शिगेरु इशिबा जापानको प्रधानमन्त्रीमा निर्वाचित

टोकियो ।
एजेन्सी
जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीका नेता शिगेरू इसिबा जापानको प्रधानमन्त्रीमा निर्बाचित भएका छन् ।

ईसिबा मंगलबार संसद्को दुवै सदनबाट बहुमत प्राप्त गर्दै औपचारिक रूपमा जापानको प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।
नवनिर्वाचित इसिबाले देशमा बढ्दै गएको आर्थिक मन्दीको सम्बोधनका लागि अक्टोबर २७ का लागि आकस्मिक निर्वाचन बोलाउन चाहेको बताएका छन् । ।

एलडिपीको बहुमत रहेको जापानी संसद्ले मंगललबार इसिबाको नियुक्तिलाई अनुमोदन गरेको छ भने बुधबार नयाँ मन्त्रिपरिषद् घोषणा गर्ने अपेक्षा गरिएको छ ।

पूर्वमुख्य क्याबिनेट सचिव कत्सुनोबु काटोलाई अर्थमन्त्री बन्ने सुझाव दिइएको तथा जनरल नाकातानीले रक्षा र ताकेसी इवायाको विदेश मामिला लिने स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

 

रुसी सेनाद्धारा युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रको सहर युक्रेन्स्क कब्जा गरेको दावी

एजेन्सी
मस्को । रुसी सेनाले बिहीबार युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रको सहर युक्रेन्स्क कब्जा गरेको बताएको छ ।
टेलिग्राममा सार्वजनिक गरिएको नियमित जानकारीमा रक्षा मन्त्रालयले सन् २०२२ फेब्रुवरीमा रुसले आफ्नो पूर्ण सैन्य आक्रमण सुरु गर्नुअघि १० हजारभन्दा बढी जनसंख्या भएको युक्रेन्स्कलाई आफ्नो सेनाले मुक्त गरेको बताएको छ ।

युक्रेनका साना गाउँ र बस्तीलाई नियन्त्रणमा लिने शृंखलामा यो सहर रुसका लागि हालैका हप्ताहरूमा भएको सबैभन्दा महत्वपूर्ण विजयमध्ये एक हो । युक्रेन्स्क मस्कोले कब्जा गरेको दाबी गरेको क्षेत्रको राजधानी डोनेट्स्क सहरबाट करिब ३० किलोमिटर पश्चिममा अवस्थित छ ।

मस्कोका सेनाले सम्पूर्ण डोनेट्स्क क्षेत्रको नियन्त्रण प्राप्त गर्न खोजिरहेका छन् र शान्ति वार्ता सुरु गर्ने पूर्वसर्तका रूपमा किएभलाई उक्त क्षेत्र साथै लुगान्स्क, खेरसन र जापोरिझिया क्षेत्रबाट आफ्नो सेना फिर्ता लान माग गरेका छन् ।

इजरायलमा क्षेप्यास्त्र आक्रमण गरेको हुथीको दावी

यमन
यमनका बिद्रोही समूह हुथीले इजरायलमा क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेको छ ।

यमनको हुथी लडाकु समूहले बुधबार इजरायलतर्फ तीनवटा क्षेप्यास्त्र प्रहार गरेको बताएको छ। यद्दपि त्यो पुष्टि गर्ने आधारहरु भने हुथीले दिन सकेको छैन ।

हुथी इरानको नेतृत्वमा रहेको गठबन्धनको हिस्साका रुपमा चिनिन्छ ।

इजरायली सेनाका प्रवक्ताले सीएनएनलाई यमनबाट सुरु गरिएको कुनै पनि आक्रमणको बारेमा जानकारी नभएको बताए।

 

इजरायलद्धारा राष्ट्रसंघीय महासचिवलाई प्रवेशमा प्रतिबन्ध

एजेन्सी

जेरुसलेम — इजरायलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ । बीबीसीले इजरायली विदेशमन्त्रीले महासचिव गुटेरेस इजरायलमा ‘पर्सना नन ग्राटा’ भएको र उनलाई इजरायल प्रवेश गर्न निषेध गरिएको जनाएको छ ।

महासचिव गुटेरेसले मंगलबार इरानले इजरायलमा गरेको क्षेप्यास्त्र आक्रमणको स्पष्ट शब्दमा निन्दा गर्न नसकेको जनाउँदै विदेशमन्त्री इजरायल काट्जले यस्तो निर्णय लिइएको बताएका हुन् ।

विदेशमन्त्री काट्जले महासचिव गुटेरेस ‘इजरायलविरोधी भएको र आतंकवादी, बलात्कारी र हत्याराहरूलाई समर्थन गरेको आरोप लगाएका छन् । ‘गुटेरेसलाई आगामी पुस्ताले राष्ट्रसंघको इतिहासमा दागको रूपमा सम्झिनेछन्,’ उनले भनेका छन् ।

महासचिव गुटेरेसले मंगलबार मध्यपूर्वमा विस्तार हुँदै गएको द्वन्द्वको निन्दा गर्दै युद्धविरामको लागि आह्वान गरेका थिए ।

दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्डरको विश्व वरियताको दोस्रो स्थानमा

काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्डरको विश्व वरियतामा दोस्रो स्थानमा उक्लिएका छन् ।

तेस्रो स्थानमा अस्ट्रेलियाका मार्क्स स्टोइनिस, चौथोमा जिम्बावेका सिकन्दर रजा र पाँचौं स्थानमा श्रीलंकाका वानिन्दु हसरंगा छन् ।

टी-२० अलराउन्डरको विश्व वरियतामा नेपालका कुशल मल्ल ४०औं, रोहित पौडेल ५४औं, गुल्शन झा ५६औं र कुशल भुर्तेल ६०औं स्थानमा छन् । करण केसी ७१औं स्थानमा छन् ।

टी-२० बलरको वरियतामा दीपेन्द्र ७१औं स्थानमा छन् । सोमपाल कामी ९१ स्थानमा छन् । अन्य कुनै पनि नेपाली बलर शीर्ष सयभित्र छैनन् । ब्याटिङतर्फ दीपेन्द्र ४३औं नम्बरमा छन् । रोहित पौडेल ६१औं, आसिफ शेख ७०औं र कुशल मल्ल १००औं स्थानमा छन् ।

कुनै पनि नेपाली खेलाडीले आईसीसीको विश्व वरियतामा हात पारेको यो अहिलेसम्मकै ठूलो सफलता हो । दीपेन्द्र चार स्थान माथि उक्लिएर दोस्रो स्थान पुग्न सफल भएका हुन् ।

इङ्ल्यान्डका लायम लिभिङस्टोनमात्र दीपेन्द्रभन्दा अगाडि छन् ।

तेस्रो स्थानमा अस्ट्रेलियाका मार्क्स स्टोइनिस, चौथोमा जिम्बावेका सिकन्दर रजा र पाँचौं स्थानमा श्रीलंकाका वानिन्दु हसरंगा छन् ।

टी-२० अलराउन्डरको विश्व वरियतामा नेपालका कुशल मल्ल ४०औं, रोहित पौडेल ५४औं, गुल्शन झा ५६औं र कुशल भुर्तेल ६०औं स्थानमा छन् । करण केसी ७१औं स्थानमा छन् ।

टी-२० बलरको वरियतामा दीपेन्द्र ७१औं स्थानमा छन् । सोमपाल कामी ९१ स्थानमा छन् । अन्य कुनै पनि नेपाली बलर शीर्ष सयभित्र छैनन् । ब्याटिङतर्फ दीपेन्द्र ४३औं नम्बरमा छन् । रोहित पौडेल ६१औं, आसिफ शेख ७०औं र कुशल मल्ल १००औं स्थानमा छन् ।

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

काठमाडौं : संघीय संसदको संसदीय सुनुवााई समितिले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन गरेको छ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले सर्वसम्मतका साथ प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो। समितिले बुधबार नै राउतको सुनुवाई गरेको थियो।

भदौ ३१ मा बसेको संवैधानिक परिषद्को बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। त्यस्तै बैठकले अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नामसमेत अनुमोदन गरेको छ। समितिले बुधबार नै यादवको सुनुवाई गरेपछि सर्वसम्मतले अनुमोदन गरिएको समिति सदस्य आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिए।

त्यसअघि सुनुवाईका क्रममा यादवले नेपालको जलस्रोतको विकासमा अष्ट्रेलियाको लगानी भित्र्याउने, अष्ट्रेलियासँग शैक्षिक तथा सांस्कृतिक सम्बन्ध पनि सुधार गर्नेलगायतका कार्ययोजना प्रस्तुत गरेकी थिइन्।

इजरायलमाथि इरानले गरेको आक्रमणको विश्वव्यापी विरोध, कसले के भने ?

पेरिस– तेहरानले  इजरायलमाथि मिसाइल आक्रमण गरेपछि विश्वका नेताहरूले इरान र इजरायललाई संयमता अपनाउन आग्रह गरेका छन् ।तेहरानले लेबनानमा हिजबुल्लाहविरुद्ध भूमि आक्रमण गरिरहेको भन्दै इरान समर्थित लडाकु नेताहरूको हत्याको प्रतिक्रियास्वरुप प्रत्याक्रमण भएको जनाएको छ ।

दमास्कसमा इरानी वाणिज्य दूतावासमा भएको इजरायली हवाई आक्रमणको बदलामा अप्रिलमा भएको मिसाइल र ड्रोन आक्रमणपछि इरानले इजरायलमाथि प्रत्यक्ष आक्रमण गरेको यो दोस्रो पटक हो ।

मिसाइलको आक्रमणपछि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा बढ्दो द्वन्द्वको निन्दा गरेका छन् ।

गाजामा प्यालेस्टिनी हमास लडाकुसँगको युद्धसगैँ हिजबुल्लाहसँगको इजरायलको द्वन्द्वको आलोचना गर्दै गुटेरेसले पूर्ण रूपमा युद्धविरामको आवश्यकता रहेको बताएका छन् ।

यसैगरी अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेनालाई इरानी आक्रमणविरुद्ध इजरायली रक्षामा सहयोग गरी इजरायललाई लक्षित मिसाइलहरू नष्ट गर्नसमेत आदेश दिएका छन् ।  अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले उक्त आक्रमण ‘पूर्ण रूपमा अस्वीकार्य’ भएको बताएका छन् ।

यता इजरायलले भने इरानी आक्रमणको बदला लिने वाचा गरेको छ । इरानमा प्रतिक्रियात्मक आक्रमण गर्ने इजरायली सैन्य प्रवक्ता रियर एडमिरल डेनियल हागारीले बताएका छन् ।

बेरुतमा हिजबुल्लाह प्रमुख हसन नस्रल्लाह र तेहरानमा हमासका नेता इस्माइल हानियाहको हत्याको प्रतिशोधमा उक्त आक्रमण भएको हमासले जनाएको छ ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेसले इरानी आक्रमणको निन्दा गर्दै मध्यपूर्वमा व्याप्त ‘हिंसाको चक्र’ अन्त्य गर्न आह्वान गरेका छन् । विदेशमन्त्री जोस म्यानुएल अल्बेरेसले म्याड्रिडले द्वन्द्वरत पक्षलाई संयमतासाथ अघि बढी तनाव नियन्त्रण गर्न आह्वान गरेको छ ।

जर्मन विदेशमन्त्री एनालेना बारबकले इरानलाई इजरायलमाथि गरेको क्षेप्यास्त्र  आक्रमणको निन्दा गर्दै हिंसा अन्त्य गर्न आग्रह गरेकी छिन् ।

त्यसैगरी फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले इजरायलविरुद्ध इरानको आक्रमणको निन्दा गर्दै आफ्नो देशले तेहरानको सामना गर्न मध्यपूर्वमा आफ्नो सैन्य स्रोतहरू ‘परिचालन’ गरेको बताएका छन् ।

बेलायती प्रधानमन्त्री कीर स्टारमरले इरानको आक्रमणको निन्दा गरेका छन् । आफ्ना इजरायली समकक्षी बेन्जामिन नेतान्याहुसँगको कुराकानीमा स्टारमरले इजरायली सुरक्षा र नागरिकहरूको सुरक्षाका लागि बेलायतको दृढ प्रतिबद्धतासमेत पनि व्यक्त गरे ।

जापानका नयाँ प्रधानमन्त्री सिगेरू इशिबाले इजरायलमाथि इरानले गरेको क्षेप्यास्त्र आक्रमण ‘अस्वीकार्य भएको बताएका छन् । उनले युद्धको निन्दा गर्दै स्थितिलाई शान्त पार्न आवश्यक रहेको बताए ।

पश्चिम एसियामा देखिएको द्वन्द्वको स्थितिप्रति भारतद्वारा चिन्ता व्यक्त

भारतले पश्चिम एसियामा देखिएको द्वन्द्वको स्थितिप्रति चिन्ता व्यक्त गरेको छ। भारतीय विदेश मन्त्रालयले बुधवार आफ्ना नागरिकका लागि एडभाइजरी जारी गर्दै ईरान यात्रा नगर्न पनि आग्रह गरेको छ।

विदेश मन्त्रालयको पत्रमा पश्चिम एसियाली क्षेत्रको सुरक्षा स्थितिमाथि सरकारले निगरानी गरिरहेको बताइएको छ। साथै भारतीय नागरिकलाई ईरानमा अनावश्यक यात्रा नगर्न तथा आवश्यक परे ईरानस्थित भारतीय दूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ।

भारत सरकार पश्चिम एशियामा सुरक्षाको स्थितिप्रति चिन्तित रहेको भन्दै नागरिकका सुरक्षाका लागि संयमता अपनाउन पनि अपील गरिएको छ। साथै सबै मुद्दामा कुटनीतिक रुपले कुराकानी गरेर समस्यको समाधानका लागि पनि आह्वान गरिएको छ।

मङ्गलवार ईरानले इजरायलमाथि १ सय ८० मिसाइल आक्रमण गरेको छ। ईरानको आक्रमणमा कुनैपनि मानवीय क्षति भने भएको छैन। तर, ईरानी आक्रमण पछि विश्वस्तरमै हलचल मचेएको छ।

सहिद दशरथ चन्द विज्ञान विश्वविद्यालय सञ्चालनको विद्येयक अघि बढाउन ज्ञापनपत्र

धनगढीः कैलालीको गेटास्थित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको विद्येयक अघि बढाउन विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले ज्ञापन पत्र बुझाएको छ।

संघर्ष समितिले शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सभापति अमर थापालाई राष्ट्रिय सभाबाट स्वीकृत भएको विधेयक प्रतिनिधि सभाबाट पास गराउन भन्दै ज्ञापनपत्र बुझाएको हो। स्वास्थ्य विज्ञानको क्षेत्रमा गुणस्तरीय अध्ययन अध्यापन र मानवस्रोत विकास गरी नागरिकलाई सहज, सुलभ र विशेषज्ञसहित गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले विश्वविद्यालय सञ्चालन गर्न ऐन निर्माणको प्रक्रिया भने थालेको छ।

संघीय मन्त्रिपरिषदले २०७९ माघ २९ गते गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने नीतिगत निर्णय गरेको थियो। गेटामा शिक्षा मन्त्रालयले झण्डै ६ अर्बका भौतिक संरचनाहरु निर्माण गरेको छ। तर, सरकारले निर्णय गरेको दुई वर्ष हुँदा पनि प्रतिनिधि सभाले ऐन तयार परेको छैन।

राष्ट्रिय सभाबाट पारित भइ प्रतिनिधि सभामा थन्केर बसेको विद्येयक यथाशक्य पास गराउन भन्दै विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले मंगलबार शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सभापतिलाई भेटेरै ज्ञापन पत्र बुझाएको छ। संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो), सह–संयोजक आनन्दप्रसाद भट्टसहितको टोलीले सभापति थापालाई ज्ञापनपत्र बुझाएको हो। सभापति थापाले तत्काल बैठक राखेर विद्येयक अगाडी बढाउने बताएको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य लक्षिराम आचार्यले बताए। साथै बुधबार स्वास्थ मन्त्री, शिक्षा, सभामुख र प्रधानमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको संघर्ष समितिले बताएको छ।

क्यानडासँग नेपालको हार

नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजमा घरेलु टोली क्यानडासँग ४ विकेटले पराजित भएको छ । योसँगै शीर्ष स्थानमा रहँदै उपाधि जित्ने नेपालको सम्भावना निकै न्यून बनेको छ ।

१४० रनको लक्ष्य क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । साद बिन जाफर १८ बलमा ४ चौका र १ छक्कासहित ३३ तथा रविन्द्रपाल सिंह २० रनमा नट आउट रहे ।

दीलप्रित बाजवा २५, नवनित धालिवाल १२, निकोलस किर्तोन २६ र हर्ष ठाकेर ११ रनमा आउट भए ।

सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित २३ रन खर्चेर २ विकेट लिए । ललित राजवंशीले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि किंग सिटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । नेपालका अनिल साहले ३० बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४१ रन बनाए । आसिफ शेख ३० बलमा ३ चौका र १ छक्कासहित ३० रन जोडे ।

नेपाललाई ओपनर आसिफ र अनिलले ९.१ ओभरमा ७० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । हर्ष ठाकेरको बलमा ठूलो सट खेलेका अनिल अखिल कुमारबाट क्याच आउट भएपछि मध्यक्रमका ब्याटरले राम्रो गर्न सकेनन् ।

कुशल भुर्तेलले १३, दीपेन्द्रसिंह ऐरी १२, रोहित पौडेल र कुशल मल्ल ४(४ रन बनाए । गुल्सन झा १६ बलमा २ छक्कासहित २३ र करण केसी ८ रनमा नट आउट रहे ।

क्यानडाका हर्ष ठाकेरले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । प्रविन कुमार, डिलोन हेलिगर र साद बिन जाफरले १-१ विकेट लिए ।

नेपाल पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको थियो । दोस्रो खेलमा ओमानलाई ३७ रनले हराएको थियो । नेपालले अन्तिम खेल बुधकार राती ओमानसँग खेल्नेछ ।

मनसुन थप सक्रिय, यी प्रदेशमा हुनेछ धेरै वर्षा

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले हाल कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी  र बागमती प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ।

आज राति कोशी प्रदेशका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशको एक–दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ।

कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको  सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

इजरायलमा ईरानको मिसाइल हमला सुरु

एजेन्सी – ईरानले इजरायलमा मिसाइल हमला थालेको छ । इजरायली सेना (आइडीएफ) ले नै ईरानबाट आफ्नो भूमिमा मिसाइल आक्रमण भएको जनाएको हो ।

यतिखेर पूरै इजरायलमा साइरन बजाइएको छ । इजरायली सेनाले त्यहाँका नागरिकहरूलाई सचेत रहन र होम फ्रन्ट कमाण्डको निर्देशन पालना गर्न भनेको छ ।

सेनाले मानिसहरूलाई साइरन बजेको सुन्नासाथ सुरक्षित स्थानमा जान र नयाँ सूचना जारी नभएसम्म त्यहीँ बसिरहन पनि आग्रह गरेको छ । साथै, मिसाइललाई आकाशमै नष्ट गर्ने प्रयासमा आफूहरू लागेको पनि जनाएको छ ।

ईरानले प्रहार गरेका मिसाइल यतिखेर इजरायलको आकाशमा देखिएका छन्‌ । जेरुसेलमस्थित बीबीसीको मध्यपूर्व ब्यूरोका पत्रकारहरूले पनि दुई मिसाइल खसालेको आवाज सुनिएको जनाएका छन्‌ ।

केही समयअघि इजरायलको ठूलो शहर तेलअभिभमा गोलाबारीको आवाज सुनिएको थियो । स्थानीय प्रहरी अधिकारीहरूले सो घटनामा कयौँ मानिस हताहत भएको जनाएका थिए ।

यतिखेर इजरायलले इरानसमर्थित लडाकु समूह हमास, हिज्बुल्लाह र हुथीविरुद्ध आक्रमण गरिरहेको छ ।

यसअघि अमेरिकी गुप्तचर निकायले इजरायलमा जतिसुकै बेला ईरानले मिसाइल हमला गर्नसक्ने सूचना आफूले पाएको जनाएको थियो ।

बढे क्यान्सर तथा मिर्गौला रोगी

घोडाघोडी (कैलाली), असोज १५ गते । कैलालीको घोडाघोडी नगरपालिका–१० का १५ वर्षीय पूजा सिंहलाई गत असारमा एक्कासि उच्च ज्वरो आयो । १५ दिनसम्म अस्पताल भर्ना भएकी पूजाको रगत जाँच गर्दा रगतमा खराबी देखिएपछि उहाँलाई भरतपुर क्यान्सर अस्पताल लगियो । साउनमा पूजालाई ब्लड क्यान्सर प्रमाणित भएपछि उहाँको भर्ना गरेर भरतपुर अस्पतालमा अहिले उपचार भइरहेको छ । कान्ति राज्यलक्ष्मी माध्यमिक विद्यालय पहलमानपुरमा कक्षा १० मा अध्ययनरत पूजा पढाइका साथसाथै भलिबल खेलाडी पनि हुनुहुन्छ ।

नगरस्तरीय तथा जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड स्वर्ण पदक विजेता पूजाको उपचारमा दैनिक १५ देखि २० हजार रुपियाँ खर्च आउने परिवारले जनाएको छ । उपचारमा सँगै रहेका पूजाका दाजु प्रकाशबहादुर सिंहले भारतमा मजदुरी गरेर जीविकोपार्जन गर्ने आफ्नो परिवारमा बहिनीलाई क्यान्सर देखिएपछि उपचारमा आर्थिक अभाव भएको बताउनुभयो । उहाँले बाहिरबाट उठेको सहयोग रकमले उपचार गराइरहेको बाध्यता सुनाउँदै थप उपचारका लागि रकम कसरी जुटाउने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

त्यसै गरी घोडाघोडी नगरपालिका–५ का २६ वर्षीय हिमबहादुर बोहोराका दुवै मिर्गौला फेल भएको पाँच वर्षपछि मिर्गौला प्रत्यारोपण भएको पनि पाँच वर्ष भएको छ । आमाको एउटा मिर्गौला प्रत्यारोपण गरेर नयाँ जीवन पाएका बोहोराले काठमाडौँमै बसेर नियमित परीक्षण तथा औषधी सेवन गरिरहनुभएको छ ।

१२ वर्षको हुँदा दुवै मिर्गौलामा पत्थरी भएको र अप्रेसन गरेर पत्थरी निकाले पनि नियमित मिर्गौला जाँच नहुँदा कक्षा १२ मा पढ्दा दुवै मिर्गौला फेल भएको बोहोरा बताउनुहुन्छ । सामान्य किसान परिवारका बोहोराको हालसम्मको उपचारमा पचास लाख रुपियाँभन्दा बढी सकिएको छ । दुई वर्ष भयो, उहाँले नगरपालिकाबाट पाइने मासिक पाँच हजार रुपियाँ उपचार खर्च पाउँदै आउनुभएको छ । बोहोरा भन्नुहुन्छ, “सरकारले दिने मासिक पाँच हजारले मलाई धेरै सहायता पुगेको छ । नियमित परीक्षण र औषधी सेवनमा पाँच हजार खर्च गर्ने गरेको छु ।”

बोहोरा र सिंह जस्तै घोडाघोडी नगरपालिकामा ८० जना क्यान्सर तथा मिर्गौलापीडित रहेको तथ्याङ्क नगरपालिकासँग छ । स्वास्थ्य शाखा प्रमुख कैलाशकुमार रावतले आर्थिक वर्ष २०८०/८१ मा सरकारबाट प्रदान गर्ने मासिक पाँच हजार रुपियाँ उपचार खर्च पाउने ७१ जना क्यान्सर तथा मिर्गौला पीडित रहेको बताउनुभयो । साउनदेखि यताको भुक्तानी भएको छैन ।

मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोगी, मेरुदण्ड र पक्षाघातका बिरामीलाई औषधी उपचार खर्च उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७८ बमोजिम नेपाल सरकारले प्रत्येक पालिकामार्फत मासिक पाँच हजार रकम उपचारका लागि सम्बन्धित व्यक्तिलाई दिने व्यवस्था गरेको छ । सोही अनुरूप घोडाघोडी नगरपालिकामा २०७९ सालबाट यो सुविधा दिन थालिएको हो ।

घोडाघोडी नगरपालिकामा २०८०/८१ मा सुविधा लिनेमध्ये १२ जना मिर्गौलापीडित र ५९ जना क्यान्सर रोगी छन् । त्यसै गरी आर्थिक वर्ष २०७९/८० मा ५८ जना बिरामीले सो सुविधा लिएका थिए । स्वास्थ्य शाखा प्रमुख रावतले क्यान्सर र मिर्गौला रोगी प्रत्येक वर्ष बढ्दै गएका जनाउँदै साउनयता १० जना थपिएको बताउनुभयो ।

गोरखापत्रबाट

एसियाली खेलकुदमा रजत विजेता एरिकालाई धनगढीमा सम्मान

कैलाली । कैलालीको धनगढीमा खेलकुद अवार्ड २०८१ तथा सुदूरपश्चिम प्रदेश कराँते रेफ्री सेमिनार गरिएको छ । कैलाली जिल्ला खेलकुद समिति र सुदूरपश्चिम प्रदेश कराँते महासंघले संयुक्त रुपमा मंगलबार धनगढीको कर्भडहलमा खेलाडी सम्मान कार्यक्रम गरेका हुन् ।

कार्यक्रममा भर्खरै चीनमा भएको एसियाली खेलकुदमा महिला कुमिते ६८ केजीभन्दा माथिको तौल समूहमा रजत जित्न सफल नेपाली कराँते खेलाडी एरिका गुरुङलगायतलाई सम्मान गरिएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एरिकासहित नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरूलाई सम्मान गरेका थिए । हाल अमेरिका बस्ने धनगढीमा कराँते खेलेका खेलाडी जनकसिंह खड्काले दुई लाख रुपैयाँसहित एरिकालाई सम्मान गरेका थिए । खड्काले यसअघि नै एसियाली खेलकुदमा स्वर्ण जित्नेलाई तीन लाख, रजत जित्नेलाई दुई लाख र काँस्य जित्नेलाई १ लाख दिने घोषणा गरेका थिए ।

भुटानमा भएको आठौं दक्षिण एसियाली कराँते प्रतियोगितामा सुदूरपश्चिमबाट राष्ट्रिय टीममा पर्न सफल भएका ६ जना खेलाडीलाई १ लाख रुपैयाँसहित सम्मान गरिएको छ । कार्यक्रममा २० वर्ष सेवा अवधि पूरा गरेका राष्ट्रिय खेलकुद परिषद्अन्तर्गतका १६ जना स्थायी प्रशिक्षकलाई दीर्घ सेवा पदक वितरण गरिएको थियो ।

वनमन्त्रीलाई कराँतेको तेस्रो डान उपाधि

सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले तेस्रो डान उपाधि पाएका छन् । नेपाल कराँते महासङ्घका संस्थापक अध्यक्ष तथा नेपाल सितोरियो सङ्घका अध्यक्ष दावा गुरुङले मन्त्री चौधरीलाई तेस्रो डान उपाधि प्रदान गरेका हुन् ।

मंगलबार प्रमाणपत्र, कराँते पोशाक र ब्ल्याक बेल्ट तेस्रो डानको उपाधिसहित उनलाई सम्मान गरिएको थियो । चौधरी कराँतेको पूर्वखेलाडी हुन् ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र उनले एउटै डोजोमा लामो समय कराँते प्रशिक्षण गरेका थिए । विद्यार्थी कालदेखि नै खेलकुदमा सक्रिय उनी सितोरियो कराँतेका पहिलो डान हुन् ।

एथलेटिक्समा पनि राष्ट्रियस्तरसम्म पुगेका उनी अन्य खेलकुदमा पनि त्यतिकै सक्रिय र सफल थिए । थारु भाषाको चलचित्रमा नायकको भूमिकामा देखिएका चौधरी अहिले प्रदेश मन्त्री छन् ।

२०६५ सालदेखि मिर्गौलामा समस्या आएपछि उनी सक्रिय खेलकुद र चलचित्रमा देखिन छोडेका थिए । त्यसपछि सामाजिक र राजनैतिक ढंगले उनी अगाडि बढे ।

उनले खेलकुद र खेलाडीलाई राष्ट्रको गहनाका रुपमा मात्रै भन्नुभन्दा पनि राज्यले आफ्नो अङ्गको रुपमा अगाडि बढाउनु पर्ने बताएका थिए । सरकारले खेलाडीहरूको बीमा गरिदिनु पर्नेमा उनले जोड दिए ।

प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको कार्यालयको प्रतिवेदन पेश

सुदूरपश्चिम प्रदेश मुख्य न्याधिवक्ताको कार्यालयले प्रदेश प्रमुख नजिर मियाँसमक्ष आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ ।

मंगलबार मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशीले आर्थिक वर्ष २०८०\०८१ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख मियाँसमक्ष पेश गरेका हुन् । उक्त प्रतिवेदनमा मुख्य न्यायाधिवक्ता कार्यालयले गरेका प्रगति, आइपरेका चुनौती र आवश्यक सुझाव समेटिएका छन् । अधिकांश मुद्धाहरु सर्वोच्च अदालत पर्ने भएको हुँदा काठमाडौँमा सम्पर्क कार्यालयको आवश्यकता महसुस भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । मुख्य न्यायाधिवक्ता महान्यायाधिवक्ता मातहतमा रहने विषयलाई पनि स्पष्ट गरिनु पर्ने विषय प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदन पेश गर्ने कार्यक्रममा मुख्य न्यायाधिवक्ता सहित उप न्यायाधिवक्ता टेक बहादुर थापा, प्रशासन अधिकृत सत्यराज पडाल र लेखा अधिकृत महादेव पन्तको उपस्थिति रहेको थियो ।  प्रदेश प्रमुख कार्यालयबाट निमित्त सचिव शंसेर सिंह रावल, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अली लगायतको उपस्थित रहनु भएको थियो ।  उक्त कार्यक्रम प्रदेश प्रमुख कार्यालयका लेखा अधिकृत उसा भट्टले सहजीकरण गरेकी थिइन् । वार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख मियाँले संवैधानिक व्यवस्था अनुसार उक्त प्रतिवेदन मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मार्फत प्रदेश सभामा छलफल गराउने र यथाशीघ्र छिटो कार्यान्वयनमा जोड दिने बताएका थिए ।

सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग र आइतबार प्रदेश लोक सेवा आयोगले पनि प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

बाढीपहिरोबाट साढे १६ अर्बको क्षति

काठमाडौं । बिहीबारदेखि आइतबार साँझसम्म परेको वर्षाका कारण गएको बाढीपहिरोबाट साढे १६ अर्बको क्षति भएको छ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलनमा मुख्यसचिव एकनारायण अर्यालले सो जानकारी दिएका हुन्।

उनका अनुसार भौतिक पूर्वाधारतर्फ खानेपानीका संरचनामा ३ अर्ब ५५ करोड, सडक संरचनामा २ अर्ब ५२ करोड, ऊर्जाका पूर्वाधारमा ४ अर्ब, सडक संरचनामा २ अर्ब ५२ करोड क्षति भएको हो।

त्यस्तै कृषितर्फ भने ५ अर्ब ४९ करोड क्षति भएको प्रारम्भिक विवरण रहेको छ।

बाढीपहिरोबाट २१ जिल्ला बढी प्रभावित भएका छन्। बाढीपहिरोमा परी अहिलेसम्म २२४ जनाको मृत्यु भएको छ भने २४ जना बेपता छन्। १ सय ५८ जना घाइते भएका छन् भने ४ हजार ३ सय ३१ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।

कैलालीमा मोटरसाइकल दुर्घटना,दुई जनाको मृत्यु, एक जना घाइते

धनगढी । कैलालीमा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।जिल्ला को गौरीगङ्गा नगरपालिका-१ गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से ६ प ६२७९ र विपरीत दिशाबाट आइरहेको बा ९५ प ९२५२ नम्बरको मोटरसाइकल ठोक्किँदा दुवैका चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कबिन्द्रसिंह बोहराका अनुसार दुर्घटनामा जानकी गाउँपालिका–८ बस्ने २० वर्षीय निर्मल चौधरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २६ वर्षीय चिरञ्जीवी मल्लको मृत्यु भएको हो ।

चौधरी से ६ प ६२७९ नम्बरको मोटरसाइकल र मल्ल बा ९५ प९२५२ नम्बरको मोटरसाइकलका चालक हुन् । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई राति नै धनगढीको नवजीवन अस्पताल पुगाइएको थियो । उपचारको क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

बा ९५ प ९२५२ नम्बरको मोटरसाइकल पछाडि सवार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ७ का २२ वर्षीया दीपक बोहरा पनि घाइते भएका छन् । उनको नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।

बाढीपहिरो र डुबान : दुई सय १७ को मृत्यु, २८ जना वेपत्ता

काठमाडौं, १५ असोज । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छभने २८ जना बेपत्ता छन् ।

प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए। बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले बताए । बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ ।

सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीको भनाई छ ।

परराष्ट्र मन्त्री देउवाले गरिन् नेपाल र अमेरिकाबीच सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर

वाशिङ्टनडिसी : नेपाल र अमेरिकाबीच दुईपक्षीय परामर्श संयन्त्र (बाइल्याटरल कन्सल्टेसन मेकानिजम)सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। गएराती अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्टमा)मा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र अमेरिकी राजनीतिक मामिलाका कार्यवाहक उपविदेशमन्त्री जोन बासले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनु्सार सम्झौतामा नेपालको परराष्ट्र मन्त्रालय र अमेरिकी विदेश मन्त्रालयका उच्च अधिकारीहरूबीच संयन्त्रमार्फत विविध पक्षका बारेमा काठमाडौँ र वाशिङ्टन डिसीमा परामर्श र छलफल गरिने उल्लेख छ ।

भेटमा परराष्ट्र मन्त्री देउवा र बासबीच, नेपाल र अमेरिकाबीचको द्वीपक्षीय र पारस्परिक सहयोगको विषयमा समेत छलफल भएको थियो। बीसीएम सम्झौताले व्यापार, लगानी, पर्यटन र पूर्वाधार जस्ता क्षेत्रमा हुने सहयोगलाई सहज बनाउने परराष्ट्र मन्त्री देउवाले जानकारी दिइन्। उनले नेपाल र संयुक्त राज्य अमेरिकाबीच अर्थपूर्ण र पारस्परिक रूपमा लाभदायक सहकार्यको जग बलियो बनाउने दाबी गरिन्।

स्टेट डिपार्टमेन्टमा आयोजना गरिएको कार्यक्रममा नेपालको तर्फबाट परराष्ट्र सचिव सेवा लम्साल, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमारराज खरेल तथा अमेरिकाको तर्फबाट दक्षिण तथा मध्य एसियासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लु उपस्थित थिए।

यसैबीच परराष्ट्रमन्त्री राणा एसियाली सहकार्य संवादको समिटमा भाग लिन गएराति नै वाशिङ्टनबाट दोहा प्रस्थान गरेकी छन्।

खोज्नुहोस