धनगढीमा निता स्मृति राष्ट्रिय उसु प्रतियोगिता आयोजना हुँदै

द एभरेष्ट पोष्ट
१० पुष २०८१ १२:२६
धनगढीमा निता स्मृति राष्ट्रिय उसु प्रतियोगिता आयोजना हुँदै

धनगढी । सुदूरपश्चिम प्रदेश उसु सङ्घले निता स्मृति राष्ट्रिय उसु खुला प्रतियोगिता-२०८१ आयोजना गर्ने भएको छ। उसु खेल क्षेत्रकी विशिष्ट खेलकर्मी निता खड्काको सम्झनामा प्रतियोगिता आयोजना गर्न लागिएको  हो । यही पुस १४ देखि १६ गतेसम्म धनगढीको खुलामञ्चमा  प्रतियोगिता सञ्चालन हुने उसु सङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष राजिव गुप्ताले जानकारी दिए ।

प्रतियोगितामा पुरुषतर्फ ४८ , ५२ , ५६ , ६०, ६५ , र ७० किलोग्रामका तौल समूहहरू समावेश छन्  । यस्तै महिलातर्फ ४८, ५२ , र ५६ किलोग्रामका तौल समूहहरू रहेका छन्। यस प्रतियोगितामा १०८ पुरुष र ७८ महिलासहित कुल १८६ खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विभिन्न प्रदेश स्तरीय टिमहरूले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

दिवङ्गत निता खड्काप्रति सम्मान व्यक्त गर्नु, शोकाकुल परिवारलाई मनोबल प्रदान गर्नु, खेल क्षेत्रका प्रतिभावान युवा खेलाडीहरूको प्रोत्साहन गर्दै उनीहरूलाई राष्ट्रिय स्तरमा चिनाउन अवसर दिनु र उसु खेलप्रति नयाँ पुस्ताको आकर्षण बढाउनु प्रतियोगिताका प्रमुख उद्देश्यहरू रहेका छन्  । साथै, यो प्रतियोगिताले प्रदेश र राष्ट्रिय स्तरमा उसु खेलको लोकप्रियतालाई अझ विस्तार गर्ने विश्वास लिइएको  अध्यक्ष  गुप्ताले  बताए ।
सहयोगको अपिल
कार्यक्रम सफल बनाउन स्थानीय निकाय, विद्यालय, अस्पताल, व्यावसायिक समुदाय लगायतका विभिन्न क्षेत्रहरूबाट सहकार्य गरिएको छ। आयोजकले मिडिया प्रतिनिधि, खेल प्रेमी, र स्थानीय बासिन्दालाई यस ऐतिहासिक प्रतियोगितामा सहभागी भई सहयोग गर्न अपिल गरेको छ।

यो प्रतियोगिताले उसु खेलको प्रचार मात्र नभई, प्रदेश र देशको खेल क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस