सैन्य क्याम्पमा चार रात

कैलालीको तत्कालीन पण्डौनगाविस–३ खिमडीमा २०६० साल मंसिर १६ गते माओवादी विद्रोहीसँग भीषण युद्धपछि सेनाले त्यो भूगोलको रणनैतिक र सामरिक महत्व बुझिसकेको थियो । आफू त्यहाँबाट हटेपछि माओवादीले त्यहाँ गतिविधि पूर्ववत् सञ्चालन गर्ने सेनाको स्पष्ट बुझाइ थियो ।
युद्धपछि सेनाको उपस्थिति त त्यहाँ थियो नै तर सेनासँग जनता थिएनन् । जनतासँग नजिक हुन र सेवा मार्फत जनताको मन जित्न सेनाले खिमडीमा लडाइँ भएको दोस्रो साता घुम्ती सरकार सञ्चालन गर्ने भयो ।
कैलालीको तेघरीस्थित बरख गणले घुम्ती सरकारको संयोजन गरेको थियो । बरख गणका गणपति थिए, महासेनानी रामशरण कार्की । कार्की घुम्ती सरकारको रिपोर्टिङ मिडियामा आओस् भन्ने चाहन्थे । उनले रिपोर्टिबका लागि जाने हो भनेर सोधे। हाम्रा लागि त्यो एउटा अवसर थियो। र, हामी युद्ध व्यहोरेको खिमडीको अवस्था र घुम्ती सरकारको रिपोर्टिबका लागि नेपाली सेनाको हेलिकोप्टर चढेर तेघरीबाट खिमडी पुग्यौं ।
एक रात खिमडी बस्ने । दोस्रो दिन घुम्ती सरकार मार्फत नेपाली सेना र सरकारी अड्डाहरूले प्रदान गरेका सेवाका बारेमा जानकारी लिएपछि धनगढी फर्किने। हामीलाई यही कुरा भनिएको थियो । तर दोस्रो दिन हामीलाई फिर्ता लैजान हेलिकोप्टर नै आएन । नेपालगञ्जमा राजा ज्ञानेन्द्रको अभिनन्दन समारोह आयोजना हुँदै थियो । त्यस कारण नेपाली सेनाको हेलिकोप्टर त्यतै व्यस्त भयो ।
हुन त, युद्धले त्यो भूगोल अनि जनतामा पारेको असर र घुम्ती सरकारबाट लाभान्वित जनताको मनोविज्ञानको रिपोर्टिङ गर्न एक दिन पर्याप्त थिएन । तर सेनाले त्यहाँ डेरा जमाएर बसेको सह्य नभएको माओवादीले जुनसुकै बेला आक्रमण गर्ने जोखिम उत्तिकै थियो । हामी त्यस कारण थप दिन त्यहाँ बस्ने मूडमा थिएनौं ।
वारि कैलाली, पारि डोटी । उत्तरमा ठूलीगाड । त्यही गाडले छुट्याएको सिमाना । पूर्वमा सुर्खेत । सुर्खेतलाई सीमामा पारेर बगिरहेको कर्णाली । ठूलीगाड र कर्णाली नदीको दोभान । दुवै नदीको छेउमा समथर भागमा फैलिएको सुन्दर बस्ती खिमडी । सुसेलिंदै कर्णाली । त्यही छेउमा शान्त खिमडी । जसले भर्खरै भयानक युद्ध व्यहोरेको छ ।
सेना र माओवादी दुवैको छायाँबाट तर्सिने सर्वसाधारण । दुवै पक्ष कतिबेला कुन बहानामा कसलाई लगेर जान्छन् । र, त्यो व्यक्ति मृत अवस्थामा भेटिन्छ, ठेगान थिएन । माओवादीलाई आश्रय दिएको निहुँमा सेनाले सर्वसाधारणलाई दुःख दिन्थ्यो । सेनालाई सुराकी गरेको आरोपमा माओवादीले सर्वसाधारणको सफाया गथ्र्यो । मान्छेसँग मान्छे डराउने समय थियो त्यो । को कतिबेला के बनेर आउँछ, भरोसा थिएन । कहिले सेना ठानेको समूह माओवादी भएर निस्किन्थ्यो । कहिले माओवादी ठानेको समूह सेना भएर निस्किन्थ्यो । झुक्किएर लालसलाम अभिवादन गरेकै कारण कति सर्वसाधारण त्यो अवधिमा सेनाबाट मारिए ।
