पुनर्जीवनको पर्खाइमा सिलगढी

डोटीको सिलगढी कुनै बेला सुदूरपश्चिमको केन्द्रबिन्दु थियो । शैलेश्वरीको काखमा रहेको सिलगढीको गौरवमय र बिशिष्ट इतिहास छ । बाइसे–चौबिसे राज्य र त्यसपछि राणा शासनमा सिलगढी सामरिक हिसाबले अत्यन्त महत्वपूर्ण थियो । यो राजनैतिक र प्रशासनिक केन्द्र थियो । सिलगढी सुदूर पहाडको आर्थिक केन्द्र पनि थियो । र थियो, शैक्षिक हव पनि । सुदूरपश्चिमको विकास र समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने त्यही सिलगढी केही वर्षदेखि सुनसान छ । घरहरु बाझा छन् । ताला लगाईएका घरले विकास र समृद्धिका सपनालाई गिज्याउँछ ।
सिलगढी बजार भएर ओहोर–दोहोर गरिरहने हटारु त्यो पत्थरको बाटो भएर हिँड्न छोडेको वर्षौ भयो । त्यो डाँडामा एकसरो मास्तिर खप्तडतिर सिरान बनाएर फर्किएको सिलगढी । छ पनि गजवको । केही छैन । तर सबै थोक छ । सिलगढीमा जन्मिएर त्यहीको माटोमा हुर्किएकाहरु यतिबेला, तराइ, काठमाडौं हुँदै सात समुन्द्रपारी सुवास फैलाइरहेका छन् । यश, कृति र बैभव सबै दिएको छ, सिलगढीले उनीहरुलाई । तर सिलगढी भने लंकामा सुन छ, कान मेरो बुच्चै उखान बोकेर बाँचिरहेको छ । त्यही उखानको नियति भोगेको छ, सिलगढीले ।
निबर्तमान प्रधान न्यायधिश यही भूमिले जन्माएको हो । न्यायालय, निजामती सेवा, सुरक्षा, परराष्ट्र सेवामा अब्बल र कहलिएका व्यक्ति जन्माउने सिलगढी आफू भने तिनै सन्तानबाट न्याय मागिरहेको छ । सिलगढी त बिर्सिएर जानेहरुलाई सम्झिरहेको छ । रुग्ण र मक्किएका दलिनहरु । घरभित्रै उम्रिएका घासहरु । दैलोमा खिया लागेका तालाहरु । बाँझा बारीहरु । यही हो, सिलगढीको वर्तमान । हुने खानेहरु सिलगढी छोडेर गए । र फेरि फर्केनन् । बाँकी रहेकाहरु पनि खुट्टा उचालेर बसेका छन्, झर्ने समय कुर्दै । तर सिलगढी भने उस्तै छ । छोडेर जानेहरु प्रति पनि सिलगढीको कुनै गुनासो छैन । साथ दिनेहरुप्रति त उसको प्रेम हुन नै भयो । शरीर छ, प्राण छैन । जराहरुले साथ छोडेको रुख जस्तो । देखिनलाई रुख छ, तर अडिनलाई आधारहरु छैनन्, त्यस्तै छ, यतिबेला सिलगढी ।
सिलगढी सुदूरपश्चिमको पुरानो सहरमात्र होइन, यो सुदूरपश्चिमको सभ्यताको प्रतीक पनि हो । सिलगढी सहरमात्र थिएन, एउटा सुसंस्कृत संस्कार बाँड्ने मौलिक भूगोल पनि थियो । बिशिष्ट पहिचान बोकेको सिलगढी यतिबेला कस्तुरी बिनाको मृग झै भएको छ । झण्डै डेढ दशकअघि पहिलो संविधान सभाको निर्वाचन ताका हिमाल खवर पत्रिकाको टीम सिलगढी पुगेको थियो । र साथमा थियो, यो पंक्तिकार पनि । हिमालका सम्पादक किरण नेपालले पहिलो पटक डोटी टेकेका थिए । तर डोटी जानुअघि उनको मस्तिष्कमा दीपायल—सिलगढीलाई लिएर गजवको धारणा थियो ।
जब उनले दीपायल—सिलगढी देखे, नजिकबाट नियाले । अनि उनले सोधे– यही हो त, दीपायल—सिलगढी ? दीपायल अति सुन्दर, बिशाल र बिकसित होला । सिलगढी त अझै सुविधा सम्पन्न र सुन्दर होला सोचेका थिए, उनले । किनकी उनले दीपायल—सिलगढीको नाम सुनेको वर्षौ भइसकेको थियो । दीपायल क्षेत्रीय सदरमुकाम । सिलगढी जिल्ला सदरमुकाम । तर त्यहाँको अवस्था देखेपछि उनको मन कुँडियो । उनले सिलगढीमा आयोजित कार्यक्रमका सहभागीहरुलाई प्रश्न गरे–डोटीको विकासको बाधक को हो ?
सहभागीहरु मध्ये मुकुन्द रानाले जवाफ दिए–हामी हौँ । जो डोटीमा जन्मियौँ । यही हुर्कियौँ । जागीर यही खाँयौ । व्यवसाय यही ग¥यौँ । तर आफूले कमाएको सम्पत्तीले धनगढी र काठमाडौँमा घर जोड्यौँ । कमायौँ यहाँ । लगानी अन्तै ग¥यौँ । हो, यही कारण डोटीको विकास हुन सकेन । र हामीले यहाँ विकास गर्न रुची देखाएनौँ । हाम्रै पुस्ता र हाम्रा सन्तानहरु अवसरको खोजीमा अन्त गए ।
घामपानीबाट ओथारो जोगाएर चल्ला हुर्काएकी माउ, बचेराहरु पखेटा पलाएर आँखाबाट ओझेल भएपछि न रुन सक्छिन् । न हाँस्न । बचेराहरु आफ्नै पखेटाको बलमा उड्न सक्ने भए । एक मनले खुशी पनि हुन्छिन्, माउ । तर एक मनले निराश पनि हुन्छिन्–पखेटा पलाएपछि बिर्सिएर टाढा जाने सन्तानहरु, जो साथमा छैनन्, दुःखमा ।
अध्ययनका लागि आठ वर्षको उमेरमा सिलगढी छोडे पनि शिक्षित भट्टको सिलगढीप्रतिको माया र लगाव उस्तै छ । काठमाडौंमै अध्ययन पुरा गरे । तर आफ्नो जन्मभूमिका लागि पुरा गर्नु दायित्व भने उनी बिर्सिएका छैनन् ।
उनीसंग एक साँझ धनगढीको एक क्याफेमा भेट भयो । कफिमा गफिदै हामीले सिलगढीको चर्चा ग¥यौ । सिलगढीको बिगत सम्झियौँ । र वर्तमानलाई लिएर साझा चिन्ता व्यक्त ग¥यौ । सिलगढी डेड सिटी (मृत शहर) झै हुँदैछ, जहाँ घर त छन्, मान्छे छैनन् । भएका मान्छेमा पनि उत्साह छैन । सिलगढीको त्यो डाँडामा जन्मिएकाहरु शैलेश्वरीको कृपा र आशीर्वादले यश, कृति, बैभव सबैचिज प्राप्त गरेको विश्वास गर्छन् । जहाँ केही थिएन । तर त्यहाँ जन्मिनेहरुले सबैथोक पाए । अब सिलगढीलाई दिने पालो उनीहरुको हो । जसले सिलगढीबाटै सबैथोक पाए । यश, ऐश्वर्य र बैभव ।
आफ्नो जन्मभूमिप्रतिको दायित्व पुरा कसरी गर्ने शिक्षित घोत्लिन्छन् । सिलगढी मृत शहर बन्दैछ भनेर चिन्ता गरेर बस्ने होइन, शिक्षित भन्दै थिए, सिलगढी सुदूरपश्चिमको बन्दीपुर बन्न सक्छ । ‘गेट वे अफ खप्तड’ हो सिलगढी । खप्तड र शैलेश्वरीलाई लक्षित गरेर पर्यटन प्रवद्र्धन र पर्यटकहरुलाई आकर्षण गर्ने प्याकेज भने बनाउन आवश्यक छ ।
भू–स्वर्गका रुपमा चिनिने खप्तडको प्रवेशद्धार हो, सिलगढी । जसको सिरानमा खप्तड र आगनमा शैलेश्वरी छ । त्यो सिलगढी कसरी मृत शहर हुन सक्छ ? हामीले निराशाका बीच प्रचुर संभावना देखेर कफि गफलाई बीट मा¥यौँ ।