सत्ता गठबन्धनलाई हराउँदै पुथा उत्तरगंगाको उपाध्यक्षमा माओवादी विजयी

रुकुम पूर्व, १७ मंसिर ।
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै माओवादी केन्द्रकी नरपुरा बुढा विजयी भएकी छिन् ।
निर्वाचन आयोगका अनुसार उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढा ३ हजार ६ सय २७ मत ल्याएर बिजयी भएकी हुन् ।
कांग्रेसको चनाव चिन्ह रुख लिएर उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी एमालेको महिला संगठनकी केन्द्रीय सदस्य केशकुमारी तुलाचनले २ हजार १ सय २८ मत प्राप्त गरेकी छन् ।
पालिकाभरी कुल ११ हजार १ सय ८० मतदाता रहेकोमा ५ हजार ९ सय ३१ खसेकोमा ५ हजार ७ सय ५५ मत सदर हुँदा १ सय ७६ मत बदर भएको छ । गत भदौ २८ गते बागलुङमा जिप दुर्घटना हुँदा यसअघि माओवादी केन्द्रकै तर्फबाट उम्मेदवार भएका पालिका उपाध्यक्ष भूपेन्द्रा बुढा र २ नं. वडा अध्यक्ष जसबहादुर सिर्पालीको मृत्यु भएपछि उक्त दुई पद रिक्त भएका थिए ।
उपाध्यक्षमा माओवादी केन्द्रकी बुढा बिजयी भईन । वडाध्यक्ष पदमा भने उम्मेदवारी दिएका एमाले र १ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि यसअघि नै माओवादी केन्द्रका जगत घर्ती सर्वसम्मत निर्वाचित भइसकेका छन् ।