युद्ध मैदान बनेको भृकुटी माविमा शिक्षक र विद्यार्थीहरू जान डराउँथे । मेलापात र गाईगोरु चराउन जंगल जाने अवस्था थिएन । किनकि त्यही जंगल थियो, जहाँ कहिले सेनाको बास हुन्थ्यो, कहिले माओवादी लडाकुको । युद्धको कुरुप छाप परेको थियो, खिमडीमा । बाँच्नुभन्दा दिन काट्नु उनीहरूको जीवनको उपलब्धि थियो । किनकि त्यो समयले खुशी लिएर आउने आशभन्दा मृत्यु लिएर आउने त्रास बढी थियो ।
कर्णाली नदी र ठूलीगाडको किनारमा घुम्ती सरकार सञ्चालनमा थियो । सरकारी टोलीले दिनभरि कर्णाली र ठूलीगाडको किनारमा घुम्ती सरकार मार्फत स्थानीय बासिन्दालाई सदरमुकाममा सरकारी कार्यालयहरुले प्रवाह गर्ने सेवा दिन्थ्यो। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीको नेतृत्वमा सरकारी कर्मचारीहरूको टोली त्यहाँ परिचालन गरिएको थियो । जिल्ला प्रशासन कार्यालयको टोलीले स्थानीयलाई नागरिकता बाँड्थ्यो । पशु सेवा, कृषि, महिला विकास लगायत कार्यालयले आफ्नो विषयगत सेवा दिन्थे ।
लामो समयदेखि पण्डौनमा राज्यको उपस्थिति थिएन । त्यस कारण त्यो क्षेत्र माओवादी विद्रोहीका लागि सुरक्षित आश्रयस्थल थियो। त्यहीं माओवादीको तालिम केन्द्र थियो । बन्दोबस्ती, हतियार र औषधि, खाद्यान्न लगायत सामग्री माओवादीले तराईबाट खिमडी हुँदै पहाडी जिल्लामा आपूर्ति गर्थे । पहिलो पटक राज्यको त्यहाँ उपस्थिति भएको थियो। सदरमुकाममा सरकारी कार्यालयले प्रदान गर्दै आएको सेवा घरदैलोमै पाउँदा पनि स्थानीयहरू निर्धक्क घुम्ती शिविरमा आउन सकिरहेका थिएनन् ।
सरकारी सेवा लिएकै कारण पछि माओवादीबाट प्रताडित हुने डर उनीहरूमा थियो । किनकि सेना सधैंभरि त त्यहाँ बस्न सक्ने अवस्था थिएन । डर र संशयका बीच पनि स्थानीयले नागरिकता लिए । साथै अन्य सेवाहरू पनि । हामी त्यहाँबाट निस्किन चाहन्थ्यौं । किनकि हामीलाई सेनाको शिविरभित्र बसिरहन मन थिएन । दिनभरि नदी किनारको समथर मैदानमा चल्ने घुम्ती शिविरमा सहभागी हुन्थ्यौं ।
साँझ नपर्दै खिमडी छेउको डाँडाको जंगलभित्र रहेको सेनाको क्याम्पमा जान्थ्यौं । राति त्यहीं सुत्थ्यौं । डरैडरमा पहिलो रात काट्यौ । किनकि यो त्यही ठाउँ थियो, जहाँ दुई हप्ता अघि माओवादी र सेनाका बीचमा भीषण लडाइँ भएको थियो । चारैतिर युनिफाइड कमाण्डको घेरा थियो । हाम्रो बास त्यही घेराको बीचको टेन्टमा थियो । युद्ध त्रासदी व्यहोरेको खिमडीमा जति बाक्लो सुरक्षा घेरा भए पनि चैनसँग निदाउन कसले सकोस् ? राति अबेरसम्म निद्रा नै पर्दैनथ्यो । सरकारी कर्मचारीको टोलीसँगै हामीलाई राखिएको थियो। सरकारी कर्मचारीसँगै राति अबेरसम्म तास खेल्थे, साथीहरू । टाइम पास गर्ने अर्को उपाय थिएन ।
हामीसँगै त्यहाँ थिए, सेनाका मेजर कृष्ण खत्री । उनी बेला–बेला हाम्रो टेन्टमा आउँथे । युनिफाइड कमाण्डको फौजले चारैतिरबाट सुरक्षा दिएको सुनाउँथे । र, लडाइँ भए पनि हामीलाई केही पनि नहुने आश्वासन दिन्थे । हामीभित्रको डर भगाउन उनी हामीलाई हौसला दिइरहन्थे । भन्थे, युनिफाइड कमाण्डको फौज यति विशाल छ कि, माओवादीले आक्रमण गर्ने आँट गर्नै सक्दैन । उनी हामीलाई आश्वस्त पार्दै भन्थे, आक्रमण गरिहाले पनि तपाईंहरूलाई केही हुनदिने छैनौं । उनले जे–जति विश्वस्त पार्न कोशिश गरे पनि हामी निरस्त्र थियौं, माओवादीले आक्रमण गरे हामी जोगिन्छौं भन्ने ग्यारेण्टी थिएन । अबेर रातिसम्म गफ ग¥यौं । र, मध्यरातिपछि सुत्यौं ।
दोस्रो दिन हामीले मेजर खत्रीलाई भन्यौं, हामी पैदल भए पनि धनगढी फर्किन्छौं । हेलिकोप्टर आउने निश्चित नभएपछि कति दिन त्यहाँ बस्नुपर्ने हो, ठेगान थिएन । तर मेजर खत्रीले हामीलाई बाहिर नजान आग्रह गरे । तपाईंहरू हामीसँग आउनुभएको हो, तपाईंहरूलाई केही भए त्यसको जवाफदेही हामी हुन्छौं । उनले आग्रह गरे, त्यसैले पैदल नजानुहोस् ! हामी धर्मसंकटमा प¥यौं । न त्यहाँबाट जान सक्थ्यौं । न त त्यहाँ बस्न सक्ने अवस्था थियो । सेनासँग हेलिकोप्टरमा आएका कारण माओवादीले दुःख दिन्छ कि भन्ने मेजर खत्रीको आशंका थियो । त्यसमाथि उनलाई माथिबाट हामीलाई पैदल निस्किन नदिन निर्देशन थियो । खत्रीको आग्रहलाई हामीले टार्न सकेनौं । र, हेलिकोप्टरको पर्खाइमा बस्ने निधो ग¥यौं ।
त्यसपछि शुरू भयो, फेरि उही दिनचर्या । दिनभरि कर्णाली नदीको किनारमा सञ्चालित घुम्ती शिविरमा सहभागी भयो, साँझ परेपछि डाँडामाथि उक्लियो । सेनाको घेरामा टेन्टमा बस्यो । सेनाको सामूहिक मेसमा सहभागी भयो । पकाएको भात त्रिपालमा खन्याउँथे । किनकि एकैपटक सबैका लागि खाना पकाउने ठूला भाडाहरू थिएनन् । अनि पकाउँदै खन्यायो, फेरि पकायो । थालहरू थिएनन्, सेनाको कटौरामा दाल–भात मिसाएर खायो । युद्धमा सेनाको मेसको त्यो पहिलो अनुभव थियो ।
दोस्रो दिन पनि मध्यरातसम्म जाग्राम बसेर बितायौं । अबेर सुत्यौं । त्यो राति पनि युद्ध ट¥यो । माओवादीले डाँडाको चारैतर्फ घेरा हालेको सेनालाई सूचना आएको थियो । तर माओवादीले आक्रमण गरेन । राति एक बजेपछि माओवादीले आक्रमण गर्दैन भन्ने सेनाको बुझाइ थियो । किनकि आक्रमण गरेर भाग्नका लागि माओवादीले समय पाउँदैन । त्यही कारण अबेर राति माओवादीले आक्रमण गर्दैनन् भन्ने उनीहरूको बुझाइ थियो ।
तेस्रो दिन उज्यालो भयो । फेरि शुरू भयो, उही दिनचर्या । कर्णाली किनारमा गयो । दिनभरि घुम्ती शिविरमा आउने स्थानीय बासिन्दाहरूसँग कुराकानी ग¥यो । र, साँझ परेपछि सेनासँगै उकालो लाग्यो । खिमडीमा व्यहोरेको पराजयले माओवादी युनिफाइड कमाण्डप्रति आक्रामक थियो । कुनै पनि बेला आक्रमण गर्न सक्नेमा युनिफाइड कमाण्ड सचेत र सतर्क थियो ।
तेस्रो राति । बासस्थान उही । चारैतिर सुरक्षा घेरा । बीचमा हामी । न निदाउन सक्छौं । झण्डै साढे ११ बजेतिर सेनाका मेजर हाम्रो टेन्टभित्र पसे । उनले माओवादीले चारैतिर घेरा हालेको र लडाइँ हुनसक्ने हामीलाई जानकारी गराए । अब कुनै पनि बेला लडाइँ शुरू हुन सक्छ । तपाईंहरू सुरक्षित स्थानमा हुनुहुन्छ । नआत्तिनुहोला । न डराउनुहोला । जहाँ हुनुहुन्छ, त्यहीं बस्नुहोला ।’ खत्रीले हामीलाई विश्वस्त पार्दै भने, । तपाईंहरूलाई केही हुन्न । हाम्रो फौज यति ठूलो संख्यामा छ कि माओवादी यहाँसम्म पुग्नै सक्दैन ।’ माओवादी हामी बसेको ठाउँसम्म पुग्न नसके पनि माओवादीको गोली हामी बसेको ठाउँसम्म सहजै पुग्न सक्छ भन्ने हामीमा डर थियो ।
माओवादीले कर्णाली पारि सुर्खेतको डाँडासँगै हामी बसेको डाँडा भन्दा नजिकै रहेको अर्को डाँडाबाट माइकिब शुरू गरेको थियो । माओवादीले सेनालाई गाली गर्दै आत्मसमर्पण गर्न धम्क्याइरहेको थियो । सेनालाई गाली गर्नुपर्दा ।।ज्ञानेन्द्रका भतुवा’, ।।शाही जल्लाद’ जस्ता शब्दहरू त्यतिबेला माओवादीले निकै प्रयोग गर्थे । मध्यरातमा डाँडाको चारैतिर कोलाहल र चिच्याहट गरिरहेका माओवादी लडाकुहरू युनिफाइड कमाण्डलाई उत्तेजित बनाइरहेका थिए ।
माओवादीहरूले डाँडामा राँको बालेको जस्तो देखिन्थ्यो । अब लडाइँ हुने निश्चित भयो भन्दै हामीसँगै रहेको सशस्त्र प्रहरीका एक जना निरीक्षक लडाइँको मोर्चामा सहभागी हुन निस्किए । त्यसपछि भने सरकारी कर्मचारीहरूसँग खाँदिएर एउटै टेन्टमा बस्न पुगेका हामी चार जना पत्रकारहरू आ–आफ्ना देवीदेवता र कुलदेवताको नाम लिन थाल्यौं । डर भन्ने चिज कस्तो हुन्छ ! हरेक दिन लडाइँको मोर्चामा रहने सेनाले कस्तो मनोबलका साथ लड्दो हो, सोचें । कतिबेला तातो गोलीले शरीर छेडेर जीवन समाप्त हुन्छ, ठेगान हुन्थेन । हुनत, सुरक्षा फौजमा भर्ती हुनेहरू त्यही मनोबल र सोचका साथ भर्ना हुँदा हुन् । हामी त निरस्त्र थियौं । र, सैनिक पनि थिएनौं । दुई पक्षको चेपुवामा हामी परेका थियौं ।
माओवादीले एकै पटक चारैतिरबाट फायर शुरू ग¥यो । उनीहरू फायर खोलेसँगै जोड–जोडले माइकमा चिच्याउँथे । यता युनिफाइड कमाण्ड प्रतिकार गर्न तयारी अवस्थामा बसिसकेको थियो । तर उसले जवाफी हमला गरिसकेको थिएन । जसै, माओवादीले फायर शुरू ग¥यो, एनटीभीका संवाददाता राजेश बागचन्द शैलेश्वरी मातालाई पुकार्दै थिए । भन्दै थिए, शैलेश्वरी माता हाम्रो रक्षा गर्नु । अर्को पत्रकार साथी उग्रतारा माता रक्षा गर्नु भन्दै अनुनयविनय गर्दै थिए । अबेरसम्म जोड–जोडले भगवान्लाई पुकारिरह्यौं । हामीसँग त्यो बाहेक अर्को उपाय थिएन । करीब एक घण्टापछि युद्धको माहोल केही बेरमा सुनसान भयो, गोली चल्न छोड्यो ।
माओवादीले युनिफाइड कमाण्डलाई जिस्क्याउन मात्र फायर खोलेको सुरक्षा अधिकारीहरूको अनुमान थियो । तर फेरि आक्रमण गर्दैनन् भन्ने ग्यारेण्टी थिएन । सुरक्षाफौज हाईअलर्ट थियो । त्यसपछि निद्रा कसरी परोस् ? जब रातको दुई बज्यो त्यसपछि भने सेनाका एक मेजर आएर हामीलाई सान्त्वना दिदै भने, अब लडाइँ हुदैन । ढुक्क भएर सुत्नुहोस् । उज्यालोमा माओवादीले आक्रमण गर्ने सम्भावना हुँदैनथ्यो । किनकि आक्रमणपछि माओवादी भागेर टाढा–टाढा पुग्ने उनीहरूको युद्ध नीति थियो । त्यो रात हाम्रा लागि जिन्दगीको सबैभन्दा लामो रात थियो । मिनेट होइन, सेकेण्ड पनि हाम्रा लागि भारी थियो । हामीले त अझै पूरै रात बिताउनु थियो ।
पूरै रात डरैडरमा काट्यौं । उज्यालो भयो। तब हामी ढुक्क भयौं । हामीलाई बचाएकोमा सबैले भगवान्लाई धन्यवाद दियौं । खिमडी आएको चौथो दिन थियो । दिउँसोसम्म हामीलाई फिर्ता लैजान हेलिकोप्टर आउने सेनाबाट सूचना पायौं । फर्किन पाउने आशाले हामीमा खुशी सञ्चार भयो । तर हेलिकोप्टर आउने कतिखेर समय तय भइसकेको थिएन ।
करीब ११ बजेतिर अचानक गोली चल्यो। खाना पकाउन पानी भरेर उक्लिंदै गरेको सेनामाथि माओवादीले आक्रमण गरेको सूचना आयो । हामी त्यही सूचनामा निर्भर थियौं । हामी फेरि आतंकित भयौं । किनकि खिमडीमा दिउँसै सेनामाथि माओवादीले आक्रमण गरेको थियो । र, त्यही घटनाको पुनरावृत्ति हुन्छ कि भन्ने संशय अझै थियो । एकछिनमै घाइते सैनिकको उद्धारका लागि हेलिकोप्टर आयो । तर उद्धार नहुँदै ती सैनिकको मृत्यु भयो । उनको मृत्यु त्यहींभित्रको सेनाको हातबाट भूलवश चलेको एम–१६ को गोलीबाट भएको पछि थाहा पायौं । सेनाले हामीलाई आफ्नै सहकर्मीको गोलीबाट मृत्यु भएको अवस्थामा उसका परिवारजनले राहत र क्षतिपूर्ति नपाउने भएकोले उनको मृत्यु माओवादी आक्रमणबाट भएको लेखिदिन आग्रह गरे । त्यसो लेख्न नसके उक्त घटनाका सम्बन्धमा मौन बसिदिन सेनाको आग्रह थियो । हामीले दोस्रो आग्रहलाई स्वीकार ग¥यौं । हामीले एउटा समाचार नलेखिदिएर कसैको परिवारले राहत र क्षतिपूर्ति पाउँछ भने, मानवीयताका दृष्टिकोणले चुप बस्न उचित ठान्यौं । पत्रकारिता भन्दा माथि त मानवीयता नै छ भन्ने मेरो बुझाइ थियो ।
साँझ नपर्दै सेनाको हेलिकोप्टर हामीलाई फिर्ता लैजान खिमडी आइपुग्यो । त्यसैमा बसेर हामी फर्कियौं । चौथो दिन युद्धस्थलबाट फर्किन पाउँदा हामीहरूले युद्ध जितेको महसूस ग¥यौं । सेनाको जनतासँग घुलमिल हुने यो एउटा माध्यम थियो । खिमडीको भिडन्तपछि सेनासँग स्थानीय बासिन्दा त्रसित थिए । जनतासँग सम्बन्ध सुधार नगरी विकट क्षेत्रमा माओवादीले सञ्चालन गर्ने गतिविधिको सूचना प्राप्त हुन सम्भव थिएन ।
चार दिनपछि खिमडीबाट फर्किएका सबैले आ–आफ्ना मिडियामा रिपोर्टिब ग¥यौं । तर संयोग पनि कस्तो, घुम्ती सरकारको समाचार प्रकाशित कहींकतै भएन । कार्कीले घुम्ती सरकारको समाचार नआउनुलाई नियोजित षड्यन्त्र ठाने । त्यही कारण क्रूद्ध भएका महासेनानी कार्कीले समाचारमा नाकाबन्दी लगाउने निर्णय सुनाए । उनले मलाई भने, आजदेखि समाचारमा तपाईंलाई नाकाबन्दी भयो ।
त्यतिबेला युद्धको सूचनाको स्रोत सेना थियो । सेनाले नदिई युद्धको सूचना प्राप्त हुँदैनथ्यो । कार्की बरख गणभित्र टाइगर नामले चिनिन्थे । त्यतिबेला माओवादी र उसका शुभेच्छुकप्रति सेना निकै आक्रामक थियो । कार्की भने अलि बढी नै आक्रामक थिए । केही समयपछि शान्त भएका कार्कीले समाचारमा लगाएको नाकाबन्दी खोलेको आफैंले सुनाए । शायद ढिलै भए पनि उनले हामीहरूले नियोजित रूपमा समाचार रोकेको भन्ने आकलन गलत भएको ठाने ।