एनपिएल : चितवन राइनोजलाई ३३ रनले हराउदै लुम्बिनीको पहिलो जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा लुम्बिनी लायन्सले पहिलो जित हासिल गरेको छ । त्रिवि क्रिकेट मैदानमा भइरहेको लिगको आफ्नो पाँचौँ खेलमा आएर लुम्बिनीले पहिलो जित हासिल गर्दै प्लेअफ सम्भावना जीवितै राखेको हो ।
मंगलबार भएको १६ औँ खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ३३ रनले पराजित गरेको हो ।
चितवनले १६८ रनको चुनौती पछ्याउने क्रममा ८ विकेटको क्षतिमा १३४ रनमात्र बनाउन सक्यो ।
लुक बेन्केन्स्टेनले ३१, नर सार्कीले १२ बलमा अविजित रहँदै २२ तथा कप्तान कुशल मल्लले २० रन जोडे ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले १७ रन खर्चेर ४ विकेट लिए । त्यस्तै रामोन साइमन्डस्ले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले कप्तान रोहित पौडेललको कप्तानी इनिङ्समा ६ विकेटको क्षतिमा १६७ रन बनायो ।
अलराउन्डर रोहितले ५७ बलमा ८० रन बनाए । रोहितसँग मिलेर पाँचौँ विकेटका लागि ११४ रनको साझेदारी गर्ने क्रममा साद बिन जाफरले रनआउट हुनुपूर्व ३५ बलमा ५२ रन जोडे । चितवनका रिजन ढकालले ३ विकेट लिए ।
लगातार चार हारसहित सबैभन्दा कमजोर मानिएको लुम्बिनी पहिलो जितसहित पुछारबाट पाँचौ स्थानमा पुगेको छ ।
चितवन भने पराजित हुँदा ५ खेलबाट ६ अंकसहित तेस्रो स्थानमा छ ।
दुई अंकका पोखरा एभेन्जर्स, काठमाडौँ गुर्खाज र विराटनगर किंग्सलाई लुम्बिनीले उछिनेको छ ।
आजको दोस्रो खेलमा दिउँसो १ बजे कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दै छन् ।
यसअघिका खेल
–१५ औँ खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजसँग ३३ रनले पराजित भएको छ ।
–१४ औँ खेलमा जनकपुर बोल्ट्सले सनसनीपूर्ण जित हासिल गरेको छ । जनकपुरले लुम्बिनी लायन्समाथि एक रनको सनसनीपूर्ण जित हासिल गरेको हो ।
–१३ औँ खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ ।
–१२ औँ खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको छ ।
–११ औँ खेलमा पोखरा एभेन्जर्सले कीर्तिमानी जित हासिल गरेको छ । पोखराले लुम्बिनी लायन्समाथि १० विकेटको कीर्तिमानी जित हासिल गरेको हो । एन्द्रेस गोसले ५५ बलमा १०४ रन बनाए । यो पहिलो शतक हो ।
–दशौँ खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले हरायो ।
– नवौँ खेलमा काठमाडौँ गुर्खाजमाथि ७३ रनको जित हासिल गर्दै सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हासिल गर्यो ।
– आठौँ खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो ।
–सातौँ खेलमा विराटनगर किंग्सले लुम्बिनी लाइन्समाथि २ विकेटको रोमाञ्चक जित हासिल गर्दै पहिलो जित हासिल गरेको छ । लुम्बिनीबाट पाएको १९२ रनको फराकिलो चुनौती विराटनगरले १९.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो ।
– छैटौँ खेलमा काठमाडौँ गुर्खाज विजयी भएको छ । काठमाडौँले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो ।
– पाँचौ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई हराएको छ । पोखरा ८८ रनले पराजित भएको हो ।
– चौथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हरायो । सुदूरले ७ विकेटको क्षतिमा १८२ रन बनाएकामा विराटनगर ९२ रनमा समेटियो ।
– तेस्रो खेलमा जनकपुर बोल्टसले कर्णाली याक्समाथि ८ विकेटको जित हासिल गरेको हो ।
–दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । विजयी शुरुआत गर्ने क्रममा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो ।
–उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो ।
पहिलो पटक आयोजित एनपीएलमा आठ टिम रहेका छन् ।