कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएलमा) को पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२४ रनको लक्ष्य दिएको छ ।
टस जितेर फिल्डिङ रोजेको जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १२३ रनमा सिमित गरेको हो । सुदूर पश्चिम रोयल्सले निर्धारित २० ओभर खेल्दै ९ विकेट गुमाएर १२३ रन बनाएको हो ।
यसअघिका चार खेलमध्ये तीन खेलमा उत्कृष्ट प्रदर्शन गरेको सुदूर पश्चिम रोयल्सका खेलाडीहरुको प्रदर्शन बुधवार कमजोर रह्यो । सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए । यसैगरी सैफ जैबले २१, इशान पाण्डेले १७ र ब्राण्डन म्याकमुलेनले ११ रन बनाए । अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
एनपीएलमा डेब्यु गर्दै वान डाउनमा ब्याटिङ गरेका हर्मित सिंह १ रनमा आउट भए । कप्तान दीपेन्द्र सिंह ऐरीले खाता खोल्न सकेनन् । आरिफ शेख ६, स्कट कुगेलेइन ७, नरेन साउद ३ रनमा आउट भए । नरेश बुढाएर ९ रनमा अविजित रहे ।
५५ रनमा पहिलो विकेट गुमाएको सुदूरपश्चिमको इनिङ्स त्यसपछि धर्मराएको थियो । सुदूरपश्चिमका सैफ जैब र विनोद भण्डारीले पहिलो विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए । हर्श थाकरले आठौं ओभरमा यो साझेदारी तोडेपछि सुदूले नियमित अन्तरालमा विकेट गुमाउन थाल्यो । त्यसपछि कुनै पनि विकेटका लागि राम्रो साझेदारी बन्न सकेन ।
जनकपुरका लागि किशोर महतोले ४ ओभरमा ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । शेर मल्लले ४ ओभरमा १९ तथा अरनिको यादवले ३ ओभरमा १६ रन खर्चेर २-२ विकेट लिए ।
आठ अंकसहित शीर्ष स्थानमा रहेको जनकपुर लगातार पाँचौँ जितको खोजीमा छ । जनकपुरले पहिलो खेलमा विराटनगर र दोस्रो खेलमा कर्णाली याक्सलाई समान आठ विकेट, पोखरालाई सात विकेट तथा लुम्बिनीलाई एक रनले हराएको थियो । एक खेल हारेको सुदूरपश्चिम जनकपुरलाई हराउँदै अंक बराबरी गर्ने लक्ष्यमा छ । अन्तिम खेलमा चितवनसँग ३३ रनले हारेको सुदूरपश्चिमले विराटनगरलाई ९० रन, काठमाडौंलाई ७३ रन र लुम्बिनीलाई ४५ रनले हराएको हो ।