अमेरिकामा राष्ट्रपतिको निर्बाचन : विश्वको चासो

१९ कार्तिक २०८१ ३:४१
अमेरिकामा राष्ट्रपतिको निर्बाचन : विश्वको चासो

अमेरिकाको ४७ औं राष्ट्रपति चयनका लागि मंगलबार (भोली) निर्बाचन हुदैछ । । र, निर्बाचन हुनु अघि नै सात करोड ८० लाख मतदाताले मतदान गरिसकेका छन् । राष्ट्रपतिका उम्मेदवार जो बाईडेन प्रचारप्रसारको दौरानमै निर्बाचनबाट बाहिरिएपछि डेमोक्रेटिक पार्टीले अघि सारेकी उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिक पार्टीका तर्फबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कडा टक्कर भईरहेको छ ।

अमेरिकामा राष्ट्रपतिको निर्बाचन यस पटक डोनाल्ड ट्रम्पका लागि जीवनमरण सवाल बनेको छ । एक पटक राष्ट्रपति भईसकेका र एक पटक निर्बाचनमा पराजीत भईसकेका कारण उनी जसरी जित्न चाहन्छन, जसरीको अर्थ, राष्ट्रवाद, आप्रवासी, रोजगारी र आर्थिक मुद्दालाई आफू अनुकूल व्याख्या गरेर होस वा प्रतिस्पर्धी कमला ह्यारिसलाई खुईल्याएर होस । कहिल्यै उनी आप्रवासीहरुलाई बेईज्जतीपूर्ण तरिकाले निर्वासन गर्ने उत्तेजित अभिव्यक्त दिन्छन । कहिले देशलाई जोगाउन आफूलाई मतदान दिन आह्वान गर्छन । मुलुकको अर्थतन्त्र उकास्न आफ्नो बिकल्प नभएको त शुरुदेखि नै जिकिर गर्दै आएका छन् ।

अमेरिका, लोकतन्त्रको उच्चतम अभ्यास गर्ने मुलुकका रुपमा चिनिन्छ । जहाँ अरुको आत्मसम्मान र अस्तित्वको रक्षाका लागि यहाँको जनप्रतिनिधि डेमोक्र्याट र रिपब्लिकको लक्ष्मणरेखामा बाँधिदैन भन्ने विश्वास गरिन्छ ।

महिलाप्रति अमेरिकी उदार छन्, छैनन ? त्यो भनिरहन पर्दैन । यसअघि विदेशी मन्त्रीको अनुभव संगाली सकेकी प्रथम महिला हिलारी क्लिन्टनलाई राष्ट्रपतिमा अस्वीकार गरेका अमेरिकी जनताले कमला ह्यारिसलाई सहजै स्वीकार गर्ने अवस्था त देखिदैनन । तर अराजक क्रियाकलाप र अभिव्यक्तिका कारण बिबादित बन्दै आएका ट्रम्पलाई कडा टक्कर दिदै आएकी ह्यारिस जित्ने पूर्वानुमान गर्नेको पनि कमि छैन । निर्बाचित भएमा ह्यारिस अमेरिकाको पहिलो महिला राष्ट्रपति हुनेछन् । उनी अश्वेत र एशियन त हुन् नै ।

महिला मात्रले पनि सम्पूर्ण मत दिए ह्यारिस जित्ने निश्चित हुने थियो । तर त्यो मत एकलौटी पाउने संभावना छैन । आप्रवासीहरु मात्र एक ठाउँमा उभिए ह्यारिसलाई जित्न कठिन हुने थिएन । त्यो संभावना त झन छदै छैन ।

केही वर्षयता आर्थिक मन्दीबाट गुज्रिरहेको अमेरिकामा शेयर बजारमा लगानी गर्नेहरु निराश छन् । ट्रम्पले निर्बाचन जिते अर्थतन्त्र उकासिने र शेयर बजार उकालो लाग्ने विश्वास गर्नेहरुमा डेमोक्र्याट र रिपब्लिक दुबैका समर्थक छन् ।

ईरानप्रति आक्रामक ट्रम्प रुस र उत्तरकोरियाप्रति नरम देखिन्छन । युक्रेनका राष्ट्रपति जेलन्सकीले त ट्रम्प निर्बाचित भए अमेरिकाले प्रदान गर्दै आएको युद्ध सहयोग कटौती हुने आशंका गरेका छन् । मध्यपूर्वमा ईजरायल र प्यालेष्ट्राईन युद्धमा ट्रम्पले तटस्थ नीति अपनाउने एकथरीको अनुमान छ । ट्रम्प आफ्ना कुरालाई आक्रामक ढंगले राख्छन् । त्यसले के असर गर्छ, चिन्ता गर्दैनन । उनी आफ्ना समर्थकलाई मन पर्ने अभिव्यक्ति दिन कुनै कसर बाँकी राख्दैनन ।

अमेरिका, जसले आफ्नो देशमा रहेका अल्पसंख्यकलाई सुरक्षा, सम्मान र अवसर प्रदान गर्दछ । अमेरिका, जसले विश्वका गरीव र कम बिकसित मुलुकसंगै आफ्ना साझेदार र सहयोगी मुलुकहरुको भौगोलिक अखण्डता, ती देशको लोकतन्त्र र सुरक्षाका लागि जुनसुकै हदसम्म जान सक्छ । ट्रम्पको उदयपछि अमेरिकाको यो नीति बद्लिने अनुमान गरिएको छ । जलवायु परिवर्तनका मुद्दामा अनुदार ट्रम्पले आफ्नो पहिलो कार्यकालमा विश्वव्यापी रुपमा अमेरिकाले गर्दै आएको सहयोग कटौती गर्ने घोषणा गरेका थिए । उनले जलवायु परिवर्तनको मुद्दालाई प्रोपोगण्डा भने । र, विश्वका बिभिन्न मुलुकलाई दिदै आएको युद्ध सहयोग पनि कटौती गर्ने उनको नीति लुकेको छैन ।

उनी अमेरिकालाई पहिलो महाशक्ति बनाईराख्न आफ्नो नेतृत्व आवश्यक भएको जिकिर गर्छन । उनका अभिव्यक्तिहरु संयमित छैनन । उनको बोली र व्यवहार उम्मेर छिप्पिदै जादा परिपक्व देखिदैनन, हुन त आम मतदाता जे सुन्न मन गर्छन, उनी त्यही बोल्छन्, अझ आफूलाई अमेरिकाको पहिलो दर्जाको नागरिक ठान्ने रैथानेहरुका लागि ट्रम्प अपरिहार्य देखिन्छन्, र त उनका सबै अभिव्यिक्तिलाई उनीहरु जायज ठान्छन ।

अमेरिकाको मतदान प्रणाली विश्वमै उत्कृष्ट र पृथक मानिन्छ । जहाँ मतदाताहरुले हुलाक मार्फत पनि मतदान गर्न पाउछन् । निर्बाचन अघि नै मतदान गर्न पाउने व्यवस्था संसारमा बिरलै छ ।

देशका प्रमुख मिडिया हाउसहरु राष्ट्रपतिका उम्मेदवारहरुलाई उसको एजेण्डाप्रति सहमती जनाउदै खुलेर समर्थन गर्ने प्रचलन अन्यत्र छैन । अमेरिकामा राष्ट्रपतिको निर्बाचनमा मिडिया हाउसहरु प्रष्ट रुपमा बिभाजित देखिन्छन् ।

निर्बाचनका दौरान अमेरिकाको बिभिन्न राज्यको भ्रमण गर्ने क्रममा नेपालीमूलका अमेरिकी नागरिकसंग जिज्ञासा राख्दा अधिकांशले कमला ह्यारिसलाई समर्थन गर्ने बताए । त्यसको अर्थ प्रष्ट थियो, आप्रवासीप्रति नरम भएकोले उनीहरुको झुकाव ह्यारिस प्रति छ ।

भनिन्छ, महिला, आप्रवासी र काला जाती प्रति अमेरिकीहरु अझै उदार छैनन । राष्ट्रपतिका उम्मेदवार ट्रम्प तीनै अनुदार अनुहार बोकेका नेता हुन् भनिरहनु पर्दैन, त्यो उनको अभिव्यक्तिले बताईसकेको छ । त्यसैले अनुदार सोच बोकेकाहरु मत उनले एकलौटी रुपमा पाउने देखिन्छ ।

अमेरिकाका ८ वटा युद्धभूमि राज्य, जसलाई स्वीङ्ग राज्यका चिनिन्छ । ती राज्यहरु, पेन्सेलभेनिया, मिसिगन, विक्सकान्सन, नेभादा, जर्जिया, एरिजोना, नर्थ क्यारोलिना, नेब्रास्काको नतिजाले जित हारको टुंगो लगाउनेछ । यतिबेला ट्रम्प र ह्यारिसको ध्यान यिनै राज्यमा केन्द्रित छ । हुन्, पनि यी राज्यहरुमा दुबै उम्मेदवारबीच कडा प्रतिस्पर्धा छ ।

कूल ५३८ इलेक्ट्रोल मतमध्ये ह्वाइट हाउस प्रवेशका लागि २७० इलेक्ट्रोल आवश्यक छ । ३३३ मिलियन जनसंख्या र २४४ मिलियन योग्यदाता रहेको अमेरिकामा राष्ट्रपति पदमा निर्बाचित हुन स्वीङ्ग राज्यका केही लाख मतदाता निर्णायक मानिन्छन ।

सिबिएस न्यूजले पेन्सलभेनियामा ट्रम्प र ह्यारिसबीच (४९/४९ प्रतिशत अंक) कडा टक्कर छ । दुबै जनाको त्यहाँ समान समान हैसियत छ । मिसिगनमा ह्यारिसको पक्षमा ५० र ट्रम्पको पक्षमा ४८ प्रतिशत अंक रहेको छ । अर्को स्वीङ्ग राज्य विस्कान्सनमा अगाडि रहेकी ह्यारिसले ५० प्रतिशत अंक प्राप्त गरेकी छन् । त्यहाँ ट्रम्पका पक्षमा ४८ प्रतिशत अंक छ । नेभादामा दुबै उम्मेदवारको बराबरी (४९/४९ प्रतिशत) अंक छ ।

जर्जिया, जो रिपब्लिकनहरुको गढ मानिन्छ, त्यहाँ ट्रम्पका पक्षमा ५० प्रतिशत अंक छ भने ह्यारिसका पक्षमा ४८ प्रतिशत अंक  छ । एरिजोना र नर्थ क्यारोलिना राज्यको अवस्था पनि जर्जिया झै छ । जहाँ ट्रम्पका पक्षमा ५० प्रतिशत र ह्यारिसका पक्षमा ४८ प्रतिशत अंक छ । अर्को स्वीङ्ग राज्य नेब्राक्सामा भने ह्यारिसको पक्षमा ५१ प्रतिशत अंक र ट्रम्पका पक्षमा ४७ प्रतिशत अंक छ ।
सन १९९२ देखि २०१२ सम्म भएका निर्बाचन एउटै पार्टीका व्यक्ति दुई पटक राष्ट्रपति भए । त्यसपछि त्यो पार्टी सत्ताबाट बाहिरिएको ईतिहास छ । तेस्रो पटक त्यो पार्टीले हार व्यहोरको छ ।

१९९२ मा निर्बाचित भएका डेमोक्रेटिक पार्टीका बिल क्लिन्टन ९६ मा पनि निर्बाचित भए । २००० मा उनको पार्टी पराजित भयो । र, रिपब्लिकन पार्टीका जर्ज डब्लु बुस निर्बाचित भए । उनले २००४ मा पनि जित हात पारे । २००८ मा डेमोक्रेटिक पार्टीका बाराक ओबामा निर्बाचत भए । २०१२ मा उनीसंगै डेमोक्रेटिक पार्टीले समेत सत्ताको नेतृत्व गर्ने अवसर पायो । २०१६ देखि एक पटकपछि अर्को पटक त्यो व्यक्ति र उसको पार्टी दोहरिएको छैन । जस्तो कि २०१६ मा रिपब्लिकनका डोनाल्ड ट्रम्प निर्बाचित भए । २०२० को निर्बाचनमा उनी पराजित भए । र, डेमोक्रेटिक पार्टीका जो बाईडेन निर्बाचत भए । यस पटकको निर्बाचनले पुरानो ईतिहास दोह¥याए, ट्रम्प निर्बाचित हुनेछन् । नत्र ह्यारिस । तर ईतिहास दोहरिन्छ भन्ने पनि हुदैन ।

अमेरिका राष्ट्रपतिय निर्बाचनमा ईलेक्ट्रोल कलेज र प्रत्यक्ष मतदानको प्राबधान छ । प्रत्यक्ष तर्फ मतसंख्या बढि ल्याउदैमा निर्बाचित हुने संभावना हुदैन । ईलेक्ट्रोल कलेजको परिणामले निर्बाचनमा प्रभाव पार्छ । पपुलर मतबाट रिपब्लिक उम्मेदवार राष्ट्रपतिमा निर्बाचित भएको परिणाम अपवाद मानिन्छ । रोचक कुरा के भने, १९८८ देखि २०२० सम्म ३६ वर्षको अबधिमा भएका नौ वटा निर्बाचनको परिणाम हेर्ने हो भने पपुलर मतबाट रिपब्लिकका एक जना उम्मेदवार मात्र राष्ट्रपतिमा निर्बाचित भएका छन् ।

१९८८ मा जर्ज एचडब्लु बुस पपुलर मत प्राप्त गरेर निर्बाचित हुने रिपब्लिकन पार्टीका पहिलो उम्मेदवार हुन् । नौ वटा निर्बाचन मध्ये पाँच वटामा डेमोक्रेटिक उम्मेदवार बिजयी भए भने चार वटामा रिपब्लिक उम्मेदवार निर्बाचित भए । जस्तो कि, २०१६ मा पपुलर मत डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनले पाएकी थिईन् । तर राष्ट्रपति पदमा निर्बाचित भए, ट्रम्प । उनी ईलेक्ट्रोल कलेजको परिणामले निर्बाचित भएका थिए ।

बिगतमा ठूला व्यवसायी र करदाताका पक्षमा देखिएका ट्रम्प यस पटक साना करदाता र व्यवसायीका पक्षमा अभिव्यक्ति दिन थालेका छन् । र, उनले सामाजिक सुरक्षामा बढोत्तरी गर्ने, ओभर टाईम र टिप्समा कर नलगाउने घोषणा नै गरेका छन् ।

शुरुदेखि नै ह्यारिसका पक्षमा उभिएका पूर्व राष्ट्रपति ओबामाले मैदान छोडेका छन् । अमेरिकाका धनाढ्यहरु भने बाडिएका छन् । बिल गेट्सले ह्यारिसलाई सहयोग गरिरहेका छन् । खुलेर ट्रम्पका पक्षमा लागेका एलन मस्कले मतदातालाई प्रभावित गर्न करोडौ डलर खर्च गरिरहेका छन् । केही चर्चित सेलीब्रेटीहरु बाडिएका छन् । धनाढ्य र हाईप्रोफाईलका व्यक्तिलाई छोएको निर्बाचनका हरेक खवरप्रति आममतदाता बेखवर त पक्कै छैनन, उनीहरुले चासो पूर्वक ट्रम्प र ह्यारिसका अभिव्यक्तिलाई सुनिरहेका छन्, अरुलाई डिष्टर्व हुन्छ भनेर विस्तारै बोल्ने बानी बसालेका अमेरिकीहरुले चुनावलाई लिएर हल्ला गर्ने कुरै भएन । यो नेपालीहरुले पनि सिक्नु पर्ने कुरा हो ।

अमेरिकामा चुनाव भईरहेको छ । यस्तो लाग्छ, अमेरिकी नागरिकलाई वास्ता नै छैन। न चर्चा । न पर्चा । न नारा । न जुलुस । न सामाजिक सञ्जालमा दोहोरी छ । न बिबाद । बस्, जसलाई मत दिने मन छ, मतदान केन्द्रमा एक हप्तायता चुपचाप मतदान गरिरहेका छन् । बरु नेपालीहरु यदाकदा सामाजिक सञ्जालमा आपसमा भिडिरहेका देखिन्छन् । सायद नेपालीहरु ‘आदत से मजबुर’ छन् ।

उता नेपालमा हुने हरेक चुनावमा सहोदर दाजुभाई आपसमा लडिरहेका हुन्छ । को जित्ने हो ? मन्त्री को हुने ? थाह छैन । दाजुभाईका बीचमा पानी बाराबार भईसकेको हुन्छ ।

यस्तो लाग्छ, अमेरिकामा विकासको मुद्दा छैन । रक्षा, सुरक्षा र सामाजिक सुरक्षा यहाँ प्राथमिकतामा पर्छन । नागरिकको रक्षासंगै संसारकै लोकतन्त्रको रक्षा अमेरिकाको जिम्मेवारी जस्तो ठान्छन्, राष्ट्रपतिका उम्मेदवारहरु । प्यालेष्ट्राईन, ईजरायल, ईरान, उत्तर कोरिया, रुस, चीन जस्ता देशहरुले अमेरिकाको निर्बाचनलाई चासोपूर्वक हेरिरहेका छन् । ताईवानमा अमेरिकी चासो कस्तो हुन्छ, चीनका लागि यो महत्वपूर्ण कुरा हो । रुससंगको युद्धमा युक्रेनलाई दिदै आएको सहयोग अमेरिकाले यो निर्बाचनपछि बृद्धि गर्छ वा कटौती ? प्यालेष्ट्राईनसंगको लडाईमा ईजरायलका पक्षमा उभिदै आएको अमेरिका अव के गर्छ ? त्यो निर्बाचित हुने व्यक्तिमा भरपर्छ । यी विश्वका चासोका विषय हुन् ।

नेपाल जस्तो सानो मुलुक अमेरिकाको प्राथमिकतामा पर्दैन । नेपालमा बस्ने हुन् वा अमेरिकामा बस्ने नेपाली, उनीहरुका लागि भने सबैभन्दा ठूलो प्राथमिकतामा पर्ने अमेरिका नै हो । यहाँको निर्बाचन त झन उनीहरुका लागि चासोको विषय हुने नै हो । डिभी रोकिन्छ कि निरन्तरता पाउछ ? अमेरिकाले भिसा दिने प्रकृयालाई जटिल बनाउछ कि ? दुःखको कुरा, नेपालीको चासो योभन्दा माथि देखिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस