त्यो धनगढी र सृजना ट्राभल्स

१० पुष २०८१ २:५८
त्यो धनगढी र सृजना ट्राभल्स

त्यो समय, जतिबेला मान्छेको रहर साईकल चढ्ने हुन्थ्यो । उनीसंग बसहरु थिए । र, आफ्नै बस ट्राभल्स । पश्चिम नेपालको यातायात क्षेत्रको ब्राण्ड थियो, सृजना ट्राभल्स । र, अर्को ब्राण्ड थियो, सृजना फोटो स्टुडियो । उनी ती दुईटै ब्राण्डका संस्थापक । कोडाकको युगका ती दुई ब्राण्ड । कोडाक झै जनजिब्रोमा थिए, परिचित ।

मोटरसाईकल चढ्ने मान्छे पो ठूलो त ! २०३५ सालतिर फर्किएर उनी सम्झिन्छन्, धनगढीमा दुई जना लव सत्याल र जयराज भट्टसंग मात्र मोटरसाईकल थियो । त्यो पनि भारतीय नम्बर प्लेटका ।

४० देखि ६० को दशक सृजना ट्राभल्सको युग थियो । त्यो दुई दशक सुदूर पश्चिममा उनको ब्राण्डको नाम नसुन्ने सायदै कोही थियो होला । मान्छेले साईकल किन्न सोच्नुपथ्र्यो । उनी भने प्रत्येक वर्ष बस थप्थे ।

को हुन् उनी, यति चर्चा गरिसकेपछि कतिपयले अनुमान गरिसक्नुभयो होला । कतिपयलाई जिज्ञासा होला, को हुन्, त्यो ब्राण्डका मालिक । यहाँ हामी तिनै ब्राण्डका मालिक रमेश पौडेलका बारेमा चर्चा गर्दैछौ । जो दुई दशक यता गुमनाम छन् । काठमाण्डौंमा भेटिएका पौडेलसंग उनको व्यवसायीक उतारचढाव र संघर्षका ती दिनहरुका बारेमा जान्ने हुटहुटी थियो । सायद तपाईहरुलाई पनि होला ।

रुपन्देहीको छपियाबाट व्यवसायीक संभावना हेर्ने रहरले डो¥याएर उनलाई २०३३ सालमा धनगढी पु¥यायो । धनगढीको एकसरो सडक घुमे । त्यही सडक भएर हरेक दिन कतिले ओहोर दोहोर गरे होलान । अरुले फगत सडक देखे । र देखे धुलो । उनी त्यही एक सरो सडक र धुलोमा व्यवसायीक संभावना देखिरहेका थिए ।

जिल्ला प्रशासन कार्यालयको अगाडि अर्जुन सिटौलाको फोटो संचार थियो । सिटौलाको स्वामित्वमा रहेको फोटो स्टुडियोमा भुवन शर्मा काम गर्थे । त्यतिबेला फोटोका लागि फोटो सञ्चारको बिकल्प थिएन । सिटौला धनगढी मावि र उनकी पत्नी त्रिनगर माविकी प्रधानअध्यापक थिईन । पछि शर्माले मुनाल स्टुडियो खोले ।

रमेशले धनगढीमा फोटो स्टुडियोमा राम्रो संभावना देखे । र खोले, फोटो स्टुडियो । नाम जुराए–सृजना फोटो स्टुडियो । सृजनाको अर्थ शुरुवात । सृजनाको अर्थ नयाँ चिजको निर्माण । सन्तान वा प्रियजनको नामबाट व्यवसायको नामाकरण गर्ने चलन छ । तर उनले जुन नामबाट व्यवसायीक पहिचान बनाए । त्यही नाम छोरीलाई दिए । पछि छोरीको जन्म भयो । नाम दिए–सृजना ।

नागरिकताका लागि अटो साईजका तीन वटा फोटो आवश्यक हुन्थ्यो । जसको शुल्क थियो, चार रुपैया । अन्यत्र अर्जेन्ट फोटोका लागि १५ देखि २० रुपैया चार्ज लाग्थ्यो । कतिसम्म भने एउटै फोटोका लागि ग्राहकले पुरै रीलको पैसा तिर्नुपथ्र्यो । उनले तत्काल फोटो दिनु परे १० रुपैया शुल्क लिन थाले । र, अर्को दिन दिनु परे पाँच रुपैया । अन्यत्र भने दोस्रो दिन फोटो लिनु परे १५ रुपैया नै शुल्क लाग्थ्यो । तेस्रो दिन मात्र पाँच रुपैया ।

सस्तोमा चाँडो सेवा दिन थालेपछि उनी कहाँ ग्राहकको घुईँचो हुन थाल्यो । कान्छो भाई खेम बुटवलमा एसएलसी दिने तयारीमा थिए । उनलाई धनगढी बोलाए । २०३९ सालमा महेन्द्रनगरमा स्टुडियो खोले । त्यसको जिम्मेवारी भाईलाई दिए । भाईले बुटवलको साथीसंग मिलेर उनलाई बस खोल्न सुझाव दिए । भाईकै सल्लाहमा २०३९ सालमा उनले पहिलो बस किने । र, बस व्यवसायी भए ।

उनले सपना देखेर कुनै काम गरेनन । काम गरे । र, सपना देखे । उनले काम पछ्याए । सपनाले उनलाई पछ्यायो । उनी निष्काम कर्मयोगी थिए । बस्, कर्म गरी रहे । त्यही कर्मले उनलाई नाम दियो । र, दियो अलग पहिचान ।

सृजना फोटो स्टुडियो नामै काफि थियो । उनलाई फोटो खिच्न भ्याई नभ्याई थियो । त्यही व्यस्तताका बीच उनले थाले, बस व्यवसाय । जसलाई नाम दिए, सृजना ट्राभल्स ।

त्यतिबेला यातायात क्षेत्रमा महेन्द्रनगरका व्यवसायीको एकाधिकार थियो । महेन्द्रनगरका गाडी सबैतिर जान पाउथे । तर धनगढीको गाडी महेन्द्रनगर जान पाउदैनथ्यो ।

धनगढीमा हेमकुण्ड ट्राभल्सका बस चल्थे । हेमकुण्डका मालिक थिए, सरदार सुरजित सिंह । उनका दुई बस थिए । ती बस धनगढी–गोदावरी रुटमा चल्थे ।

त्यसपछि धनगढीका सडकमा सृजना ट्राभल्सका बसहरु पनि गुड्न थाले । भक्त बहादुर चन्द र मीन बहादुर खत्रीका बस थपिए । गुणाकर भट्ट र टेकराज ओझाले साझेदारीमा नयाँ गाडी किने । यसरी केही समयमै धनगढीमा बसको संख्या पुग्यो– १४ । उनी एक्लैका बस ६ वटा थिए । त्यसपछि बस व्यवसायमा लगानी गर्ने थपिदै गए । २०४३ सालमा टेकराज जोशीले डिके ट्राभल्स सञ्चालनमा ल्याए ।

महेन्द्रनगरमा महाकाली सेती बस व्यवसायी समिति थियो । धनगढीमा त समिति पनि थिएन । शुरुमा सुरजीत सिंहको अध्यक्षतामा धनगढी समिति गठन भयो । जसको सचिव थिए, भक्त बहादुर चन्द ।

केही समयपछि धनगढीका व्यवसायीहरु मिलेर सुदूर पश्चिमाञ्चल बस व्यवसाय समिति खोले । प्रशासनमा दर्ता गरे । केन्द्रमा यातायात व्यवसायीहरुको एउटै महासंघ थियो । केन्द्रीय महासंघमा आवद्धताका लागि सुदूर पश्चिमाञ्चल बस व्यवसाय समितिले पौडेललाई काठमाण्डौं पठायो । तर त्यहाँ दर्ता गर्न अवरोध भयो । उनी भन्छन्, ‘महाकाली सेती बस व्यवसाय समिति छदैछ भनेर हामीलाई रोक्न निकै कोशिस गरे । हाम्रो समितिलाई मान्यता दिन महासंघका केन्द्रीय अध्यक्ष ईन्द्र बहादुर केसी सहमत भए । र, हामी केन्द्रमा जोडियौ ।’

त्यसपछि सुदूरपश्चिमाञ्चल बस व्यवसाय समितिले विभिन्न जिल्लाहरुमा सेवा थप्दै लग्यो । लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्री थिए । कल्पना बिष्ट यातायात मन्त्री । उनले उद्घाटन गरिन्, धनगढी–डोटी बस सेवा । यसैबीच धनगढी–टीकापुर, धनगढी–भजनी र धनगढी –डडेल्धुरा बस सेवा शुरु भयो ।

२०४९ सालमा धनगढीबाट काठमाण्डौं बस चल्न थाल्यो । सुदूरका सडकमा गुड्ने सृजनाका बसहरु त्यसपछि काठमाण्डौं रुटमा पनि गुड्न थाले । कर्णाली नदीमा पुल थिएन । नदीमा फेरी चल्थ्यो । फेरीले बस ताथ्र्यो । फेरी बिहान १० बजे खुल्थ्यो । साँझ ४ बजेपछि बन्द हुन्थ्यो । तिब्र गतिले बहने हावाका कारण नियन्त्रण गुमाउने भएका कारण बिहान र साँझ फेरी चल्थेन ।

मोहन बहादुर शाह जिल्ला विकास समितिका सभापति थिए । उनैले फेरी सञ्चालनमा ल्याएका थिए । २०५१ मा कर्णाली नदीमा पुल सञ्चालनमा आयो । त्यसपछि फेरी बन्द भयो । कर्णालीमा पुल नहुदा धनगढीका मीन बहादुर खत्रीको जुनेली ट्राभल्सले नेपालगञ्जबाट काठमाण्डौं रुटमा बस चलाएको थियो ।

महेन्द्रनगर बिहान ७ बजे हिडेको गाडी दिउँसो ३ बजे पुग्थ्यो । गन्तव्यमा पुग्दा यात्रु धुलोले नचिनिने हुन्थ्यो । धनगढी–टीकापुरको अवस्था पनि त्यो भन्दा फरक थिएन । ४२ सिटको गाडीमा सय जना हुन्थे ।

४० को दशकमा धनगढी–गोदावरीको बस भाडा ३ रुपैया थियो । नेपालगञ्जको ११० र महेन्द्रनगरको २७ रुपैया । धनगढी–टीकापुरको भाडा ४४ रुपैया थियो । धनगढी–काठमाण्डौं ३८४ पुगिन्थ्यो । धनगढीबाट काठमाण्डौं जाने सबै गाडी ‘प्याक’ हुन्थे ।

‘पहिले धनगढीबाट काठमाण्डौं १२/१३ घण्टामा पुग्थ्यौ’, भन्छन्, ‘बाटो बन्यो । बसको दूरी र समय बढ्यो । त्यही रुटको यात्रा तय गर्न २० घण्टाभन्दा बढि लाग्न थाल्यो ।’

अरुको गाडीको बाटो छेक्ने । अरुका गाडीका यात्रुहरु तान्ने । जहिल्यै लफडा । जहिल्यै झगडा । बस व्यवसायीहरुका यस्ता तमाम कमजोरी सुधार्नु पर्ने उनको सुझाव छ । यही कारण न सरकारको न समाजको, कसैको पनि बस व्यवसायीलाई हेर्ने दृष्टिकोण राम्रो भएन, भन्छन्, व्यवसायीले सर्वस्व लगाएको एउटा यही व्यवसाय होला जहाँ प्रतिष्ठा छैन । दुई चार जनाले बिगार्दा त्यसको असर सबैलाई प¥यो ।

‘लगानी जतिसुकै गरेपनि भाषा, व्यवहार र संस्कारले त्यो व्यवसायलाई मर्यादित बनाउछ ।’ उनी अनुभव सुनाउछन्, ‘आफ्नो जायजेथा र ज्यान जोखिममा राखेर गर्ने यही एउटा व्यवसाय हो, जो कहिल्यै मर्यादित भएन । र, सम्मानित पनि भएन ।’

बस व्यवसायी प्रति सरकारको हेर्ने सोच राम्रो छैन । व्यवहार राम्रो छैन । अझै संकटमै छन्, बस व्यवसायीहरु । उनले बस व्यवसायीको भविश्य राम्रो देखेका छैन ।

त्यो समय कटासे बजार गुल्जार थियो । मध्यपश्चिम र सुदूरपश्चिमका पहाडबाट झरेर हटारुहरु कटासे पुग्थे । र, त्यहाँबाट बस चढेर गड्डाचौकी । अनि त्यहाँबाट कोही काला पहाड । कोही दिल्ली जान्थे । उनीहरुको नाईके हुन्थ्यो । जसलाई माउडे भनिन्थ्यो । माउडेसंग सम्पर्क भए उसले सबै हटारु ल्याउथ्यो । र, कटासे आएका हटारुले एकछिनमै बस भरिन्थ्यो ।

शुरुवाती चरणमा राम्रो मुनाफा दिएपनि बससंख्या थपिदै गएपछि बस व्यवसाय संकटमा परेको उनको अनुभव छ । भन्छन्, पहिले गाडी कम थिए । जे गर्दा पनि हुने । पछि गाडी थपिए ‘क्यू’ नपाईने भयो । पहिले कुनै दिन बस ‘होल्ड’ हुदैनथ्यो । पछि महिनामा बढि पाँच ट्रिप पाईन थाल्यो । यहीबाट शुरु भयो, बस व्यवसायको अद्योगति ।

बसमा आफ्नो सम्पूर्ण जायजेथा लगानी गर्ने । तर आफू बसमा नहिड्ने । कर्मचारीको भरमा बस छोड्नेहरु कोही व्यवसायी जोगिएनन । जोगिनेहरु अपवादमा पर्छन । कर्मचारी मोटाए । मालिक दुब्लाए । यसले सन्देश दिन्छ, अरुको भरमा लगानी गर्नेहरु डुब्ने निश्चित छ । कुरा, ढिलो चाँडोको हो ।

जनसंख्यालाई पनि व्यवसायमा उतारचढाव ल्याउने कारक मान्छन्, उनी । भन्छन्, नारायणघाटबाट पूर्वी भागमा जनसंख्या धेरै छ । त्यहाँ बसको क्षमता अनुसार यात्रु पाईन्छन । र, बस व्यवसायी डुब्दैन ।  त्यहाँको रुटमा चल्ने गाडीले राम्रो कमाउछन् । सुदूर पश्चिममा यात्रु नहुदा तेल खर्च निस्किन मुस्किल हुन्छ । उनले अनुभव सुनाए, कहिलेकाही बस रित्तो हुन्थे । कहिले मुस्किलले पाँच छ जना यात्रु मिल्थे । त्यसरी पनि हामीले बस व्यवसाय जोगाएका थियौ ।

उनी सबै व्यवसायी बाँच्ने वातावरण हुनुपर्छ भन्ने सोच राख्थे । र, सबैको हीतका लागि काम गर्थे । उनले बस व्यवसायीहरुको हकहीत र बस व्यवसाय प्रबद्र्धनका लागि खोलिएको सुदूरपश्चिमाञ्चल बस व्यवसायी समितिको कोषाध्यक्ष बाहेक सबै पदमा रहेर काम गरे । उनी अध्यक्ष भईसकेका थिए । संकटमा परेको समिति बचाउन अध्यक्ष पछि महासचिव भए । टेकराज जोशी सचिव थिए । त्यसको केही कार्यकालपछि जोशी अध्यक्ष भए ।

बस व्यवसायसंगै सामाजिक सेवामा पनि उनी उत्तिकै सक्रिय रहे । नेपाल रेडक्रस सोसाईटीको २० वर्षसम्म उपसभापति रहे । १९९३ मा धनगढी जेसिजको अध्यक्ष भए । डा.चेतराज पन्त, नरेन्द्र प्रधानसंगै मिलेर उनले १९८३ मा जेसिज एभरेष्ट ईंगलिस स्कुल शुरु गरे । धनगढीमा ऐश्वर्य विद्या निकेतपछिको दोस्रो निजी विद्यालय थियो एभरेष्ट । जसको पहिलो प्रिन्सिपल थिईन्, उदया ओझा ।

एक बसबाट व्यवसाय थालेका उनीसंग ६० को दशकसम्म आईपुग्दा ११ बस थिए । पछि भाईहरुलाई बस बाडे । उनको भागमा तीन बस परे । ती बस पनि बेचिदिए ।

२०५८ सालमा भतिजा मित्रलाई सृजना फोटो स्टुडियो सुम्पिए । मित्र स्टुडियो बन्द गरेर २०६५ सालमा कपिलवस्तु सरे । २०६५ पछि उनी बस व्यवसायबाट पनि अलग भए । अढाई दशक लामो संघर्ष र त्यो संघर्षले दिएको पहिचान ‘कोडाक’ झै भयो । अहिलेको युवा पुस्तालाई सृजना ट्राभल्स र सृजना फोटो स्टुडियोको त्यो युगका बारेमा थाह छैन । त्यो युगका साक्षीहरु कोही अस्ताए । कोही पलायन भए ।

उनको बिडो दुई भतिजाले थामेका छन्, यतिबेला । भतिजा अविशेक पौडेलले धनगढीबाट काठमाण्डौं रुटमा सोफासेट सहितको सुबिधा युक्त बस हालेका छन् । ४० को दशकमा चार लाखमा नयाँ गाडी तयार हुन्थ्यो । अविशेषले एउटै गाडीमा एक करोड १३ लाख खर्चेका छन् । अर्को भतिजा असीम धनगढी–दिल्ली रुटमा गाडी चलाउछन् ।

भैरहवाबाट २४ वर्षको उमेरमा धनगढी आएका उनको जवानी यही बित्यो । क्यामेराबाट शुरु भएको व्यवसायीक जीवन बसमा पुगेर टुंगियो । उनको व्यवसाय सबैलाई गन्तव्यमा पु¥याउने थियो । जीवनभर अरुलाई गन्तव्यमा पु¥याएका उनी जीवनको उत्तराद्र्धमा गन्तव्य बिहीन भए । जो कहिल्यै चुपचाप बसेनन । कहिल्यै छोड्न नचाहेको त्यही धनगढी ५७ वर्षको उमेरमा उनले चुपचाप छोडे ।

उनी धनगढीमा २०३३ देखि २०४३ सम्म भाडामा बसे । २०४४ सालमा तारानगरमा घर बनाए । र, आप्mनो घरमा सरे । ६० को दशकमा धनगढीको घरजग्गा बेचेर काठमाण्डौं सरेका उनले त्यसपछि घर जोडेनन् ।

एक समय थियो, कोडाक र नोकियाको । समय बदलियो । तर कोडाक र नोकिया हठी निस्किए । बदलिन तयार भएनन । न त आफूलाई बदल्न तयार भए समयको बेगसंगै । त्यो समयले दुईटै ब्राण्डलाई ईतिहास बनाई दियो ।

यतिबेला गुमनाम जीवन बाँचिरहेका सृजना ट्राभल्सका पौडेललाई पनि नोकिया र कोडाकले झस्काईरहन्छ।त्यही कोडाकको रिलले शुरु गरेको व्यवसायबाट प्राप्त सफलताले उनलाई सुदूर पश्चिमकै सबैभन्दा ठूलो बस ट्राभल्सको मालिक बनाएको     थियो ।

बस व्यवसाय ओरालो लाग्दै थियो । तर उनले व्यवसाय फेर्ने सोचेनन । बससंगै शुरु भएको व्यवसाय बसमै टुंगियो, भन्छन्, अरु व्यवसायका बारेमा सोच्नै सकेन । समयमै अरु व्यवसायमा सिफ्ट भएको भए यस्तो अवस्था आउदैनथ्यो कि ? उनी एकछिन्, घोत्लिन्छन् । पछुताएर के फाईदा ? र, सोच्छन्, अव फर्केर सोच्ने समय छैन । जे भयो   भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस