धनगढीमा सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्ट सम्पन्न

धनगढी, ३ मंसिर । नेपाल प्रिमियर लिगको लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आइतबार ट्यालेन्ट हन्ट सम्पन्न गरेको छ ।
धनगढी क्रिकेट एकेडेमीको मैदानमा ट्यालेन्ट हन्ट संचालन भएको थियो । पहिलो संस्करणको नेपाल प्रिमियर लिग खेल्ने आशाका साथ आफूमा रहेको क्षमता प्रस्फुटन गर्न प्रदेशभरीका सयौं युवाहरूको उत्साहजनक उपस्थिति रहेको थियो । ‘
नेपाल क्रिकेट संघ क्यानले एनपिएलका लागि हरेक फ्रेन्चाइज टोलीबाट एउटा आइकोनिक खेलाडी छनोट गर्नुपर्ने प्रावधान राखेको छ ।
छनोटका लागि सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमाटालगायत प्राविधिक टोली शनिबार नै धनगढी पुगिसकेको थियो । सहभागी हुन सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट दुई सय भन्दा बढी युवा खेलाडीहरूले नाम दर्ता गराएको सुदूरपश्चिम रोयल्सका मुख्य कार्यकारी अधिकृत प्रकाश खड्काले बताए । खेलाडीको नाम भने क्यानबाट स्वीकृति प्राप्त गरेपछि सार्वजनिक गरिनेछ ।
सुदूरपश्चिम रोयल्सले केहिदिन धनगढीको फाप्ला खेलमैदान र कञ्चनपुरको महेन्द्रनगरमा बन्द प्रशिक्षण थाल्नेछ । त्यसपछि टिम मंसिर १५ गतेबाट काठमाडौंमा आयोजना हुने पहिलो संस्करणको नेपाल प्रिमियर लिगमा सहभागी हुन काठमाडौं जानेछ । स्वतन्त्र प्रताप शाह टिम मालिक रहेको सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी सुदूरपश्चिम प्रदेशकै दिपेन्द्र सिंह ऐरी ररहेका छन् ।
सुदूरपश्चिमका खेलाडीहरूलाई बढीभन्दा बढी मौका दिने गरी टिम तयार गरेको र आफ्नो टिमले उत्कृष्ट नतिजा ल्याउने सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले बताए ।
रोयल्सले आफ्नो कोटाका चार विदेशी खेलाडीलाई पनि अनुबन्ध गरिसकेको छ । ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड), रोहन मुस्तफा (यूएई) लाई टिममा समावेश गरेको छ । त्यस्तै आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठलाई अक्सनमार्फत टिममा भित्र्याएको थियो ।