ह्वाइट हाउसको प्रेस सचिवमा २७ वर्षीया क्यारोलिन नियुक्त

द एभरेष्ट पोष्ट
१ मंसिर २०८१ ५:०५
ह्वाइट हाउसको प्रेस सचिवमा २७ वर्षीया क्यारोलिन नियुक्त

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यारोलिन लेभिटलाई ह्वाइट हाउसको प्रेस सचिवमा नियुक्त गरेका छन्।२७ वर्षीया क्यारोलिन सो पदमा नियुक्त हुने सबैभन्दा कान्छी व्यक्ति हुन्।

यसअघि यो कीर्तिमान रोनाल्ड जेग्लरको नाममा थियो, जसले सन् १९६९ मा रिचर्ड निक्सन सरकारमा २९ वर्षको उमेरमा यो पद सम्हालेका थिए। हाल आफ्नो प्रवक्ता समेत रहेकी लेभिटलाई ट्रम्पले प्रेस सचिव बनाएका हुन्।

एक विज्ञप्तिमार्फत क्यारोलिनको प्रशंसा गर्दै ट्रम्पले भनेका छन्, ‘क्यारोलिन लेभिटले मेरो ऐतिहासिक अभियानमा राष्ट्रिय प्रेस सचिवको रूपमा अभूतपूर्व काम गरिन्। उनलाई ह्वाइट हाउसको प्रेस सचिवको रूपमा घोषणा गर्न पाउँदा म खुसी छु।

क्यारोलिन स्मार्ट, कडा र अत्यन्त प्रभावकारी सञ्चारकर्मीको रूपमा प्रमाणित भइन्।’ प्रेस सचिव प्रशासनको सार्वजनिक अनुहार हो, जसले पत्रकारहरूसँग सञ्चार स्थापित गर्दछ। तर, आफ्नो पहिलो कार्यकालमा ट्रम्पले यो परम्परालाई परिवर्तन गर्दै आफैं सरकारको मुख्य प्रवक्ताको भूमिका निर्वाह गर्दै आएका थिए।

पहिलो कार्यकालमा ट्रम्पका चार प्रेस सचिवहरू थिए, जो पत्रकारसँगको झगडालु स्वभावका कारण चर्चामा रहेका थिए। लेभिट ट्रम्पको कट्टर समर्थक हुन्।

उनले टेलिभिजन अन्तर्वार्ताहरूमा आक्रामक रूपमा रिपब्लिकनहरूको बचाव गर्दै आएकी छिन्। ट्रम्पको पहिलो कार्यकालमा, लेभिटले ह्वाइट हाउसको प्रेस अफिसमा काम गरेकी थिइन्।

उनीसँग न्यूयोर्क रिपब्लिकन प्रतिनिधि एलिस स्टेफानिकको सञ्चार निर्देशकको रूपमा काम गरेको अनुभव पनि रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस