आज रवि लामिछानेलाई पोखराबाट आज बुटवल लगिंदै

द एभरेष्ट पोष्ट
२७ कार्तिक २०८१ ३:४३
आज रवि लामिछानेलाई पोखराबाट आज बुटवल लगिंदै

काठमाडौं, २७ कात्तिक।
पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा बयानका लागि आज कास्कीबाट रुपन्देही लगिदैछ ।

कास्की प्रहरी प्रमुख श्यामबाबु ओलियाले उनलाई बुद्ध एयरको बिहान सात बजेको उडानबाट भैरहवा विमानस्थल हुँदै बुटवल लैजाने तयारी गरिएपनि मौसमको प्रतिकूलताका कारण उडान ढिला भएको जानकारी दिए ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्नता देखिएको भन्दै गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएका रविलाई अनुसन्धानका लागि कास्की जिल्ला अदालतले कात्तिक २५ गते थप १३ दिनका लागि हिरासतमा राख्न अनुमति दिएको थियो । अदालतको अनुमतीपछि उनलाई थप अनुसन्धानका लागि बुटवल लैजान लागिएको हो ।

बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको छ ।

बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा समेत पक्राउ पूर्जी जारी भएकाले उनलाई आज बुटवल लगिने छ । त्यहाँ बयान गराइ आजै पोखरा फर्काउने तयारी छ ।

पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरिएको दाबी गर्दै आएको रास्वपाले आज बुटवलमा पनि विरोध प्रदर्शनको तयारी गरेको छ । त्यसैले स्थानीय प्रशासनले बुटवलको सुरक्षा व्यवस्था कडा पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस