विश्व जलवायु सम्मेलन ‘कोप–२९’ जलवायु वित्तको नयाँ लक्ष्य निर्धारण गर्न असफल

द एभरेष्ट पोष्ट
८ मंसिर २०८१ ९:५६
विश्व जलवायु सम्मेलन ‘कोप–२९’ जलवायु वित्तको नयाँ लक्ष्य निर्धारण गर्न असफल

काठमाण्डौ – विश्व जलवायु सम्मेलन कोप—२९ नयाँ सामूहिक वित्तीय लक्ष्य निर्धारण गर्न असफल भएको छ । जलवायु वित्तको सम्मेलनका रूपमा हेरिएको कोप–२९ मा जलवायु कार्यका लागि सन् २०२५ देखि २०३५ सम्मको नयाँ लक्ष्य निर्धारणसम्बन्धी प्रस्तावमा आएको दुई सय ५० बिलियन अमेरिकी डलरको रकममा अल्पविकसित देशले असहमति जनाएपछि वित्तमा सहमति हुन नसकेको हो ।

दुई वर्ष लगाएर तयार पारेको मस्यौदामा दुई सय ५० बिलियन डलर प्रस्ताव गरिएपछि गरिब देशहरू आक्रोशित बनेका छन् । यो रकम पेरिस सम्झौताको तुलनामा ६० प्रतिशत मात्रै रहेको गरिब देशहरूको टिप्पणी छ । रकम वृद्धिमा हुनुपर्नेमा पुरानो प्रतिबद्धताबाट ४० प्रतिशत पछि हट्नु अस्वीकार्य भएको उनीहरूको प्रतिक्रिया छ ।

अहिले नेपालको प्रतिनिधि टोलीको नेतृत्व गरिरहेका वन तथा वातावरण मन्त्रालय जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख सिन्धुप्रसाद ढुंगानाले गरिब देशहरूको समूहको तर्फबाट जलवायु वित्तको रकम समय सापेक्ष नहुनु दुःखद रहेको बताउनुभयो । यस्तै सम्मेलनमा सहभागी जलवायु विज्ञ डा। धर्मराज उप्रेतीले जलवायु वित्तको नयाँ लक्ष्य निर्धारणमा धनी देशहरूको प्रतिबद्धता समय सापेक्ष नभएपछि निर्णयमा पुग्न नसकेको बताउनुभयो ।

यसैबीच नेपालले महत्त्वका साथ उठाएको पर्वतीय मुद्दा कोपको प्रतिवेदनमा परेको जलवायु महाशाखा प्रमुख ढुंगानाले जानकारी दिनुभयो । प्रतिवेदनमा परेको विषयले जलवायु परिवर्तनमा नेपालले हिमाल बचाउन गरेको मेहनतले सार्थकता पाएको छ ।

आउँदा दिनमा हिमाल संरक्षणमा नेपालले विश्व मञ्चमा प्रभावकारी उपस्थिति दिनसक्ने जलवायु महाशाखा प्रमुख ढुंगानाले बताउनुभयो । यस्तै नेपालले उठाएको हानि, नोक्सानी कोष प्राप्त गर्ने विषयमा पनि प्रगति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस