बाढीपहिरोबाट मृत्यु हुनेको संख्या २४४ पुग्यो

काठमाडौं :  बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन्। एक सय ७९ जना घाइते भएका छन्।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ।

‘बाढीपहिरो पीडितको विवरण सङ्कलन स्थानीयस्तरबाट भइरहेको छ। त्यो प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुनेछ। स्थानीय तहबाट प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग प्रदान भएको छ’, उनले भने।

सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रतिमृतक दुई लाखका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ। हालसम्म त्यस्तो सहायता एक सय ६० परिवारले पाइसकेका छन्।

बाढीपहिरामा परी सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७२ जनाको मृत्यु भएको छ।

मोबाइल एपसहितको नयाँ टीएमएस आजदेखि सञ्चालनमा, यस्ता छन् विशेषता

काठमाडौं । आज (असोज २० गते) आइतबारदेखि नयाँ टीएमएस प्रयोगमा आउँदै छ ।

सेक्युर्ड सेक्युरिटिज लिमिटेड (ब्रोकर नंम्बर ३६) ले आजदेखि नयाँ टीएमएस सञ्चालनमा ल्याउन लागेको हो ।

नयाँ टीएमएसमा मल्टी एसेट, मल्टी एक्सचेन्ज ट्रेड्रिङ प्लेटफर्म रहेको छ । यसमा शेयर, डिबेन्चर, बन्ड, डेरिभेटिभ्स, करेन्सीलगायत विभिन्न उपकरणहरूको कारोबार एक वा एकभन्दा बढी स्टक वा डेरिभेटिभ्स एक्सचेन्जमा एकैसाथ गर्न सकिने ब्रोकर्स एसोसिएसनको भनाइ छ ।

मोबाइल एपसहितको यो प्रणालीले लगानीकर्तालाई कारोबार गर्न थप सहजता प्रदान गर्ने कम्पनीको भनाइ छ । अर्थतन्त्र, बजार तथा सूचीकृत कम्पनीको आधारभूत तथा प्राविधिक विश्लेशण गर्न सकिने गरी यस प्रणालीमा तथ्यांकहरु राखिने छन् । लगानीकर्ताले आफ्नो कारोबारको सम्पूर्ण हरहिसाब तथा आफ्नो पोर्टफोलियो पनि यसै प्रणालीमार्फत हेर्न पाउने व्यवस्था हुन्छ भनिएको छ।

यसमा स्टप लस, टेक प्रोफिट, हाई फ्रिक्वेन्सी ट्रेडिङजस्ता आदेश व्यवस्थापन लगायतका विशेषताहरु रहेकाले शेयर कारोबार सहज हुनुका साथै चुस्त, छरितो र पारदर्शी हुने दाबी गरिएको छ ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि  विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ६ पैसा तोकिएको छ भने बिक्री दर १३४ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

त्यस्तै, यूरो एकको खरिद दर १४७ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्री दर १४८ रुपैयाँ ५६ पैसा तोकिएको छ ।

आइतबारका लागि बेलायती पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ ५५ पैसा तोकिएको छ भने बिक्री दर १७७ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।

अरू कुनको मूल्य कति ?

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 134.06 134.66
EUR  (European Euro) 1 147.89 148.56
GBP  (UK Pound Sterling) 1 176.55 177.34
CHF  (Swiss Franc) 1 157.47 158.17
AUD  (Australian Dollar) 1 91.72 92.13
CAD  (Canadian Dollar) 1 98.91 99.35
SGD  (Singapore Dollar) 1 103.31 103.77
JPY  (Japanese Yen) 10 9.15 9.19
CNY  (Chinese Yuan) 1 19.10 19.19
SAR  (Saudi Arabian Riyal) 1 35.70 35.86
QAR  (Qatari Riyal) 1 36.78 36.94
THB  (Thai Baht) 1 4.05 4.07
AED  (UAE Dirham) 1 36.50 36.66
MYR  (Malaysian Ringgit) 1 31.77 31.91
KRW  (South Korean Won) 100 10.01 10.05
SEK  (Swedish Kroner) 1 13.04 13.10
DKK  (Danish Kroner) 1 19.83 19.92
HKD  (Hong Kong Dollar) 1 17.27 17.35
KWD  (Kuwaity Dinar) 1 438.12 440.08
BHD  (Bahrain Dinar) 1 355.48 357.07

