परामर्शदाताको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदै

काठमाडौं । विश्वभरका परामर्शदाताको अन्तर्राष्ट्रिय संस्था ‘फिडिक’को एशिया प्रशान्त क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ ।
नेपाली परामर्शदातृ संस्थाहरूको छाता संगठन ‘सोसाइटी अफ कन्सल्टिङ्ग आर्किटेक्चरल एण्ड इन्जिनियरिङ्ग फर्म्स’ (स्काएफ)को आयोजनामा मंसिर ३ देखि ५ गतेसम्म उक्त सम्मेलन हुन लागेको आयोजक स्काएफले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ ।
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहबाट उद्घाटन हुने उक्त सम्मेलनमा फिडिककी अध्यक्ष क्याथरीन काराकात्सानीससहित २३ देशको प्रतिनिधि तथा १०० जनाभन्दा बढी अन्तर्राष्ट्रिय र ३०० जना राष्ट्रिय सहभागी तथा पर्यवेक्षकहरूको सहभागिता हुनेछ आयोजक स्काएफका महासचिव ई. कमल कार्कीले बताए ।
‘Governance for Climate Shocks’ भन्ने मुख्य विषयवस्तु रहेको उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा पर्यावरणीय विपद्लाई सम्बोधन गर्ने प्राविधिक तथा नितिगत विषयमाथि ७ वटा विशिष्टिकृत शिर्षकमा ३ दिनसम्म छलफल चल्ने छ ।
विपद्को जोखिमले आक्रान्त बनिरहेको सन्दर्भमा विश्व समुदायका लागि नेपालमा हुन लागेको उक्त सम्मेलन फलदायी हुने विश्वास आयोजकको छ ।
विश्वभरका सम्पूर्ण परामर्शदाताहरूको अन्तर्राष्ट्रिय संस्था फिडिकको पूर्णकालीन सदस्यको रुपमा १ असोज, २०५४ देखि स्काएफले नेपाललाई प्रतिनिधित्व गर्दै आइरहेको छ ।
फिडिक इन्टरनेशनलको ५ वटा क्षेत्रीय उपसमितिहरू मध्ये एशिया प्रशान्त समितिको सकृय सदस्यको रुपमा समेत स्काएफ क्रियाशिल रहेको छ । उक्त समितिअन्तर्गतका विभिन्न उपसमितिहरूमा समेत नेपालबाट प्रतिनिधित्व रहेको छ ।
हरेक वर्ष फिडिक एशिया प्रशान्त क्षेत्रीय सम्मेलन आयोजना हुने गर्दछ । अघिल्लो पटक फिडिक एशिया प्रशान्त क्षेत्रीय सम्मेलन थाईल्याण्डको बैंककमा आयोजना भएको थियो भने आउँदो वर्ष सन् २०२५ को सम्मेलन इन्डोनेसियाको बालीमा हुनेछ ।