ओपनएआईलाई रोक्न कानुनी लडाइँमा एलन मस्क, हाले चौथो पटक मुद्दा

काठमाडौं । अर्बपति उद्यमी एलन मस्कले च्याटजीपीटी निर्माता ओपनएआई विरुद्ध चौथो पटक मुद्दा दायर गरेका छन् । ओपनएआईलाई नाफामुखी (फर प्रोफिट) मोडलमा जानबाट रोक्न मस्कका वकिलले हालै क्यालिफोर्नियाको अदालतमा मुद्दा दायर गरेका हुन् ।
यस मुद्दामा मस्कले ओपनएआईलाई अमेरिकी प्रतिस्पर्धा कानुन (एन्टी ट्रस्ट लज) उल्लङ्घन गर्ने गतिविधिहरूमा संलग्न रहेको आरोप लगाएका छन् । यसले लगानीकर्ताहरूलाई एक्सएआई (xAI) जस्ता प्रतिस्पर्धी एआई कम्पनीहरूमा लगानी गर्न हतोत्साहित गरेको बताइएको छ ।
यस पटकको मुद्दामा ओपनएआईका साम अल्टम्यान, ग्रेग ब्रकमन, ओपनएआईका पूर्व बोर्ड सदस्य र लिङ्क्डइनका सह-संस्थापक रिड हफम्यान लगायतलाई विपक्षी बनाइएको छ । यता ओपनएआईले भने मस्कको यो मुद्दा आधारहीन र निराधार भएको बताएको छ ।
स्थापना गर्दा सँगै रहेका मस्क सन् २०१८ देखि ओपनएआईबाट छुट्टिएका थिए । तर पछिल्लो समय आल्टम्यानले नाफाका लागि अपनाएका कदमप्रति मस्कले खण्डन गर्दै आइरहेका छन् । त्यही सिलसिलामा उनले कानुनी सहयोग पनि लिन खोजिरहेका छन् । यद्यपि यसअघिका मस्कको मुद्दामा पनि अदालतले कुनै ठोस निर्णय दिन सकेको छैन ।