उपनिर्वाचन : ७ बजेबाट मतदान सुरु, अपराह्न ५ बजेसम्म मतदान हुने

काठमाडौँ, १६ मंसिर । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज बिहान ७ः०० बजे मतदान शुरु भएको छ । मतदान अपराह्न ५ः०० बजेसम्म मतदान हुने छ ।
निर्बाचन आयोगले नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भईरहेको हो ।
उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट कात्तिक २ मा मनोनयनपत्र दर्ता भएको थियो । जसमा तीन पदमा निर्विरोध निर्वाचित भएसँगै आइतबार ४१ पदमा मात्रै निर्वाचन सुरु भएको हो ।
निर्वाचन आयोगका प्रवक्ता निता पोख्रेल अर्यालले उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा निर्वाचनका लागि गरिनुपर्ने आवश्यक सम्पूर्ण तयारी पूरा भएसंगै आज बिहान मतदान शुरु भएको हो ।
निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ ।
प्रवक्ता अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् ।
कहाँ-कहाँ हुँदैछ उपनिर्वाचन ?
आइतबार कीर्तिपुर नगरपालिकाको प्रमुख र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख, मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष, दोलखाको गौरिशङ्कर, रुकुम (पूर्वी भाग) पुथा उत्तरगङ्गा, हुम्लाको सर्केगाड र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि उपनिर्वाचन भइरहेको छ ।
यसैगरी ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३, झापाको कन्काई नगरपालिका वडा नं ६, तेह्रथुमको लालिगुराँस नगरपालिका वडा नं ८, सुनसरीको गढी गाउँपालिका वडा नं ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं ५, उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नं १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं २, रौतहतको ईशनाथ नगरपालिका वडा नं ७, रौतहटका राजपुर नगरपालिका वडा नं ६ र गढीमाई नगरपालिका वडा नं ८ मा निर्वाचन भइरहेको छ ।
काठमाडौँको काठमाडौँ महानगरपालिका वडा नं १६, कीर्तिपुर नगरपालिका वडा नं १ र ४, नुवाकोटको ककनी गाउँपालिका वडा नं २, मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं १२, गोरखाको गोरखा नगरपालिका वडा नं ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नं १, कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४ र रुकुम ९पश्चिम भाग० को सानीभेरी गाउँपालिका वडा नं ५ वडाध्यक्ष पदका लागि पनि मतदान भइरहेको आयोगले जनाएको छ ।