आमाको मृत्युपछि भोकले रोइरहन्छ तीन दिने शिशु, अन्य तीन जनाको पनि बिचल्ली

कैलाली । तीन दिनको शिशु बेला बेला डाँको छोडेर रुन्छ । जन्मिएको केही घण्टामै आमा गुमाएको अबोध बालकले आमाको स्नेह र स्तनपान दुवै पाएन ।

अछाम ढकारी गाउँपालिका ६ कि ३० वर्षीया सरिता देवी जैसीको समयमा उपचार नपाउँदा बिहीबार मृत्यु भएको थियो । मृत्युपछि तीन दिनको शिशुलाई सरिताको दिदीले हेरिरहेकी छन् ।

शिशुलाई उनले पनि राम्ररी स्तनपान गराउन पाएकी छैनन् । उनको दूध आउँदैन । शिशु भोकले व्याकुल भएर रुँदा फुपूलाई बोलाइन्छ र दूध चुसाइन्छ । पछिल्लो दुई दिनयता शिशुको भोक यसरी मेटिएको छ ।

ढकारी ६ मा सानो कच्ची घर छ, टिनले छाएको । त्यसको एउटा साँघुरो कोठामा ९ वर्षका बालक युवराज किरिया बसेका छन् । अर्कातर्फ उनका बुवा टङ्क छन् । टङ्क अपाङ्ग छन् । उनी आँखा देख्न सक्दैनन् । घरमा पुग्ने आफन्तहरू अबोध बालक किरिया बसेको देखेर विक्षिप्त हुन्छन् । त्यसैमाथि तीन दिनको शिशु भोक र तिर्खाले व्याकुल हुँदा र रुँदा उनीहरू पनि भक्कानिन्छन् ।

सरिताका अर्का ७ वर्षका छोरा लक्ष्मण बेला बेला टोलाइरहन्छन् । बेलाबेला रोइरहन्छन् । उनलाई जन्म र मृत्युबारे खासै थाहा छैन । त्यसैले होला आमा खोजिरहन्छन् ।

सरिताको जेठी छोरी छन् १२ वर्षकी मनीषा । आमाको मृत्यु, बुवा पनि अपाङ्ग हुँदा अहिले भाइहरूको अभिभावक उनै बालिका भएकी छन् । आमा सम्झिन्छिन्,रुन्छिन् अनि भाइहरूलाई ‘म छु नि। म पाल्छु तिमीहरूलाई’ भन्दै सम्झाउँछिन् ।

मध्यरातमा सुत्केरी बेथा लागेपछि स्वास्थ्य चौकी ढुङ्गाचाल्नामा लैजाने क्रममा सरिताले बाटोमा नै बच्चा जन्माएकी थिइन् । त्यस लगत्तै उनलाई स्वास्थ्य चौकी ढुङ्गाचाल्ना पुर्‍याएको थियो तर, स्वास्थ्य कार्यालयमा आवश्यक उपकरण र दक्ष जनशक्ति नभएको भन्दै उनलाई थप उपचारको लागि जिल्ला अस्पताल मङ्गलसेन लैजान भनिएको थियो ।

सुत्केरी भएको करिब ७ घण्टासम्म पनि उपचार नपाउँदा जिल्ला अस्पतालमा उनको मृत्यु भयो । ढिलोगरि अस्पताल पुर्‍याएकाले सुत्केरीको बाटोमै मृत्यु भएको जिल्ला अस्पतालले जनाएको थियो ।

ससुराको पनि दुई वर्ष पहिल्यै मृत्यु भइसकेको हुँदा घरको सबै जिम्मेवारी सरिताकै काँधमा आएको थियो । उनको पनि मृत्युले अहिले यो परिवार शोक र भोक दुबैसँग लडिरहेको छ ।

सरिताको मृत्युपछि किरिया खर्च पनि जुटाउन समस्या भएको बेला केही युवाहरूले आर्थिक संकलन गरेको २५ हजार रुपैयाँ सहित बच्चाहरूलाई लत्ताकपडा र खाद्यान्न सहयोग गरेपछि उनीहरूलाई केही राहत भएको थियो ।

