काठ्माण्डौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र नेपालका लागि अस्ट्रेलियन राजदूत लियान जोन्स्टनले शिष्टाचार भेट भएको छ । मंगलबार सिंहदरबारमा भएको भेटका क्रममा मन्त्री भण्डारीले दुई बिचको सम्बन्ध थप बलियो हुने बताए छ ।
सन् १९६० मा नेपाल र अस्ट्रेलियाको कूटनीतिक सम्बन्ध स्थापना भएदेखी मित्रता, सहयोग र आपसी सम्बन्ध सौहार्दपूर्ण रहेको बताए।
उनले भने, ‘अस्ट्रेलिया नेपालका लागि मित्र राष्ट्र र महत्त्वपूर्ण साझेदार हो, नेपाललाई अस्ट्रेलियाबाट विभिन्न सहयोग प्राप्त भएको छ । स्वास्थ्य, जीविकोपार्जन र मानव संसाधन जस्ता क्षेत्रहरूमा सहयोग भएको छ ।’
नेपालको स्रोत, प्रविधि र साझेदारीका सन्दर्भमा व्यापार, लगानी र पर्यटन जस्ता क्षेत्रमा सहकार्य हुने विश्वास व्यक्त गरे । अस्ट्रेलिया नेपालको प्रमुख व्यापार साझेदार रहेको बताउँदै मन्त्री भण्डारीले दुई देशलाई फाइदा हुने गरी द्विपक्षीय व्यापार विस्तार गर्न आवश्यक रहेको बताए। लगानीका दृष्टिकोणले पनि अस्ट्रेलियाको प्रमुख भूमिका रहेको उनको भनाइ छ ।
‘व्यापार र लगानी फ्रेम वर्क सम्झौता’ नेपाल र अस्ट्रेलिया बीच सन् २०२४ को फेब्रुअरीमा सम्पन्न भएको थियो । उक्त सम्झौताले लगानी र व्यापार प्रवर्द्धनमा सहयोग विस्तार गर्ने मन्त्री भण्डारीको अपेक्षा रहेको छ । यो सम्झौता अनुसार सम्भाव्यता पहिचान गर्न र अभिवृद्धि गर्न सहायक हुने उनले बताए ।
मन्त्री भण्डारीले दुई देशबिचको सहकार्यका लागि व्यापार तथा लगानी समितिको पहिलो बैठक आयोजना गर्ने बताए । अस्ट्रेलिया उच्च शिक्षा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको प्रमुख गन्तव्य भएको उनले बताए । अस्ट्रेलियाबाट नेपाल आउने पर्यटकको सङ्ख्या उत्साहजनक रहेकाले आगामी दिनमा पर्यटकको सङ्ख्या बढ्ने विश्वास समेत उनले व्यक्त गरे।
भेटका क्रममा अस्ट्रेलियन राजदूत जोन्स्टनले मन्त्री भण्डारीले व्यक्त गर्नुभएको अपेक्षाहरूका विषयमा आफू सकारात्मक रहेको बताइन्।
नेपाल–अस्ट्रेलिया बीचको आपसी सम्बन्ध र सहकार्य विस्तारको भूमिका निर्वाह गर्ने बताउँदै उनले नेपालको विकास निर्माणमा सहकार्यको वातावरण बनाउने बताइन् ।
राजदुत जोन्टन हालैमात्र नेपालका लागि राजदूत नियुक्त भएर आएकी हुन् ।