाई दिलाउन मरिहत्ते गर्छन् ! त्यति हुँदा पनि आफ्ना कमरेडका बारेमा कसैले नराम्रो समाचार भनेको भनेर टिभी नै फुटाल्छन् ! उता अमरसिंहजस्ता कमरेडहरू “रक्सी बोकेर कुनै आइमाईको कोठामा पसेको खबर” आउँछ ! (पृष्ठ ३४१) नेताहरूका महल देखाउने, तिनले टाउको दुखेमा उपचारका लागि सिंगापुर गएको बताउने, ठेकेदार र माफियासित भोज गरेको देखिनेजस्ता समाचार टीभीमा देखिएमा पूर्व-लडाकु गाउँलेहरू त्यो सहन सक्दैनन्, र टिभी फुटाउन पुग्छन् ! यसले अहिलेका कार्यकर्ताको कट्टरता र अन्धभक्ति देखाउँछ ! कसैले नेतृत्वको थोरै आलोचना गर्यो भने “तँलाई टिभी लाग्यो” भनेर कुनै ‘दिमागी रोग’ लागेको अर्थ लाउँछन् !  यो भयानक चित्रण माओवादी, तिनले लडेको युद्ध र त्यसपछि तिनमा आएको बदलाव/विचलन देख्न पर्याप्त छ ! माओवादीको युद्ध र त्यसको परिणतिमाथि यत्तिको निर्ममतापूर्वक सायदै कुनै साहित्यिक रचना लेखिएको होला !

शान्तिको वकालत

पूरै परिवार तबाह हुँदाहुँदै पनि अन्तमा बबनले आफ्नो पहिल्यै मरिसकेको छोरालाई टेलिफोन गरेर सारा संसारका हातहतियार ब्रेक-डाउन गर्ने ‘मास्टर रे’ पत्ता लाउने सुझाव दिन्छ ! यो आशाको त्यान्द्रो देखिन्छ उपन्यासमा ! देवाजयको छोराले डटेर शान्तिपूर्ण जागरण र हिंशाविरोधी तर्कहरू राखिरहँदा बबन अवाक हुन्छ र समर्थन गर्दछ ! बबन अर्थात् वीरध्वज र देवजय दुवै क्रमश: कौरव र पाण्डवका पक्षबाट लडेका निरीह लडाका थिए ! दुवैका छोराहरू युद्धको खिलाफमा हुनु अबको पुस्ताले युद्धलाई अस्वीकार गर्ने संदेश दिएको प्रष्ट हुन्छ ! लेखकले हिटलर, चर्चिल र पोलपोटहरूलाई खरो आलोचना गरे पनि शान्तिपूर्ण क्रान्तिलाई नकार्दैनन् ! बुध्द, गान्धी, मन्डेला र लुथर किङका नामै किटेर उहाँहरूको जस्तो जागरण ल्याएर पनि समाज बदल्न सकिन्छ भन्ने तर्क राखेका छन् !

युद्धसित कोही लेनादेना नभएका थुपै शिक्षकहरू चन्दा असुली, शरीर बन्धक, अंगभंग वा ज्यानै जाने खालका घटनाबाट गुज्रेका थिए !

उपन्यासको पात्र र स्थान चयन पनि अर्थपूर्ण छ ! युद्धसित कोही लेनादेना नभएका थुपै शिक्षकहरू चन्दा असुली, शरीर बन्धक, अंगभंग वा ज्यानै जाने खालका घटनाबाट गुज्रेका थिए ! जसरी निर्दोष बबन दोहोरो आततायी  यातना झेल्न विवश भयो, गृहयुद्धकालमा त्यस्ता सयौं, हजारौं शिक्षकहरूले त्यस्तो दर्दनाक अवस्था झेलेका थिए ! बबनजस्ता  युद्धसित असम्बन्धित पक्षले झेलेको सन्तापको कुनै हिसाब हुनसक्दैन ! उपन्यासका युद्धसम्बन्धि  मुख्य-मुख्य घटनाहरू  दाङ, सल्यान, सुर्खेत, अछाम हुँदै बाँकेसम्म घटेका देखिन्छन् ! यी ठाउंहरू खास गरि मध्येपश्चिम क्षेत्र माओवादी विद्रोहबाट निकै प्रभावित क्षेत्र हो !

प्रतिनिधित्वको सवाल

द्वन्द्वका बारेमा लेख्दा लेखक सकभर तटस्थ भएर लेख्नुपर्छ भन्ने एउटा मान्यता छ ! अर्को मान्यता अनुसार लेखक तटस्थ रहनै सक्दैन ! एउटा साक्षी र/वा भोक्ताका रूपमा द्वन्द्वका कथा बताईरहँदा एउटा कथावाचकले पक्ष लिनुपर्ने नैतिक दायित्व हुन्छ ! त्यो पक्ष चाहिं पीडितको पक्ष हो ! अभिशायी मार्गालिट, जेफ्री ब्लुस्टिनलगायतका  विद्वानहरू पक्ष लिनुपर्ने बताउँछन् ! त्यस अर्थमा यो उपन्यासले पीडितको पक्ष लिएको छ ! तर हिंसाको परिमाण र परिणाम दुबैमा माओवादीद्वारा गरिएका क्रूरताका घटना र तिनको घनत्व निकै बढी देखिएका छन् ! तिनको डिटेल पनि लेखकले बढी नै सजीव पस्केका छन् !

सरकारी पक्षबाट भए गरेका क्रूरता त्यति धेरै छैनन् ! अझ माओवादी आन्दोलन किन उठ्यो, त्यस बेलाको सरकारले चलाएको ‘किलो शेरा-२’ जस्ता अपरेशनले मच्चाएको क्रूरताको कहीं कता उल्लेख भएको भए हुने !

त्यसका तुलनामा सरकारी पक्षबाट भए गरेका क्रूरता त्यति धेरै छैनन् ! अझ माओवादी आन्दोलन किन उठ्यो, त्यस बेलाको सरकारले चलाएको ‘किलो शेरा-२’ जस्ता अपरेशनले मच्चाएको क्रूरताको कहीं कता उल्लेख भएको भए हुने ! पत्रकारहरुबाटै पनि निष्पक्ष लेखन दुर्लभ भएका बेला साहित्यकारले तटस्थ र निष्पक्ष खालको जर्नालिस्टिक साहित्य लेखोस् भन्ने अपेक्षा गरिंदैन ! गर्नुहुन्न ! त्यस्तै   उपन्यास लेखकबाट उपन्यासमा इतिहास खोज्नु जायज होईन, तर लेखकले सरकारी दमन र अत्याचारको मात्रा अलि कम देखाएर लेखकीय ‘पलिटिक्स’ देखाएका छन् भन्दा अन्यथा नहोला ! यद्यपि आ-आफ्नो दृष्टिकोण पस्किन हरेक लेखक स्वतन्त्र छ !

लेखन र शैली

विवेक ओझाको भाषा खारिएको र माझिएको देखिन्छ ! संवाद र विषयवस्तु स्तरीय छन् ! उडन्ते गफ मात्रै नगरेर अलि रिसर्च गरेर लेखेजस्तो, अनि लेखन छ, सम्पादित र परिष्कृत भाषाको प्रयोग गरिएको छ ! कहीँकहीं अछाम र कर्णालीको सेरोफ़ेरोमा बोलिने स्थानीय भाषाका वाक्य/शब्द प्रयोग भएका छन् ! तर नबुझिने छैनन् ! काली-कर्णाली क्षेत्र नेपाली भाषाको उद्गम थलो नै हो !

यस उपन्यासको विषयवस्तु सदावहार छ ! मानव सभ्यता शुरु हुनुभन्दा पहिलेदेखि नै युद्ध थियो, र अझै छ ! त्यसको स्वरूप बदलिएको होला ! त्यसैले लेखकको विषयवस्तु सर्वकालिक महत्त्वको छ ! नेपाली साहित्यको एक विशिष्ट दस्तावेज हुनसक्छ यो उपन्यास !

केही महत्वपूर्ण र स्मरणीय पङ्क्तिहरू:

─ तराजुको एक काँटामा युद्धका उपलब्धि राख्नुस् र अर्को काँटामा लाखौंलाख मानिसको जीवनमा परेको विध्वंस जोख्न नबिर्सनुस् ! बम र गोली बाहेकले गर्न सक्ने परिवर्तनका कैय्यौं बाटा पनि होलान् !(पृ. ३७०-७१)

─ रगत पिएका हतियारले समयका पानामा दूषित ईतिहास छाडेर गएका छन् ! (पृष्ठ ३६७)

─ केन्द्रबाट कामरेड आउने अघिल्लो रात सम्पूर्ण गाउँ रून्छ, ता कि हाम्रा आँखामा आँसुको नामोनिशान नदेखियोस्, ता कि हाम्रा प्रिय कमरेडहरू हाम्रो उपलब्धिमाथि सर्वथा गौरव गरिरहून् ! हाम्रा आँखामा आँसुका छनकले मात्रै हाम्रा कमाण्डरलाई पीडा हुनसक्छ ! त्यसैले जे जति आँसु जम्मा भएको हुन्छ त्यो [अघिल्लै रात] रित्त्याउँछौं ! तिमी पनि रोऊ ! (पृष्ठ ३४८).

─ यहाँ धेरैमा विगत बिर्सने समस्या छ ! वा हुनसक्छ, यहाँ बिगतले बिर्सिएकाहरू बस्छन् ! (पृष्ठ ३३७)

─ उसो त खाल्डो बाधा र दुर्गतिको बिम्ब हो ! तर कहिलेकाहीँ त्यही खाल्डो जीवनका खातिर कवच हुँदो रहेछ ! (पृष्ठ ३२०)

─ यस गाउँमा जो कोहीको एक कुरूप विगत छ ! शक्तिको अगाडि आम मान्छे फट्यांग्रा बराबर हो ! म पनि एक फट्यांग्रा हुँ, जसले बिनागल्ती एक खुट्टा गुमायो ! (पृष्ठ २७०)

─ भोलि म कुनै किताबसिताब लिनेछैन ! मारकाट भएका पुस्तक त जिन्दगीमा पढ्नेछैन ! त्यस्ता पुस्तक पढ्नु पनि हुन्न र बोक्नु पनि हुन्न ! (पृष्ठ २६०)

─ गान्धारी, तिमी जति आफ्नो छोरालाई माया गर्छौ, त्यति नै हरेक योध्दाका आमाले गर्छन् ! के यहाँ करोडौं मृत छोराका करोडौं आमालाई आफ्नो छोराको अस्तु सेलाउने मन नहोला ? (पृष्ठ२५८)

─[युधिष्ठिरलाई] ‘धर्मराज’ उपाधिको तिमी योग्य हौ भने यहाँ सलबलाई रहेका शरीर देख्ने धर्म गर ! के करोडौं मानिस तिमीलाई राजा बनाउन मात्रै मरेका हुन् ? (२५८)

─ तिमीहरुले यो युद्धलाई ‘धर्मयुद्ध’ भन्यौ ! काटमार पनि कतै धर्मसङ्गत हुन्छ ? (२५९)

─ म त्यो मानिसको मृत्युमा रोएँ, जसले मलाई बन्दी बनायो, जसले मेरो नारकीय जीवनको द्वार उघार्यो र जसका लागि घृणा बाहेक हृदयमा अर्थोक थिएन ! (२५२)

─ उसो त उषाको सुहागरातको दिन थियो त्यो ! तर ऊ तमाम सुहागहरू मेट्नमा व्यस्त थिई ! (२४१)

─मंगलसेन युद्धउप्रान्त पनि यो अँगालो नछुटोस् ! दुनियाँमा कसैको अँगालो हतियारले ननिलोस् ! कसैको ललाट मेरो जस्तै नहोस् ! (२२२)

─ हतियारले उजाडिएको जो सुकै होस्, धर्तीको जुनै कुनामा होस्, उसले हतियारलाई पक्कै घृणा गर्छ ! त्योभन्दा बढी घृणा हतियारको बैशाखी टेक्नेलाई गर्छ !  म पनि गोकुललाई घृणा गर्छु ! (२१२)

─कम्जोरहरूलाई सुन्दर देखिने अधिकार छैन ! (१४९)

─ जब तपाईंको वंश रहँदैन, जब तपाईंको सूर्य डुब्छ, आकाश हराउँछ ! कसरी सुनौलो बिहानको भविष्य आउँछ ? (१३४)

─ शिक्षकले जीवनभर केही हजारलाई उज्यालो देला ! तर क्रान्तिकारीले करोडौं गरीबको घर उज्यालो पार्न सक्छ ! (११०)

─ हृदय यस्तो रेफ्रीजेरेटर हो, जसले हरेक कुरा आफैंभित्र ताजा राखेको हुन्छ ! (७६)

─ बन्दूक समाएको जोसुकै होस्, हात मिलाई सकेपछि मेरो हातमा रगत लत्पतिएको महसुस हुन्छ ! सकभर उनीहरू मलाई नछोउन् ! (पृष्ठ ६७)

─ धरतीमा बन्दूक समाउने प्रत्येक हात कुहिएर झरून् र फूल समाउने हात पलाऊन् ! (पृ. ६७)

यस्ता कैय्यौं वाक्य, शब्दावली र टुक्काहरू छन् जो पाठकका मर्मलाई छुनसक्छन् ! यस अर्थमा पनि उपन्यास पठनीय छ !

समसामयिक राजनीतिक सन्दर्भ र औचित्य

‘ऐंठन’ उपन्यासले यस्तो बेला देशको प्रतिष्ठित मदन पुरस्कार पायो, जतिखेर संसदमा ज्ञानेन्द्र शाही, सडकमा दुर्गा प्रसाईं र सामाजिक संजालमा रविन्द्र मिश्रजस्ता मानिसहरु यो व्यवस्था उल्ट्याउन अर्थात् माओवादी आन्दोलनका उपलब्धिलाई खारेज गर्न खरो र दरो आवाज उठाईरहेका छन् ! यो संयोगमात्रै नहोला ! यो उपन्यासले सतहमा ल्याएजस्तै आन्दोलन र व्यवस्था परिवर्तनपछि हिजोका क्रान्तिकारी नेताहरू जसरी सुखभोगी भए, पुराना घाईते र अपांग कार्यकर्ताको जुन बेहाल देखिएको छ, त्यो ‘ऐंठन’ले देखाएको भन्दा कम भयावह छैन ! पत्रकार विराट अनुपमले २०७९ चैत १८ गते ‘नेपाल प्रेस’मा एक संक्षिप्त रिभ्यूमा लेखेजस्तै गएको दुई दशकमा गैर-न्यायिक हत्या र गम्भीर मानवाधिकार उल्लङ्घनका घटनाका बारेमा आवाज उठिरहे पनि हिजो लडेर आएको नेतृत्वले वेवास्ता गर्दै आईरह्यो ! पटकपटक सत्तामा गएर पनि हिजोका युद्ध-पीडितका लागि केही गर्न  सकेन !

आमा-बाकै सामुन्ने खाल्डो खन्न लाएर निर्दोष र जवान छोरोलाई जिउँदै पुर्नु, गोली हानेर मारेको मान्छेलाई पनि टुक्रा-टुक्रा पारेर काट्नु, युवतीलाई नांगै बनाएर योनीमा लट्ठी घुसाउनु, सामुहिक बलात्कार गर्नु, खुकुरीले शरीर चिराचिरा पारेर खुर्सानी दल्नु, आमाका सामुन्ने छोरी बलात्कार गर्नु, नियन्त्रणमा लिएर बाँधिएको मानिसलाई भीरबाट खसाल्दिनु यस्ता कैय्यौं राक्षसी हर्कत भएका छन् कथामा ! यी कुनै युद्धका नियममा पर्दैनन् ! यस्ता मानवताविरोधी अपराधहरूको कुनै छानबीन, लेखाजोखा नहुनु उदेकलाग्दो विषय हो ! तत्कालिन विद्रोही र सत्ता दुवै पक्षबाट यस्ता कुकर्महरू भएका छन् ! यो उपन्यासले यी यावत विषयलाई पुन: सतहमा ल्याइदिएको छ !

२०६० र ‘७० दशकमा जसरी बाम-रुझान नेपालमा देखियो, अबको दशक त्यसप्रतिको मोहभंग, वितृष्णा र एक हदसम्मको घृणा देखिने र नेपालको सम्पूर्ण बौध्दिक र राजनीतिक मूलधार दक्षिणपन्थी प्रभावमा देखिने सङ्केत पनि यसबाट लिनसकिन्छ ! २०५८ देखि २०७७ सम्मको कथामा यो उपन्यास टुंगिएजस्तो ७० को दशकको अन्ततिर माओवादीहरूले भन्ने गरेको जनयुद्धको राप र ताप पनि सेलाई सकेको छ ! त्यसका कथित उपलब्धिहरू रक्षात्मक अवस्थामा पुगेका छन् !

मूल सन्देश

विश्वविख्यात लेखक सलमान रश्दीले सन् १९९६ मा एउटा विश्वविद्यालयको दीक्षान्त समारोहमा दिएको छोटो र खरो भाषणमा युवा विद्यार्थीहरूलाई भनेका छन् : For in the years to come you will find yourselves up against gods of all sorts, big and little gods, corporate and incorporeal gods, all of them demanding to be worshipped and obeyed – the myriad deities of money and power, of convention and custom, that will seek to limit and control your thoughts and lives. Defy them; that’s my advice to you. (भावार्थ: भविष्यमा पैसा र पावर भएका, संस्थागत वा निराकार, परम्परा र रितिरिवाजले बनाएका, ठूलासाना विविध खाले भगवानहरू आफ्नो आज्ञा मान्न र पूजा गराउन तपाईंहरूको विचार र जीवन नै कन्ट्रोल गर्न आउनेछन् ! तिनको अवज्ञा गर्नुस्, विरोध गर्नुस् !) विवेक ओझाको ऐंठनले यही भाव बोकेको छ ! आफू शक्तिमा जान वा आफ्नो शक्तिको लालसाको परितृप्तिका खातिर कम्जोर र निर्धालाई भुसुना ठानेर युद्धमा झोस्ने र आफ्नो दुनो सोझ्याउने जोसुकै युद्धपिपासुहरू पनि छोटेमोटे ‘भगवान’ भएर हाम्रो भाग्य र भविष्य खोस्न आउँछन् ! तिनको प्रतिवाद नगरे पनि तिरस्कार र घृणा गर्न सकिन्छ ! युद्धलाई दुत्कार्न सकिन्छ, र पर्छ पनि ! युवल नोह हरारीले भने झैं यी स्व-निर्मित, असत्ति र गैर-जिम्मेवार ‘भगवान’हरूका स्वार्थ-केन्द्रित साँढे जुधाईका बीच परेर निर्धा, निमुखा र गरीबहरुले कहिलेसम्म मरिरहने ? किन मरिरहने ?

 bhattasitara5@gmail.com 

लेखक कैलाली बहुमुखी क्याम्पस, धनगढ़ीमा प्राध्यापन गर्नुहुन्छ ।

पेंचिलो बन्दै गएको रवि लामिछानेको मुद्दा 

सीताराम भट्ट ।

वास्तवमा रवि यो देशको नागरिकता र पासपोर्ट त्यागेर गईसकेका, अनि फर्केपछि पनि “नेपालमा जे पनि चल्छ” भन्ने शैलीमा कानूनी प्रक्रियालाई पनि हेंलासार गरेर, अमेरिकी नागरिकता र पासपोर्ट त्याग्ने, अनि नेपाली चाहिं नवीकरण गर्ने प्रक्रिया नपु¥याएका मानिस हुन्। त्यो मानेमा दोहोरो पासपोर्टधारी व्यक्ति नेपालको कानून अनुसार दण्डनीय हुन्छ, चुनावमा उमेदवार हुने त कुरै छैन।

हाम्रो लथालिंग राज्यव्यवस्थाले उनलाई चुनाव लडेर गृह-तथा-उप-प्रधानमन्त्री बनुन्जेलसम्म भेउ पाएन वा अनदेखा गर्यो । बरू, महामहिम प्रधानमन्त्री खड्गप्रसाद ओलीले दोहोरो पासपोर्टधारी “रवि बाबु”लाई नेपाल टेलिभिजनमा “आफ्नै कार्यक्रम”मा जागीर दिलाएको कुरा सगर्व व्यङ्ग्यपूर्वक खुलासा गर्दिनुभो, “सीधा कुरा प्रधानमन्त्रीसंग” रे । अदालतले रविको गृहमन्त्री पद खुस्काई दिएपछि पनि अदालतलाई कटाक्ष र रविको बचाऊ गर्न उहाँले संसद्को रोस्ट्रमको दुरुपयोग गर्नुभयो ।महान्याधिवक्ताको कार्यालयको दुरुपयोग गरेर रविको पासपोर्टको केश मुद्दा नलाग्ने बनाउनुभयो  । रविका २१ जना सांसद मुख्य तीन दलका लागि जतिखेरै पनि आवश्यक पर्नसक्थे । त्यसैले थाह पाईपाई सबै चूप बसे ।

जब उप-निर्वाचन भयो, रविले आफ्नो क्षेत्रमा पहिलेभन्दा २० हजार मत बढी ल्याए । अरू तीनै दलको जोड्दा रविको मतको आधा जति पनि नपुग्नेभो । त्यसभन्दा बढी त, कांग्रेसको २०४८ सालदेखिको किल्ला भत्कियो तनहुँमा। कसबाट ? आफैंले टिकट दिन पनि नचाहेको स्वर्णिम वाग्लेबाट । चुनावी कार्यक्रमका कमान्डर को थिए ? गगन थापा। उक्त चुनावी परिणामले गगन थापाको नूर गिरायो, झड्का दिलायो । २०७९ कै निर्वाचनमा पनि रा.स्व.पा.का सिट र मत अधिकांश कांग्रेसकै थिए । तै पनि कांग्रेसवृत चूप लाग्यो किन कि रास्वपाका २१ सांसद उसलाई सरकारमा जान जतिखेरै पनि चाहिने स्थिति आउनसक्थ्यो ।

तर जब एमाले र माओवादीको गठबन्धन सरकारमा रास्वपा दोस्रोपल्ट पनि मिल्न गयो, कांग्रेस थप झस्क्यो । त्यो गठबन्धन भत्काउन रविलाई प्रधानमन्त्रीसम्म अफर गरियो भन्ने सुनियो।जब रविले नमान्ने; र ओलीजीको नजीक भएको देखाए, अनि कांग्रेसले केही न केही त गर्नुपर्यो । ‘कान्तिपूर’ले लगातार रवि विरुद्ध ‘विष-वमन’ गरिरहेको थियो, अन्टसन्ट छापेर । त्यसैमा मिल्यो कांग्रेस पनि । दुई महिना सदन अवरुद्ध गर्यो, रविको मन्त्री पद चाहिं , सहकारी ठगीको छानबीन गर्नलाई “स्वार्थ बाझिने भो” भनेर । संसदीय छानबीन समिति गठन भयो ।

एउटा व्यक्तिलाई लक्षित गरेर ‘संसदीय छानबीन समिति’ गठन भएको घटना नेपालको संसदीय ईतिहासमा सायदै होला। रवि-केन्द्रित उक्त समितिले “सहकरी ठगीमा रवि प्रत्यक्ष सहभागी नभएको” भन्ने निष्कर्ष दियो । गोर्खा मिडियामा पैसा गइसके पछि ग्यालेक्सी टिभी चलाउने क्रममा केही गडबड भएको भए त्यसमा “कानून अनुसार काम-कारवाही गर्न” सिफारिस गरियो । यसबाट रविमाथि लागेको सहकारी ठगीको जो मुख्य आरोप हो, त्यसमा उनले सफाई पाएकै हुन् । टेलिभिजन चलाउँदा पक्कै गडबड भएका संकेत बाहिर आएका छन्, त्यसमा रविमाथि कम्पनी ऐन अनुसारको कारवाही हुनुपर्ने थियो । सहकारी ठगीको होईन । संसदीय छ्नाबीन समितिको निष्कर्षबाट गगन थापाको दाबी झूटो साबित भयो । उनी नांगिए । “प्रमाण छ; ऋण लिन आफैंले निवेदन दिएको यतिका प्रमाण छन्; कुन प्रमाण देखाउँ ?” भनेको त झुटो रहेछ । संसदीय छानबीन समितिले लिखित चिट्ठी पठाएर प्रमाण माग्दा पनि गगनले दिन सकेनन् ।अब के गर्ने ? आफ्नो face saving गर्न गगनले क्याम्प चेन्ज गरे । देउवा क्याम्पमा छिरे । अनि गृहमन्त्री, गगन र अरू को-को मिले; र रवि सिध्याउन प्रधानमन्त्रीलाई वाध्य पारे ।

यहाँनिर एउटा प्रश्न उठ्छ, यदि संसदीय छानबीन समितिको रिपोर्टलाई आधार मान्ने हो भने रवि सहकारीमा अप्रत्यक्षरुपमा थोरै दोषी होलान्, तर यिनीहरूले हल्ला गरेजति दोषी पक्कै छैनन् । यदि प्रहरीले शुरूबाट नै यो केशको अनुसन्धान गर्ने हो भने संसदीय समितिको नाटक किन गरियो ? त्यो रिपोर्टको क्यै भ्यालु रहेन भने । सबैभन्दा अचम्म त पढ़ालेखा वर्ग छ, नेपालमा । मुद्दा अदालतमा विचाराधीन छ, रवि “ठग” हो कि होईन, अदालतले भन्ने नै छ । अहिले त जिल्ला-जिल्ला डुलाएर प्रमाण संकल र वयानबाजी चलिरहेकोछ । तर, महिनौंदेखि रविलाई “सहकारी ठग”को बिल्ला लगाईरहेका छन् । ती बुद्धिजीवी र पढालेखा भनिएकाहरू दाम्लोले बाँधेर एक मूठा घाँस हाल्नयोग्य छन् । आजका दिनमा रवि वा छविहरू अभियुक्तमात्रै हुन्, “ठग” होईनन् । हामीलाई मन परेंन भन्दैमा आफैं “न्यायाधिश” पल्टिने होईन ।

अब आउँ, किन गगनहरू प्रधानमन्त्रीको काँधमा बन्दूक राखेर रविलाई सिध्याउन तल्लीन छन् भन्नेमा । गगनले आफैंले भने अनुसार, उनले २०४६ आसपासमा राजनीति शुरु गरेका हुन् । ३५ वर्ष राजनीति गरेर जम्मा एकपल्ट मन्त्री बन्न सके गगन, त्यो पनि कृष्ण सिटौलाको निगाहमा । उता, राजनीति शरू गरेको दुई वर्ष नपुग्दै रवि दुईपल्ट उप-प्रधानमन्त्री बनिदिए । त्यसमाथि “मिशन-‘०८४” भन्दिन थाले । रविसित युवा पुस्ताको वाहीवाही, अनि पढेलेखेका खर्रांट, सुमना श्रेष्ठजस्ता लोकप्रिय २१ सांसद छन्, जो पूर्ण तयारी गरेर, राम्ररी अध्ययन गरेर लोभलाग्दो तरिकाले संसदमा प्रस्तुत हुन्छन्। तिनले त बजार खाने भए।अति महत्त्वाकांक्षी गगनका लागि र सिङ्गै कांग्रेसका लागि रवि जबर्जस्त वाधा बनेर उभिए । त्यसमाथि liberal democrat हरूको स्वीङ् भोट ब्यांक उही छ, रवि र गगनको पार्टीको ।

कांग्रेसका किल्ला भनिएका ठाउँमा पनि हाकाहाकी हमला गरेर रास्वपा उदायो। यदि रास्वपाले काठमाडौं-४ मा पनि उमेदवारी दिएको भए सायद गगन हार्थे, र, अहिले संसदमा आउनै पाउंदैनथे । रास्वपाको चामत्कारिक उदय गगन प्रबृतिका युवा नेताहरूको लागि ‘थ्रेट’ भएर आयो । उमेर समूह पनि एउटै रवि र गगनको । “एकै जङ्गलमा दुई शेर”को अवस्था देखियो । गगन आफैं पनि कुनै समय निकै लोकप्रिय युवा नेता थिए । २०६० को दशकको गगनको जुन लोकप्रियता थियो, त्यो ओरालो लागिरहेको बेला छ, जब कि रविको लोकप्रियता चुलिन लागेको बेला पर्यो ।

यस्तो बेलामा रास्वपा वा रविलाई बद्नाम गर्ने र कुनै केश लाएर थुन्ने उपाय अपनाईयो । यदि संसदीय छानबीन समिति गठन नगरेर सीधै प्रहरीलाई अनुसन्धान गर्न दिएको भए विश्वासिलो हुन्थ्यो, तर छानबीन समितिले “प्रत्यक्ष संलग्न छैन” भनिसके पछि फेरि सहकारीकै छानबीन किन ? त्यसमाथि, जसरी प्रक्रिया अघि बढिरहेको छ; जसरी रातारात यता र उता घिसार्ने काम भईरहेको छ, त्यसले मानिसहरूलाई सशंकित बनाएको छ।

अहिले प्रहरीले प्रमाण संकलन गरिरहेको छ, अनि ती “प्रमाण” भनेर दोस्रो दिन “कान्तिपुर”मा किन छापिन्छन् ? प्रहरीले प्रमाण अदालतमा बुझाउने कि “कान्तिपुर”मा ? यदि ‘कान्तिपुर’ले छापेका ती कथित् प्रमाण नक्कली हुन् भन्ने कान्तिपुरलाई सजाय हुनुपर्दैन ? सक्कली हुन् भने कसले र किन दियो ? अनि, “प्रमाण छ” भनेर त्यत्रो संसदमा दाबी गर्ने, तर छानबीन समितिलाई प्रमाण नदिने गगन थापाले क्षमा माग्नु पर्छ कि पर्दैन ?

अब केश यस्तो मोडमा पुग्यो कि राज्यका निकायले सही-सही छानबीन गरेर रवि जेल बस्नुपर्ने अवस्था आए पनि जनताहरूलाई संशय भईरहने भयो । मुख्य विवादित व्यक्ति जीबी राईलाई ‘लुकाएर(?)’/नल्याएर एकोहोरो रविलाई मात्रै रगड़तान गराउँदा त्यसले कहीं पनि पुर्याउँदैन भन्ने सबैलाई थाह छ । यिनीहरूले उल्टो गरिरहेका छन् । जीबी राई आईहाल्यो भने, कतै हाम्रो पनि पोल खुल्छ कि भन्ने त्रास पनि होला।

ठूला दलका नेताहरूको पनि जीबीसित उठबस थियो। रामहरी खतिवडासित त फोटो खिचेको पनि देखिन्छ मिडियामा । अर्को कुरा, सहकारी अपचलनमा प्रत्यक्ष मुछिएका धनराज गुरुङमाथि सामान्य सोधपुछ मात्रै हुने, प्रत्यक्ष नजोडिएका रविमाथि यत्रो महिना जिल्ला-जिल्ला लछार्ने ? “यो राजनीतिक प्रतिशोध हो” भन्ने रास्वपाका मानिसहरूको दाबी जायज छ । जीबि राईका सहकारीबाट अन्नपूर्ण टिभीमा पनि रकम गएको, अनि जीबी राई उक्त टिभीको शुरूको उपाध्यक्ष रहेको भन्ने पनि आएको छ । रामेश्वर थापा खूद ओली र देउवालाई घरमा ल्याएर मध्येरातमा सरकार बनाउने मान्छे । उनी र उनको टिभीलाई कसले छानबीन गरोस् ?

एमालेका सांसद ऋषिकेश पोखरेललाई त झन् छानबीनको दायरामै ल्याईएन । मानव तस्करीजस्तो जघन्य अपराधमा प्रत्यक्ष जोडिएका कोशी प्रदेशका साँसद लीलाबल्लभ अधिकारीलाई त्यस्सै छोडियो । यसबाट आम जनतामा के संदेश गयो भने, विपक्षी वा प्रतिष्पर्धी दललाई सिध्याउन यो अनुसन्धानको प्रपन्च गरेर रविलाई यातना दिईरहेको छ सरकारले। राज्यका काम कारवाही पक्षपाती भए भने उसले कुनै काम ठीकै गरे पनि सन्देहास्पद नै लाग्छ ।

हाम्रो राज्यका निकाय कति लाचार छन् भने तिनै पुलिसका आईजीपीले उतिखेर संसदीय समितिलाई “रविको सहकारी अपचलनमा कुनै संलग्नता भेटिएन” भनेर बयान दिएका थिए, (उक्त भिडियो अहिले पनि सामाजिक संजालमा जताततै पाईन्छ ।) तिनै आईजीपीले आज रातारात यो जिल्ला, ऊ जिल्ला घुमाउँदै छन् “छानबीन गर्ने” भनेर । कस्तो हाँसो उठ्दो । अनि, मिडिया कस्ता छन् भने, रविलाई मध्यरातमा चितवनबाट कास्की लगेको दुनियाँलाई थाह छ, खूद प्रहरीले पनि त्यही भन्दैछन् । तर, ‘कान्तिपुर’ले हेड़लाईन बनायो, “रविलाई चितवनबाट बिहानै पोखरा लगियो” भनेर । यस्ता दिउँसै रात पार्ने मिडियाको कुनै भरोसा रहेन ।

अब रविलाई जेल हाले पनि जनता पत्त्याउँदैनन्, किन राज्यका निकायको साख गिरेको छ । मान्छेहरू प्रतिप्रश्न गर्नथाल्छन्, आफ्ना त्यत्रा-त्यत्रा काण्डहरू छानबीन नगर्ने ? महिनौंसम्म रविको पछिमात्रै लाग्ने ? फेरि ऊ “प्रत्यक्ष संलग्न पनि देखिन्न” भनिएको छ । हामीले भनेको होईन, सांसद सूर्य थापाको छानबीन समितिले भनेको । रवि छुटेर आए त नायक नै बन्छन् । यिनीहरूलाई अझै चुनौती ।

मेरो विचारमा यिनीहरूले रविलाई वा उसको पार्टीलाई सिध्याउनै चाहेका भए बाटो फरक लिनुपर्ने थियो । उनलाई दुई तीन वर्ष सरकारमा रहन दिएर, भित्रभित्रै दुई-चार विवास्पद निर्णय गर्न वाध्य पार्नुपर्थ्यो । अनि जनताका नजरमा आफ से आफ उनको ईमेज खुईलिन्थ्यो । अर्को चुनावमा “देख्यौ त, नयाँ भनिएका दल झन् खत्तम रहेछन्” भन्न मिल्थ्यो । रवि पहिलो पटक गृहमन्त्री हुँदा राष्ट्रिय परिचय पत्र बनाउन विदेशी कम्पनीलाई ठेक्का दिएको निर्णय विवादमा आईसकेको थियो । तर, आम जनतामा त्यो नराम्रो कामको संदेश त्यति गएन । पछि नारायणकाजीले श्रेष्ठ गृहमन्त्री भएपछि उक्त निर्णय खारेज गरे ।

निष्कर्षमा, सत्ताधारी दलका नेताहरू वा मन्त्री/प्रधानमन्त्रीले आफ्ना विपक्षी, वा सत्तालाई मन नपरेका व्यक्तिहरू, जस्तो कि, बालेंन वा कुलमानप्रति जुन निरन्तर निशाना गरेर अड्चन गर्ने र निकृष्ट आलोचना अभिव्यक्त गर्ने काम भएको छ, त्यसैको एक कडी रविलाई खेदाई पनि हो, “यो पूर्वाग्रह मात्रै हो” भन्ने मानिसहरूलाई परेको छ ।

त्यस्तो असन्तुष्ट विचारलाई साम्य पार्न अहिले विवादमा आएका सत्ताधारी दलका नेता वा तिनका आसेपासेहरूमाथि पनि छानबीन गरेर न्यायिक कठघरामा ल्याएको देखाउनु पर्छ । सरकारले विश्वविद्यालय, प्रहरी, न्यायालय सबैतिर हस्तक्षेप र भागबण्डा यसरी नै गरिरहने हो भने विश्वसनीयता त पक्कै गुमाउँछ । त्यसपछि मानिसहरू सोध्नेछन्, कुन पार्टीको पुलिस हो ? कुन पार्टीको न्यायाधिस हो ? कुन पार्टीको भीसी हो ? अनि, त्यसको परिणाम, यी अहिलको जस्तै हुनेछ: जिउँदो रवि काल, म¥यो । रवि काल ।

एक महिनाभित्र एआई नीति ल्याइन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अब छिट्टै आर्टिफिसिएल इन्टिलिजेन्स् (एआई) नीति ल्याउने बताएका छन् । उनले काठमाडौँ विश्वविद्यालयको कम्प्युटर क्लबद्वारा आज धुलिखेलमा आयोजित ‘आइटी मिट–२०२४’को उद्घाटन गर्दै एक महिनाभित्र एआईको नीति ल्याई आवश्यक कानुन बनाउने पक्षमा सरकार क्रियाशील रहेको बताएका हुन् ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले एआईको कानुन बनाएपछि सूचना प्रविधिमार्फत थप कार्यक्रम ल्याउन सकिने र यसका लागि मन्त्रालयमा गृहकार्य भइरहेको बताए।

नेपाल आइटीको दशकमा प्रवेश गरेको भए पनि त्यसबाट अहिलेसम्म उल्लेख्य फाइदा लिन नसकेको चर्चा गर्दै उनले विषयविज्ञहरूसँग छलफल तथा अन्तरक्रिया गरी आवश्यक नियम कानुन बनाएर मुलुकलाई ‘आइटी हब’ का रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “एआईको जमाना आइसक्यो, अहिलेसम्म नेपालका सबै सरकारी संयन्त्र ई–गभर्नेन्समा गईसक्नुपथ्र्याे, त्यस्तो हुन सकेको देखिएन, डिटिजल नेपाल फ्रेमवर्कका लागि भए पनि एआईसम्बन्धी कानुन यथाशक्य छिटो तयार गरी कार्यान्वयनमा जानेछौँ ।”

राज्य संयन्त्रअन्तर्गतका निकायमा ई–गभर्नेन्स लागू गर्न सकिए भ्रष्टाचार नियन्त्रण हुने विश्वास व्यक्त गर्दै सञ्चारमन्त्री गरुङले भने, “डिजिटल नेपाल फ्रेमवर्कमार्फत ई–गभर्नेन्सलाई लागू गर्न सक्छौँ, त्यसपछि मात्र भ्रष्टाचार नियन्त्रण गर्न सहज हुन्छ ।”

‘डिजिटल नेपाल फ्रेमवर्क’लाई पहिलो चरणमा सरकारी तहबाटै सुरु गर्ने पक्षमा वर्तमान सरकार रहेको जानकारी दिँदै सञ्चारमन्त्री गुरुङले भने, “अहिले २२ मन्त्रालय रहेको सङ्घीय सरकार, सात प्रदेश सरकार र सात सय ५३ वटा स्थानीय तहसमेत गरी देशमा सात सय ६१ सरकारसहित मातहतका सबै सरकारी कार्यालयमा ई–गभर्नेन्सको कार्यक्रम लागू गर्न सकिए भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ भन्नेमा म विश्वस्त छु, त्यसका लािग आवश्यक नियम–कानुन बनाउने कामलाई मन्त्रालयले उच्च प्राथमिकता दिएको स्पष्ट गर्दछु ।”

उनले आवश्यक नियम, कानुनसहित ई–गभर्नेन्स कार्यान्वयन भएपछि मुलुकका तीनै तहका सरकारका नीति तथा कार्यक्रम, योजना र बजेट व्यवस्थापन प्रक्रिया सहज भई अपेक्षित परिणाम प्राप्त हुने धारणा व्यक्त गर्दै त्यसका पक्षमा वर्तमान सरकार क्रियाशील रहेको बताए ।

सञ्चारमन्त्री गुरुङले आइटी क्षेत्रको विकास एवं विस्तार गरी त्यसलाई उद्योग तथा उत्पादनमूलक क्षेत्रमा जोड्दै देश र जनतालाई लाभान्वित तुल्याउन पक्षमा क्रियाशील रहेको सरकारलाई आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्न विषय विज्ञहरूको ध्यानाकर्षण गरे ।

कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका स्कुल अफ इञ्जिनियरिङका डिन मनिष पोखरेलले सूचना प्रविधिका क्षेत्रमा भएका विकास तथा देशभरिका प्रविधिमैत्री युवालाई एकत्रित गरी नयाँ अवसर र प्रेरणा प्रदान गर्ने सोचका साथ ‘आइटी मिट–२०२४’ आयोजना गरेको बताए ।

 

लुम्बिनी लायन्सलाई पोखरा एभेन्जर्सले हरायो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको छ ।

लुम्बिनीले दिएको १ सय ७१ रनको लक्ष्य पोखराले एक विकेट पनि नगुमाई १९ बलअघि नै भेटायो । पोखराका आन्द्रेस गौसले कीर्तिमानी शतक बनाए ।

एनपीएलमा पहिलो शतक बनाउने क्रममा आन्द्रेसले ५५ बलमा ५ छक्का र १२ चौकाको मद्दतमा १ सय ४ रन जोडे । अमेरिकी ब्याटर आन्द्रेस एनपीएलमा सबैभन्दा कम बलमा अर्धशतक बनाउने खेलाडी पनि बनेका छन् । उनले २० बलमै अधर्शतक बनाए । यस्तै पोखराका दिनेश खरेलले ६१ रन बनाए ।

एनपीएलमा यो पहिलो विकेटका लागि पहिलो शतकीय साझेदारी पनि हो । यस्तै आन्द्रेस र दिनेशबीच एनपीएलकै उच्च रनको साझेदारी भएको छ ।

यसअघि उद्घाटन खेलमा जनकपुर बोल्ट्सका लाहिरु मिलान्था र हर्ष ठाकरले विराटनगर किङ्ग्ससँगको खेलमा तेस्रो विकेटका लागि नटआउट १ सय १६ रनको साझेदारी गरेका थिए ।

यस्तै पोखराले पावरप्लेमा ८० रन जोड्दै सर्वाधिक रनको कीर्तिमान पनि बनाएको छ । यसअघि जनकपुर बोल्ट्सले कर्णाली याक्ससँगको खेलमा पावरप्लेमा कुनै विकेट नगुमाई ५६ रन बनाएको थियो ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७० रन बनायो । लुम्बिनीका कप्तान रोहित पौडेलले ९५ रन बनाए ।

५९ बल खेलेका रोहितले ४ छक्का र १० चौका प्रहार गरे । यस्तै टस मूर्सले ४५ रन बनाए । पोखराका विपिन खत्रीले २ विकेट लिए ।

योसँगै पोखराले प्रतियोगितामा पहिलो जीत हात पारेको छ । पोखराले यसअघि लगातार दुई खेल हारेको थियो । लुम्बिनीले लगातार दोस्रो हार बेहोरेको छ ।

एनपीएलमा शनिबार पहिलो खेलमा बिहान ९ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा दोस्रो खेलमा दिउँसो १ बजे कर्णाली याक्स र विराटनगर किङ्ग्स खेल्दैछन् ।

 

बीआरआई सहमतिबारे देउवा अनभिज्ञ, ऋण नलिएको भन्दै ओलीलाई दिए धन्यवाद

काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) परियोजनाबारे भएको सहमतिमा अनभिज्ञता प्रकट गरेका छन् ।

आज (शुक्रबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले बीआरआई परियोजना ऋणमा लिने सहमति नभएको बताए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा भएको सहमतिमा ‘एड फाइनान्सिङ’ शब्द उल्लेख छ । उक्त शब्दले ऋण तथा अनुदान सहायता दुवैलाई जनाउने अर्थविद्हरुले बताउँदै आएका छन् ।

नेकपा (एमाले) का सचिव रघुवीर महासेठले समेत नेपालले बीआरआईको ऋण तथा अनुदान दुवै सहायता स्वीकार गरिसकेको बताएका छन् । तर, सत्तारुढ दलका शीर्ष नेता देउवाले नै प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा बीआरआई ऋणमा लिने सहमति नभएको बताए । बीआरआई ऋणमा लिने सहमति नगरेको भन्दै देउवाले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिनसमेत भ्याए । 

नेपाल पत्रकार महासंघ : प्रेस युनियन र प्रेस चौतारीले गठबन्धन गरी उम्मेदवारी दिए

काठमाडौं । नेपाल पत्रकार महासंघको महाधिवेशनमा नेपाल प्रेस युनियन र प्रेस चौतारीले गठबन्धन गरी उम्मेदवारी दिएका छन्।

प्रेस युनियन नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो भने प्रेस चौतारी एमालेको भ्रातृ संस्था हो।

संघीय र प्रदेश सरकार सञ्चालन गरिरहेको कांग्रेस-एमालेले पत्रकार महासंघमा गठबन्धन गरी उम्मेदवारी दिएका हुन्।

आमचुनावमा एक्लाएक्लै लड्ने घोषणा गरेका र नीतिसमेत लिएका यी कांग्रेस र एमालेले आफूनिकट संस्थाहरूलाई एक्लाएक्लै प्रतिस्पर्धा गराउन भने सकेनन्।

मंसिर २८ गते हुने महासंघको महाधिवेशनका लागि अध्यक्षसहित १३ सदस्यीय पदाधिकारीमा कांग्रेस-एमाले निकटले साझा उम्मेदवारी दिएका हुन्।

शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम थियो।

प्रेस युनियन अध्यक्ष शिव लम्साल र प्रेस चौतारी अध्यक्ष गणेश बस्नेतलगायतबीच भएको छलफलमा गठबन्धन गरी महाधिवेशनमा भाग लिने सहमति बनेको थियो।

कांग्रेसनिकट प्रेस युनियनले अध्यक्ष एमालेनिकट प्रेस चौतारीलाई छाडेर अधिकांश पदाधिकारीमा उम्मेदवारी दिएको छ। चौतारीले अध्यक्षसहित ५ पदाधिकारी र युनियनले वरिष्ठ उपाध्यक्षसहित ८ पदाधिकारी लिने सहमति बनेको हो।

युनियनले वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, महासचिवमा रामप्रसाद दाहाल, सचिवमा रमेश खतिवडा, सोनी शर्मा, प्रकाश धौलाकोटी, बैकुण्ठ पराजुली र अशोक तिवारीलाई उम्मेदवार बनाएको प्रेस युनियनका उपाध्यक्ष नकुल अर्यालले  जानकारी दिए।

यस्तै प्रेस चौतारीबाट अध्यक्षमा निर्मला शर्मा, महिला उपाध्यक्षमा नितु पण्डित, कोषाध्यक्षमा रामकृष्ण ज्ञवाली, समावेशी सचिवमा सविन प्रियासन र लेखा समिति सभापतिमा उम्मेदवारी परेको प्रेस चौतारीका सचिव राजेश राईले जानकारी दिए।

महासंघमा कांग्रेस-एमालेले प्रदेश र जिल्ला पनि भागबन्डा गरेका छन्। कोशी, मधेस, कर्णाली र उपत्यका अध्यक्ष प्रेस चौतारीले लिने र बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसिएट र प्रतिष्ठान अध्यक्ष प्रेस युनियनले लिने सहमति छ।

महासंघका ४३ जिल्ला शाखा अध्यक्ष प्रेस युनियनले र ३४ जिल्ला अध्यक्ष प्रेस चौतारीले लिने सहमति भएको हो।

महासंघ अध्यक्षमा नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टरबाट अध्‍यक्षमा कमल गिरीले उम्मेदवारी दिएका छन्। अहिले महासचिव रहेका रोशन पुरीले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। माओवादीले नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्रसँग गठबन्धन गरी उम्मेदवारी दिएको छ।

साथै महिला उपाध्यक्षमा गंगा बराल, महासचिवमा लेखनाथ न्यौपाने, कोषाध्यक्षमा रामकृष्ण अधिकारी, सचिवमा उत्तर विष्ट, लेखा समिति संयोजक मणि दाहालको उम्मेदवारी परेको छ।

सदस्यता विवादका कारण अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएका थिए। सदस्यतासम्बन्धी विवाद लगभग हल गरेपछि महासं‌घले महाधिवेशन गर्न लागेको हो।

चितवन राइनोजलाई हराउँदै एनपीएलमा कर्णाली याक्सको पहिलो जित

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा आजको खेलमा कर्णाली याक्सले जित निकालेको छ । शुक्रबार टीयू अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा चितवन राइनोजलाई हराउँदै जित निकालेको हो । एनपीएलमा ​पहिलो जित निकालेको कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो ।

चितवन राइनोजले कर्णाली याक्सलाई निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३० रन बनाएको थियो । तर निर्धारित १९.५ ओभरमा कर्णाली याक्सले ४ विकेटको क्षतिमा १३२ रन बनायो ।

यसअघि जनकपुर बोल्टससँग ८ विकेटले र काठमाडौँ गुर्खाजसँग तीन विकेटले कर्णाली याक्स ​पराजित भएको थियो ।

 

को हुन काठमाडौंको थापाथलीमा जन्मिएका भुटानी राजा ?

काठमाडौँ : काठमाडौँमा रहेका बौद्धधर्मसम्बन्धी दुई महत्त्वपूर्ण तीर्थस्थलको भ्रमण र पूजाआजाका लागि भुटानी राजा जिग्मे खेसर नामग्याल काठमाडौँ आइपुगेका छन्।

बौद्धमार्गी राजा नामग्याल बौद्धनाथ र स्वयम्भूमा पूजाआजाका लागि काठमाडौँ आइपुगेका हुन्। खासमा नेपालको राजधानी काठमाडौँ भुटानी राजाको जन्मस्थल पनि हो।

४५ वर्षीय राजा नामग्याल थापाथलीस्थित प्रसूतिगृहमा जन्मेका थिए।  शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा भुटानी राजा नामग्याललाई परराष्ट्रमन्त्री आरजु राणाा देउवाले स्वागत गरेकी थिइन्। प्रसूति गृहको ‘डेलिभरी केस’सम्बन्धी दर्ता पुस्तिकामा उनको जन्म ९ फागुन २०३६ बिहानै छिरिङ याङ्दोनको कोखबाट भएको देखिन्छ।

उनको जन्मसम्बन्धी विवरण प्रसूतिगृहमा रहेको ५ मंसिर २०३६ देखि ७ चैत २०३६ सम्मको विवरण पुस्तिकामा यो विवरण छ।

अस्पतालका तर्फबाट यो ‘डेलिभरी केस’लाई डा. दिव्येश्वरी मल्लले ‘ह्यान्डल’ गरेकी थिइन्। स्व. मल्ल राजा त्रिभुवनीका ल्याइतेतर्फकी श्रीमतितर्फकी छोरी हुन्।

वर्तमान राजा जिग्मे काठमाडौँमा जन्मेका बेला उनका बाबु जिग्मे सिग्मे वाङचुक भुटानको राजगद्दीमा बसिसकेका थिए। औपचारिक रूपमा रानी घोषणा भइनसके पनि राजाकी श्रीमती भएकाले छिरिङ याङ्दोनको ‘डेलिभरी केस’लाई ‘ह्यान्डल’ गर्ने जिम्मा राजा त्रिभुवनकी छोरी डा. दिव्येश्वरीले पाएकी थिइन्।

नारायणहिटी राजदरबारको जाँचबुझ केन्द्रमा समेत काम गरिसकेका गृह मन्त्रालयका तत्कालीन उपसचिव ताम्ला उक्यावका भनाइमा- गर्भमा रहेको बच्चालाई जन्म दिन याङ्दोन आफ्ना दुई दिदीबहिनीका साथ २०३६ मंसिरताका काठमाडौँ आएकी थिइन्।

राजाका तर्फबाट गर्भवती भए पनि वर्तमान राजा नामग्याल जन्मँदा तत्कालीन राजा जिग्मे सिग्मेसँग उनको औपचारिक बिहे भने भइसकेको थिएन। ​

जिग्मे सिग्मेले याङ्दोनका चार दिदीबहिनीसँग बिहे गरेका थिए। तर कसैलाई पनि रानी घोषणा गरेका थिएनन्। तीमध्ये वर्तमान राजाकी आमा याङ्दोन साइँली थिइन्।

भुटानी राजदरबारले रानी याङदोनको काठमाडौँ आगमन र प्रयोजनबारे नारायणहिटी राजदरबारलाई जानकारी गराएको थियो। २०३६ मंसिरताका नै काठमाडौँ आइपुगेका भुटानका अघोषित महारानीहरूले टुँडिखेलमा १४ पुसमा मनाइने राजा वीरेन्द्रको जन्मोत्सवमा सहभागी हुने इच्छासमेत जाहेर गरेका थिए।

‘राजा वीरेन्द्रको जन्मोत्सवमा सहभागी हुन इच्छा जाहेर गरेपछि टुँडिखेलमा तीनैजना ‘रानी’लाई बस्ने स्थानको व्यवस्था गृह मन्त्रालयका तर्फबाट मैले गरेको थिएँ’, उक्याव भन्छन्, ‘उनीहरू राजा वीरेन्द्रको जन्मदिनभन्दा केही हप्ताअघि नै नेपाल आइसकेका थिए।’

खासमा नेपालका आफ्ना थुप्रै नातेदार रहेकाले भुटानी रानीहरू काठमाडौँ आइरहन्थे। सिन्धुपाल्चोकको तार्केघ्याङ्का तत्कालीन औतारी लामा कुशे छेचु डुक्पा लामा वर्तमान राजाका आमाका मामा थिए। आफ्नो मामाघर नेपालमा भएकाले उनीहरू काठमाडौँ आइरहनु स्वाभाविक थियो।

यो पारिवारिक सम्बन्धका अलावा धार्मिक र आफ्नै छोरा राजा होस् भन्ने भाकलका कारण पनि गर्भमा रहेको बच्चालाई जन्म दिन छिरिङ याङ्दोन काठमाडौँ आएकी थिइन्।​

तत्कालीन राजा जिग्मे सिग्मेका चारवटा रानी एकै परिवारका दिदीबहिनी भए पनि उनीहरू हरेकले आफ्नो सन्तान नै भुटानी राजगद्दीको उत्तराधिकारी बनोस् भन्ने कामना गर्नु स्वाभाविक थियो। नेपालमा जस्तै भुटानमा पनि छोरा मात्र गद्दीको उत्तराधिकारी हुने परम्परा थियो।

तर जतिबेला जिग्मे केशर जन्मे, त्यतिबेला जेठी रानी दोर्जी वाङ्‌मोबाट कुनै सन्तान भएका थिएनन्। माइली रानी छिरिङ पेमले एक बच्चाको जन्म दिएकी थिइन्।

तर ती बच्चा छोरा होइन, छोरी (छिमी याङ्जोम वाङचुक) थिइन्। उनी २६ पुस २०३६ मा जन्मेकी थिइन्।

आफ्ना दुई दिदीमध्ये जेठीबाट कुनै सन्तान नजन्मेको, माइलीबाट छोरी मात्र जन्मेको र कान्छी साङ्गे पनि गर्भवती नभएको अवस्थामा छिरिङ याङ्दोनले आफ्नो गर्भमा रहेको बच्चा छोरा होस् भन्ने कामना गरिन्। यसका लागि उनले हलेसी महादेव (खोटाङ) को भाकलसमेत गरिन्।

हलेसी महादेव हिन्दू धर्मावलम्बीका लागि त पूज्य छन् नै, बौद्ध धर्मावलम्बीका लागि पनि उत्तिकै महत्त्वपूर्ण छन्। यही कारण बौद्ध धर्मावलम्बी भुटानी राजपरिवारका सदस्य बेलाबेला दर्शनका लागि गोप्य रूपमा हलेसी पुग्ने गरेका छन्।

आफ्नो पेटमा रहेको बच्चा जन्मने मिति नजिकिँदै गएपछि याङ्दोन जेठी दिदी दोर्जी र कान्छी बहिनी साङ्गेसँगै २०३६ मंसिरमा काठमाडौँ आएकी थिइन्। केही हप्ता काठमाडौँमा बसेपछि ८ फागुन २०३६ मा थापाथलीको प्रसूतिगृह भर्ना भइन्।

भर्ना भएको भोलिपल्ट ९९ फागुन २०३६० बिहानै ३:४० बजे उनलाई पुत्र लाभ भयो। अस्पतालमा रहेको यो जन्मसम्बन्धी रेकर्डमा नवजात शिशुको तौल ६ पाउन्ड ४ औँस उल्लेख छ।

जतिबेला जिग्मेकेशरको जन्म भयो, त्यतिबेला छिरिङ याङ्दोनले भुटानी राजदरबारबाट रानीको दर्जा पाइसकेकी थिइनन्। त्यसैले जिग्मेकेशर जन्मिँदै युवराज अर्थात् ‘ट्रोङ्सा पेन्लोप’का रूपमा जन्मेका होइनन्।

उनी औपचारिक रूपमा ट्रोङ्सा पेन्लोप (युवराज) बनेको १४ कात्तिक २०६२ (३१ अक्टोबर २००५) मा मात्र हो। जीवित छँदै बाबु जिग्मे सिग्मे वाङचुकले गद्दी छाडेपछि अर्को वर्ष २३ मंसिर २०६३ मा उनी भुटानको राजा बनाइए।

नेपालसँगको आफ्नो यो सम्बन्धको चर्चा भुटानी राजाले नेपाली उच्च अधिकारीहरूसँगको भेटमा निकै गौरवका साथ गर्ने गर्छन्।

भुटानका लागि समेत नेपालको राजदूत रहेका नयाँदिल्लीस्थित राजदूत नीलाम्बर आचार्यले दुई वर्षअघि ३० असोज २०७६ मा राजा जिग्मेकेशरलाई ओहोदाको प्रमाणपत्र पेस गर्ने क्रममा राजा जिग्मेकेशरले आफ्नो जन्म काठमाडौँमा भएको र नेपाली जनतासँग आफ्नो सम्बन्ध निकै गहिरो रहेको उल्लेख गरेका थिए।

भुटानको राजधानी थिम्पुमा १५–१६ वैशाख २०७६ मा भएको दक्षिण एसियाली सहयोग संगठन (सार्क) को शिखर सम्मेलनमा तत्कालीन प्रधानमन्त्री माधव नेपालसँग पनि उनले आफू नेपालमै जन्मेको बताएका थिए।

खासमा भुटानी राजा काठमाडौँमा जन्मेका मात्र थिएनन्, उनको बाल्यकालसमेत यहीँ बितेको थियो।

​जानकारहरूका भनाइमा- ५–६ वर्षको उमेरसम्म काठमाडौँमै बिताएका उनलाई स्कुल पढ्ने उमेर भएपछि भुटान लगिएको थियो।

भुटानी राजा काठमाडौंमा, आजै स्वदेश फर्किने

काठमाडौं । भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौं आएका छन् । उनलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी थिइन् ।

भुटानी नरेश वाङचुकले स्वयम्भूनाथ पुगेर पूजाआजा गरेका छन् । अब उनी बौद्धनाथको दर्शन गर्न पुग्ने बताइएको छ । उनको भ्रमणलाई लिएर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौं आइपुगेका हुन् । उनी आजै स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं, २० मङ्सिर । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपियाँ २९ पैसा र बिक्रीदर एक सय ३५ रुपियाँ ८९ रहेको छ ।

राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपियाँ ११ पैसा र बिक्रीदर एक सय ४२ रुपियाँ ७८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपियाँ ४३ र बिक्रीदर एक सय ७२ रुपियाँ १९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपियाँ ६५ पैसा र बिक्रीदर एक सय ५३ रुपियाँ ३३ पैसा कायम गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ८० पैसा र बिक्रीदर ८७ रुपियाँ १८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ २१ पैसा र बिक्रीदर ९६ रुपियाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रुपियाँ ५० पैसा र बिक्रीदर एक सय एक रुपियाँ ९४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर आठ रुपियाँ १० पैसा र बिक्रीदर नौ रुपियाँ ०६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ५६ पैसा र बिक्रीदर १८ रुपियाँ , साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ र बिक्रीदर ३६ रुपियाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ११ पैसा र बिक्रीदर ३७ रुपियाँ २८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर तीन रुपियाँ ९५ पैसा र बिक्रीदर तीन रुपियाँ ९६ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपियाँ ८३ पैसा र बिक्रीदर ३७ रुपियाँ, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपियाँ ३९ पैसा र बिक्रीदर ३० रुपियाँ ५२ पैसा तोकिएको छ ।

यस्तै, साउथ कोरियन वन एक सयको खरिदर नौ रुपियाँ ५६ पैसा र बिक्रीदर नौ रुपियाँ ६० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपियाँ २९ पैसा र बिक्रीदर १२ रुपियाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ०६ पैसा र बिक्रीदर १९ रुपियाँ १४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ३८ पैसा र बिक्रीदर १७ रुपियाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपियाँ ७४ पैसा र बिक्रीदर चार सय ४१ रुपियाँ ६९ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपियाँ ८० पैसा र बिक्रीदर तीन सय ६० रुपियाँ ३९ पैसा, ओमानी रियाल एकको खरिददर तीन सय ५१ रुपियाँ ४२ पैसा र बिक्रीदर तीन सय ५२ रुपियाँ ९७ पैसा तोकेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

वाइडबडी खरिदमा चार जना दोषी ठहर

काठमाडौँ, २१ मङ्सिर ।
विशेष अदालतले नेपाल वायु सेवा निगमको जहाज खरिद अनियमितता प्रकरणमा तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित चार जनालाई दोषी ठहर गरेको छ ।

तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले भने सफाई पाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वटा वाइडबडी खरिदमा एक अर्बभन्दा बढी अनियमितता भएको दाबीसहित २०८० चैतमा अदालतमा मुद्दा दायर गरेको थियो ।

बिशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायण सिंह राई तथा रितेन्द्र थापाको इजलासले बिहीबार राति वाईडबडीको मुद्दामा फैसला सुनाएको हो । करिब एक महिनादेखि मुद्दा निरन्तर सुनुवाइमा राखिएको थियो ।

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले चार जनालाई अभियोगमा दोषी ठहर र अन्यले सफाइ पाएको बताए ।

अदालतले तत्कालीन महाप्रबन्धक कंसाकारलाई थपसहित दुई वर्ष नौ महिना कैद सजाय सुनाएको छ । बिगो एक अर्ब ४७ करोड १० लाखको दामासाही हुने १२ करोड २५ लाख ९० हजार ४५६ रुपियाँ जरिबाना कंसाकारलाई हुने अदालतको फैसला छ । दामासाही बिगो जफतको आदेश पनि कसुर ठहर भएका सबै प्रतिवादीको हकमा अदालतले फैसलामा उल्लेख गरेको छ । कंसाकारले ज्येष्ठ नागरिक ऐन अनुसार ५० प्रतिशत सजाय छुट पाउने फैसला पनि विशेषले गरेको छ ।

यस्तै निगम सञ्चालक समितिका तत्कालीन अध्यक्ष एवं पर्यटन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीलाई थपसहित एक वर्ष नौ महिना कैद सजायको फैसला विशेषले गरेको छ । दामासाही हुने १२ करोड २५ लाख ९० हजार ४५६ रुपियाँ जरिबाना अधिकारीलाई पनि हुने छ । सोही बराबरको बिगो जफतसमेत हुने फैसला विशेषले गरेको छ ।

अदालतले पूर्वसचिव एवं निगम सञ्चालक समिति सदस्य शिशिरकुमार ढुङ्गानालाई एक वर्ष छ महिना कैद सजाय सुनाएको छ । ढुङ्गानाको हकमा पनि कुल बिगोको दामासाही हुने १२ करोड २५ लाख ९० हजार ४५६ रुपियाँ जरिबानाको फैसला भएको छ । दामासाही बिगो असुलउपरको फैसला पनि विशेषले गरेको छ ।

यस्तै नेपाल सरकारका सहसचिव एवं पर्यटन मन्त्रालयका तत्कालीन सहसचिव बुद्धिसागर लामिछानेलाई पनि एक वर्ष छ महिना कैद सजायको फैसला अदालतले गरेको छ । दामासाही हुने १२ करोड २५ लाख ९० हजार ४५६ रुपियाँ जरिबाना लामिछानेलाई पनि हुने छ । बिगो असुलउपरको फैसला उनको हकमा पनि लागू हुने छ ।

विदेशी कम्पनीका तीन प्रतिनिधिलाई पनि अदालतले दोषी ठहर गरेको छ । उनीहरूलाई पनि एक वर्ष ६ महिना कैद र दामासाही हुने १२ करोड २५ लाख ९० हजार ४५६ रुपियाँ जरिबानाको फैसला अदालतले गरेको छ । दुई विदेशीसहित २७ प्रतिवादीले अभियोगबाट सफाइ पाएका छन् ।

एनपीएलमा आज : चितवन र कर्णाली तथा लुम्बिनी र पोखरा भिड्दै

काठमाडौं, २१ मंसिर ।
कीर्तिपुरस्थित खेल मैदानमामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई वटा खेल हुदैछन् । पहिलो खेल चितवन राइनोज र कर्णालीबीच हुदैछ । दोस्रो खेल लुम्बिनी लायन्स र पोखराबीच हुनेछ ।

पहिलो खेल बिहान ९ः १५ बजेबाट सुरू हुनेछ । जनकपुर बोल्टससँग ८ बिकेटले र काठमाडौं गोर्खाजसँग तीन विकेटले पराजित भएको कर्णाली यो खेल जीत्नै पर्ने दबाबमा छ । पोखरालाइ ७२ रनले हराएको चितवन राइनोजलाइ दोस्रो खेलमा जीत हासिल गर्न दबाब बढने छ । भारतीय चर्चित खेलाडी शिखर धवनले ७२ रन जोडे पनि अन्ततः कर्णाली काठमाडौंसँग ३ बिकेटमा पराजित भएको थियो ।

आजको दोस्रो खेल लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच अपरान्ह १ः १५ बजे शुरु हुनेछ ।

आज हुने पहिलो खेलमा चितवनको नेतृत्व कुशल मल्लले गर्दैछन् भने कर्णालीबाट सोमपाल कामीले नेतृत्व गर्नेछन् । एनपीएल गत शुक्रबारबाट सुरू भएको थियो । एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ ।

प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।

विपिन जोशी जीवितै छन् – इजरायली राजदूत वास

काठमाडौँ,२१ मंसिर ।
नेपालका लागि नवनियुक्त इजरायली राजदूत शमुलिक ए. वासले प्यालेस्टिनी समूह हमासले १४ महिनादेखि बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशी जीवितै रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा पत्रकारहरुसँगको भेटमा राजदूत वासले अरबी देशको स्रोतबाट जोशी गाजा क्षेत्रमा जीवितै रहेको सूचना पाएको बताए ।

राजदूत वासले विपिनलाई राखिएको ठाउँ भने अझै पहिचान भइनसकेको बताए ।

कञ्चनपुरका जोशीलाई हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलको अलमिम किवुजबाट बन्धक बनाई गाजा क्षेत्र लगेको थियो ।
‘हाम्रा लागि विपिन निकै महत्वपूर्ण छन्, राजदूत वासले विश्वास सहित भने, उनी छिट्टै काठमाडौं फर्किनेछन् ।’

हमासले विपिनसहित २ सय ५१ जनालाई बन्धक बनाएर गाजा क्षेत्र लगिएको थियो । त्यसमध्ये दुई पटक भएको युद्धविराममा १ सय ५ जना रिहा गरिएको थियो भने ८ जनालाई इजराइली सेनाले उद्धार गरेको थियो । बन्धकमध्ये ३४ जनाको शव गाजा क्षेत्रमा भेटिइसकेको छ ।

इजरायलका अनुसार विपिनसहित ९६ जना अझै हमासको नियन्त्रणमा छन् । उनीहरुको रिहाईका लागि पहल भइरहेको राजदूत वासले बताए ।

१८ महिनापछि शेर बहादुर देउवा प्रधानमन्त्री- प्रधानमन्त्री ओली

काठमाडौँ, २० मंसिर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेससंगको सहमती चुनावसम्मको लागि भएको बताएका छन् ।

चीनको चार दिने औपचारिक भ्रमण सकेर फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा ओलीले कांग्रेस र एमाले गठबन्धन सरकार आगामी निर्वाचनसम्मै रहने बताए ।

मेरो पालो अब १८ महिना छ, त्यसपछि शेरबहादुर देउवाजीलाई मैले हस्तान्तरण गर्छु । उहाँले डेढ वर्ष चलाउनु हुन्छ, निर्वाचन गराउनु हुन्छ,ओलीले भने, हाम्रो चुनावसम्मको एग्रिमेन्ट छ ।

आफ्नो कार्यकाल १८ महिनामा सकिने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले संसद्को निर्वाचन गराउने बताए ।

निर्वाचनमा सबै राजनीतिक दलले बहुमत ल्याउने कोसिस गर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । चुनावमा हामी हरेकले बहुमत ल्याउने कोसिस गरौँला, आउँछ भन्ने हामीलाई विश्वास छ । विश्वासअनुसार बहुमत आयो भने बहुमतको सरकार बन्ला, नत्र अरु तरिका होलान्,’ ओलीले भने ।

प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे कुनै कुरा नउठेको बताए ।

द्वन्द्वमा बाँचेका हमालको मेयरसम्मको यात्रा

मुलुकमा माओवादी विद्रोह चरमोत्कर्षमा थियो । सदरमुकाम धनगढीमा बम पड्किनु, गोली चल्नु सामान्य थियो । माओवादी लडाकुहरुले छापामार शैलीमा शहरभित्रै पसेर दिनदहाँडै सुरक्षाकर्मी र राजनीतिकर्मीको हत्या गर्थे । सुरक्षाकर्मीहरु एक्लै दिउँसो सेतो पुलपारी जान डराउथे । साँझ नपर्दै धनगढी सुनसान भईसक्थ्यो । माओवादीको निशानामा सुरक्षाकर्मी, राजनीतिकर्मी, राजावादी र उनीहरुले सुराकीको आरोप लगाएका मान्छेहरु थिए ।

तीनैमध्ये एक थिए गोपाल हमाल, जो माओवादीको निशानामा थिए । उनको स्वामित्वमा थुप्रै व्यवसाय थिए । त्यसमध्ये उनको सबैभन्दा ठूलो व्यवसाय थियो, दिनेश ट्राभल्स ।

२०६१ साउन २७ गते धनगढीस्थित दिनेश बसपार्कमा दिनेश ट्राभल्सको से १ ख ४७० नम्बरको बसमा माओवादी बिद्रोहीले राखेको बम बिष्फोट हुदा बस चालक नवराज भट्टको मृत्यु भयो । त्यसअघि पनि माओवादीले उनका बसमा आगजनी र बिष्फोट गरिसकेका थिए । सोहीक्रममा बझाङको देउरामा दिनेश ट्राभल्सको बसको ठक्करबाट एकजनाको मृत्यु भएको थियो । त्यसपछि दिनेश ट्राभल्सका दुई वटा बस र त्यसका चालक, सहचालकहरुलाई नियन्त्रणमा लिएर माओवादीले आफूसंग देउरामा राखेका थिए । माओवादीले बस र चालकलाई नियन्त्रणमुक्त गर्न पाँच लाख रुपैया मागेका थिए ।

हमालले माओवादीहरुसंग संवाद गरेर बस र कर्मचारीहरुलाई नियन्त्रणमुक्त गर्न मसंग आग्रह गरे । यातायात क्षेत्रमा राम्रो काम गरिरहेका हमाललाई सहयोग गर्नु उचित लाग्यो । र, म पत्रकार राजेश बागचन्द, अधिकारकर्मी रमेश बस्नेत र दिनेश ट्राभल्सका महाप्रबन्धक बुन्दीलाल चौधरीलाई लिएर दुई दिनपछि देउरा पुगे । चौधरीले साथमा पाँच लाख रुपैया लिएर गए ।

त्यहाँ पुगेपछि माओवादीसंग लामो छलफल भयो । बस चालकलाई कानूनी कारबाही हुनुपर्छ । दुर्घटना कानूनी विषय भएकोले पैसामा यसलाई टुंग्याउनुहुन्न भन्ने मेरो अडान थियो । र, अन्ततः माओवादी पैसा नलिएर बस र कर्मचारीहरु छोड्न सहमत भए । त्यसपछि माओवादीको नियन्त्रणमा रहेका बस र कर्मचारीहरुलाई धनगढी ल्याएर आउन सफल भयौ ।

त्यहाँबाट फर्किएको केहीदिनपछि माओवादीले कैलालको चिसापानीबाट दिनेश ट्राभल्सका सात वटा बस नियन्त्रणमा लिएर पितमारी पु¥याए । बस र कर्मचारीहरुलाई माओवादीको नियन्त्रणबाट मुक्त गरेर ल्याईदिन हमालले पुनः आग्रह गरे । र, म पत्रकार दीपक उपाध्यायलाई साथमा लिएर पितमारी पुगे । त्यहाँ पनि लामो छलफल र संवादपछि माओवादी बस र कर्मचारी नियन्त्रणमुक्त सहमत भए । सात वटै बस र तिनमा कार्यरत चालक र कर्मचारीलाई नियन्त्रण मुक्त गरेर धनगढी ल्याए ।
दिनेश ट्राभल्सका सञ्चालक गोपाल हमाल माओवादीको निशानामा थिए । दिनेश ट्राभल्सको उद्घाटन तत्कालीन प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले गरेका थिए ।

राजाको शासनको बिरोधमा रहेका दलहरुले दिनेश ट्राभल्स उद्घाटन गर्न आएका प्रधानमन्त्री चन्दलाई धनगढीमा कालोझण्डा देखाए । दलहरुको बिरोधका बाबजुद पनि हमालले राजावादी प्रधानमन्त्री चन्दलाई ट्राभल्सको उद्घाटन गर्न निम्त्याउनु शंकाको घेरामा थियो । हमाल स्वयम राजावादी भनेर चिनिन्थे ।

दिनेश ट्राभल्स अन्तर्गत सञ्चालित बसहरु समयमा हिड्थे । र, समयमा गन्तव्यमा पु¥याउथे । यात्रुसंख्या थोरै भएपनि आधा बाटोमा यात्रुहरुलाई छोडेर अलपत्र पार्दैनथे । दिनेश ट्राभल्सका बसका कर्मचारीहरुले यात्रुहरुसंग गर्ने व्यवहार पनि राम्रो    थियो ।

यातायातका क्षेत्रमा केही देखिने परिवर्तन गरिरहेको दिनेश ट्राभल्ससंग ७० भन्दा बढि बस थिए । र, उपस्थितिपछि यातायात क्षेत्रमा रहेको सिण्डिकेट धरमाईरहेको त्यो समयमा अन्य बस व्यवसायी समितिहरु दिनेश ट्राभल्सका बिरुद्ध एकजुट हुन थालेका थिए ।

सम्पूर्ण यातायात व्यवसायीका लागि चुनौती बनेका हमालको रजगज पहिले देखि नै माओवादीलाई मन परेको थिएन । किनकी हमालले आयोजना गर्ने पाटी र भोजहरुमा सेनाको उपस्थिति हुन्थ्यो । उनको सेना र सुरक्षा निकायसंग राम्रो सम्बन्ध थियो । कतिसम्म भने उनको पाटीमा सेनाका जवानहरु वेटरका रुपमा प्रयोग हुन्थे ।

धनगढीमा उनको बोलवाला थियो । उनले जे चाह्यो त्यो गर्थे । उनलाई प्रहरी प्रशासनको आड थियो । कतिसम्म भने यहाँका मारवाडी र अन्य व्यवसायीले माओवादीलाई वा अरु कसैलाई चन्दा वा सहयोग गर्दा हमाललाई सोध्थे ।

उनीसंग सबै डराउथे । तर उनीभने माओवादीसंग डराउथे । माओवादीले लगातार उनका बसहरु नियन्त्रण लिन थालेका थिए । माओवादीको निशानामा पर्न थालेपछि हमाल घरबाहिर निस्किन छोडेका थिए । उनका नजिकका मान्छेहरु पनि उनलाई बाहिर ननिस्किन सुझ्याउथे ।

बसमा बम बिष्फोटन भएको साँझ म उनलाई भेट्न बसपार्क पुगे । त्यहाँ उनी अत्यन्त हताश अवस्थामा थिए । उनले मसंग कुराकानीमा धनगढी छोड्ने कुरा गरे । भने, म अव यहाँ बस्दैन । सबैचिज छोडेर जान्छु ।

सान्त्वना दिदै मैले भने, तपाई जस्तो आँट र हिम्मत भएको मान्छेलाई यस्तो कुरा गर्न सुहाउदैन ।

तपाई धनगढी छोडेर जाने कुरा गर्दै नगर्नुस, मैले थपे, म तपाईलाई साथ दिन्छु ।

मैले माओवादीसंग संवाद गरेर सबै समस्या सुल्झ्याउने आश्वासन दिए । र, नआत्तिन सुझाव दिदै त्यो साँझ छुट्टिए ।

उनको आस्था, बिचार वा व्यवहार मेरो चासोको विषय थिएन । हमाल जस्तो व्यवसायीले धनगढी छोड्नु हुन्न । र, उनलाई धनगढी छोड्ने अवस्था आउन दिनुहुन्न भन्ने मेरो सोचाई थियो । हमालबाट शुरुहुने पलायन वा बिस्थापनको श्रृंखलाले धनगढीमा कुनै व्यवसायी जोगिने छैन भन्ने मेरो बुझाई थियो । त्यसपछि उनी र मेराबीचमा हरेक दिनजसो कुरा भईरहन्थ्यो ।

कैलालीमा त्यतिबेला पत्रकारको संख्या थोरै थियो । तर पत्रकारहरुका बीचमा एकता थियो । र, सुरक्षा निकाय र माओवादी बिद्रोही दुबै पक्षसंग पत्रकारहरुको सन्तुलित सम्बन्ध थियो । अरु जिल्लामा पत्रकारहरु दुबै पक्षमा बेपत्ता, हत्या, पक्राउ र प्रताडित भईरहदा कैलालीमा पत्रकारहरु दुई बन्दुकका बीचमा संयमित भईरहेर पत्रकारिता गरिरहेका थिए । यही विश्वासका कारण दुबै पक्षबीचको लडाईका क्रममा वा लडाईपछि रिपोर्टिङका लागि हामी पत्रकारहरु घट्नास्थल पुग्थ्यौ ।

पत्रकारिताको मर्यादा, सीमा र धर्म ईमान्दारितापूवर्क निर्बाह गरेकै कारण कहिल्यै दुबैपक्षबाट मलाई कहिल्यै असुरक्षित महशुस भएन । त्यसकारण जुन सुकै विषय र घट्नामा माओवादी र सुरक्षा अधिकारीहरुसंग सोझै सम्पर्क गरेर जिज्ञासा राख्ने क्षमता राख्थ्यौ ।

युद्धको रिपोर्टिङ र त्यहाँ भएको मानवीय क्षतिको बिबरण संकलन र त्यसको सम्प्रेषण गर्नुलाई मात्र पत्रकारिता ठानेन । र त, युद्धका १० वर्षमा माओवादी र सुरक्षा निकायबाट नियन्त्रण र पक्राउ गरेका सर्वसाधारण र निर्दोष मान्छेहरुलाई मुक्त गर्न दवाव दियौ । त्यसक्रममा थुप्रै सर्वसाधारण र निरस्त्र नागरिकका लागि सरकार र बिद्रोहीहरुकाबीचमा हामी रोहवरमा बस्यौ । र, उनीहरुलाई नियन्त्रण मुक्त गर्न पहल ग¥यौ । हमाललाई सहयोग गर्नुलाई पत्रकारिताको दायित्वभन्दा पर राखेन । र, उनलाई निस्वार्थ साथ दिने अठोट गरे ।

उनीमाथि चौतर्फी आक्रमण भईरहेको थियो । बस समितिहरु उनको खिलाफमा थिए । माओवादी उनलाई जुनसुकै बेला मार्न सक्थे । सेनासंग उनको सम्बन्ध नराम्ररी बिग्रिसकेको थियो । व्यवसाय जोगाउने कुरा त प्राथमिकतामै थिएन । त्यतिबेला उनीसंग दुईवटा बिकल्प थिए । पहिलो धनगढी छोड्ने । दोस्रो, मारिन तयार हुने ।

यी सबै समस्या समाधानका लागि मैले तेस्रो बिकल्प रोजे, माओवादीसंग हमालको वार्ता । त्यसमा हमाल सहमत भए ।
तत्कालीन समयमा माओवादीका कैलाली ईञ्चार्ज हरी ज्ञवाली ‘अखण्ड’ थिए । मैले अखण्डसंग संवादका लागि कुरा चलाए । अखण्ड भेट्न तयार भए ।

हमाल माओवादीसंग संवाद त गर्न चाहन्थे । तर नेपालमा नभएर भारतमा । पलियामा माओवादीको आउजाउ भईरहने गरेको सुनिन्थ्यो । हमाल त्यतिबेला माओवादीको त तारो थिए नै । नेपाली सेनाको समेत तारो थिए । उनको कैलालीको पहलवानपुरस्थित मिलमा माओवादीको बन्दोवस्तीका सामानहरु बरामद भएपछि सेनासंगको सम्बन्ध बिग्रिएको थियो ।
उनले मलाई भारतमा मिटिङ गराउन आग्रह गरे । माओवादीसंग वार्ता वा भेटेको सूचना पाए सेनाले मार्छ भन्ने उनीभित्र डर थियो । कैलालीको तेघरीस्थित नेपाली सेनाका महासेनानी रामशरण कार्कीले उनलाई ‘थ्रेट’ गरेका थिए । कार्कीको बुझाई हमालले माओवादीलाई सहयोग गरिरहेको भन्ने थियो ।

त्यही कारण हमाल नेपालमा माओवादीसंग वार्ता गर्ने जोखिम मोल्न डराईरहेका थिए । वार्ता गर्न जति ढिलाई भयो, त्यति नै क्षति व्यहोर्नुपर्ने भएकोले यथाशिघ्र वार्ता गराईदिन उनी मसंग आग्रह गरिरहेका थिए ।

माओवादीका कैलाली ईञ्चार्ज अखण्ड वार्ताका लागि तयार त भए । भारत जान मानेनन । र, अन्ततः कैलालीमै वार्ता गर्ने अखण्ड र मेराबीचमा सहमती भयो । तर वार्ता गर्ने स्थान भने तय भएको थिएन । माओवादीले कहिल्यै पनि वार्तास्थल पहिले खुलासा गर्दैनथे ।

अखण्डले हामीलाई कैलालीको लम्की आउन भने । र, उनले आउन भनेकै दिन दुई वटा मोटरसाईकलमा हामी चार जना ( म, गोपाल हमाल, ईन्सेकका क्षेत्रीय संयोजक खड्कराज जोशी र दिनेश ट्राभल्सका महाप्रबन्धक बुन्दीलाल चौधरी) धनगढीबाट झण्डै ८० किमी यात्रा तय गरेर लम्की पुग्यौ । लम्कीमा पोखरेल होटलमा हामीलाई पर्खिरहेका माओवादी कार्यकर्ताले होटलको पछाडि पट्टिको कोठामा लगे । जहाँ एकछिनमा अखण्ड सहित माओवादीका तीन जना नेता आईपुगे । त्यसपछि शुरु भयो, माओवादी र हमालबीचवार्ता ।

पहिले त माओवादीले हमालमाथि लगाएका आरोप र आशंकामा छलफल भयो । माओवादीलाई सहयोग नगरेको । राजावादी भएको । राजा ज्ञानेन्द्रको लगानीमा दिनेश ट्राभल्स सञ्चालन गरेको । र, राजावादी प्रधानमन्त्री लोकेन्द्र चन्दको हातबाट दिनेश ट्राभल्सको उद्घाटन गरेको । हमालमाथि माओवादीले लगाएका आरोपहरु यिनै थिए । उनीमाथि सबैभन्दा ठूलो आरोप माओवादीलाई नटेरेको भन्ने थियो ।

हमाललाई यी आरोपका विषयमा पहिल्यै थाह थियो । त्यसकारण उनी दिनेश ट्राभल्सको लगानीका बारेमा क्लियर गर्न बैंकको सम्पूर्ण स्टेटमेण्ट र खातापाता लिएर गएका थिए । उनले आफ्ना सबै आर्थिक बिबरणहरु अखण्डका अगाडि राखे । र, आफूमाथि सबै आरोपका बारेमा सफाई दिए ।

माओवादीका सुदूर पश्चिम सैन्य कमिसार जनार्दन शर्मा ‘प्रभाकर’ले हमाललाई पाँच लाख रुपैया चन्दा माग गरेका रहेछन् । उनले पहिलो किस्ताका रुपमा तीन लाख रुपैया आफ्ना कर्मचारीका हातमा पठाएका पनि रहेछन् । तर  त्यो रकम लगेका कर्मचारीले आफैले खाईदिएछन् । । माओवादीलाई बुझाएनछन् । माओवादीलाई पठाएको पैसा बाटोमै गायव भयो ।
माओवादीलाई लागेछ, हमालले टेरेनन ।

त्यहीबेला धनगढीमा राजा ज्ञानेन्द्रको अभिनन्दन समारोह थियो । समारोहका कोषाध्यक्ष थिए, हमाल ।

हामीलाई सहयोग गर्न अटेर गर्ने राजाका लागि सहयोग जुटाउने भन्दै रिसाएको माओवादीले त्यसपछि हमाललाई धराशायी बनाउने निर्णय गरेको रहेछ ।

मलाई माओवादी र हमालको आर्थिक पाटोमा कुनै चासो थिएन । त्यो उनीहरुबीचको आन्तरिक कुरा थियो । तर मेरो एउटै आग्रह थियो, सुदूरपश्चिममा यातायातका क्षेत्रमा राम्रो काम गरिरहेको व्यवसायीलाई धराशायी बनाउन भएन ।

दुई घण्टा लामो छलफलपछि माओवादी र हमालकाबीचमा रहेका सबै असमझदारीहरु अन्त्य भए । दिनेश ट्राभल्समा राजाको लगानी नरहेको कुरा पनि हमालले क्लियिर गरे । र, आगामि दिनमा कुनैपनि किसिमको आक्रमण नगर्ने र कुनै पनि असमझदारी, आशंका र सहयोगको विषय भए सोझै हमालसंग संवाद गर्ने सहमती भयो ।

माओवादी र हमालबीचको वार्ताका बारेमा सूचना पाए कुनैपनि बेला सेना त्यहाँ पुग्न सक्थ्यो । पोखरेल होटलबाट करीव पाँच सय मिटरको दूरीमा सुरक्षाफौजको क्याम्प थियो । सुरक्षाफौज त्यहाँ आईपुगे, हामी सबै मारिने जोखिम थियो । तर जोखिम नमोली वार्ता हुदैनथ्यो । हामीले त्यो जोखिम मोल्यौ । वार्ता पनि सफल भयो । हामी जोगियौ पनि ।

तर सहमतीको दुई दिनपछि माओवादीले भीमदत्त राजमार्गबाट दिनेश ट्राभल्सका १२ वटा बस नियन्त्रणमा लिएर बीपीनगर पु¥यायो । कैलाली ईञ्चार्ज अखण्डलाई यो कुराको जानकारी दिएपछि उनले नै ती बसहरु नियन्त्रणमुक्त गरे ।

हमालमाथि त्यसदिन यता माओवादीबाट कहिल्यै कुनै किसिमको आक्रमण भएन । र, उनी निर्बाध रुपमा व्यवसाय गर्न थाले । यतिबेला हमाल धनगढीका मेयर छन् ।

(पत्रकार उपाध्यायको प्रकाशोन्मुख पुस्तक ‘द्वन्द्व पत्रकारिताको एक दशक’को दोस्रो संस्करणबाट । पुस्तकको पहिलो संस्करण तीन महिना पहिले प्रकाशित भएको थियो ।)

रक्सी नदिएको निहुँमा दम्पतीको हत्या, डेढ महिना पछि समातिए मुख्य अभियुक्त

कैलाली । कञ्चनपुरको लालझाडी गाउँपालिका– १ का ४५ वर्षीय रमेश बडायक उनकी ४१ वर्षीया श्रीमती कमलाको हत्या रक्सी नदिएको निहुँमा गरिएको खुलेको छ ।

कार्तिक ९ गते बिहान आफ्नै घरमा दुवैको शव भेटिएको थियो । प्रहरीले घटनाबारे अनुसन्धान थालेपछि आक्रमण गर्ने व्यक्ति र कारण भने पत्ता लगाउन सकेको थिएन । घटनको करिब डेढ महिनापछि रक्सीका कारण दुबै जनाको हत्या भएको प्रहरीले ठहर गरेको छ । घटनामा संलग्नलाई पक्राउ गरेको र उनले आफूले हत्या गरेको स्वीकार गरिसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ र।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले लालझाडी गाउँपालिका–२ बस्ने ५२ वर्षीय गङ्गाराम रानालाई पक्राउ गरेको छ । प्रारम्भिक बयानका क्रममा रानाले बडायक दम्पतीको हत्या गरेको स्वीकार गरेका छन् ।

“८ कार्तिकको राति मदिरा सेवन गरेर बडायकको नास्ता पसलमा पुगेका रानाले मदिरा नदिएको निहुँमा आवेशमा आएर हत्या गरेको स्वीकार गरिसकेका छन्” जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेरराज जोशीले भने, “मुख्य अभियुक्तलाई पक्राउ गरेर म्याद थप हुँदै छ । थप अनुसन्धान बाकी छ ।”

प्रहरीसमक्ष उनले आफूले रक्सी माग्दा नदिएर उल्टै हातपात गरेपछि आक्रमण गरेको बताएका छन् “एक क्वाटर दिनुहोस् भनेर बडायकको पसलमा पुगेको थिए । छैन् भनेर तथानाम गर्दै ममाथि हातपात गरे,” रानाले बयानमा भनेका छन्, “तँलाई देखाउँछु भनेर हान्ने चिज खोज्दै थिए । त्यही बेला नजिकै काठको डन्डा पाएपछि बडायकलाई हिर्काएर बेहोस बनाए ।”

बडायकको हत्यापछि घरको बरन्डामा झुलभित्र सुतिरहेकी उनकी श्रीमतीको पनि हत्या गरेको रानाले बताएका छन् । सुरुका श्रीमान्लाई आक्रमण गरेपछि श्रीमती कराएको र त्यहिबेला श्रीमतीलाई पनि हत्या गरेको प्रहरीले जनाएको छ । अहिलेसम्म पनि उनले आफूले आक्रमण गरेको हतियार भने प्रहरीलाई देखाउन सकेका छैनन् ।

सुदूरपश्चिमको लगातार दोस्रो जित, काठमान्डु ७३ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले काठमान्डु गुर्खाजलाई ७३ रनले पराजित गरेको छ ।

बिहीबार भएको खेलमा १६८ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको काठमान्डु गुर्खाज १५.५ ओभरमा ९४ रन बनाएर अलआउट भएको हो ।

सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो भने काठमान्डुको दोस्रो हार हो । काठमान्डुका लागि स्टीफन एस्किनाजीले ३७ रन बनाए । सुमित महर्जनले १४, गेर्हार्ड इरास्मसले १० र भीम सार्कीले १० रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

सुदूरपश्चिमका लागि नरेन साउदले ४ विकेट लिए । अविनाश बोहराले २, तथा सैफ जैब र ब्राण्डन म्याकमुलनले १–१ विकेट लिए ।

यसअघि सुदूरपश्चिमले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १६७ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि ब्राण्डन म्याकमुलनले अर्धशतकीय पारी खेले । उनले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५३ रन जोडे ।

ओपनर विनोद भण्डारीले ३५ र सैफ जैबले ११ रन बनाए । रोहन मुस्तफा भने ४ रनमा आउट भए । कप्तान दीपेन्द्रसिंह ऐरी ४३ रनमा आउट भए । उनले ३ चौका र २ छक्का प्रहार गरे ।

काठमान्डुका लागि राशिद खानले २ तथा कप्तान करण केसी, साहब आलम र गेर्हार्ड इरास्मसले १–१ विकेट लिए ।

जिम्मी निशम बने ‘प्लेयर अफ द म्याच’

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्धको खेलमा जनकपुर बोल्ट्सका जिम्मी निशम ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा उनी ‘प्लेयर अफ द म्याच’ घोषित भएका हुन् । उनले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । उनले पोखराविरुद्ध ५ छक्कासहित ४० रन जोडेका थिए ।

ललित राजवंशीले ‘एनर्जेटिक मोमेन्ट अफ द म्याच’ प्राप्त गरेका छन् । उनले २५ हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै, लाहिरु मिलन्थाले ‘सुपर फोर’को पुरस्कार जितेका छन् । जसमा २५ हजार रुपैयाँको पुरस्कारसहित ५ हजार रुपैयाँको एनसेल रिचार्ज भौचर पनि प्राप्त गरे ।

तुलबहादुर थापाले ‘क्याच अफ द म्याच’ अवार्ड विपिन रावलले प्राप्त गरे । उनले २५ हजार रुपैयाँ प्राप्त गरे ।

जनकपुरले पोखरालाई ७ विकेटले हरायो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित हात पारेको छ। आज सम्पन्न खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको हो ।

पोखराले दिएको १३९ रनको लक्ष्य जनकपुरले १७ ओभर १ बलमा ३ विकेटको क्षतिमा पुरा गर्‍यो। जनकपुरका लाहिरु मलिन्थाले सर्वाधिक ४५ रन जोडे । जिमी निसमले नटआउट ४०, आसिफ शेखले ३३ र हर्स ठाकरले १३ रनको योगदान गरे। पोखराका विपीन खत्री, माइकल लियस्क र कुशल भुर्तेलले समान एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३८ रन बनाएको थियो। पोखराका लागि मार्कस क्रिटलेले ३५, माइकल लिस्कले २५, आन्द्रेस गौसले २०, रेमन रिफरले १७, दिलिप नाथले ११ र दीनेश खरेलले १० रन बनाए।

जनकपुरका लागि ललितनारायण राजवंशीले तीन, जिमी निसमले दुई तथा मोहम्मद मोहसिन र किशोर महतोले समान एक विकेट लिए।

धनगढीमा पुर्वप्रधानमन्त्रीको घरमा बम राख्न लगाउने र राख्ने दुबै जना पक्राउ

धनगढीः कैलालीको धनगढीस्थित पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घर अगाडी बम राख्न लगाउने र राख्ने दुबै जना पक्राउ परेका छन्।

बम राख्न लगाउने अमृत सापकोटा (गौरव) र राख्ने दानबहादुर धामी छुट्टाछुट्टै स्थानबाट पक्राउ परेका हुन्। २०८१ भदौ ९ गते नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाको धनगढीस्थित घर अगाडि बम फेला परेको थियो। घरको मूलगेटको छेउमा कालो झोलामा माटोभित्र एउटा टिफिन बक्स भेटिएको थियो। सभापति देउवा र उनकी पत्नी परराष्ट्रमन्त्री आरजु राणा देउवा धनगढी आउँदा सोही घरमा बस्छन्।

विस्फोटक पदार्थ राख्ने कामको नेतृत्व अमृत सापकोटा (गौरव) ले गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ। अमृतले माओवादीबाट छुट्टिएर अलग समूह बनाउँदै भूमिगत रूपमा काम गर्दै आएका थिए। उनको साथबाट केही राजनीतिक दस्ताबेज र भूमिगत रूपमा सशस्त्र सङ्घर्ष गर्ने तयारी गरेको कागजात भेटिएको प्रहरीले जनाएको छ। विष्फोटक पदार्थ राखेर आतङ्क मच्चाउने अमृतलाई प्रहरीले पक्राउ गरेको छ।

गोरखाको छेकम्पार घर भएका ३६ वर्षीय सापकोटा अहिले जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा छन्। भूमिगत रूपमा नेकपा (माओवादी) नामको पार्टी गठन गरेर अमृतले विस्फोटक पदार्थ राखेर चन्दा असुल गर्ने धन्दा चलाएको आरोपसमेत छ। गत शुक्रबार मात्रै कैलाली प्रहरीले देउवाको धनगढी–४ बसपार्क नजिकैको घर अगाडि बम राखेको आरोपमा गौरीगंगा नगरपालिकाका दानबहादुर साउँदलाई पक्राउ गरेको थियो।

जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका अमृतले नै देउवाको निवास अगाडि धामीलाई बम राख्न लगाएको बयान दिएपछि साउँदलाई पक्राउ गरिएको हो। देउवाको निवास अगाडि अज्ञात समूहले विस्फोटक वस्तु राखेको थियो। सो विस्फोटक वस्तु बम भएको पाइएपछि नेपाली सेनाको टोलीले डिस्पोज गरेको थियो।

पचास वर्षका लागि उपयुक्त शिक्षा नीति तय गर्नुपर्छ : सभापति देउवा

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ४० देखि ५० वर्षका लागि प्रभावकारी हुने शिक्षा नीति तय गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय शिक्षा विभागद्वारा आयोजित ‘शिक्षा नीति बहस’ विषयक कार्यक्रममा बोल्दै सभापति देउवाले शिक्षा र स्वास्थ्य पहिलो आवश्यकता भएको भन्दै नेपाललाई उच्च शिक्षाको गन्तव्य बनाउनुपर्ने बताए ।

“शिक्षा प्रणालीको गुणात्मक विकासदेखि विश्वविद्यालय तहसम्मको शिक्षालाई समयसापेक्ष र विश्वस्तरीय बनाइनु आवश्यक छ, सबै तह र क्षेत्रका उत्कृष्ट शिक्षा नीति तय गर्न यो बहस महत्वपूर्ण हुनेछ”, उनले भने  ।

कांग्रेसले मुलुकको शिक्षा प्रणालीको विकासलाई उच्च प्राथमिकतामा राखेको बताउँदै उनले शिक्षा ऐनको विषय चर्चामा रहेकाले यसका लागि पार्टीले पहलकदम लिने उल्लेख गरे ।

“क्याम्पसहरु विद्यार्थी अभावमा बन्द हुने अवस्थाको समस्या समाधानका लागि बहस उपयोगी हुनेछ, बहसबाट आएका निष्कर्ष कार्यान्वयनमा पार्टीले ध्यान दिनेछ, दक्ष र शिक्षित जनशक्तिलाई स्वदेशमै रहने वातावरण बनाउन शिक्षालाई सीपसँग जोड्नुपर्नेछ, यस्ता बहसले समग्र मुलुकको शिक्षा नीतिमा सकारात्मक प्रभाव पार्नेछ भन्ने विश्वास छ”, सभापति देउवाले भने ।

पार्टीको शिक्षा विभाग प्रमुख तथा केन्द्रीय सदस्य नैनसिंह महरको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न व्यक्तित्व र विषयविज्ञले आफ्ना धारणा राख्ने र प्रस्तुतीकरण राखेका थिए ।

 

फ्रान्सका प्रधानमन्त्री मिशेल बार्नियर पदमुक्त

फ्रान्स, २० मङ्सिर।
फ्रान्सका प्रधानमन्त्री मिशेल बार्नियर पदमुक्त भएका छन् । फ्रान्समा सन् १९६२ पछि पहिलो पटक अविश्वास प्रस्तावबाट सरकार ढलेको हो । अविश्वास प्रस्ताव बहुमतले पास भएपछि प्रधानमन्त्री बार्नियर पदमुक्त भएका हुन् ।

राष्ट्रपति इमानुएल म्याक्रोनले नियुक्त गरेको तीन महिनापछि सांसदहरूले उनीविरुद्धको प्रस्तावको समर्थनमा भारी मत दिएको बीबीसीले जानएको छ ।

पूर्व ब्रेक्सिट वार्ताकारले विवादास्पद रूपमा मतदान बिना आफ्नो बजेटमार्फत जबरजस्ती गर्न विशेष शक्तिहरू प्रयोग गरेपछि विपक्षी दलहरूले प्रस्ताव राखेका थिए ।

दक्षिणपन्थी र वामपन्थी दलका सांसदहरुले प्रधानमन्त्री मिशेलविरुद्ध सोमबार अविश्वास प्रस्ताव दर्ता गराएका थिए । उक्त अविश्वास प्रस्ताव पारित हुन २८८ मत आवश्यक थियो । तर प्रस्तावको समर्थनमा ३३१ जनाले मतदान गरेको बीबीसीले जनाको छ ।

पछिल्लो समय फ्रान्समा सामाजिक सुरक्षा बजेटको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबिच तनाव बढेको थियो । प्रधानमन्त्री बार्नियरले संसदमा भोटिङ नगराइकन बजेट पास गर्ने निर्णय गरेपछि वामपन्थी र दक्षिणपन्थी दलका सांसदहरुले अविश्वास प्रस्ताव ल्याएका थिए ।

प्रधानमन्त्री बार्नियरले बिहीबार राष्ट्रपति म्याक्रोनसमक्ष राजीनामा पेस गर्नेछन् । सरकार ढलेसँगै सन् २०२५ मा आउने देशको बजेट निष्क्रिय भएको बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

बेइजिङ, मङ्सिर २० गते ।

चीनको चारदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ११ बजे बिदाइ गरे ।

प्रधानमन्त्री ओली नेपाली समय अनुसार दिउँसो २ः३० बजे काठमाडौं पुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेदरल्याण्ड्सबाट नेपालले के सिक्ने ?

सडक कस्का लागि ? गाडीका लागि कि मान्छेका लागि ? नेपालको विकास र सडकको संरचना हेर्दा त्यसको सटिक जवाफ हुन्छ, गाडीका लागि ।

तर युरोपका शहर, अझ नेदरल्याण्ड्सको सडक र यहाँको संरचना हेरेपछि विकासमा ‘मान्छे पहिले’ भन्ने देखाउछ । यहाँका सडक चौडा छन् । तर ती सडकमा गाडीलाई भन्दा साईकल र मान्छेलाई महत्व दिईएको छ । सडकका दुवैतिर साईकल र पैदल मान्छे हिड्ने छुट्टाछुट्टै लेन छन् ।

नेपालमा पछिल्ला वर्षमा ४ र ६ लेनका सडक निर्माण भईरहेका छन् । केही ठाँउमा बनि पनि   सके । तर ती कुनै पनि सडक र त्यो विकासमा मान्छे वा वातावरण प्राथमिकतामा परेको देखिदैन ।

नेदरल्याण्ड्समा राजमार्ग होस वा शहरका शाखा सडकहरु । हरेक सडकका दुबै तिर साईकलका लागि लेन बनाईएका छन् । साईकल चढ्नेहरुलाई उच्च महत्व दिईएको छ । नेपालमा साईकल चढ्नेहरुलाई गाडीले कुल्चेर मारेका खवरहरु पढिरहनु पर्ने नियति छ । तर नेदरल्याण्ड्समा साईकलका लेनमा मान्छे हिड्न पाउदैन । र त्यो लेनमा गाडी त लैजानु अपराध मानिन्छ । बिर्सेर कोही मान्छे साईकलको लेनमा हिड्यो भने त्यसलाई साईकल चलाउने व्यक्तिले नराम्ररी धक्का दिएर जान सक्छ । त्यसका बाबजुद पनि पैदल हिड्ने मान्छेले प्रतिवाद गर्न पाउदैन । किनकी मान्छेका लागि हिड्ने छुट्टै लेन जो छ । कसैले कसैलाई हस्तक्षेप वा असर गर्ने कार्य नेदरल्याण्ड्समा गर्न पाईदैन । हरेक सडकमा दाया बाया साईडमा साईकल स्टेण्ड छन् । जहाँ साईकल पार्किङ गर्न मिल्छ ।

नेदरल्याण्ड्सका प्रधानमन्त्री साईकल चढेको तस्वीर नेपालका लागि महत्वपूर्ण समाचार बन्छ । बनिरहेको हुन्छ । यद्दपि नेदरल्याण्ड्सका जनताका लागि त यो सामान्य विषय हो । जो नियमित रुपमा भईरहन्छ । साईकल चढ्दा नेपालमा मान्छेले हिनताबोध गर्छ । साईकल चढ्दा अपमान ठान्छ । महंगा जाडी चढ्नु नेपालीका लागि शान मानिन्छ । तर नेदरल्याण्ड्सका नागरिक भने महंगा गाडी चढ्ने सौख नै पाल्दैनन । किनकी नेदरल्याण्ड्समा साईकल संस्कृति गजवको छ । 

नेदरल्याण्ड्सको राजधानी आम्स्टर्डडमको तापक्रम माईनसमा झरेको छ । तर त्यसले साईकल चढ्नेहरुलाई कुनै असर गर्दैन । आम्स्टर्डममा हरेक दिन बिहान ७२ हजार भन्दा बढि व्यक्ति साईकलमा आफ्नो काम र अध्ययनका लागि निस्किन्छन । साईकलका लागि सडकको दुबै तिर लेन बनाईएको छ । त्यो लेनमा पैदल यात्रु हिड्न पाउदैनन ।

१२ प्रदेशमा बिभाजित नेदरल्याण्ड्स युरोपको उत्तर पश्चिममा अवस्थित छ । ४१,५४३ बर्ग किमीमा फैलिएको यसको पूर्वमा जर्मनी र दक्षिणमा बेल्जियम छ । र उत्तरपश्चिमी भूभाग उत्तरी सागरसँग जोडिएको छ । नेदरल्याण्ड्सको राजधानी आम्स्टर्डम हो । एम्स्टर्डमको जनसंख्या १० लाख छ । राजधानी आम्स्टर्डममा १७६ देशका बासिन्दा बसोबास गर्छन । नेदरल्याण्ड्सभरी १९० देशका मानिस बसोबास गर्छन । 

यहाँका ५१ प्रतिशत जनसंख्या कुनै धर्म मान्दैनन । यहाँको कुल जनसंख्याको २४ प्रतिशत क्याथोलिक र १५ प्रतिशत पोटेस्टेण्ट क्रिश्चियन छन् ।  १८१५ मा एउटा देशको पहिचान पाएको नेदरल्याण्ड्सको ५ मे १९४५ मा स्वतन्त्र भएको हो ।

नेदरल्याण्ड्समा  शिक्षा 

डच यहाँको मुख्य भाषा हो, सरकारी भाषा पनि । यहाँका विद्यालय र कलेजमा डच भाषामै पढाई हुन्छ । यद्दपि थुप्रै कलेज र विश्वविद्यालयले पछिल्ला वर्षमा अंग्रेजी भाषालाई पनि उत्तिकै महत्व दिएका छन् ।

यहाँ ५ वर्षमा बालबालिकालाई विद्यालयमा भर्ना गरिन्छ । ५ देखि १६ वर्षसम्म शिक्षा अनिवार्य गरिएको छ । शिक्षाको शुल्क लाग्दैन । सम्पूर्ण खर्च सरकारले व्यहोर्छ । त्यसबाहेक यो उमेर समूहलाई सरकारले मासिक रुपमा भत्ता पनि उपलब्ध गराउछ ।

नेदरल्याण्ड्समा तीन थरीको शिक्षा छ । प्राथमिक । माध्यामिक । र उच्च शिक्षा । विद्यार्थीको आचरण, रुचि, लगाव, उत्कृष्टताका आधारमा माध्यामिक तहमै विद्यार्थीको बर्गिरकण गर्छ । चिकित्सा, व्यवस्थापन तथा अन्य विषय पढ्नका लागि माध्यामिक तहबाटै विद्यार्थीहरुको बर्गिकरण गरिन्छ । उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीले शुल्क त लिन्छ । त्यो शुल्क राज्यले तिरिदिन्छ । तर पछि उसले पढाई पुरा भएपछि राज्यलाई त्यो रकम तिर्नुपर्छ ।

नेदरल्याण्ड्समा निजी विद्यालय पनि छन् । तर सरकारीको पढाई गुणस्तरीय हुने भएकाका कारण अभिभावक र विद्यार्थीको रोजाईमा सरकारी विद्यालय पर्छ ।

यद्दपि उमेर बढि भएका र बाहिरबाट आउने विद्यार्थी भने बाध्यतावश निजी विद्यालयमा भर्ना हुन्छन । किनकी नर्सरीदेखि सरकारीमा पढेको विद्यार्थीसंग माध्यामिक तहमा बाहिरबाट आएर भर्ना भएको विद्यार्थीले प्रतिस्पर्धा गर्न सक्दैन । 

नेदरल्याण्ड्स धेरै कुरामा संसारका अरु मुलुकहरु भन्दा फरक छ । प्रतिव्यक्ति आय उच्च भएपनि यहाँका मान्छेहरु नयाँ र बिलासी साधन जस्तैः गाडी, मोवाईल र ग्याजेटहरुमा रुचि राख्दैनन । बरु साईकलमै रमाउछन । क्रयशक्ति उच्च भएपनि महंगा र बिलासी कुराले उनीहरुलाई आकर्षण गर्दैन । उनीहरुका हरेक गतिबिधि मितव्ययी, अरुलाई प्रभावित वा हानी नगर्ने र वातावरण मैत्री छन् ।

होहल्ला गरेर अरुलाई असर पुग्ने काम गर्दैनन । अरुको पालो मिच्दैनन । पसलमा होस वा सार्वजनिक यातायातमा आफ्नो पालो नआई अगाडि बढ्दैनन । पालो नआउदासम्म लाईनमा धैर्यतापूर्वक बस्छन । नेपालीहरुका लागि यो सिक्नु पर्ने कुरा हुन् ।

सामाजिक सुरक्षा र कर 

सामाजिक सुरक्षाका लागि नेदरल्याण्ड संसारमै अग्रणी मानिन्छ । कर दर उच्च छ । यद्दपि यहाँका नागरिक राज्यलाई कर तिर्न दायित्व ठान्छन । किनकी कर तिरेभन्दा कयौ गुणा बढि उनीहरुले राज्यबाट सुबिधा पाउछन् । शिक्षा, स्वास्थ्य निशुल्क छ । नेपालमा जस्तो कुनै रोग लागे प्रधानमन्त्री कार्यालय घेराउ गर्न जानु पर्दैन । र गुहार मलाई बचाउनुहोस भनेर पत्रिकामा बिन्ति पत्र छाप्न पर्दैन । उपचार नपाएर यहाँ कसैले अकालमा मृत्यवरण गर्नुपर्दैन । जसको कोही छैन, उसका लागि यहाँ सरकार छ । लोक कल्याणकारी राज्य कस्तो हुन्छ, नेपाली नेताहरुले नेदरल्याण्ड्सबाट    सिक्नुपर्छ ।

नेपालमा जस्तो यहाँ जसलाई जहाँ मन लाग्यो, त्यहाँ घर बनाउन पाईदैन । शहरका लागि अलग ठाँउ छुट्याईएको छ ।कृषिका लागि अलग । कृषि योग्य जमीन प्लटिङ गरेर बेच्न पाईदैन, यहाँ । त्यसैले त कृषि योग्य जमीन अहिलेसम्म जोगिएको छ ।

नेदरल्याण्ड्सबारे केही रोचक जानकारी 

हल्याण्ड समेत भनिने नेदरल्याण्ड्समा संबैधानिक राजतन्त्र छ । हामी हाम्रो प्रधानमन्त्री साईकलमा चढ्ने कल्पना पनि गर्न सक्दैनौ । यहाँका प्रधानमन्त्री पनि साईकलमा निर्धक्क कार्यालय जान्छन । समलिंगी बिबाहलाई मान्यता दिने विश्वको पहिलो मुलुक हो ।

संसारमा बेश्यालयलाई मान्यता दिने मुलुक पनि हो, नेदरल्याण्ड्स । बैधानिक रुपमै राजधानी आम्स्टर्डममा बेश्यालयहरु सञ्चालनमा छन् । यहाँ कार्यरत यौनकर्मीहरु कसैको करकाप वा दवावमा नभएर आफ्नो मर्जीले यो पेशामा संलग्न छन् ।
नेदरल्याण्ड्स फुल उत्पादनमा विश्वकै अग्रणी मुलुक मानिन्छ । यहाँको फुलले विश्व बजारमा स्थान जमाएको छ । कृषि यहाँको आयको मुख्य स्रोत हो । खेतका गह्राहरुमा यहाँ आली होईन, समुन्द्रबाट ल्याईएको पानीको कुलो छ । नेदरल्याण्डका खेतमा अपनाईएको सिंचाईको बिधि संसारकै उत्कृष्ट मानिन्छ । किनकी हरेक गह्रालाई पानीको कुलोसंग जोडिएको छ ।

विश्वको १७ औं ठूलो अर्थतन्त्र भएको मुलुक नेदरल्याण्ड्सको प्रतिव्यक्ति आय ४८ हजार ८ सय ६० डलर छ । यसको आम्दानीको मुख्य आधार, कृषि, पर्यटन, ग्याँस हो ।  नेदरल्याण्ड्समा वर्षेनी यहाँको जनसंख्याकै हाराहारीमा १ करोड ७० लाख भन्दा बढि पर्यटक आउने गर्छन ।

युरोपमा ग्याँसको भण्डार मानिन्छ, नेदरल्याण्ड्स । युरोपभरीमा करीव २५ प्रतिशत ग्याँसको भण्डार नेदरल्याण्ड्समा छ । युरोपको ठूलो मध्यको एक बिमानस्थल मानिन्छ, आम्स्टर्डम बिमानस्थल । र युरोपको ठूलो बन्दरगाह मानिन्छ, रोटरड्याम । 

अन्तर्राष्ट्रिय अपराध अदालत हेगमा छ । आम्स्टर्डममा मात्र साना ठूला गरी १२८१ पुल छन् । स्वस्थ खानामा विश्वकै पहिलो मुलुक हो,नेदरल्याण्ड । डचहरु संसारकै अग्ला मानिन्छन । भनिन्छ, मान्छेभन्दा साईकल बढि छन्,आम्स्टर्डममा ।

नेदरल्याण्ड्सको ‘वाटर ईञ्जिनियरिङ’ संसारमै अदभूत मानिन्छ । पानीमाथिको संसार । पानीमाथिको शहर । पानी नै जीवनको हिस्सा । पानी नै पर्यटन । पानी र नेदरल्याण्ड्स एक अर्काका पर्याय जस्ता । त्यही पानीमाथि ठडिएका कलात्मक आकर्षण भवनहरु । पानी सभ्यतामा ठडिएको नेदरल्याण्ड्सलाई त्यही पानीको उत्कृष्ट प्रयोगले समृद्ध र बैभवशाली बनाएको छ । 

समुन्द्रको पानीलाई नहर मार्फत शहरका चारैतिर र भित्री भागमा लगिएको छ । त्यही नहरमा साना ठूला बोट र क्रुजहरु चलाईएका छन् । शहरको दृष्यावलोकनका लागि तिनै स्टिमर, बोट र क्रुजको यात्रा निकै रोमाञ्चकारी छ । जो पर्यटकलाई लोभ्याउने माध्यम बनेका छन् । तिनै क्रुज र बोटमा राजधानी आम्स्टर्डमको झिलिमिली र वत्तीको उज्यालो हेर्नुको मज्जा बेग्लै हुन्छ ।

नेदरल्याण्डमा समुन्द्रमाथि घर छन् । नेदरल्याण्डको बिमानस्थल नै समुन्द्र सतहभन्दा होचो स्थानमा छ । तर समुन्द्रको पानीलाई यस्तो गजवसंग व्यवस्थापन गरिएको कि, समुन्द्रमा पानीको सतह बढेपनि त्यसले शहरमा असर गर्दैन । पानीको सतह एकनास भईरहन्छ ।

विश्वले नै उत्कृष्ट मानेको नेदरल्याण्ड्सले विद्युत उत्पादनका लागि प्रयोग गरिरहेको हावाबाट बिजुली निकाल्ने प्रबिधि नेपालका लागि पनि अनुकरणीय छ । नेदरल्याण्ड्सले हावाबाट ४ हजार ४ सय ७१ मेगावाट बिद्युत उत्पादन गरिरहेको छ । 

हावाबाट सन २००१ मा ४८१ मेगावट बिजुली उत्पादन गरेको त्यसयता निरन्तर रुपमा यसलाई विस्तार गर्दै लग्यो । अहिले नेदरल्याण्ड्सको विद्युतको मागलाई हावाबाट निकालिएको विद्युतले पूर्ति गरेको छ ।

नेदरल्याण्ड्समा कति छन्, नेपाली ?

नेदरल्याण्ड्समा करीव दुई हजारभन्दा बढि नेपाली रहेको अनुमान छ । अधिकांश नेपाली होटल तथा रेष्टुरेण्ट व्यवसायमा संलग्न छन् ।

गैर आवासीय नेपाली संघ युरोपका पूर्व संयोजक नारायण आचार्यका अनुसार अध्ययनका क्रममा यहाँ आएका नेपालीहरु अध्ययन सकेर यही व्यापार व्यवसायमा संलग्न हुनेक्रम बढ्दो छ । १८ वर्षअघि अध्ययनका क्रममा नेदरल्याण्ड्स पुगेका आचार्य स्वयम रेष्टुरेण्ट व्यवसायमा संलग्न छन् ।

एक दशकअघि अध्ययन र अरुको व्यवसायमा काम गर्ने अधिकांश नेपालीहरु यतिबेला आफै व्यवसायी भएका छन् । तीनैमध्येका एक हुन्, थानेश्वर कँडेले । बागलुङका कँडेल अध्ययनका क्रममा १८ वर्षअघि नेदरल्याण्ड्स आएका हुन् । अध्ययनसंगै उनले निजी टेलिकम कम्पनीमा काम शुरु गरे । पछि त्यही कम्पनी किनेर उनले व्यवसायमा हात हाले । अहिले उनी रेष्टुरेण्ट व्यवसायमा आवद्ध छन् । आचार्य झै उनका पनि नेदरल्याण्ड्समा दुई वटा रेष्टुरेण्ट छन् ।

कँडेलकै भाई बेदराम कँडेलको सुपरमार्केट छ । पछिल्लो समय केही नेपाली घरजग्गा कारोवारमा पनि संलग्न छन् ।

नेदरल्याण्ड्समा भाषाको ज्ञान र सीप भए काम पाउन सजिलो छ, कँडेल भन्छन्,तर भाषा र सीप भएन भने काम पाउन कठिनाई हुन्छ ।

यही अध्ययन गरेपनि सरकारी जागीर खाने नेपालीको संख्या न्यून छ, थानेश्वर कँडेल भन्छन्, सरकारी जागीरको पहिलो प्राथमिकतामा यहीका नागरिक पर्छन । उनीहरुसंग प्रतिस्पर्धा गर्न त्यति सजिलो छैन । त्यसैले नेपालीहरु आआफ्नै व्यापार व्यवसायमा संलग्न छन् ।

केही नेपाली चिकित्सक पनि यहाँ कार्यरत छन् । केही प्राध्यापक पनि छन्, आचार्य भन्छन्, तर चिकित्सक र प्राध्यापक नेपालीको संख्या भने न्यून छ ।

नेदरल्याण्ड्स मा र नेपालबीचको सम्बन्ध

बिगतमा नेपाल र नेदरल्याण्ड्सबीच एउटा समानता थियो, दुबै देशमा राजतन्त्र थियो । नेपालमा राजतन्त्र अन्त्य भएको १८ वर्ष भयो । नेदरल्याण्ड्समा भने अझै संबैधानिक राजतन्त्र छ ।

नेपाल र नेदरल्याण्ड्सबीच २ अप्रिल १९६० मा कुटनैतिक सम्बन्ध स्थापित भएको हो । स्वर्गीय राजा महेन्द्रले २५ अप्रिल १९६७ मा नेदरल्याण्ड्सको राजकीय भ्रमण गरेका थिए ।

१९८८ मा नेदरल्याण्ड्सका राजकुमार ओरेञ्जको निम्तामा नेपालका तत्कालिन राजकुमार दिपेन्द्रले नेदरल्याण्डको भ्रमण गरेका  थिए । यसअघि नै नेदरल्याण्ड्सका राजकुमार स्वर्गीय बर्नहार्डले १९७३ मा नेपालको भ्रमण गरेका थिए । सन १९७५,७७ र ८६ मा उनले नेपालको भ्रमण गरे ।

नेदरल्याण्डका राजा विलियम अलेक्जेण्डर र राजकुमार ओरेञ्जले सन १९९७ जनवरी २१ देखि २५ सम्म नेपालको राजकीय भ्रमण गरेका थिए । यसअघि १९९६ मा अगष्ट ४ देखि ८ सम्म नेदरल्याण्ड्सका विकास समन्वय मन्त्री जोहान्नेस पी.प्रोन्कले नेपाल भ्रमण गरेका थिए ।

आज भन्दा ५१ वर्षअघि २०३० सालमा राजा विरेन्द्रले आफ्नो राज्याभिषेकमा नेदरल्याण्ड्सको महारानी जुलियानालाई निम्ता पठाएका थिए । राजा विरेन्द्रको निम्तामा रानी जुलियानाले नेपाललाई के उपहार दिने भनेर सोचिन । र उनले नेपालमा कुष्ठरोग निवारणका लागि नेदरल्याण्ड्स लेप्रोसी रिलिफ मार्फत सहयोग गर्ने प्रतिबद्धता गरिन । र नेपालमा नेदरल्याण्ड्स लेप्रोसी रिलिफको स्थापना भयो । जसले नेपालमा कुष्ठरोग निवारणमा ठूलो योगदान पु¥यायो ।  नेदरल्याण्ड्सको सहयोग अहिले पनि जारी छ ।

नेदरल्याण्ड्स लेप्रोसी रिलिफका नेपाल पूर्व प्रमुख हिमालय सिग्देलका अनुसार कुष्ठरोग निवारणमा मात्र नेदरल्याण्ड्स सरकारको नेपाललाई हालसम्म अढाई अर्व रुपैया भन्दा बढि सहयोग प्राप्त भईसकेको छ । त्यसबाहेक पनि सन १९७६ देखि डच ईकोनोमिक कर्पोरेशनले नेपालमा सहयोग गर्दै आएको छ । नेदरल्याण्ड्स डेभलोप्मेण्ट कर्पोरेशनले नेपालको शिक्षा,स्वास्थ्य, वातावरण एवं विकासमा लगानी गर्दै आएको छ ।

वर्षेनी झण्डै १० हजारको हाराहारीमा नेदरल्याण्डका पर्यटकहरु पर्वतारोहण तथा नेपालका पर्यटकीय गन्तव्यहरुमा भ्रमणका लागि नेपाल आउने गरेका छन् । २०११ मा यो संख्या सबैभन्दा बढि १६ हजार ८ सय ३८ थियो ।

यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं, २० मङ्सिर । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपियाँ २९ पैसा र बिक्रीदर एक सय ३५ रुपियाँ ८९ रहेको छ ।

राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपियाँ ११ पैसा र बिक्रीदर एक सय ४२ रुपियाँ ७८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपियाँ ४३ र बिक्रीदर एक सय ७२ रुपियाँ १९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपियाँ ६५ पैसा र बिक्रीदर एक सय ५३ रुपियाँ ३३ पैसा कायम गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ८० पैसा र बिक्रीदर ८७ रुपियाँ १८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ २१ पैसा र बिक्रीदर ९६ रुपियाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रुपियाँ ५० पैसा र बिक्रीदर एक सय एक रुपियाँ ९४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर आठ रुपियाँ १० पैसा र बिक्रीदर नौ रुपियाँ ०६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ५६ पैसा र बिक्रीदर १८ रुपियाँ , साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ र बिक्रीदर ३६ रुपियाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ११ पैसा र बिक्रीदर ३७ रुपियाँ २८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर तीन रुपियाँ ९५ पैसा र बिक्रीदर तीन रुपियाँ ९६ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपियाँ ८३ पैसा र बिक्रीदर ३७ रुपियाँ, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपियाँ ३९ पैसा र बिक्रीदर ३० रुपियाँ ५२ पैसा तोकिएको छ ।

यस्तै, साउथ कोरियन वन एक सयको खरिदर नौ रुपियाँ ५६ पैसा र बिक्रीदर नौ रुपियाँ ६० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपियाँ २९ पैसा र बिक्रीदर १२ रुपियाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ०६ पैसा र बिक्रीदर १९ रुपियाँ १४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ३८ पैसा र बिक्रीदर १७ रुपियाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपियाँ ७४ पैसा र बिक्रीदर चार सय ४१ रुपियाँ ६९ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपियाँ ८० पैसा र बिक्रीदर तीन सय ६० रुपियाँ ३९ पैसा, ओमानी रियाल एकको खरिददर तीन सय ५१ रुपियाँ ४२ पैसा र बिक्रीदर तीन सय ५२ रुपियाँ ९७ पैसा तोकेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

खोज्नुहोस