गैर आवासीय नेपालीका समस्या प्रति सरकार गम्भीर छ– परराष्ट्र मन्त्री राणा

जर्मनी,३० मंसिर ।
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले गैर आवासीय नेपालीका समस्या प्रति सरकार गम्भीर रहेको बताएकी छन् ।
आईतवार जर्मनीको बोन शहरमा जन सम्पर्क समितिका पदाधिकारीहरु र गैर आवासीय नेपालीहरुसंगको भेटमा परराष्ट्र मन्त्री डा. राणाले गैर आवासीय नेपालीहरुले भोगिरहेका समस्याहरुलाई गम्भीरतापूर्वक लिएको बताएकी हुन् ।
परराष्ट्र मन्त्री राणाले डेनमार्कमा बढ्दो गैर आवासीय नेपालीहरुको संख्यालाई मध्यनजर गर्दै कोपनहेगनस्थित नेपाली राजदूतावासका सेवा सुबिधालाई थप प्रभावकारी बनाउने बताईन् ।
परराष्ट्र मन्त्री डा. राणाले युरोपका नर्डिक र बाल्टिक देशहरुमा समेत सेवा प्रदान गर्दै आएको कोपनहेनगस्थित दूतावासलाई थप प्रभावकारी बनाई त्यस क्षेत्रका देशमा रहेका गैर आवासीय नेपालीहरुलाई सहज हुने गरी सेवा प्रवाह गर्न राजदूतलाई निर्देशन दिने बताइन् ।
उनले डेनमार्कस्थित नेपाली राजदूतावास नसारिने समेत भेटघाटका क्रममा प्रष्ट पारिन ।
डेनमार्कमा नवआगन्तुक विद्यार्थीहरुले भोग्नु परेका समस्याहरुलाई गम्भीरतापूर्वक सुनेकी परराष्ट्र मन्त्री राणाले शिक्षा मन्त्रालय र गृह मन्त्रालयसंग समन्वय गरेर विद्यार्थीहरुका समस्या समाधान गर्ने प्रतिबद्धता गरिन ।
भेटमा नेपाली जन सम्पर्क समिति डेनमार्कका सभापति यादव बस्नेत, पूर्व सभापति बिरेन्द्र कार्की, पूर्व अध्यक्ष नविन आचार्य, बरिष्ठ उपाध्यक्ष गोविन्द पौडेल, नेपाली डायस्पोराका अगुवा तेजेन्द्र बहादुर कार्की लगायतले गैर आवासीय नेपालीहरुले भोग्दै आएका समस्याका बारेमा परराष्ट्र मन्त्री राणाको ध्यानाकर्षण गरे ।
भेटघाटका क्रममा गैर आवासीय नेपालीहरुका तर्फबाट गैर आवासीय नागरिकता प्राप्त गर्ने प्रकृया झञ्झटिलो भएकोले त्यसलाई सहज गर्न, दोहोरा नागरिकता प्रदान गर्न, डेनमार्कको कोपनहेगनस्थित नेपाली राजदूतावास स्थायी रुपमा राख्न र डेनमार्कमा नवआगन्तुक नेपाली विद्यार्थीहरुले भोगिरहेका समस्या समाधानका लागि पहल गर्न मन्त्री राणासंग आग्रह गरिएको थियो ।
गैर आवासीय नेपालीहरु र उनीहरुका सन्तानलाई नेपालको समृद्धिसंग जोड्न ढिलाई नगर्न समेत गैर आवासीय नेपालीहरुले मन्त्री राणासंग आग्रह गरे ।