पाकिस्तानको आक्रमणबाट अफगानिस्तानमा ४६ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानी हवाई आक्रमणमा परी ४६ जनाको मृत्यु भएको जनाएको छ । मंगलबार राति पाक्टिकाको बर्मल जिल्लामा भएको आक्रमणमा मारिनेमा अधिकांश महिला र बालबालिका रहेका छन् ।
बर्माल जिल्ला दक्षिण वजिरिस्तानको वाना र रज्माक क्षेत्रनजिक पर्छ । तालिबान अधिकारीहरूका अनुसार वजिरिस्तानका शरणार्थीहरूलाई लक्षित गरी आक्रमण भएको थियो ।
तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले समाचार एजेन्सी एएफपीलाई पाक्टिका प्रान्तका चार क्षेत्रलाई निशाना बनाइएको बताएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।
तालिबान सरकारका उपप्रवक्ता हमदुल्लाह फित्रातले पनि मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेको बताए ।
उनले भने, ‘मंगलबार राति पाक्टिका प्रान्तको बर्माल जिल्लामा चार ठाउँमा बम विष्फोट हुँदा ४६ जनाको ज्यान गएकोमा निकै दुःख लागेको छ । ६ जना घाइते भएका छन् । धेरै घर ध्वस्त भए । मारिनेमा अधिकांश महिला र बालबालिका रहेका छन् ।’
पक्तिका अस्पतालका एक अधिकारीले बीबीसीलाई बताएअनुसार २२ शवसहित ४६ घाइतेलाई उनीहरूको स्वास्थ्य केन्द्रमा लगिएको छ । तीमध्ये केहीलाई राम्रो उपचारका लागि उत्कृष्ट उपकरणसहित अस्पतालमा पठाइएको छ ।
तालिबान सरकारको रक्षा मन्त्रालयबाट जारी गरिएको विज्ञप्तिमा उक्त हमलाको निन्दा गर्दै यसलाई ‘बर्बर’ भनिएको छ ।
‘पाकिस्तानी सेनाको बमबारीले सर्वसाधारणलाई निशाना बनाएको थियो, जसमा अधिकांश वजिरिस्तानका शरणार्थी थिए । आक्रमणमा बालबालिकासहित धेरै सर्वसाधारण मारिएका र घाइते भएका छन्,’ ‘अफगानिस्तानको इस्लामिक इमिरेट्स यो क्रूर कार्यलाई सबै अन्तर्राष्ट्रिय मान्यताको उल्लङ्घन भएको विश्वास गर्दछ र यसको कडा निन्दा गर्दछ ।’
यस्तो मनोमानी कारबाही कुनै पनि समस्याको समाधान नभएको पाकिस्तानी पक्षले बुझ्नुपर्ने तालिबानी सरकारको सुझाव छ ।
‘इस्लामिक इमिरेट्सले यस क्रूर कार्यको जवाफ दिनेछ । यो आफ्नो भूमि र क्षेत्रको रक्षा गर्न आफ्नो अधिकार मान्छ,’ विज्ञप्तिमा भनिएको छ ।
यस घटनाबारे पाकिस्तान सरकारले भने हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।