ईजरायल प्रवेशका लागि अन्डोफमा कार्यरत तीन नेपाली सहित १८५ जना गोलान पुगे, गोलाबारी जारी

काठमाण्डौं, २३ मंसिर ।
रक्तपात बिना विद्रोहीहरुले सिरियाको राजधानी दमस्कस कब्जा गरेपछि शहरमा शुरु भएको लुटपाट र गोलीबारी पछि त्यहाँ कार्यरत नेपालीहरुले राजधानी छोडेका छन् ।
दमस्कस छोडेर झण्डै ६० किमी टाढा गोलान पुगेका युनाईटेड नेशन्स डिसईन्गेजमेण्ट अब्जर्भर फोर्स(अन्डोफ) मा कार्यरत नेपाली सहितका कर्मचारीहरु रहेको क्षेत्रमा यतिबेला गोलीबारी भईरहेको छ ।
नेपाली समय अनुसार रातिको ११ बजे गोलानमा रहेका युनाईटेड नेशन्स डिसईन्गेजमेण्ट अब्जर्भर फोर्स(अन्डोफ) मा उच्च तहमा कार्यरत एक नेपालीले द एभरेष्ट पोष्टलाई उनी सहित युनाईटेड नेशन्स डिसईन्गेजमेण्ट अब्जर्भर फोर्स(अन्डोफ) का कर्मचारीहरु रहेको ठाउँमा गोलीबारी भईरहेको बताए ।
बाहिर गोलीबारी भईरहेको छ, हामी सुरक्षाका लागि बंकरभित्र पसिरहेका छौ, उनले भने, शहरमा लुटपाट भईरहेको छ । एचटीएएस ससाना राष्ट्रपति बसर अल असदलाई सत्ताच्यूत गरेर राजधानी कब्जामा लिएपनि अन्य भूभागमा भने ससाना बिद्रोही समूहले बिभिन्न क्षेत्रमा आफ्नो नियन्त्रण कायम गरेका छन् ।
युनाईटेड नेशन्स डिसईन्गेजमेण्ट अब्जर्भर फोर्स(अन्डोफ) मा बिभिन्न देशका एक हजार दुई सय सैनिक कार्यरत छन् । जसमध्ये ४०० को हाराहारीमा नेपाली सेना कार्यरत छन् ।
ईन्डोफमा झण्डै दुई सय जना गैर सैनिक कार्यरत छन् । जसमध्ये ८५ अन्तर्राष्ट्रिय र सय जना सिरियन र ईजरायली कर्मचारी कार्यरत छन् । ईन्डोफमा तीन जना नेपाली कार्यरत छन् । ईन्डोफ ईजरायल र सिरियामा कार्यरत मिसन हो ।
हयात तहरिर अल–शाम (एचटीएएस)का बिद्रोहीहरु दमस्कस प्रवेश गर्न थालेपछि राजधानी नजिकैको होटलमा बस्दै आएका ईन्डोफका कर्मचारीहरु होटलमा लुटपाट र आक्रमण शुरु गरेपछि हिजो त्यहाँबाट गोलान पुगेका हुन् ।
गोलानबाट सुरक्षाका लागि ईजरायल प्रवेश गर्न खोजेका उनीहरुलाई इजरायल रक्षा बल (आईडिएफ) ले तत्काल ईजरायल प्रवेशमा रोक लगाएको छ । आईडिएफले ईजरायलसंग जोडिएको सिरियन भूभाग कब्जामा लिएको छ । र, त्यही भूभाग भएर ईन्डोफका कर्मचारीहरु ईजरायली भूभागमा प्रवेश गर्न खोजिरहेका थिए ।