बयान नसकिएपछि लामिछानेले भने- खोरमा थुनिंदैमा बाघ स्याल हुदैन

द एभरेष्ट पोष्ट
२७ कार्तिक २०८१ १५:१३
बयान नसकिएपछि लामिछानेले भने- खोरमा थुनिंदैमा बाघ स्याल हुदैन

बुटवल(रुपन्देही), २७ कात्तिक ।

सहकारीको रकम अपचलनको आरोपमा अनुसन्धानका नाममा तारेखमाथि तारेखमाथि झेलिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले खोरमा थुँनिदैमा बाघ स्याल नहुने बताएका छन् ।

सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेले बयान लिने नाममा आफूलाई निरन्तर थुनिएकोमा आक्रोश पोख्दै मंगलवार आफ्ना समर्थकलाई हात हल्लाउदै यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनलाई बयानका लागि मंगलवार कास्कीबाट रुपन्देहीको बुटवल ल्याईएको थियो । मंगलबार दिउँसो १ बजेपछि सुरु भएको बयान साँझ पौने ६ बजे स्थगित गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लामिछानेसंग साँझ पौने ६ बजे स्थगित गरिएको बयान बुधवार कार्यालय समय सुरु गरिने जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले बयान नसकिएपछि लामिछानेलाई जिल्ला प्रहरी कार्यालयमा सहजरुपमा लिएर राखिएको जानकारी दिए ।

सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई पोखराबाट मंगलबार दिउँसो भैरहवा ल्याइएको थियो ।

लामिछानेविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा रुपन्देही जिल्ला अदालतले कात्तिक ८ गते लामिछानेसहित १२ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा लामिछानेमाथि अनुसन्धान गरिरहेको छ ।

सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट लामिछानेको नाममा बुटवल उपमहानगरपालिका–९ राजमार्ग चौराहा कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २०७७ चैत १८ मा २ करोड ऋण लिएको अनुसन्धानबाट खुलेको    छ ।

२ करोडमध्ये संस्थाले काट्ने सेवा शुल्क कटाएर लामिछानेको नाममा १ करोड ९६ लाख ऋण लगिएको देखिन्छ । त्यतिबेला रवि लामिछाने गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशकको भूमिकामा थिए ।

त्यस्तै गोर्खा मिडियाकै उपाध्यक्ष छविलाल जोशी बञ्जाडेको नाममा पनि २ करोड ५० लाख रुपैयाँ ऋण लिएको देखिएको छ । उनले २०७७ माघ २९ गते २ करोड ५० लाख मध्ये ५ लाख सेवा शुल्क कटाएर २ करोड ४५ लाख रुपैयाँ ऋण लिएको देखिएको छ । लामिछाने र जोशी दुवैको नाममा गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको खातामा रकम जम्मा भएको अनुसन्धानले देखाएको छ ।

संस्थाका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीवी) राई र पूर्वउपराष्ट्रतिका छोरा एवं सुप्रिम सहकारीका पूर्वसचिव दीपेश पुनसहित २८ जनालाई प्रतिवादी बनाउँदा अनुसन्धानमै रकम लगेको देखिएपछि लामिछानेलाई प्रतिवादी नबनाएको भन्दै सहकारी पीडितले प्रश्न उठाउँदै आएका थिए ।

प्रहरीले २८ जनालाई प्रतिवादी बनाएर रुपन्देही अदालतमा मुद्दा दर्ता गर्दा लामिछाने गृहमन्त्री थिए । तर, अहिले प्रहरीले लामिछानेविरुद्ध पूरक अनुसन्धान प्रतिवेदन लैजाने गरी इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान गरिरहेको छ ।

प्रहरीले अहिले तयार गरिरहेको अनुसन्धान प्रतिवेदनमा लामिछानेको नाममा प्रवाह गरिएको ऋणको भौचर सुप्रिम सहकारीका व्यवस्थापक सागर केसीले सदर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस