बंगलादेशसँग पराजित नेपाल एसिया कपबाट बाहिरियो

काठमाडौं, १६ मंसिर ।
युएईमा जारी यु १९ एसिया कपमा बंगलादेशविरुद्धको खेलमा पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
आइतवार लगातार दोस्रो खेलमा पराजित नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भयो । नेपालले दिएको १ सय ४२ रनको लक्ष्य बंगलादेशले २८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । बंगलादेशका लागि ओपनर जबार अबाररले सवौधिक ५९ रन बनाए । उनले ६५ बलमा ५ चौका र ४ छक्का प्रहार गरेका थिए । अर्का ओपनर कलिम एलेन रनको खाता नै नखोली नेपाली कप्तान हेमन्त धामीको बलमा आउट भए ।
कप्तान मोहम्मद हाकिम तमिमले ७१ बलमा २ चौका र ३ छक्काको सहयोगमा ५२ तथा मोहम्मद फरिदले ३१ बलमा १३ रन जोडे । नेपालका लागि युवराज खत्रीले ४ तथा कप्तान हेमन्तले १ विकेट लिए ।
त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १ सय ४१ रन बनाउँदै अल आउट भएको थियो । नेपालका लागि ओपनर आकाश त्रिपाठीले ७७ बलमा सर्वाधिक ४३ बनाए । उत्तम थापा र अभिषेक तिवारीले समान २९ रन जोडे । नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बंगलादेशका लागि मोहम्मद अल फहदा, मोहम्मद इकवाल र मोहम्मद होसैनले समान २ विकेट लिए ।
पहिलो खेलमा श्रीलंकासँग पराजित नेपालको यो लगातार दोस्रो हार हो । भने, पहिलो खेलमा अफगानिस्तानमाथि जित हात पारेको बंगलादेशको यो लगातार दोस्रो जित हो ।
क्यानले पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षक र धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षक जिम्मेवारी दिएको छ । एसिया कपमा नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेलमा मंसिर १८ गते अफगानिस्तानसँग खेल्नेछ। खेल ५० ओभरको हुनेछ ।
एसिसीको आयोजनामा जारी प्रतियोगितामा एसियाका ८ देश सहभागी छन् । प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वत छनोट भएका थिए । नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए । गत बर्षको अक्टोबरमा भएको यस प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।
सहभागीटोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘बी’ मा नेपाल श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।
समूह ए मा भारत, पाकिस्तान, जापान र युएई छन् । समूहका शीर्ष २ टोलीले सेमिफाइनल पुग्नेछन् । फाइनल मंसिर २३ गते हुनेछ ।