स्वीट्जरल्याण्ड एक सपना

देश विकास नहुनुलाई हामीले कहिल्यै राजतन्त्रलाई गाली ग¥यौ । कहिल्यै भू–बनोटलाई दोष दियौ । हामी त भूपरिबेष्ठित हुनुको हीनताबोध लिएर हुर्कियौ । नेताहरुले भन्थे, हामीसंग समुन्द्र भएन । भूपरबेष्ठित भएका कारण बाह्य संसारसंग सोझो व्यापारिक सम्बन्ध हुन सकेन । र, हामी पछाडि प¥यौ । जसै, जुरिक झरे । तव ती सबै कुराहरु झुट र भ्रमको पुलिन्दा लाग्यो । स्वीट्जरल्याण्डको सुन्दरता मात्र होईन, विकास र समृद्धि लोभलाग्दो रहेछ । भूपरिबेष्ठित हुदैमा विकास र समृद्धि रोकिदो रहेनछ ।
अग्ला डाडा र अजंगका हिमालहरु, जसलाई हामीले सधैभरी विकासको बाधक मानिरह्यौ, स्वीट्जरल्याण्डले त त्यसैलाई समृद्धिको मानक बनाईदियो । स्वीट्जरल्याण्ड गफले बनेको होईन । यो त स्वीसहरुको कडा मिहिनेतबाट बनेको हो । यो कुरा भने नेपालका नेताहरुले कहिल्यै सम्झिएनन । तर गफ भने दिईरहे । जुरिकमा ओर्लिएपछि लाग्यो, स्वीट्जरल्याण्ड त साँच्चिकै स्वीट्जरल्याण्ड रहेछ । सोचे र सुनेभन्दा पनि सुन्दर । मनमनै सोचे, नेपाल र स्वीट्जरल्याण्डको सबैचिज त उस्तै छ । स्वीट्जरल्याण्ड र नेपालको जल उही । जंगल उही । पहाड उही । हिमाल उही । ताल तलैया उस्तै । यस्ता धेरै कुरामा समानता छ, स्वीट्जरल्याण्ड र नेपालबीच ।
हो, एउटा कुरा भने फरक छ । हाम्रा नेताहरुले गफ मात्र दिए । उनीहरुका नेताले काम गरे । देश बनाए ।अव चर्चा गर्दैछु, स्वीट्जरल्याण्डको ऐतिहासिक पक्ष र बिशेषताका बारेमा । रोमन साम्राज्यको पतनपछि जर्मनीहरुको आक्रमणबाट जोगिन भागेकाहरु सुरक्षित स्थानको खोजीमा यहाँ आईपुगेका थिए । यसको भूबनोट र यहाँको हावापानीले उनीहरुलाई साथ दियो । उनीहरु बिभिन्न राज्य र संघमा छरिएर बसे । बाह्य आक्रमणका कारण ती संघ र राज्यहरुको भूगोल कहिल्यै खुम्चियो । कहिले फैलियो । तिनै संघ र राज्यहरु मिलेर १३ औ शताब्दि (१२९१) मा स्वीट्जरल्याण्ड संघ बन्यो । १८४८ मा संघीय स्वीट्जरल्याण्डको संबिधान जारी भयो । त्यही संबिधान नै राज्य व्यवस्था सञ्चालनको आधार बन्यो ।४१२८५ बर्ग किमीमा फैलिएको स्विट्जरल्याण्डको जनसंख्या ८५ लाख छ । स्वीट्जरल्याण्ड भन्दा नेपाल भूगोल र जनसंख्यामा तीन गुणा ठूलो छ । तर विकासमा स्वीट्जरल्याण्डसंग नेपालको तुलना नै हुदैन । ३००० कम्युन तथा नगर र २६ क्यान्टन मिलेर बनेको बिबिधतामा हुर्किएको देश हो ।
साना ठूला गरी १५०० सय प्राकृतिक ताल भएको स्वीट्जरल्याण्ड नदी नालापनि उत्तिकै छन् । रोन र राईन यहाँ दुई ठूला नदी हुन् । युरोपका हरेक देशहरुको आ–आफ्नै विशेषता र ऐतिहासिक महत्व छ । ठूला नदी र शहरसंग युरोपका अधिकांश देशहरुको सभ्यता र विकास जोडिएको छ । यद्दपि स्वीट्जरल्याण्ड भने अपवाद हो । हिमाल र प्राकृतिक तालहरु स्वीट्जरल्याण्डका सभ्यता र पहिचानका आधारहरु हुन नै पर्यटन र अर्थतन्त्रका आधारशिला पनि हुन् ।
स्वीट्जरल्याण्डको बिशेषता
संयुक्त राष्ट्र संघको दोस्रो ठूलो कार्यालय स्वीट्जरल्याण्डको जेनेभा छ । यही छ, विश्व व्यापार संगठन (डब्लुटिआ), विश्व स्वास्थ्य संघ(डब्लुएचओ) विश्व श्रम संगठन(आईएलओ) को मुख्य कार्यालय छ । विश्व फुटवल महासंघ (फिफा) को मुख्य कार्यालयमा जेनेभामै छ ।
स्वीट्जरल्याण्ड सन १८१५ देखि कुनै अन्तर्राष्ट्रिय युद्धमा सहभागी भएन । त्यही कारण यो शान्तिको प्रतिक बन्यो । उसले आफूलाई युद्धबाट टाढा राख्यो, यद्दपि मानवीय सहयोगका लागि उ सधै अग्रभागमा रह्यो । युद्ध र विपत्तिमा परेकाहरुलाई सहयोग गर्ने संसारकै प्रतिष्ठित संस्था रेडक्रस सोसाईटीको मुख्य कार्यालय पनि यही छ ।
विश्वमा सबैभन्दा बढि चकलेट निर्यात गर्ने स्वीट्जरल्याण्ड हो । उसको आम्दानीको एउटा आधार चकलेट हो । भनिन्छ, स्वीसहरु वर्षदिनमा ११ किलोभन्दा बढि चकलेट खान्छन ।स्वीसहरुको आम्दानीको अर्को स्रोत हो, घडी । स्वीस घडी संसारमा प्रख्यात मानिन्छ । र, महंगो पनि । स्वीट्जरल्याण्ड गाई पालन र दुग्ध जन्य उत्पादन (छुर्पी, चिज, मिठाई) निर्यात गर्ने देशका रुपमा पनि चिनिन्छ । यो उसको आम्दानीको तेस्रो आधार पनि हो । संसारमा प्रतिव्यक्ति आय उच्च भएको दोस्रो देश हो, स्वीट्जरल्याण्ड । यहाँको प्रतिव्यक्ति आय ८१,००० डलर छ । सेवा क्षेत्र यसको आम्दानीको मुख्य आधार हो, जसले ७४ प्रतिशत भाग ओगटेको छ ।
संसारभरीको कालोधन राख्ने स्वीस बैंक पनि यही छ । हरेक देशमा प्राईभेट बैंकहरु केन्द्रीय बैंकको मातहतमा हुन्छन । जसलाई नियमन, अनुगमन र आवश्यक पर्दा कारबाही गर्ने अधिकार पनि केन्द्रीय बैंकमा हुन्छ । र, बैंकमा जम्ममा हुने ठूलो धनराशीका बारेमा केन्द्रीय बैंकलाई अवगत हुन्छ । तर स्वीट्जरल्याण्डमा भने बैंकमा कसको पैसा कति जम्मा छ, सरकार वा केन्द्रीय बैंकलाई जानकारी दिईरहन पर्दैन । र केन्द्रीय बैंक र सरकारले पनि बैंकमाथि हस्तक्षेप गर्न नपाउने नीति छ । त्यही कारण पनि कर छलेर वा अबैध तरिकाले पैसा कमाउनेहरुले गोपनीयता र त्यसको सुरक्षाका निम्ति स्वीस बैंकमा जम्मा गर्ने गर्छन ।
स्वीसहरुको आफ्नो छुट्टै भाषा छैन । यहाँ मुख्यतयाः जर्मन, फ्रेन्च, ईटालियन,रोमन भाषा बोलिन्छ । यहाँ सरकारी कार्यालय, विद्यालय र पाठ्यक्रममा अंग्रेजी भाषा अनिवार्य छैन । सरकारी विद्यालयहरुले अंग्रेजी भाषालाई महत्व नदिने भएकोले अभिभावकहरु आफ्ना सन्तानहरुलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम बनाउन चाहन्छन । र महंगो शुल्क तिरेर नीजि विद्यालयमा पढाउछन् । युरोपका अन्य मुलुकहरुभन्दा यहाँ शिक्षकहरुको मान,सम्मान र पारिश्रमिक बढि छ ।
स्वीट्जरल्याण्डमा बाह्य देशका नागरिकलाई पीआर पाउन त्यति सजिलो छैन । पहिलो प्राथमिकतामा उनीहरु युरोपियनहरुलाई दिन्छन । यहाँ जस्तो सुकै ओहोदामा भएपनि नेपालजस्तो विकासोन्मुख देशका नागरिकहरुले पीआर पाउन कम्तिमा १० वर्ष बढि कुर्नु पर्छ । ज्येष्ठ नागरिकहरुका लागि भने स्वीट्जरल्याण्ड स्वर्ग मानिन्छ । ज्येष्ठ नागरिकको स्वास्थ्य र सुरक्षाको सम्पूर्ण जिम्मेवारी सरकारको हो ।
सुन्दर स्वीट्जरल्याण्ड
स्वीट्जरल्याण्ड छ पनि गजवको । यसका हरेक शहरहरुको आआफ्नै विशेषता छ । सबै शहरहरु उत्तिकै सुन्दर र समृद्ध छन् । जुरिक, जेनेभा, ईन्टरलेकन, लुसान, जरम्याट, लुगानो, लुजेन र बर्न नाम चलेका शहरहरु हुन् । जहाँ वर्षेनी लाखौ पर्यटकहरु पुग्छन । अरु थुप्रै पर्यटकीय गन्तव्यहरु पनि छन् । स्वीट्जरल्याण्डमा वर्षेनी संसारभरीबाट सवा करोड भन्दा बढि पर्यटक घुम्न आउछन् । एक पटक घुमेर धीत मर्दैन । र त, पटक पटक यहाँ पर्यटकहरु आउछन् । प्राकृतिक सुन्दरता र त्यो सुन्दरताका बीच बसाइएका लोभलाग्दा घरहरु । र, ती घरहरुको छेउ भएर कुद्ने रेलको दृष्य हेरीरहु लाग्छ ।
स्वीट्जरल्याण्डका शहरहरु जति सुन्दर छन् । ग्रामिण वस्तीहरु पनि उत्तिकै मनमोहक र सुन्दर छन् ।हिमाल छिचोल्दै कुद्ने रेलबाट देखिने हिमालका सुन्दर दृष्यहरु आँखा नझिम्क्याई हेरिरहन मन लाग्छ । ओहो ! यस्तो अजंगको पहाड छेडेर कसरी बिछ्याए होलान, रेलको लिक । एउटा पहाड र अर्को पहाडका बीचमा बनाईएका गगनचुम्बी पुल र त्यो पुल हुदै पारी पुगेको रेल एक छिनमै सुरुङ भित्र पसेर हराउछ । र, फुत्त एकछिनमा बाहिर निस्किन्छ । बाहिर निस्किदा उज्यालोसंगै देखिन्छन, आँखा अघिल्तिर हिमालहरु।
कठ्यांग्रिने हिमालमा स्वीसहरुले पैसा फलाएका छन् । हिमाल चढे रोयल्टी । स्कि खेले शुल्क । केवल कार चढे शुल्क । त्यही हिमाल र हिउ बेचेको बेच्यै छन्, स्वीसहरु । हिमालमै टेकेर बनाईएका आलिशान सुबिधा सम्पन्न होटलहरु । जहाँ बाह््रैमास पर्यटकहरु खचाखच भरिएका हुन्छन । अचाक्ली महंगो छ, स्वीट्जरल्याण्डको बसाई र भ्रमण ।
हामी होटलबाट निस्किदै गर्दा म्यानजेर सम्झाउथे, बाहिर सामानको मूल्य छोई नसक्नु छ, जे जे चाहिने हो, यहीबाट लैजानु । तालै ताल । पहाडै पहाड । हिमालै हिमाल । तिनै ताल, हिमाल र पहाडमा छन्, सुन्दर शहर र वस्तीहरु । ताल किनारमा फुल झै सुन्दर लाग्छन, घरहरु । हिउँ छेक्न बनाईएका सुन्दर र कलात्मक घरहरु कम्ति सुन्दर लाग्दैनन । स्वीट्जरल्याण्डका हिमालमै रेल पु¥याएको देखेपछि खप्तडमा बाटो पु¥याए वातावरणमा असर पर्ने दावी गर्ने नेपालमा विकासमा अवरोध गर्नेहरुलाई सम्झे ।तालको वरीपरी सुन्दर बाटो । छेउमै आराम गर्न सजाईएका बेञ्चहरु । जहाँ सबै दुःख कष्ट बिर्सेर निर्धक्कसंग सुस्ताउछन्, पर्यटकहरु ।
स्वीट्जरल्याण्डमा रेलको यात्रा जति रोमाञ्चकारी लाग्छ, त्यत्तिकै रोमाञ्चकारी लाग्छ, तालमाथि क्रुजको यात्रा । समुन्द्र झै बिशाल लाग्ने तालहरु । तालमा शयर गर्नुको मजा नै बेग्लै छ । वरीपरी हिउले ढाँकिएका डाडाहरु छन् । स्वीट्जरल्याण्डमा त्यस्तो कुनै चिज छैन, जसलाई पर्यटकीय आकर्षण र आम्दानीको स्रोत नबनाएको होस । ताल हुन् वा हिमाल ? नदी हुन् वा पहाडमा बसाईएका वस्तीहरु ।
रारा, तिलिचो र शेफोक्सुण्डो तालहरु सम्झिए । जहाँ अहिले पनि वर्षेनी औलामा गन्न सकिने पर्यटकहरु पुग्छन् । ओहो, लुजेनको तालमा पर्यटकहरुको त्यो भीड । तालमा तैरिने क्रुज । र, ती क्रुजमा प्राकृतिक सौन्दर्यमा हराईरहेका जोडीहरु ।
रारामा यस्तो भीड कहिले लाग्ला ?
नेपाल र स्वीट्जरल्याण्डबीच समानता
स्वीट्जरल्याण्डबाट रेलको लिक सडकलाई हटाई दिने हो यो त नेपालभन्दा निकै बिकट छ, जेनेभामा पाँच वर्ष बिताएका ईञ्जिनियर बिरेन्द्र खड्का भन्छन्, उसको समृद्धिको आधार यही रेलको लिक र सडक हो ।
स्वीट्जरल्याण्डमा सन १८४७ मा रेल मार्ग निर्माण शुरु भएको हो । जुरिक र बाडेन जोड्ने १६ किमी रेल मार्गको निर्माण पुरा हुन झण्डै १० वर्ष लागेको थियो । ७३ हजार किमी लामो सडक सञ्जाल भएको स्वीट्जरल्याण्डमा यतिबेला ५३२३ किमी लामो रेल मार्ग छ ।
नेपाल दुई देश भारत र चीनबाट घेरिएको छ । स्वीट्जरल्याण्ड वरीपरी भने पाँच वटा देश छन् । यसको दक्षिणमा ईटली, पश्चिममा फ्रान्स, उत्तरमा जर्मनी र पूर्वमा अष्ट्रिया र लिच्चेस्टाईन छ । स्वीट्जरल्याण्डमा ६३ प्रतिशतले जर्मन भाषा बोल्छन् । सबैभन्दा कम ६ प्रतिशतले अंग्रेजी भाषा बोल्छन् । सन १९५६ मा स्वीट्जरल्याण्ड र नेपालबीच कुटनैतिक सम्बन्ध स्थापित भएको हो । त्यसको तीन वर्षपछि सन १९५९ मा नेपाल र स्वीट्जरल्याण्डबीच शुरु भएको सहकार्य र सहयोग अहिले पनि जारी छ ।
नेपाल र स्वीट्जरल्याण्डबीच धेरै कुरामा समानता छ । दुबै देशको भूबनोट उस्तै छ । हिमाल । पहाड र तालहरु उस्तै छन् । नदी नाला उस्तै छन् । तर यही चिजले उ अति बिकसित र समृद्ध भएको छ । तर हाम्रा लागि यही चिजलाई बिकासको अवरोधक मानिएको छ ।उसले नेपाल सहित संसारका विकासोन्मुख र कम बिकसित मुलुकहरुलाई दिने अनुदान र सहयोग यही चिजबाट कमाएको हो ।
ईच्छाशक्ति भए असंभव केही छैन, त्यसको उदाहरण स्वीट्जरल्याण्ड हो, गणेश जोशी भन्छन्, हाम्रा नेताहरु हिमाल र पहाडलाई देश विकासको बाधक ठान्छन । स्वीट्जरल्याण्डका नेताहरुले त्यही हिमाल र पहाडलाई विकास र समृद्धिको आधार बनाई दिए ।
हिन्दी फिल्मसंगको साईनो
भनिन्छ, संसारभरीका नव बिबाहित जोडीहरुले हनिमुनका लागि रोज्ने पहिलो ठाउँ हो, स्वीट्जरल्याण्ड ।
हिन्दी चलचित्रका निर्माता/निर्देशक यश चोपडा सन १९७० मा हनिमुन मनाउन स्वीट्जरल्याण्ड पुगेका थिए । पत्नी पामेलासंग हनिमुन गएका चोपडा स्वीट्जरल्याण्डको प्रेममा परे । उनी स्वीट्जरल्याण्डको सुन्दरताबाट यति प्रभावित भए की फिल्म छायांकनका लागि स्वीट्जरल्याण्ड जहिल्यै उनको पहिलो रोजाईमा प¥यो । उनले मृत्युअघि भनेका थिए, स्वीट्जरल्याण्ड जति सुन्दर, शान्त र रोमाण्टिक ठाउँ संसारमा अर्को छैन ।
स्वीट्जरल्याण्डको सुन्दरताबाट प्रभावित भएर हिन्दी फिल्म निर्माताहरुले फिल्म सुटिङ गर्ने क्रम ६० को दशकदेखि जारी छ । सन १९६४ मा राज कपुरले संगमको छायांकन गरेयता हालसम्म दुई सयभन्दा बढि हिन्दी फिल्म यहाँ छायांकन भइसकेका छन् ।
तर हिन्दी फिल्मका दर्शकहरुमाझ भने स्वीट्जरल्याण्डलाई चिनाउने श्रेय यश चोपडालाई जान्छ । यश चोपडाले सन १९८५ मा फासला फिल्मको छायांकन गरे । सन १९८९ मा स्वीट्जरल्याण्डमा छायांकन भएको चाँदनी उनको दोस्रो फिल्म थियो । १९९५ मा दिलवाले दुल्हनिया ले जायंगे छायांकन गरे ।
‘दिल वाले दुल्हनिया ले जायंगे’ फिल्मबाट स्वीट्जरल्याण्डको सुन्दरताको चर्चा यति व्यापक भयो कि हिन्दी फिल्म निर्माताहरुसंगै पर्यटकहरु पनि ओईरिन थाले । यो क्रम अझै जारी छ । यही फिल्मको गीत ‘तुझे देखा तो ए जाना सनम, प्यार होता है दिवाना सनम’ अहिले पनि उत्तिकै चर्चामा छ । त्यसपछि पनि चोपडाले स्वीट्जरल्याण्डलाई पछ्याईरहे । माया गरिरहे । स्वीट्जरल्याण्डमा छायांकन भएको जव तक हे जान उनको अन्तिम फिल्म थियो । जुन प्रदर्शन नहुदै उनको निधन भयो ।
चोपडाको यो गुन स्वीट्जरल्याण्डले कसरी बिर्सन सक्थ्यो ? ईन्टरलेकन सिटीले उनलाई ब्राण्ड एम्बसेडर बनायो । उनको नाममा रेल चलायो । उनको सम्मानमा ईन्टरलेकनमा पूर्ण कदको प्रतिमा समेत बनाएको छ । मृत्यपर्यन्त पनि यशलाई स्वीट्जरल्याण्डले सम्झिरहेको छ । जुरिकबाट शुरु भएको स्वीट्जरल्याण्डको चार दिने भ्रमण कति छोटो भएछ । कति छिटो सकियो पत्तै भएन । स्वीट्जरल्याण्ड छ पनि त्यस्तै । समय बितेको पत्तै नहुने । अधुरो प्रेम जस्तो, घुमाई । छोडन कठिन । ओहो ! कति चाँडो माया बस्यो । केही पलमै कति गाढा भयो ?
यस्तो लाग्यो, मानौ, यो प्रेम युगौदेखिको हो । प्रेमिकासंग बिताएका मिठा पलहरु झै हरपल बिशेष र प्रिय । पत्नीसंग हनिमुन मनाउन गएका यश चोपडा फर्किदा स्वीट्जरल्याण्डको प्रेममा चुर्लुम्म डुबिसकेका थिए । यही हो, स्वीट्जरल्याण्डको बिशेषता ।
तपाईको प्रतिक्रिया