सोनु निगमको कन्सर्टबाट महानगरले हटायो मदिराजन्य विज्ञापन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भारतीय गायक सोनु निगमको कन्सर्टमा प्रायोजन गरेर विज्ञापन गरिएका मदिराका १ सय ५० बोर्ड हटाएको छ।
सोनु निगम हायात होटलको मैदानमा आयोजना हुने कन्सर्टका लागि बुधबार नै नेपाल आइपुगेका छन्।
कन्सर्टमा अनाधिकृत रूपमा राखिएका १ सय ५० वटा मदिराजन्य विज्ञापन बोर्ड महानगर प्रहरीले हटाएको हो।
महानगर प्रहरीले सुरक्षाकर्मी परिचालन गरेर यी बोर्डहरू हटाएको महानगरले जानकारी दिएको छ।
मदिराजन्य सामग्रीको विज्ञापनलाई नियन्त्रण गर्ने महानगरको नीति अन्तर्गत यी बोर्डहरु हटाइएका हुन्। जनस्वास्थ्य ऐन २०७५ को दफा ४५ मा मदिरा, सुर्तिजन्य पदार्थको विज्ञापन तथा प्रचारप्रसार निषेध गरिएको छ।
क्रिसमस–डेको अवसर पारेर हायात रिजेन्सी होटलको मैदानमा बेलुका ‘सोनु निगम लाइभ इन नेपाल’ हुँदैछ।