एनपिएल : पोखरालाई हराउँदै सुदूरपश्चिम शीर्षस्थानमा

द एभरेष्ट पोष्ट
३० मंसिर २०८१ १०:४७
एनपिएल : पोखरालाई हराउँदै सुदूरपश्चिम शीर्षस्थानमा

काठमाण्डौं, ३० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स शीर्षस्थानमा उक्लिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको दोस्रो खेलमा सुदूरपश्चिमले पोखरालाई पाँच रनले पराजित गरेको हो। सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा पोखराले १९.४ ओभरमा सबै विकेट गुमाएर १४८ रन मात्रै बनाउन सक्यो।

पोखराका लागि एन्ड्रिज गउसले ३६, रेयमन रेफरले ३३, किरण ठगुन्नाले ३२, दिनेश खरेलले १५ र जेन मलिकले १० रन बनाए। सुदूरपश्चिमका लागि स्कट कगेलजिनले पाँच विकेट लिए। उनले ३.४ ओभरमा एक मेडियन राखेर १८ रन मात्रै खर्चिए। त्यस्तै, हरमित सिंहले तीन र सैफ जैबले एक विकेट लिए।

यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा १५३ रन बनाएको थियो। सुदूरपश्चिमका लागि आरिफ शेखले ४२, ब्रान्डन म्याकमुलनले २३, दीपेन्द्रसिंह ऐरीले २०, विनोद भण्डारीले १४, हरमित सिंहले १३ र इशान पाण्डेले १० रन बनाए।

पोखराका लागि कुशल भुर्तेलले दुई, रेयमन रेफर, सागर ढकाल र मिचेल लिकले एक–एक विकेट लिए।

यो जितसँगै सुदूरपश्चिम ‘प्लेअफ’मा पुगेको छ। सुदूरपश्चिमले ६ खेलमा पाँच जितसहित १० अंक जोडेको छ। त्यस्तै, १० अंक रहेको जनकपुर बोल्टस् र आठ अंक रहेको चितवन राइनोज पनि ‘प्लेअफ’मा पुगिसकेका छन्।

पोखराको भने यसअघि नै ‘प्लेअफ’ यात्रा समाप्त भइसकेको थियो। पोखरासँगै विराटनगर किंग्स र लुम्बिनी लायन्स पनि बाहिरिसकेका छन्।

‘प्लेअफ’को चौथो टोलीका लागि कर्णाली याक्स र काठमाडौं गुर्खाज प्रतिस्पर्धा छन्। सोमबार हुने कर्णाली र सुदूरपश्चिमको खेलले ‘प्लेअफ’को चौथो टोली तय हुनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस