नेदरल्याण्ड्सबाट नेपालले के सिक्ने ?

२० मंसिर २०८१ २:५०
नेदरल्याण्ड्सबाट नेपालले के सिक्ने ?

सडक कस्का लागि ? गाडीका लागि कि मान्छेका लागि ? नेपालको विकास र सडकको संरचना हेर्दा त्यसको सटिक जवाफ हुन्छ, गाडीका लागि ।

तर युरोपका शहर, अझ नेदरल्याण्ड्सको सडक र यहाँको संरचना हेरेपछि विकासमा ‘मान्छे पहिले’ भन्ने देखाउछ । यहाँका सडक चौडा छन् । तर ती सडकमा गाडीलाई भन्दा साईकल र मान्छेलाई महत्व दिईएको छ । सडकका दुवैतिर साईकल र पैदल मान्छे हिड्ने छुट्टाछुट्टै लेन छन् ।

नेपालमा पछिल्ला वर्षमा ४ र ६ लेनका सडक निर्माण भईरहेका छन् । केही ठाँउमा बनि पनि   सके । तर ती कुनै पनि सडक र त्यो विकासमा मान्छे वा वातावरण प्राथमिकतामा परेको देखिदैन ।

नेदरल्याण्ड्समा राजमार्ग होस वा शहरका शाखा सडकहरु । हरेक सडकका दुबै तिर साईकलका लागि लेन बनाईएका छन् । साईकल चढ्नेहरुलाई उच्च महत्व दिईएको छ । नेपालमा साईकल चढ्नेहरुलाई गाडीले कुल्चेर मारेका खवरहरु पढिरहनु पर्ने नियति छ । तर नेदरल्याण्ड्समा साईकलका लेनमा मान्छे हिड्न पाउदैन । र त्यो लेनमा गाडी त लैजानु अपराध मानिन्छ । बिर्सेर कोही मान्छे साईकलको लेनमा हिड्यो भने त्यसलाई साईकल चलाउने व्यक्तिले नराम्ररी धक्का दिएर जान सक्छ । त्यसका बाबजुद पनि पैदल हिड्ने मान्छेले प्रतिवाद गर्न पाउदैन । किनकी मान्छेका लागि हिड्ने छुट्टै लेन जो छ । कसैले कसैलाई हस्तक्षेप वा असर गर्ने कार्य नेदरल्याण्ड्समा गर्न पाईदैन । हरेक सडकमा दाया बाया साईडमा साईकल स्टेण्ड छन् । जहाँ साईकल पार्किङ गर्न मिल्छ ।

नेदरल्याण्ड्सका प्रधानमन्त्री साईकल चढेको तस्वीर नेपालका लागि महत्वपूर्ण समाचार बन्छ । बनिरहेको हुन्छ । यद्दपि नेदरल्याण्ड्सका जनताका लागि त यो सामान्य विषय हो । जो नियमित रुपमा भईरहन्छ । साईकल चढ्दा नेपालमा मान्छेले हिनताबोध गर्छ । साईकल चढ्दा अपमान ठान्छ । महंगा जाडी चढ्नु नेपालीका लागि शान मानिन्छ । तर नेदरल्याण्ड्सका नागरिक भने महंगा गाडी चढ्ने सौख नै पाल्दैनन । किनकी नेदरल्याण्ड्समा साईकल संस्कृति गजवको छ । 

नेदरल्याण्ड्सको राजधानी आम्स्टर्डडमको तापक्रम माईनसमा झरेको छ । तर त्यसले साईकल चढ्नेहरुलाई कुनै असर गर्दैन । आम्स्टर्डममा हरेक दिन बिहान ७२ हजार भन्दा बढि व्यक्ति साईकलमा आफ्नो काम र अध्ययनका लागि निस्किन्छन । साईकलका लागि सडकको दुबै तिर लेन बनाईएको छ । त्यो लेनमा पैदल यात्रु हिड्न पाउदैनन ।

१२ प्रदेशमा बिभाजित नेदरल्याण्ड्स युरोपको उत्तर पश्चिममा अवस्थित छ । ४१,५४३ बर्ग किमीमा फैलिएको यसको पूर्वमा जर्मनी र दक्षिणमा बेल्जियम छ । र उत्तरपश्चिमी भूभाग उत्तरी सागरसँग जोडिएको छ । नेदरल्याण्ड्सको राजधानी आम्स्टर्डम हो । एम्स्टर्डमको जनसंख्या १० लाख छ । राजधानी आम्स्टर्डममा १७६ देशका बासिन्दा बसोबास गर्छन । नेदरल्याण्ड्सभरी १९० देशका मानिस बसोबास गर्छन । 

