पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीलेलाई ‘ग्लोबल एम्बेसडर अवार्ड’

द एभरेष्ट पोष्ट
७ मंसिर २०८१ ९:११
पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीलेलाई ‘ग्लोबल एम्बेसडर अवार्ड’

काठमाडौँ : पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले प्रतिष्ठित ग्लोबल एम्बेसडर अवार्ड–२०२४ प्राप्त गरेका छन् ।

पाकिस्तानमा चार वर्ष रहँदा नेपाल र पाकिस्तानबीचको कूटनीतिक, व्यापार र सांस्कृतिक सम्बन्धलाई सुदृढ गर्नमा उनले गरेको उत्कृष्ट प्रयासको कदरस्वरूप उक्त सम्मान गरिएको हो ।

पाकिस्तानको ग्लोबल पब्लिक डिप्लोमेसी संस्था ‘द डिप्लोम्याटिक इनसाइट’ ले छोटो अवधिमा दुई राष्ट्रलाई द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय फोरमहरूमा एकसाथ नजिक ल्याउन महत्त्वपूर्ण योगदान पुर्‍याएकामा राजदूतलाई छैटौं ग्लोबल एम्बेसडर अवार्डबाट इस्लामावादमा सम्मानित गरिएको हो ।

आफ्नो चारवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्केका राजदूत अधिकारीले आफ्नो कामलाई मूल्यांकन गरेर उक्त संस्थाले दिएको सम्मानप्रति धन्यवाद व्यक्त गरेका छन् । छैटौं ग्लोबल एम्बेसडर अवार्ड समारोह–२०२४ मा राजदूत, कूटनीतिक निकाय, सांसद, सरकारी अधिकारी, व्यवसायी, नेता, शिक्षाविद्, सञ्चारकर्मी र नागरिक समाजका सदस्यको उपस्थिति थियो ।

राजदूत अधिकारीले ७ नोभेम्बर २०२० देखि पाकिस्तानका लागि नेपाली राजदूतका रूपमा काम गरेका थिए र गत महिना मात्र आफ्नो चारवर्षे कार्यकाल पूरा गरी नेपाल फर्केका हुन् । राजदूत अधिकारी आफ्नो कार्यकाल पूरा गरी नेपाल आइसकेका कारणले गर्दा कार्यवाहक राजदूत लोकबहादुर पौडेल क्षेत्रीले उक्त अवार्ड लिएका छन् ।

नेपालको परराष्ट्र सेवामा २० वर्षभन्दा बढी समय बिताएका अधिकारीले न्युयोर्क, कोलकाता, टोकियो र नेपालको परराष्ट्र मन्त्रालयमा विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । पाकिस्तानमा नियुक्त हुनुअघि उनले दक्षिणपूर्व एसिया र प्रशान्त महाशाखाको नेतृत्व गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस