लखनउमा चम्किँदै नेपाली आयुर्वेदाचार्य सूर्य श्रेष्ठ

अविनाश चौधरी
लखनउ(भारत), २१ कात्तिक ।
सन् १९३० मा बनेको भारतको लखनउस्थित फूलबाली गली चोकमा रहेको भवनमा टाढैबाट देखिने गरी लेखिएको छ, नेपाली कोठी । कोठीमा भेटिन्छन, ८६ वर्षीय ज्येष्ठ नागरिक सूर्यबहादुर श्रेष्ठ ।
नामले केही अनौठो लाग्ने कोठीको काम भने गजबको छ । जसका कारण काठमाडौँ उपत्यकास्थित ललितपुरवासी श्रेष्ठको नाम लखनउमा चम्किरहेको छ । बडे भाइको नामले परिचित उनी आयुर्वेद उपचार र जडीबुटी व्यापारका कारण मुलुकभन्दाबाहिर आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका हुन् ।
श्रेष्ठले भने, “मेरा बाजे, बुवा व्यापार गर्ने क्रममा यहाँ आउनुभएको थियो । उहाँहरूले घरलगायत सम्पत्ति जोड्नुभयो । त्यसपछि जडीबुटी व्यापारलाई मैले अगाडि बढाइरहेको छु ।”
उनले केशर, कस्तुरी, अम्बर, मोती, शिलाजितलगायतका जडीबुटीको व्यापार गर्दै आएका छन् । नेपाल र भारतका विभिन्न स्थानबाट जडीबुटी खरिद गरी आयुर्वेदिक औषधी उत्पादन गर्ने उद्योगलाई बिक्री गर्ने गरेको श्रेष्ठले बताए । नेपालबाट मात्रै वार्षिक एकदेखि दुई अर्बको जडीबुटी खरिद गरेर भारत लग्ने गरेको उनको भनाइ छ ।
श्रेष्ठले भने, “मैले धेरै जसो मालसामान (कच्चा जडीबुटी) नेपालबाटै ल्याउने गरेको छु । जसलाई यहाँका सात वटा जडीबुटी उद्योगलाई बेच्ने गरेको छु । मेरो मुख्य काम मालसामान खरिद गरेर उद्योगलाई बेच्नु हो ।”
लखनउमा रहेका चार वटा जडीबुटी उद्योगमा आफ्नो सेयरसमेत रहेको उनको भनाइ छ । सूर्यबहादुर श्रेष्ठ नेपाली एन्ड सन्स सञ्चालन गरेर जडीबुटी व्यापारीको पहिचान बनाएका उनको नाम आयुर्वेदाचार्यका रूपमा पनि चम्किरहेको छ ।
आयुर्वेदमा एमडी उत्तीर्ण श्रेष्ठले विभिन्न स्वास्थ्य समस्या भएका बिरामीको उपचार पनि गर्दै आएका छन् । एलोपेथिक उपचार पद्धतिबाट ठिक हुन नसकेका यहाँका चिकित्सक पनि मकहाँ उपचारका लागि आउने गरेका छन् । उनले भने, “युनानी आयुर्वेदका डाक्टरले हेरिरहेका बिरामीका लागि औषधी पनि मैले नै बनाउने गरेको छु ।”
दैनिक बिरामी उपचारका लागि आफूकहाँ आउने गरेको श्रेष्ठले जानकारी दिए ।
लखनउमा कैयौँ दशकदेखि जडीबुटी व्यापार गरिरहेका उनले २०५० सालमा बनारस हिन्दु विश्वविद्यालयबाट आयुर्वेदाचार्य उत्तीर्ण गरिसकेपछि विभिन्न बिरामीको उपचारसमेत गर्न थालेका हुन् । उनको कोठीमा उपचारका लागि भारतीय मात्रै नभई नेपालीसमेत पुग्ने गरेका छन् ।