यहाँका ५१ प्रतिशत जनसंख्या कुनै धर्म मान्दैनन । यहाँको कुल जनसंख्याको २४ प्रतिशत क्याथोलिक र १५ प्रतिशत पोटेस्टेण्ट क्रिश्चियन छन् ।  १८१५ मा एउटा देशको पहिचान पाएको नेदरल्याण्ड्सको ५ मे १९४५ मा स्वतन्त्र भएको हो ।

नेदरल्याण्ड्समा  शिक्षा 

डच यहाँको मुख्य भाषा हो, सरकारी भाषा पनि । यहाँका विद्यालय र कलेजमा डच भाषामै पढाई हुन्छ । यद्दपि थुप्रै कलेज र विश्वविद्यालयले पछिल्ला वर्षमा अंग्रेजी भाषालाई पनि उत्तिकै महत्व दिएका छन् ।

यहाँ ५ वर्षमा बालबालिकालाई विद्यालयमा भर्ना गरिन्छ । ५ देखि १६ वर्षसम्म शिक्षा अनिवार्य गरिएको छ । शिक्षाको शुल्क लाग्दैन । सम्पूर्ण खर्च सरकारले व्यहोर्छ । त्यसबाहेक यो उमेर समूहलाई सरकारले मासिक रुपमा भत्ता पनि उपलब्ध गराउछ ।

नेदरल्याण्ड्समा तीन थरीको शिक्षा छ । प्राथमिक । माध्यामिक । र उच्च शिक्षा । विद्यार्थीको आचरण, रुचि, लगाव, उत्कृष्टताका आधारमा माध्यामिक तहमै विद्यार्थीको बर्गिरकण गर्छ । चिकित्सा, व्यवस्थापन तथा अन्य विषय पढ्नका लागि माध्यामिक तहबाटै विद्यार्थीहरुको बर्गिकरण गरिन्छ । उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीले शुल्क त लिन्छ । त्यो शुल्क राज्यले तिरिदिन्छ । तर पछि उसले पढाई पुरा भएपछि राज्यलाई त्यो रकम तिर्नुपर्छ ।

नेदरल्याण्ड्समा निजी विद्यालय पनि छन् । तर सरकारीको पढाई गुणस्तरीय हुने भएकाका कारण अभिभावक र विद्यार्थीको रोजाईमा सरकारी विद्यालय पर्छ ।

यद्दपि उमेर बढि भएका र बाहिरबाट आउने विद्यार्थी भने बाध्यतावश निजी विद्यालयमा भर्ना हुन्छन । किनकी नर्सरीदेखि सरकारीमा पढेको विद्यार्थीसंग माध्यामिक तहमा बाहिरबाट आएर भर्ना भएको विद्यार्थीले प्रतिस्पर्धा गर्न सक्दैन । 

नेदरल्याण्ड्स धेरै कुरामा संसारका अरु मुलुकहरु भन्दा फरक छ । प्रतिव्यक्ति आय उच्च भएपनि यहाँका मान्छेहरु नयाँ र बिलासी साधन जस्तैः गाडी, मोवाईल र ग्याजेटहरुमा रुचि राख्दैनन । बरु साईकलमै रमाउछन । क्रयशक्ति उच्च भएपनि महंगा र बिलासी कुराले उनीहरुलाई आकर्षण गर्दैन । उनीहरुका हरेक गतिबिधि मितव्ययी, अरुलाई प्रभावित वा हानी नगर्ने र वातावरण मैत्री छन् ।

होहल्ला गरेर अरुलाई असर पुग्ने काम गर्दैनन । अरुको पालो मिच्दैनन । पसलमा होस वा सार्वजनिक यातायातमा आफ्नो पालो नआई अगाडि बढ्दैनन । पालो नआउदासम्म लाईनमा धैर्यतापूर्वक बस्छन । नेपालीहरुका लागि यो सिक्नु पर्ने कुरा हुन् ।

सामाजिक सुरक्षा र कर 

सामाजिक सुरक्षाका लागि नेदरल्याण्ड संसारमै अग्रणी मानिन्छ । कर दर उच्च छ । यद्दपि यहाँका नागरिक राज्यलाई कर तिर्न दायित्व ठान्छन । किनकी कर तिरेभन्दा कयौ गुणा बढि उनीहरुले राज्यबाट सुबिधा पाउछन् । शिक्षा, स्वास्थ्य निशुल्क छ । नेपालमा जस्तो कुनै रोग लागे प्रधानमन्त्री कार्यालय घेराउ गर्न जानु पर्दैन । र गुहार मलाई बचाउनुहोस भनेर पत्रिकामा बिन्ति पत्र छाप्न पर्दैन । उपचार नपाएर यहाँ कसैले अकालमा मृत्यवरण गर्नुपर्दैन । जसको कोही छैन, उसका लागि यहाँ सरकार छ । लोक कल्याणकारी राज्य कस्तो हुन्छ, नेपाली नेताहरुले नेदरल्याण्ड्सबाट    सिक्नुपर्छ ।

नेपालमा जस्तो यहाँ जसलाई जहाँ मन लाग्यो, त्यहाँ घर बनाउन पाईदैन । शहरका लागि अलग ठाँउ छुट्याईएको छ ।कृषिका लागि अलग । कृषि योग्य जमीन प्लटिङ गरेर बेच्न पाईदैन, यहाँ । त्यसैले त कृषि योग्य जमीन अहिलेसम्म जोगिएको छ ।

नेदरल्याण्ड्सबारे केही रोचक जानकारी 

हल्याण्ड समेत भनिने नेदरल्याण्ड्समा संबैधानिक राजतन्त्र छ । हामी हाम्रो प्रधानमन्त्री साईकलमा चढ्ने कल्पना पनि गर्न सक्दैनौ । यहाँका प्रधानमन्त्री पनि साईकलमा निर्धक्क कार्यालय जान्छन । समलिंगी बिबाहलाई मान्यता दिने विश्वको पहिलो मुलुक हो ।

संसारमा बेश्यालयलाई मान्यता दिने मुलुक पनि हो, नेदरल्याण्ड्स । बैधानिक रुपमै राजधानी आम्स्टर्डममा बेश्यालयहरु सञ्चालनमा छन् । यहाँ कार्यरत यौनकर्मीहरु कसैको करकाप वा दवावमा नभएर आफ्नो मर्जीले यो पेशामा संलग्न छन् ।
नेदरल्याण्ड्स फुल उत्पादनमा विश्वकै अग्रणी मुलुक मानिन्छ । यहाँको फुलले विश्व बजारमा स्थान जमाएको छ । कृषि यहाँको आयको मुख्य स्रोत हो । खेतका गह्राहरुमा यहाँ आली होईन, समुन्द्रबाट ल्याईएको पानीको कुलो छ । नेदरल्याण्डका खेतमा अपनाईएको सिंचाईको बिधि संसारकै उत्कृष्ट मानिन्छ । किनकी हरेक गह्रालाई पानीको कुलोसंग जोडिएको छ ।

विश्वको १७ औं ठूलो अर्थतन्त्र भएको मुलुक नेदरल्याण्ड्सको प्रतिव्यक्ति आय ४८ हजार ८ सय ६० डलर छ । यसको आम्दानीको मुख्य आधार, कृषि, पर्यटन, ग्याँस हो ।  नेदरल्याण्ड्समा वर्षेनी यहाँको जनसंख्याकै हाराहारीमा १ करोड ७० लाख भन्दा बढि पर्यटक आउने गर्छन ।

युरोपमा ग्याँसको भण्डार मानिन्छ, नेदरल्याण्ड्स । युरोपभरीमा करीव २५ प्रतिशत ग्याँसको भण्डार नेदरल्याण्ड्समा छ । युरोपको ठूलो मध्यको एक बिमानस्थल मानिन्छ, आम्स्टर्डम बिमानस्थल । र युरोपको ठूलो बन्दरगाह मानिन्छ, रोटरड्याम । 

अन्तर्राष्ट्रिय अपराध अदालत हेगमा छ । आम्स्टर्डममा मात्र साना ठूला गरी १२८१ पुल छन् । स्वस्थ खानामा विश्वकै पहिलो मुलुक हो,नेदरल्याण्ड । डचहरु संसारकै अग्ला मानिन्छन । भनिन्छ, मान्छेभन्दा साईकल बढि छन्,आम्स्टर्डममा ।

नेदरल्याण्ड्सको ‘वाटर ईञ्जिनियरिङ’ संसारमै अदभूत मानिन्छ । पानीमाथिको संसार । पानीमाथिको शहर । पानी नै जीवनको हिस्सा । पानी नै पर्यटन । पानी र नेदरल्याण्ड्स एक अर्काका पर्याय जस्ता । त्यही पानीमाथि ठडिएका कलात्मक आकर्षण भवनहरु । पानी सभ्यतामा ठडिएको नेदरल्याण्ड्सलाई त्यही पानीको उत्कृष्ट प्रयोगले समृद्ध र बैभवशाली बनाएको छ । 

समुन्द्रको पानीलाई नहर मार्फत शहरका चारैतिर र भित्री भागमा लगिएको छ । त्यही नहरमा साना ठूला बोट र क्रुजहरु चलाईएका छन् । शहरको दृष्यावलोकनका लागि तिनै स्टिमर, बोट र क्रुजको यात्रा निकै रोमाञ्चकारी छ । जो पर्यटकलाई लोभ्याउने माध्यम बनेका छन् । तिनै क्रुज र बोटमा राजधानी आम्स्टर्डमको झिलिमिली र वत्तीको उज्यालो हेर्नुको मज्जा बेग्लै हुन्छ ।

नेदरल्याण्डमा समुन्द्रमाथि घर छन् । नेदरल्याण्डको बिमानस्थल नै समुन्द्र सतहभन्दा होचो स्थानमा छ । तर समुन्द्रको पानीलाई यस्तो गजवसंग व्यवस्थापन गरिएको कि, समुन्द्रमा पानीको सतह बढेपनि त्यसले शहरमा असर गर्दैन । पानीको सतह एकनास भईरहन्छ ।

विश्वले नै उत्कृष्ट मानेको नेदरल्याण्ड्सले विद्युत उत्पादनका लागि प्रयोग गरिरहेको हावाबाट बिजुली निकाल्ने प्रबिधि नेपालका लागि पनि अनुकरणीय छ । नेदरल्याण्ड्सले हावाबाट ४ हजार ४ सय ७१ मेगावाट बिद्युत उत्पादन गरिरहेको छ । 

हावाबाट सन २००१ मा ४८१ मेगावट बिजुली उत्पादन गरेको त्यसयता निरन्तर रुपमा यसलाई विस्तार गर्दै लग्यो । अहिले नेदरल्याण्ड्सको विद्युतको मागलाई हावाबाट निकालिएको विद्युतले पूर्ति गरेको छ ।

नेदरल्याण्ड्समा कति छन्, नेपाली ?

नेदरल्याण्ड्समा करीव दुई हजारभन्दा बढि नेपाली रहेको अनुमान छ । अधिकांश नेपाली होटल तथा रेष्टुरेण्ट व्यवसायमा संलग्न छन् ।

गैर आवासीय नेपाली संघ युरोपका पूर्व संयोजक नारायण आचार्यका अनुसार अध्ययनका क्रममा यहाँ आएका नेपालीहरु अध्ययन सकेर यही व्यापार व्यवसायमा संलग्न हुनेक्रम बढ्दो छ । १८ वर्षअघि अध्ययनका क्रममा नेदरल्याण्ड्स पुगेका आचार्य स्वयम रेष्टुरेण्ट व्यवसायमा संलग्न छन् ।

एक दशकअघि अध्ययन र अरुको व्यवसायमा काम गर्ने अधिकांश नेपालीहरु यतिबेला आफै व्यवसायी भएका छन् । तीनैमध्येका एक हुन्, थानेश्वर कँडेले । बागलुङका कँडेल अध्ययनका क्रममा १८ वर्षअघि नेदरल्याण्ड्स आएका हुन् । अध्ययनसंगै उनले निजी टेलिकम कम्पनीमा काम शुरु गरे । पछि त्यही कम्पनी किनेर उनले व्यवसायमा हात हाले । अहिले उनी रेष्टुरेण्ट व्यवसायमा आवद्ध छन् । आचार्य झै उनका पनि नेदरल्याण्ड्समा दुई वटा रेष्टुरेण्ट छन् ।

कँडेलकै भाई बेदराम कँडेलको सुपरमार्केट छ । पछिल्लो समय केही नेपाली घरजग्गा कारोवारमा पनि संलग्न छन् ।

नेदरल्याण्ड्समा भाषाको ज्ञान र सीप भए काम पाउन सजिलो छ, कँडेल भन्छन्,तर भाषा र सीप भएन भने काम पाउन कठिनाई हुन्छ ।

यही अध्ययन गरेपनि सरकारी जागीर खाने नेपालीको संख्या न्यून छ, थानेश्वर कँडेल भन्छन्, सरकारी जागीरको पहिलो प्राथमिकतामा यहीका नागरिक पर्छन । उनीहरुसंग प्रतिस्पर्धा गर्न त्यति सजिलो छैन । त्यसैले नेपालीहरु आआफ्नै व्यापार व्यवसायमा संलग्न छन् ।

केही नेपाली चिकित्सक पनि यहाँ कार्यरत छन् । केही प्राध्यापक पनि छन्, आचार्य भन्छन्, तर चिकित्सक र प्राध्यापक नेपालीको संख्या भने न्यून छ ।

नेदरल्याण्ड्स मा र नेपालबीचको सम्बन्ध

बिगतमा नेपाल र नेदरल्याण्ड्सबीच एउटा समानता थियो, दुबै देशमा राजतन्त्र थियो । नेपालमा राजतन्त्र अन्त्य भएको १८ वर्ष भयो । नेदरल्याण्ड्समा भने अझै संबैधानिक राजतन्त्र छ ।

नेपाल र नेदरल्याण्ड्सबीच २ अप्रिल १९६० मा कुटनैतिक सम्बन्ध स्थापित भएको हो । स्वर्गीय राजा महेन्द्रले २५ अप्रिल १९६७ मा नेदरल्याण्ड्सको राजकीय भ्रमण गरेका थिए ।

१९८८ मा नेदरल्याण्ड्सका राजकुमार ओरेञ्जको निम्तामा नेपालका तत्कालिन राजकुमार दिपेन्द्रले नेदरल्याण्डको भ्रमण गरेका  थिए । यसअघि नै नेदरल्याण्ड्सका राजकुमार स्वर्गीय बर्नहार्डले १९७३ मा नेपालको भ्रमण गरेका थिए । सन १९७५,७७ र ८६ मा उनले नेपालको भ्रमण गरे ।

नेदरल्याण्डका राजा विलियम अलेक्जेण्डर र राजकुमार ओरेञ्जले सन १९९७ जनवरी २१ देखि २५ सम्म नेपालको राजकीय भ्रमण गरेका थिए । यसअघि १९९६ मा अगष्ट ४ देखि ८ सम्म नेदरल्याण्ड्सका विकास समन्वय मन्त्री जोहान्नेस पी.प्रोन्कले नेपाल भ्रमण गरेका थिए ।

आज भन्दा ५१ वर्षअघि २०३० सालमा राजा विरेन्द्रले आफ्नो राज्याभिषेकमा नेदरल्याण्ड्सको महारानी जुलियानालाई निम्ता पठाएका थिए । राजा विरेन्द्रको निम्तामा रानी जुलियानाले नेपाललाई के उपहार दिने भनेर सोचिन । र उनले नेपालमा कुष्ठरोग निवारणका लागि नेदरल्याण्ड्स लेप्रोसी रिलिफ मार्फत सहयोग गर्ने प्रतिबद्धता गरिन । र नेपालमा नेदरल्याण्ड्स लेप्रोसी रिलिफको स्थापना भयो । जसले नेपालमा कुष्ठरोग निवारणमा ठूलो योगदान पु¥यायो ।  नेदरल्याण्ड्सको सहयोग अहिले पनि जारी छ ।

नेदरल्याण्ड्स लेप्रोसी रिलिफका नेपाल पूर्व प्रमुख हिमालय सिग्देलका अनुसार कुष्ठरोग निवारणमा मात्र नेदरल्याण्ड्स सरकारको नेपाललाई हालसम्म अढाई अर्व रुपैया भन्दा बढि सहयोग प्राप्त भईसकेको छ । त्यसबाहेक पनि सन १९७६ देखि डच ईकोनोमिक कर्पोरेशनले नेपालमा सहयोग गर्दै आएको छ । नेदरल्याण्ड्स डेभलोप्मेण्ट कर्पोरेशनले नेपालको शिक्षा,स्वास्थ्य, वातावरण एवं विकासमा लगानी गर्दै आएको छ ।

वर्षेनी झण्डै १० हजारको हाराहारीमा नेदरल्याण्डका पर्यटकहरु पर्वतारोहण तथा नेपालका पर्यटकीय गन्तव्यहरुमा भ्रमणका लागि नेपाल आउने गरेका छन् । २०११ मा यो संख्या सबैभन्दा बढि १६ हजार ८ सय ३८ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस