‘पुष्पा २’ : तीन दिनमा २ सय करोड कमाउने पहिलो भारतीय फिल्म

द एभरेष्ट पोष्ट
२३ मंसिर २०८१ १४:०३
‘पुष्पा २’ : तीन दिनमा २ सय करोड कमाउने पहिलो भारतीय फिल्म

काठमाडौं– बिहीबारबाट प्रदर्शनमा आएको साउथ फिल्म ‘पुष्पा २’मा एउटा संवाद छ, ‘फायर होइन, वाईल्ड फायर’।

यो संवादको अर्थजस्तै भारतीय बक्स अफिसमा पनि फिल्म ‘वाईल्ड फायर’ बनेको छ। ‘रेकर्ड ब्रेक’ ओपनिङ गरेको फिल्म शुक्रबार र शनिबार पनि कमाइमा बुलन्द देखियो। फिल्मले तीन दिनमा हिन्दी भर्सनमा मात्र २०५ करोड नेट कमाएको छ।

७२ करोडको कीर्तिमानी ओपनिङ हासिल गरेको फिल्मले शुक्रबार ५९ करोड र शनिबार ७४ करोड जोडेको ट्रेड एनालिस्ट तरण आदर्शले जनाएका छन्। योसँगै ‘पुष्पा २’ तीन दिनमा सर्वाधिक कमाइ गर्ने र दुई अलग दिनमा ७० करोडमाथि व्यापार गर्ने पहिलो भारतीय फिल्म बनेको छ। यसलाई तरणले नयाँ बेन्चमार्क भनेका छन्। र, फिल्मको व्यापारलाई सुनामीको संज्ञा दिएका छ

यसअघि सर्वाधिक ठूलो ओपनिङ र तीन दिनमा सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको कीर्तिमान अभिनेता शाहरुख खान अभिनीत फिल्म ‘जवान’को नाममा थियो। यसले ६५ करोड ५० लाखको ओपनिङ गरेको थियो भने तीन दिनमा १ सय ८० करोड छापेको थियो। अब ‘जवान’को नाममा रहेको दुईवटै रेकर्ड तोडिएको छ। ‘पुष्पा २’को व्यापारिक गति हेर्दा यसले सर्वाधिक कमाउने भारतीय फिल्मको कीर्तिमान समेत बनाउन सक्ने देखिन्छ।

ट्रेड पोर्टल स्याकेनिल्कका अनुसार तीन दिनमा फिल्मले विश्वभरबाट ५८८ करोड नेट कमाएको छ। विदेशमा मात्र तीन दिनमा फिल्मको कमाइ १२५ करोड छ भने हिन्दीसहित अन्य भाषामा फिल्मले तीन दिनमा भारतभरि ३८७ करोडमाथिको नेट व्यापार गरेको छ। फिल्मले भारतमा ७ सय करोड नघाउन सक्ने प्रक्षेपण गरिएको छ भने विश्वव्यापी १५ सय करोड पुग्ने अनुमान छ।

सुकुमारले लेखन तथा निर्देशनमा तयार भएको ‘पुष्पा २’मा अल्लू अर्जुन, रश्मिका मन्दाना, फहद फासिल, सुनिल वर्मा लगायतको अभिनय छ। रक्तचन्दन काठको तस्करीमा ठूलो साम्राज्य खडा गरेको पुष्पराज पात्रको वरिपरि फिल्मको कथा केन्द्रित छ। ५ सय करोड भारुमा बनेको फिल्मले प्रदर्शन अगावै विभिन्न राइट्सबाट लगानी सुरक्षित गरिसकेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस