एनपीएलमा जनकपुर बोल्ट्स अंक तालिकामा शीर्ष स्थानमा

काठमाडौँ, २५ मंसिर ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा अन्तर्गत आइतबारसम्म सम्पन्न १५ खेलमध्ये आफ्ना सबै खेलमा बिजयी हुदै जनकपुर बोल्ट्स अंक तालिकामा शीर्ष स्थानमा रहेको छ । चार खेलमा अपराजित रहेको जनकपुर बोल्ट्स आठ अङ्क जोड्दै शीर्ष स्थानमा रहेको हो ।
मङ्सिर १५ गतेदेखि सुरु भएको एनपीएलको उद्घाटन खेलमा जनकपुर बोल्टसले उद्घाटन खेलमा विराटनगर किङ्ग्सलाई आठ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा कर्णाली याक्सलाई आठ विकेटले नै हराएको थियो । तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको जनकपुरले चौथो खेलमा लुम्बिनी लायन्सलाई एक रनले पराजित गरेको थियो ।
एनपीएलमा चार खेल खेलेको सुदूरपश्चिम रोयल्स छ अंक सहित दोस्रो स्थानमा छ । तीन खेलमा जीत हात पारेको सुदूर पश्चिमले चौथौ खेलमा चितवन राईनोजसंग हार व्यहोरेको थियो । सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा विराटनगरलाई ९० रनले, दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले तथा तेस्रो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको थियो । चौथो खेलमा भने सुदूरपश्चिम रोयल्स चितवन राइनोजसँग ३३ रनले हारेको थियो ।
तीनमा जित र एउटामा हार बेहोरेको चितवन राइनोजको ६ अङ्क सहित तेस्रो स्थानमा छ । चितवन राइनोजले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो । तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो ।
चार अङ्क सहित अंक तालिकामा चौथो स्थानमा रहेको कर्णाली याक्सले चार खेलमा दुईमा जित र दुईमा हार ब्यहोरेको थियो । पहिलो खेलमा जनकपुरसँग आठ विकेटले पराजित कर्णालीले दोस्रो खेलमा काठमाडौँ गुर्खाजसँग तीन विकेटले हार ब्यहोरेको थियो । त्यसपछिका दुई खेलमा भने कर्णालीले लगातार जित निकालिको थियो । कर्णालीले तेस्रो खेलमा चितवनलाई ६ विकेटले तथा चौथो खेलमा विराटनगरलाई सात रनले हराएको थियो ।
तीन खेल खेलेको पोखरा एभेन्जर्स दुई अङ्कसहित पाँचौँ स्थानमा रहेको छ । एक खेलमा जित हात पारेको पोखराले दुई खेलमा हार ब्यहोरेको छ । पोखरा पहिलो खेलमा चितवनसँग ८७ रनले र दोस्रो खेलमा जनकपुरसँग सात विकेटले पराजित भएको थियो । तेस्रो खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो ।
तीन खेलमध्ये दुईमा पराजित भएको काठमाडौँ गुर्खाज दुई अङ्कसहित छैटौँ स्थानमा छ । पहिलो खेलमा चितवनसँग पाँच विकेटले हारेको काठमाडौँले दोस्रो खेलमा भने कर्णालीलाई तीन विकेटले हराएको थियो । तेस्रो खेलमा भने काठमाडौँले सुदूरपश्चिमसँग ७२ रनले हार ब्यहोरेको थियो ।
दुई अङ्कका साथ सातौँ स्थानमा विराटनगर किङ्ग्सले अहिलेसम्म तीन खेलमा हार तथा एउटामा मात्र जित निकालेको छ । पहिलो खेलमा विराटनगर जनकपुरसँग आठ विकेटले हारेको थियो । दोस्रो खेलमा सुदूरपश्चिमसँग ९० रनले हारेको विराटनगरले तेस्रो खेलमा भने लुम्बिनीलाई दुई विकेटले पराजित गरेको थियो । चौथो खेलमा विराटनगर कर्णालीसँग सात रनले हारेको थियो ।
अङ्क तालिकाको पुछारमा रहेको लुम्बिनी लायन्स चारवटै खेलमा हार बेहोरेको छ । लुम्बिनी लायन्स पहिलो खेलमा विराटनगरसँग दुई विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले, तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले तथा चौथो खेलमा जनकपुरसँग एक रनले पराजित भएको थियो ।