लोकदर्शन रेग्मी अमेरिकाको राजदूत नियुक्त

द एभरेष्ट पोष्ट
२५ कार्तिक २०८१ १८:३०
लोकदर्शन रेग्मी अमेरिकाको राजदूत नियुक्त

काठमाण्डौं, २५ कात्तिक ।
संयुक्त राज्य अमेरिकाको राजदूतमा लोकदर्शन रेग्मी नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिले रामचन्द्र पौडेलले रेग्मीलाई आईतवार राजदूतमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मीले राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा रेग्मीलाई अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको जानकारी दिईन । रेग्मी यसअघि बेलायतको राजदूत बनेका थिए ।

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०८१ जेठ २४ अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री सहित कांग्रेस र जसपा नेपालसहितका दलको राजनीतिक कोटामा ११ राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । त्यसयता रिक्त रहेको अमेरिकाको राजदूत पदमा आईतवार रेग्मी नियुक्त भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा. आरजु राणा संयक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका आउदा नेपाली दूतावास राजदूत बिहीन थियो ।

को हुन् रेग्मी ?

प्रशासनिक रुपमा चतुर र विवादास्पद छविका रेग्मी पछिल्ला केही वर्षयता सबैभन्दा बढि अवसर पाउने पूर्व मुख्यसचिव हुन् । उनी परिस्थिति र समय अनुसार आफूलाई परिवर्तन गर्न माहिर मानिन्छन । त्यसैले सत्तामा जुन सुकै दल भएपनि उनी उच्च अवसर प्राप्त गर्दै आएका छन् ।

यसअघि बेलायतको राजदूत रही सकेका रेग्मीलाई पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले भारतको राजदूतका लागि सिफारिस गरेको थियो । त्यहीबेला प्रचण्ड नेतृत्वको सरकार ढल्यो । र, उनी भारतको राजदूत बन्न पाएनन । नेपाली काँग्रेससंगको गठबन्धनमा बनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारले रेग्मीलाई अमेरिकाको राजदूतमा सिफारिस गर्ने निर्णय गर्यो । मन्त्रिपरिषद्को सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिले पौडेलले रेग्मीलाई आईतवार अमेरिकाको राजदूतमा नियुक्त गरेका हुन् ।

मुख्यसचिव बन्नुभन्दा अघि कहिले आफूलाई कांग्रेस निकट कर्मचारीका रुपमा आफूलाई चिनाउँथे त कहिले एमालेको कित्तमा उभिन्थे । उनी जसरी पनि शक्तिशाली पद हत्याउन नै चाहाने कर्मचारीका रुपमा परिचित थिए ।

२०७२ मा एमालेका नेता विष्णु पौडेल अर्थमन्त्री बन्दा अर्थसचिव भएका रेग्मी माओवादी र नेपाली कांग्रेस गठबन्धन सरकारका बेला गृहसचिव भए । गृह मन्त्रालयमा रहँदा उनले प्रहरी महानिरीक्षक नियुक्तिमा विवाद हुने गरी भएका निर्णयमा तत्कालीन गहृमन्त्री बिमलेन्द्र निधिलाई साथ दिएका थिए ।

शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला मुख्यसचिव बने । उनले सोमलाल सुवेदी मुख्यसचिव हुँदादेखि मुख्य सचिव हुन चलखेल सुरु गरेको थिए । २० फागुन २०७३ मा तत्कालीन मुख्यसचिव सुवेदी एडीबीको वैकल्पिक कार्यकारी निर्देशक हुन जाने गरी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्बाट निर्णय भएको थियो । तर ६ महिनापछि मात्रै एडीबीको केन्द्रीय कार्यालय फिलिपिन्सको मनिला जाने भन्दै उनले रेग्मीलाई मुख्य सचिव बनाउन सघाउने किसिमले मुख्यसचिव पदबाट राजीनामा  दिएनन् ।

सुवेदीले आफू मन्त्रिपरिषद्बाट निर्णय गराएकै बेलामा राजीनामा दिएको भए धनबहादुर तामाङ मुख्यसचिव बन्ने थिए । तर सुवेदी राजीनामा नदिई मनिला गए । २८ असार २०७४ सुवेदीले प्रधानमन्त्री कार्यालयका केदारबहादुर अधिकारीलाई निमित्त मुख्य सचिवको जिम्मेवारी दिएर मनिला हिंडे । त्यसैदिन मुख्यसचिवको दावेदार रहेका बरिष्ठ सहसचिव धनबहादुर तामाङले अवकाश पाए ।

भोलिपल्ट सरकारले वरिष्ठताका आधारमा भन्दै राजेन्द्रकिशोर क्षेत्रीलाई मुख्यसचिव बनाएको थियो । रेग्मीलाई मुख्य सचिव बनाउन उमेर हदका कारण ६ कात्तिक २०७४ मा अवकाश पाउने पक्का भइसकेका क्षेत्रीलाई मुख्यसचिव बनाइएको थियो ।

२ कात्तिक २०७४ सम्म मुख्यसचिवबारे निर्णय गरेको भए शान्तराज सुवेदी र शान्तबहादुर श्रेष्ठमध्ये एक मुख्यसचिव बन्थे । तर सुवेदी र श्रेष्ठले अवकाश नपाएसम्म सरकारले नयाँ मुख्यसचिव नियुक्ति प्रक्रिया अगाडि बढाएन ।

२ कात्तिक २०७४ मा दुवैले अवकाश पाए, अनि ६ कात्तिक २०७४ मा क्षेत्रीको कार्यकाल सकिएकै दिन शेरबहादुर देउवा नेतृत्वको सरकारले लोकदर्शन रेग्मीलाई मुख्यसचिव नियुक्त गर्‍यो । रेग्मी मुख्यसचिव बन्दा वरिष्ठ सचिव पनि थिएनन् ।

वरिष्ठताका आधारमा ङइन्द्रप्रसाद उपाध्याय पहिलो नम्बर र शंकरप्रसाद अधिकारी दोस्रो नम्बरमा थिए । तर तत्कालीन प्रधानमन्त्री दाहिना भएपछि रेग्मी वरिष्ठता मिचेर मुख्यसचिव बने । २०७४ को चुनावपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि उनले तत्कालीन नेकपासँग आफ्नो सम्बन्ध चिसिन दिएनन् ।

पदावधि सकिने समयमा ओलीले पनि आफूले चाहेकै व्यक्ति मुख्य सचिवमा ल्याउन चाहे । परराष्ट्र सचिव शंकरदास वैरागी ओलीको रोजाइमा परेपछि बेलायतका लागि राजदूत पद लिएर कार्यकाल नसकिंदै मुख्यसचिव छाड्न उनी सहमत भए ।

३ कात्तिक २०७७ मा कार्यकाल सकिनुअघि १५ असोज २०७७ मा राजीनामा दिएका थिए । यसले तत्कालीन प्रधानमन्त्री ओलीले रोजेका वैरागी नयाँ मुख्यसचिव भए ।

रेग्मी सेवा अवधि पूरा गरेर अवकाशमा गएको भए वरिष्ठताको आधारमा केदारबहादुर अधिकारी मुख्यसचिव बन्थे । केही महिनापछि अधिकारीले उमेरहदका कारण अवकाश पाउँदा चन्द्रप्रसाद घिमिरे मुख्यसचिव बन्ने लाइनमा हुन्थे । परराष्ट्र सचिवबाट अवकाश हुन ७ दिन मात्रै बाँकी रहेका वैरागीलाई मुख्यसचिव बनाउन सघाएर उनी बेलायतमा राजदूत पद लिएर हिँडे ।

तर ५ असोज २०७८ मा ओली सरकारले नियुक्त गरेका एक दर्जन राजदूत फिर्ता बोलाउने निर्णय हुँदा रेग्मी पनि बेलायतबाट फर्किनु परेको थियो । कांग्रेससँग नजिक भएर मुख्यसचिव भएपनि एमाले अध्यक्ष ओलीसँगको निकटताले बेलायतको राजदूत भएका रेग्मीलाई एमालेसंगको गठबन्धनमा सरकारको नेतृत्व गरेका पुष्पकमल दाहाल नेतृत्वको सरकारले भारतका लागि राजदूत पदमा सिफारिस गरेका थियो । तर त्यसको केही समयपछि एमालेले समर्थन फिर्ता लिएपछि प्रचण्ड नेतृत्वको सरकार ढल्यो । र, प्रचण्डको सिफारिस कार्यान्वयन हुन पाएन । काँग्रेससंगको गठबन्धनमा ओली प्रधानमन्त्री बनेपछि रेग्मी पुनः सरकारको रोजाईमा परे । र, उनी अमेरिकाका लागि राजदूत नियुक्त भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस