३३८ नेपाली इन्टरपोलको सूचीमा

काठमाण्डौं, १ मंसिर ।
अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) को सूचिमा रहेका ३३८ जना नेपाली मध्य ३४ जनालाई मात्र नेपाल प्रहरीले स्वदेशमा ल्याउन सफल भएको छ ।
बिभिन्न अपराधमा संलग्न भई फरार रहेका ३०४ जना नेपालीलाई फिर्ता ल्याउन नेपाल प्रहरीले ईन्टरपोलसंग समन्वय गरिरहेको जनाएको छ ।
सहकारी ठगीमा फरार रहेका गितेन्द्र बाबु(जीवी)राई सहित ३०४ जना नेपालीलाई फिर्ता ल्याउन नेपाल प्रहरीले ईन्टरपोलसंग आवद्ध रहेका मुलुकसंग समन्वय गरिरहेको छ ।
प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार हालसम्म विभिन्न मुलुकमा लुकेर बसेका १९६ जनाविरुद्ध ‘रेड नोटिस’, २६ जनाविरुद्ध ‘यल्लो नोटिस’, एक जनाविरुद्ध ‘ब्लु नोटिस’, दुई जनाविरुद्ध ‘ब्ल्याक नोटिस’, एक जनाविरुद्ध ‘पर्पल’ र ११२ जनाविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी भइसकेको छ ।
फरार रहेकामध्ये सहकारी ठगी, बैङ्किङ कसुर, सुन तस्करी, वैदेशिक रोजगार ठगी, अपहरण तथा शरीर बन्धक, सङ्गठित अपराध तथा ठगी, बलात्कार, बैङ्क तथा वित्तीय ठगी, हत्या, साइबार अपराध, मानव तस्करी तथा लागु औषधको ओसारपसार तथा कारोबारी छन् ।