२०८४ सम्म गठबन्धन कायम रहन्छ – देउवा

द एभरेष्ट पोष्ट
३० कार्तिक २०८१ १६:५८
२०८४ सम्म गठबन्धन कायम रहन्छ – देउवा

डडेलधुरा, ३० कात्तिक ।
पूर्व प्रधमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसंगको गठबन्धन २०८४ सालसम्म रहने बताएका छन् ।

गृह जिल्ला डडेल्धुरामा प्रेस युनियनद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गठबन्धन भत्किने कुरा आफूले प्रेसबाट सुन्ने गरेको भएपनि त्यसमा सत्यता नरहेको बताए ।

उनले दुई वर्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार चलाउने र त्यसपछि १८ महिना काँग्रेसले सरकारको नेतृत्व गर्ने सहमती भएको बताए । देउवाले ओलीपछि १८ महिना आफूले सरकारको नेतृत्व गर्ने सुनाए ।

पूर्व प्रधानमन्त्री देउवाले ओली नेतृत्वको सरकारले राम्रो काम गरिरहेको दावी गरे ।

उनले राष्ट्रलाई फाइदा हुने सवालमा संविधान संसोधन गर्न सत्ता साझेदार एमालेसँग सहमती भएको प्रष्ट पारे ।

उनले संबिधान संशोधनका लागि एमाले र काँग्रेसले अन्य दलहरुलाई समेत समेट्ने बताए ।
देउवाले मुलुकको विकास, समृद्धि, शान्ति र स्थायीत्वका लागि दुई दलका बीचमा सरकार सञ्चालनका लागि सहमती भएको बताए ।

सरकारले कुनै व्यक्तिमाथि प्रतिशोध नसाध्ने प्रष्ट पार्दै देउवाले रवि लामिछानेको नाम नलिएरै राजनीतिक प्रतिशोधका आधारमा सहकारी ठगीका रुपमा कसैलाई थुन्यो भन्नु गलत भएको बताए ।

प्रहरीले हाम्रा साथीहरुलाई पनि नियन्त्रणमा लिएर बयान लिईरहेको छ, उनले भने, प्रहरीले कानून बमोजिम काम गरिरहेको छ । यसमा कुनै राजनीतिक प्रतिशोध छैन ।

शिवशिखर सहकारीले डडेल्धुरामा ४२ करोड रकम हिनामिना गरेको प्रसंगमा देउवाले सहकारी सञ्चालकहरुको सम्पत्ती जफत गरी सहकारीबाट ठगिएका बचतकर्ताको रकम फिर्ता गरिनु पर्ने बताए ।

देउवाले चुनावको समयमा मात्र डडेल्धुरा आउने गरेको आरोपको प्रतिवाद गर्दै आफूले चुनावपछि डडेल्धुराका सबै पालिकाहरुको भ्रमण गरिरहेको र डडेल्धुराको विकास र समृद्धिका लागि आफूले निरन्तर रुपमा काम गर्दै आएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस