सुदूरको तुफानी ‘बाघ’ले उपाधी उचाल्ने अपेक्षा

५ पुष २०८१ ४:२२
सुदूरको तुफानी ‘बाघ’ले उपाधी उचाल्ने अपेक्षा

काठमाण्डौं, ५ पुस ।
‘सुदूरको शान, मैदानमा तुफान’ र ‘बाघ’ नेपाल प्रिमियर लिग (एनपीएल) मा सबैभन्दा बढि सुनिएका शब्दहरु हुन् । सुदूरको शानका रुपमा चर्चा गरिएको टीम सुदूर पश्चिम रोयल्सका बाघको उपमा पाएका खेलाडी हुन्, दिपेन्द्र ऐरी ।

एनपीएलमा प्रतिस्पर्धा गरिरहेका अधिकांश टीममा सुदूरका खेलाडी नभएका होईनन । ती टीमको जितमा सुदूरका खेलाडीहरु निर्णायक भईरहदा कीर्तिपुरको मैदानमा मंसिर १५ देखि जारी एनपिएलमा आफ्ना प्रतिस्पर्धी टिमलाई मैदानमा पानी पिलाउने सुदूर पश्चिम रोयल्सका कप्तान दिपेन्द्र ऐरी नै हुन्, जसको जन्मथलो सुदूरपश्चिम हो ।

हुन् पनि खेल मैदानमा उत्रिएपछि सुदूर पश्चिम रोयल्सले हरेक खेलमा तुफान ल्याएको छ । त्यो तुफानले हुत्याएर कति टीमलाई मैदान बाहिर पु¥याई दिएको छ । जो फेरि मैदानमा उभिईरहने अवस्थामा रहेनन । तुफान ल्याउनुमा दिपेन्द्र ऐरी अर्थात ‘बाघ’ को स्फूर्ती, कौशल र उत्कृष्ट प्रदर्शनको योगदान नकार्न मिल्दैन ।

कतिपय खेलमा हारको सन्निकट भएर अप्रत्याशित जित निकालेर समर्थकलाई अपार खुशी दिएको सुदूर पश्चिमले प्रतिद्धन्द्धी टीमका समर्थकहरुलाई निराश बनाउदै आएको छ । कतिपय खेलमा यति फराकिलो जित हात पारेको छ कि प्रतिद्धन्द्धीको फेरि प्रतिस्पर्धामा आउनै नसक्ने गरी मनोबल खस्काएको छ ।

तीन खेलमा अविजित रहेको सुदूर पश्चिम रोयल्स चौथो खेलमा चितवन राईनोजसंग पराजित भएपछि राईनोजका समर्थकहरुले ‘गैडासंग बाघ’ पराजित भएको भन्न भ्याए । हुन पनि शुरुवातदेखि उत्कृष्ट फर्ममा रहेको सुदूर पश्चिमका लागि चितवनसंगको त्यो हार अप्रत्याशित थियो ।

चौथो खेलमा लय गुमाउदा बेहोरेको हारको पीडाबाट निस्किन सुदूरपश्चिम पाँचौ खेल जित्नै पर्ने दवावमा थियो । उत्कृष्ट लयमा फर्किर्दै पाँचौ खेलमा जित दिलाएर सुदूर पश्चिम रोयल्सले आफ्ना समर्थकहरुलाई भरोसा दिलायो, र भन्यो, एउटा खेलको हारले हामीलाई बिचलित बनाउदैन । पूर्ण मनोबलका साथ मैदानमा उत्रिएको सुदूर पश्चिम रोयल्सले पाँचौ खेलमा समर्थकहरुलाई निराश हुन दिएन ।

सुदूरपश्चिमसंग यसअघि लिग र क्वालिफायरका दुई खेल खेलेको जनकपुरसंग ती दुबै खेलको नमिठो अनुभव छ । उसले दुबै खेलमा सुदूरपश्चिमसंग लज्जास्पद हार व्यहोरेको थियो ।

सुदूर पश्चिम रोयल्ससंग लिग चरणमा ५१ रनमा समेटिएको जनकपुरले बुधबार क्वालिफायरको पहिलो खेलमा १३९ रनको स्कोर खडा गरेको थियो, जसलाई सुदूरले पूरा गर्दै फाइनलमा सोझै स्थान बनायो ।

एनपिएलमा सुदूरपश्चिम ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा बलियो देखिएको छ । र, उसले अहिलेसम्मका खेलहरुमा एकाँध गल्ती गरे पनि हरेक गल्तीलाई सुधार गर्दै उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

जितमा नमात्तिएको सुदूर पश्चिम हारमा हताश भएन । जितपछि पनि ज्यानमा स्फूर्ति ल्याउन नसकेको जनकपुरले न जीतको रणनीतिलाई कायम राखिरहन सक्यो, न त हारबाट नयाँ रणनीति बनाउन सिक्यो ।

कतिपय खेलमा संयोगले, कतिपय खेलमा प्रतिस्पर्धी टीमको कमजोर प्रदर्शनले जनकपुरलाई हारका बाबजुद पनि अघि बढाउन मद्दत गरिरह्यो । एनपिएलको शुरुवातदेखि नै उत्कृष्ट लयमा देखिएको सुदूरपश्चिममाथि बिजय हात पार्न असम्भव हुने यसअघिका जनकपुरका खेलहरुको प्रदर्शनको स्मरणबाट अनुमान गर्न गाह्रो हुदैन । सुदूरलाई टक्कर दिन पनि जनकपुरले निकै मिहिनेत गर्नुपर्ने देखिन्छ ।

हारेर पटक पटक उठेको जनकपुर र प्रत्येक खेलमा पिटेर हावी भएको सुदूरपश्चिमबीचको अन्तिम खेलको व्यग्र प्रतिक्षामा छन्, दुबै टीमका समर्थकहरु । यो अन्तिम खेलमा दुबै टीमका समर्थकहरु थपिनेछन् । र, घर गईसकेका टोलीका समर्थकहरु यी दुई टीममा बाडिनेछन् ।

सुदूर पश्चिम रोयल्सका कप्तान दिपेन्द्र ऐरी र जनकपुरका कप्तान आसिफ शेखबीच शनिवार कीर्तिपुर मैदानमा फेरि भेट हुदैछ । सुदूरको बाघले जनकपुरका शेखलाई एनपीएलको उपाधीका लागि हुने अन्तिम खेलमा तेस्रो पटक स्तब्ध गर्ने समर्थकहरुको आशा छ । त्यसपछि फेरि भिड्न आउने छैन सुदूरपश्चिमसंग जनकपुर ।

यद्दपि सुदूरको तुफानले हुत्याएर दुई पटक किनार पुगेर मैदानको मध्यभागमा फर्किएको जनकपुरसंग अन्तिम आशा भने जीवितै छ ।

भिन्न संस्कृति, भिन्न भाषा भएका देशका दुई भूगोलका यी टिममध्ये उपाधी जसले जितेपनि त्यहाँ सुदूरको देउडा, छलिया र जनकपुरको जोगिरा र झिझीयाले उत्सव मनाउने छन् । यही त हाम्रो सुन्दरता ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस