भारत हुँदै तेस्रो देश जान ‘एनओसी’ नचाहिने

द एभरेष्ट पोष्ट
२७ कार्तिक २०८१ ३:३२
भारत हुँदै तेस्रो देश जान ‘एनओसी’ नचाहिने

काठमाण्डौं, २७ कात्तिक ।
श्रम स्वीकृति लिएका नेपाली नागरिकलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अबदेखि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाहिने भएको छ ।

सोमबार दिल्लीस्थित नेपाली दूतावासले सूचना जारी गर्दै श्रम स्वीकृति लिएका नेपालीलाई भारतीय विमानस्थल प्रयोग गरेर श्रम गन्तव्य जाँदा एनओसी नचाहिने व्यवस्था लागु गरेको जानकारी गराएको हो ।

दूतावासका अनुसार साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स (युएई) ओमान, बहराइन, इराक, लिबिया र लेबनान जाँदा दिल्लीस्थित नेपाली दूतावासबाट एनओसी लिनु पर्छ ।

वैदेशिक रोजगार विभाग र विभागमातहतका श्रम कार्यालयबाट श्रम स्वीकृति लिएका नेपाली नागरिकलाई भने एनओसी आवश्यक नरहेको सूचनामार्फत स्पष्ट पारिएको छ ।

त्यसै गरी नेपाली कूटनीतिक, आधिकारिक, सेवा राहदानी धारक, संयुक्त राष्ट्र सङ्घ लायसेज–पासर (युएनएलपी) भएका नेपाली नागरिक र १६ वर्षमुनिका नेपाली नाबालिगलाई पनि एनओसी आवश्यक नपर्ने दूतावासको सूचनामा उल्लेख गरिएको छ ।

दूतावासका अनुसार अमेरिका, बेलायत तथा सेन्जेन मुलुकको भिसा भएका नेपाली नागरिकलाई पनि अबदेखि एनओसी चाहिँदैन । रुस सरकारबाट छात्रवृत्ति प्राप्त गर्ने र व्यावसायिक भिसा हुनेबाहेक रसिया जाने यात्रुहरूले भने दूतावास वा नेपालको कन्सुलर सेवा विभागबाट एनओसी प्राप्त गर्नुपर्ने हुन्छ ।

भम्रणका लागि एनओसी आवश्यक पर्ने नेपाली नागरिकलाई इमेलमार्फत दूतावासको वेबसाइटमा उल्लेख गरिएका सबै आवश्यक कागजातसहित तोकिएको मितिभन्दा कम्तीमा सात दिनअगाडि सम्पर्क गर्न दूतावासले सूचनामार्फत आग्रह गरेको छ । यात्रा एनओसीका लागि सेवा शुल्क प्रतिव्यक्ति एक हजार भारतीय रुपियाँ तोकिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस