पर्यटनमन्त्री पाण्डेले सांसद बजगाईंविरुद्ध दिए उजुरी

काठमाडौँ, १ मंसिर ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले आफ्नै पार्टीका सांसद राजेन्द्र बजगाईंविरूद्ध पार्टी केन्द्रीय अनुशासन समिति र संसदीय दलमा उजुरी दर्ता गराएका छन्।
बजगाईंले श्रृंखलाबद्ध रूपमा आफूविरूद्ध कूप्रचार गरेको भन्दै पाण्डेले उजुरी दर्ता गरेका हुन्।
अनुशासन समितिमा बिहीबार र संसदीय दलमा शुक्रबार बुझाइएको उजुरीमा कांग्रेसका महासमिति सदस्य तथा गोरखा क्षेत्र नम्बर १ बा प्रतिनिधित्व गर्ने सांसद तथा पर्यटन व्यवसायी बजगाईंले आफू मन्त्री नियुक्त भएदेखि नै श्रृंखलाबद्ध रूपमा विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालहरूमा कूप्रचार गर्दै आएको पाण्डेले उल्लेख गरेका छन्।
पाण्डेले मन्त्री पदको सपथ लिएदेखि बजगाईंले आफूविरूद्ध श्रृंखलाबद्ध ढंगबाट कूप्रचार गरेको उजुरीमा उल्लेख गरेका छन्।
बजगाईंले एक क्यासिनलाई इजाजत दिँदा मन्त्री पाण्डेले भ्रष्टाचार गरेको भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए। मन्त्री पाण्डेले आफूमाथि लगाइएका आरोप निराधार रहेको र यसका विरूद्ध कानुनी बाटो अपनाउने बताएपछि बजगाईंले सामाजिक सञ्जालबाट त्यो पोस्ट हटाएका थिए।