रामेछापमा गाडी दुर्घटनामा वडाध्यक्षसहित पाँचको मृत्यु

रामेछाप, १४ मंसिर ।
रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा फोर्स गाडी दुर्घटना हुँदा वडा अध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीपकुमार सिंहका अनुसार दुर्घटनामा परेर गोकुलगङ्गा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामचन्द्र बस्नेत, बस चालक हीरा बहादुर कार्की सहित ५ जनाको मृत्यु भएको हो।
दुर्घटनामा एक बालकसहित तीन जना घाइते भएका हुन्। जसमध्ये एक जनाको अवस्था चिन्ताजनक छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइराखेको छ।
काठमाडौँबाट गोकुलगङ्गा गाउँपालिका वडा नम्बर ३ रस्नालु जाँदै गरेको त्रिवेणी यातायातको ना १ ज ७१२३ नम्बरको फोर्स गाडी शुक्रवार दिउँसो दुर्घटना भएको हो।