‘हामी पुग्दा त्यहाँको दृश्य निकै दर्दनाक थियो । आमा गुमाएर टुहुरा भएका साना बालकहरू विक्षिप्त थिए । तीन दिनको शिशु रोइरहेको थियो । हामीले केही सहयोग गरेपछि उहाँहरूलाई केही सहज भएको छ ’ स्थानीय टेक थापाले भने, ‘हामीले त्यो परिवारलाई अझै साथ र सहयोगको आवश्यकता देख्यौँ ।’

१२ वर्षकी मनीषा, ९ वर्षका युवराज र ७ वर्षका लक्ष्मण घर नजिकैका पञ्चज्योती आधारभूत विद्यालयमा पढ्छन् । मनीषा ७ कक्षामा, युवराज ५ कक्षामा पढिरहेका छन् । बुवा अपाङ्ग, आमा गुमाएपछि उनीहरूलाई अब पढ्न सकिँदैन कि भन्ने चिन्ताले सताउन थालेको छ ।

‘मलाई पढ्न धेरै मन छ । जहाँ गएर , जस्तो दुख गरेर भएपनि पढ्न पाए हुन्थ्यो ’ किरियामा बसेका युवराजले त्यहाँ आउनेहरूलाई सोध्थे, ‘म अब पढ्न पाउँछु ?’

अल नासरकाे जितमा माने र रोनाल्डोकाे गाेल

साडियो मानेको दुई र कप्तान क्रिस्टियानो रोनाल्डो एक गोलमा अल नासले सहज जित हासिल गरेको छ।

शनिबार राति भएको खेलमा अल नासरले अल ओरोबालाई ३–० ले पराजित गरेको हो।

जितसँगै जारी सिजन ६ खेलबाट १४ अंक जोडेको अल नासर तेस्रो स्थानमा छ। समान खेलबाट १८ अंक जोडेको अल हिलाल शीर्ष स्थानमा रहँदा १५ अंक जोडेको अल इत्तेहाद दोस्रो स्थानमा छ।

खेलको १७औँ मिनेटमा रोनाल्डोको पेनाल्टी गोलबाट अल नासरले सुरुआती अग्रता बनाएको थियो।

२९औँ मिनेटमा मानेले गोल गर्दै खेलमा २–० को अग्रता दिलाए। पहिलो हाफमा २–० को अग्रता बनाएको अल नासरको लागि ७१औँ मिनेटमा मानेले दोस्रो गोल गर्दै नासरको सहज जित पक्का गरे।

आफूमाथि गोली प्रहार भएको ठाउँमा अमेरिकी राष्ट्रपति उम्मेदवार ट्रम्पको पुनः आमसभा

अमेरिकी राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले यसअघि गोली प्रहार भएकै ठाउँमा पुनः आमसभा गर्नुभएको छ । गएको जुलाई १३ तारिखमा पेन्सिल्भेनिआमा आयोजित चुनावी सभाका क्रममा ट्रम्पमाथी गोली प्रहार भएको थियो ।

कानमा गोली लागेर सामान्य घाइते भएका रिपव्लिकन ट्रम्पले फेरी त्यहीँ ठाउँमा चुनावी सभा गर्नुभएको बीबीसीले जनाएको छ । उहाँले आउँदो नोभेम्बर ५ तारिखमा हुने चुनावमा आफूले जीत हासिल गर्ने दाबी गर्नुभयो ।

ट्रम्पको चुनावी सभामा अमेरिकी अर्बपती एलन मस्क पनि उपस्थित हुनुुहुन्थ्यो । यस पटकको अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्पलाई मस्कले पनि साथ दिइरहनुभएको छ ।

टी–२० महिला विश्वकप : अष्ट्रेलिया र इङ्गल्याण्डको विजयी सुरुवात

आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा साविक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । गएराति भएको आफ्नो पहिलो खेलमा अष्ट्रेलियाले श्रीलङ्कालाई ६ विकेटले पराजित गरेको हो । ९४ रनको लक्ष्य अस्ट्रेलियाले १४ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

त्यस अघि शारजहामा टस जितेर ब्याटिङ रोजेको श्रीलङ्काले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९३ रन मात्र बनायोे । जीतसँगै अस्ट्रेलिया समूह ‘ए’को दोस्रो स्थानमा छ । लगातार दुई हारसहित श्रीलङ्का अङ्क विहीन रहेको छ । श्रीलङ्का पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।

यस्तै हिजो नै भएको दोस्रो खेलमा इङ्गल्याण्डले बङ्गलादेशलाई २१ रनले पराजित गरेको छ । इङ्गल्याण्डले आफ्नो पहिलो खेलमा विजयी सुरुवात गरेको हो । एक सय १९ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले २० ओभरमा ७ विकेट गुमाएर ९७ रन मात्र बनायो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको इङ्ग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर एक सय १८ रन बनाएको थियो । जीतबाट सुरुवात गरेको इङ्ग्ल्यान्ड समूह ‘बी’ को शीर्ष स्थानमा छ ।

समूह ‘ए’मा अस्ट्रेलिया, भारत, पाकिस्तान, श्रीलङ्का र न्युजिल्यान्ड छन् । समूह ‘बी’ मा दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बङ्गलादेश, स्कटल्यान्ड र इङ्ग्ल्यान्ड छन् । समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् ।

सुदूरपश्चिमको पहाडी जिल्लामा पहिलो पटक गोल्डकप हुँदै, विजेताले ३ लाख पाउने

कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा पहिलो पटक पुरुष फुटबल गोल्डकप आयोजना हुन लागेको छ । प्रदेशका सात पहाडी जिल्लामध्ये पहिलो पटक बाजुरामा छेडेदह गोल्डकप २०८१ हुन लागेको हो । छेडेदह स्पोर्टस् क्लबको आयोजनामा कार्तिक १ देखि ७ गतेसम्म आयोजना हुने प्रतियोगिताको तयारी भइरहेको छ ।

हरेक वर्ष दसैंतिहार विशेष हुने फुटबल प्रतियोगिता यस वर्षदेखि गोल्डकपको रुपमा आयोजना गर्न लागिएको क्लबका अध्यक्ष लोकेन्द्र खड्काले जानकारी दिए ।

खप्तड छेडेदह गाउँपालिका र छेडेहद स्पोर्टस् क्लबको संयुक्त सहकार्यमा हुने प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले दुई लाख, मेडल ट्रफी र प्रमाणपत्र पाउनेछन् । उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्ता गरी पाँच विधामा थप पुरस्कार दिइनेछ ।

सुदूरपश्चिमका पहाडी जिल्लामा हुने खेलमध्ये यो नै सर्वाधिक धनराशिको प्रतियोगिता हो । खेल क्षेत्रको विकासमा सहयोग गर्न र खप्तड छेडेदह गाउँपालिकाको आटीचौर क्षेत्रलाई खेल नगरीका रुपमा विकास गर्न प्रतियोगितालाई निरन्तरता दिइँदै आएको अध्यक्ष खड्काले बताए ।

यसअघि प्रतियोगिता छेडेदह कपको नाममा आयोजना हुँदै आएको थियो । पाँचौं छेडेदह कपको समापन समारोहमा खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावत र उपाध्यक्ष बिशुदेवी नाथले संयुक्त रुपमा छेडेदह गोल्डकपको नामले आयोजना गर्ने घोषणा गरेका थिए । सोही घोषणाअनुसार यो वर्षबाट पुरस्कार राशि बढाएर गोल्डकप आयोजना गर्न लागिएको हो । राष्ट्रिय टीमका खेलाडीसहितको टोलीले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

यो पटक जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका टीमलाई मात्रै खेलमा सहभागी गराइने आयोजकले निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयमा दर्ता गराउन नपाएका टीमको हकमा सम्बन्धित पालिकाको आधिकारिक सिफारिसपत्र हुनुपर्नेछ ।

बजेटमा बिचौलिया हाबी भएको गुनासो छ, सरकारले उपभोक्ता समितिमार्फत कुनै पनि काम गर्दैन: मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कुनै व्यक्ति संस्था तोकेर गएका योजना कार्यान्वयन नगर्न मातहतका निकायहरूलाई स्पष्ट निर्देशन दिएका छन् ।

प्रदेश विकास समस्या समाधानको बैठकमा मुख्यमन्त्री शाहले व्यक्ति संस्था तोकेर गएका योजना कार्यान्वयन नगर्न र प्रदेश सरकारका कुनै पनि योजना उपभोक्ता समितिमार्फत नगराउन निर्देशन दिएका हुन् ।

प्रदेश सरकारका मन्त्री, राज्यमन्त्री, सचिव र विभिन्न आयोगका पदाधिकारीहरूलाई उपस्थित गराएर मुख्यमन्त्री शाहले प्रदेश सरकारको बजेटमा विनियोजित विकास निर्माणका सम्पूर्ण योजनाहरू ठेक्का प्रक्रियामार्फत कार्यान्वयन गर्न निर्देशन दिए ।

‘बजेटमा बिचौलिया हाबी भएको गुनासो छ । त्यसैले प्रदेश सरकारले उपभोक्ता समितिमार्फत कुनै पनि काम गर्दैन । सम्बन्धित सबैलाई मेरो प्रस्ट निर्देशन छ । निर्देशनविपरीत कार्यान्वयन गर्ने सम्बन्धित कार्यालयका पदाधिकारीलाई कारबाही हुन्छ’, उनले भने, ‘मैले बजेट निर्माणकै क्रममा पनि स्पष्ट भनिसकेको छु ।’

मुख्यमन्त्री शाहले प्रदेश निजामती कर्मचारी संशोधित ऐन सांसदबाट पास भइसकेको र तत्काल नियमावली बनाई लोकसेवामार्फत रिक्त दरबन्दी परिपूर्ति गर्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिए ।

उनले हाल विधायन समितिमा छलफलमा रहेको सुदूरपश्चिम प्रदेश स्थानीय तहका कर्मचारी गठन सञ्चालन र सेवाका सर्तसम्बन्धी ऐन यसै अधिवेशनबाट पास गराउने गरी लाग्न सबैलाई निर्देशन दिए ।

सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कार्यान्वयनको विषयमा पनि मुख्यमन्त्री शाहले चासो राखेका थिए । उनले पुरानो निर्णय कार्यान्वयन गराउन पहल गर्ने नभए वैकल्पिक व्यवस्थाका विषयमा पनि प्रदेशसभामा छलफल गराउने बताए ।

उनले प्रदेशस्तरीय औद्योगिक क्षेत्रका रूपमा रहेको डुडेझाढी क्षेत्रलाई औद्योगिक क्षेत्रका रुपमा विकास गर्न आवश्यक प्रक्रिया अगाडि बढाइने बताए ।

आगामी वर्ष सुदूरपश्चिम प्रदेश सरकारले ल्याउने आर्थिक बजेट तथा कार्यक्रमलाई सही रुपमा अगाडि बढाउन योजनाको छनोट, तर्जुमा र विनियोजन तथा निर्माणको लागि प्रदेशसभा सदस्यहरूको अपनत्व रहने गरी एक कार्यदल निर्माण गर्ने मुख्यमन्त्री शाहले बताए ।

उनले सम्पूर्ण मन्त्रालयगत योजनाहरू कार्यान्वयन गर्न कार्यक्रम कार्यान्वयन तालिका बनाई पेश गर्नसमेत निर्देशन दिए ।

बैठकमा प्रदेश सरकारका गौरवका योजनाको चाँडै कार्यान्वयन गर्न र समस्यारत योजनाको समाधानका लागि योजनाको पुनरवलोकन गर्ने गरी कार्य अगाडि बढाउने विषयमा छलफल भएको थियो ।

दशैँको मुखमा घोडाघोडीका देउवालाई बज्रपात, गम्बोरोले पाँच हजार कुखुरा मरे

कैलाली : कैलालीको घोडाघोडी नगरपालिका–८ मा गम्बोरो रोगका कारण पाँच हजार बढी कुखुरा मरेका छन्। किसान पहल देउवाले पालेका पाँच हजार बढी लेयर्स कुखुरा मरेका हुन्।

यसअघि आफ्नो फर्ममा गम्बोरो रोग कहिले नदेखिएको देउवाले बताए। “यो रोगका कारण यति धेरै कुखुरा मरेको पहिलोपटक हो। कुखुरा बिरामी भएको थाहा पाउने बित्तिकै ल्याब परीक्षण गर्दा गम्बोरो रोग लागेको पहिचान भएको थियो। भ्याक्सिन, औषधि दिँदादिँदै पनि खोर नै रित्तिने गरी कुखुरा मरेपछि ३० लाख बढीको क्षति छ”, उनले भने।

घोडाघोडी नगरपालिका पशु शाखा प्राविधिक मनोज आचार्यले पनि गम्बोरो रोगका कारण पहिलोपटक पालिकामा क्षेत्रमा यति धेरै क्षति भएको बताए। उनले  भने, “पाँच हजार ७०० कुखुराका चल्ला ल्याएकामा अब छ–सात सय बचेका छन्, ती पनि मरिरहेका छन्। यति धेरै क्षति भएकामा हामी पनि चिन्तित छौँ।”

“चाडपर्व पनि नजिकिँदै छ। ठूलो सपना बोकेर कुखुरा हुर्काइरहेका थियौँ तर एकैपटक यो बज्रपात आइलाग्यो। सरकारले पशु बीमा कार्यक्रमअन्तर्गत कुखुराको पनि बीमा गर्ने सुविधा गरिदिएको भए हामीजस्ता किसानलाई केही राहत मिल्थ्यो। भैँसी, बाख्रालगायतको बीमा भए पनि कुखुरा, माछाको हुँदैन। इन्सुरेन्स पनि गरेको छैन। अब क्षतिपूर्ति गर्ने कुनै उपाय पनि छैन”, निरास हुँदै उनले भने।

देउवाले केही समयअद्धि कुखुराको इन्सुरेन्स गर्नका लागि नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानलाई प्रक्रिया पु¥याएर आवश्यक कागजात पनि बुझाएका थिए।

पछि संस्थानको जिल्लास्थित कार्यालयले माथिको आदेश भन्दै बीमा नगर्ने जानकारी गरेको उनको भनाइ छ।

आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्र दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार आयोजना गरेको भेटघाट तथा अन्तक्रियालाई सम्बोधन गर्दै उनले यस्तो उद्घोष गरेका हुन् ।

उनले विगतमा कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान नै कमजोर हुन पुगेको उल्लेख गर्दै अब देशव्यापी रूपमा एकल प्रतिस्पर्धामा जाने गरी पार्टीले तयारी थालेको र त्यसको सुरुवात आगामी मंसिरमा हुने उपनिर्वाचनबाट गरिने बताए ।

यस्तै उनले आफ्नो पार्टीले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा थालेको अभियान र त्यसकै कारण सरकारबाट हटाइएकाले जनतामा माओवादीप्रति नयाँ आशा र आकर्षण पैदा भएको भन्दै आगामी निर्वाचनमा एक्लै विजय प्राप्त गर्ने तयारी थाल्ने बताए ।

पछिल्लो समय टानलगायतका कतिपय संस्थामा कांग्रेस–एमाले मिल्दा पनि माओवादी एक्लैले चुनाव जितेको भन्दै अहिले देशव्यापी रूपमा देखिएको जनताको आशा र आकर्षणलाई संगठन निर्माण साथै जनलपरिचालनसँग जोडेर आगामी निर्वाचन एक्लै जित्ने वातावरण बनाउने पनि उनको भनाइ छ ।

उनले पछिल्लो समय प्राकृतिक प्रकोपका कारण सिर्जना भएको संकट समाधानका लागि आफ्नो पार्टीले महत्वपूर्ण पहलकदमी लिएको जानकारी दिंदै जनताको सेवा गर्ने अधिकारलाई कसैले खोस्न नसक्ने बताए ।

उनले सबैतिरका समस्या केन्द्रित गरेर चाँडै सरकारलाई ज्ञापनपत्र बुझाउने र त्यसलाई जनताको बीचमा पनि यथार्थ जानकारी दिने उल्लेख गर्दै यो वर्ष दसैं तिहारमा शुभकामना आदानप्रदानभन्दा संकटमा परेका जनताको सेवा गर्ने कार्यक्रम बनाउन नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

उनले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा, समाजवाद निर्माणको पक्षमा पार्टीले नयाँ संकल्प गर्नुपर्ने बेला आएको भन्दै जनताका अधिकार सुदृढ गर्न नयाँ आन्दोलनको आवश्यकता रहेको र त्यसको वैचारिक, सांगठनिक र सांस्कृतिक नेतृत्व आफ्नो पार्टीले गर्ने बताए ।

अमेरिकामा अर्को महिना हुने चुनाव शान्तिपूर्ण हुनेमा शङ्का छ : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना हुने अमेरिकी राष्ट्रपति चुनाव शान्तिपूर्ण हुने कुरामा विश्वस्त नभएको बताएका छन ।

सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति बाइडेनले चुनाव निष्पक्ष र स्वतन्त्र हुने कुरामा आफु विश्वस्त भए पनि शान्तिपूर्ण हुने कुरामा आफूलाई शङ्का रहेको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

सन् २०२० को हारलाई अस्वीकार गर्ने रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पको भड्किलो टिप्पणीलाई उद्धृत गर्दै बाइडेनले यस्तो टिप्पणी गरेका हुन । ट्रम्पले सन् २०२० मा बाइडेनसँगको हारपछि चुनावमा घोटाला भएको आरोप लगाएपछि उहाँका समर्थकहरूले राजधानीमा तोडफोड गरेका थिए ।

रिपब्लिकनको पराजयपछि उहाँका सयौं समर्थकले द्वन्द्व फैलाएपछि ट्रम्पलाई सन् २०२१ मा विद्रोह उक्साएकोमा महाअभियोग लगाइएको थियो ।

नेपाल चेम्बर र भियतनामबिच व्यापार र लगानी प्रवर्द्धनबारे समझदारी

काठमाडौँ । नेपाल र भियतनामबिच व्यापार र लगानी प्रवर्द्धन सम्बन्धमा सहकार्यको समझदारी भएको छ । नेपाल चेम्बर अफ कमर्स र भियतनाम नेपाल फ्रेण्डसिप एशोसिएसनबिच दुई पक्षीय लगानी अभिवृद्धि एवं व्यापार सहजीकरण गर्नेबारे समझदारी भएको हो ।

कृषि, पर्यटन र व्यापार जस्ता प्रमुख क्षेत्रहरूमा सहकार्य बढाउने विषयमा भियतनामका अधिकारीहरुसँग छलफल भएको नेपाल चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बुद्धको जन्मस्थल नेपालको लुम्बिनीमा भियतनामी पर्यटक भित्र्याउन आग्रह गरे ।

भियतनामका बहुसङ्ख्यक बुद्ध धर्मावलम्बीलाई नेपालको भ्रमण गराएर पर्यटन प्रवर्द्धन गर्नुपर्ने भन्दै अध्यक्ष अग्रवालले यसका लागि सहजीकरण गर्न चेम्बर तयार रहेको बताए ।

कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रमा लगानीका लागि समेत उनले भियतनामका प्रतिनिधिसमक्ष आग्रह गरे । अध्यक्ष अग्रवालले भने, ‘नेपाल लगानीको दृष्टिकोणले उत्कृष्ट गन्तव्य हो, लगानीको प्रतिफल सुनिश्चित गर्न चेम्बर अफ कमर्स प्रतिबद्ध छ ।

नेपालको कृषि विकासमा सहयोग एवं खाद्य सुरक्षा अभिवृद्धि र आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने उद्देश्यले भियतनामसँग सहकार्य गर्न चाहेको अध्यक्ष अग्रवालको भनाई छ ।

चेम्बर पदाधिकारीसँगको भेटवार्तामा भियतनाम नेपाल फ्रेण्डसिप एशोसिएसनका अध्यक्ष ट्रान अन्ह तुवानले नेपालको प्राकृतिक सुन्दरताले आफूलाई निकै लोभ्याएको बताए । नेपालसँग सहकार्य गर्न आफूहरू तयार रहेको र लगानीका क्षेत्रहरू खोज्नुपर्नेमा उनले जोड दिए ।

 

ममता काफ्ले प्रकरण : नरेशविरुद्ध प्रहरीले नयाँ प्रमाण के भेटायाे ?

ममता काफ्ले भट्ट अमेरिकामा गायब भएको मुद्दामा अझै धेरै प्रश्नहरू अनुत्तरित छन्।

पेसाले नर्स रहेकी २८ वर्षीया ममता हराएको भन्दै उनका पति नरेश भट्टले गत अगस्ट ५ मा प्रहरीमा उजुरी दर्ता गराएका थिए। तर, उनीबाहेक अन्यले ममतालाई अन्तिम पटक जुलाई २८ मा देखेका थिए।प्रहरीले नरेशलाई गत अगस्ट २२ मा पक्राउ गरेको थियो। उनी अझै पनि प्रहरी हिरासतमा छन्। न्यायाधीशले नरेश समुदायका लागि ‘खतरा’ रहेको ‘आवश्यक प्रमाण’ भएको भन्दै उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेका थिए।उनीमाथि ममताको हत्या गरी शव लुकाएको आरोप लगाइएको छ। यस विषयमा डिसेम्बर ९ देखि सुनुवाइ सुरु हुँदैछ।

त्यसअघि आगामी बिहीबार उनी पुनः अदालतमा उपस्थित हुनेछन्। उनका वकिलले पक्राउ पुर्जी खारेज माग गर्दै रिट निवेदन दर्ता गराएका छन्। यही विषयमा अदालतले आफ्नो फैसला सुनाउनेछ।

शुक्रबार, मानसास पार्क प्रहरी प्रमुख मारियो लुगोले सञ्चारमाध्यमसँग कुराकानी गर्दै नरेश भट्टविरुद्धको मुद्दा प्रमाणमा आधारित भएको स्पष्ट पारे। ‘हामीसँग यो विषयमा थप प्रमाणहरू छन्। यतिबेला नरेशका वकिलले हामीलाई शव घरबाट कसरी निकालियो भन्ने विषयमा घेरिरहेका छन्। तर, यो हामीसँग भएका प्रमाणहरूको एक अंश मात्र हो। यो मुद्दामा यस्ता थुप्रै प्रमाणहरू छन्,’ उनले भने ।

यसबारे अनुसन्धान सुरु भएयता एक दर्जनभन्दा बढी सर्च वारेन्ट जारी भएर १० वटा भन्दा बढी स्थानमा ममता हराएको विषयमा खोजी गरिएको पनि उनले जानकारी दिए। ‘हामीले कुकुरको प्रयोग गरेर पनि खोजी गरेका छन्, उनले भने, ‘हामीले करिब ३० वटा सर्च वारेन्टका लागि निवेदन दिएका छौँ।’

उनले यी सर्च वारेन्टहरू दम्पतीको घर, कारको तथ्याङ्क, बैंकबाट आर्थिक अवस्था, फोनको रेकर्ड, जीपीएस लगायत विषयमा भएको बताए। यसमध्ये नरेशको एउटा भिडिओ प्रमाण निकै महत्त्वपूर्ण रहेको उनको भनाई छ। ‘नरेश केही स्थानमा भएको भिडिओ हाम्रोलागि निकै सहयोगी बन्यो,’ उनले भने, ‘हामीलाई यस विषयमा थप जानकारी प्राप्त भइरहेको छ। हामीले यही विषयमा केन्द्रित भइरहेका छौँ। हामीले थुप्रै जनासँगै सोधपुछ पनि गरेका छौँ। केहीलाई त फेरि बोलाएर पनि सोधपुछ गरिएको छ।’

उनले विभिन्न स्थानमा खोजी गरे पनि पानीमा भने खोजी हालसम्म नगरिएको बताए। ‘हामीलाई प्राप्त सूचना र नरेशले बयानमा भनेका केही कुराले ममताको शव पानीमा हुनसक्ने पनि आशंका गरिएको छ,’ प्रहरी प्रमुख मारियो लुगोले भने। प्रहरीलाई प्राप्त भएको सूचना र नरेशको जीपीएस लोकेसनलाई त्यसलाई मिलान गर्ने प्रयास पनि गरिएको लुगोको भनाई छ। उनले आगामी दिनमा थप खोजी कार्य गर्ने तयारी भइरहेको जानकारी पनि दिए।

‘केही मानिसहरूले सामाजिक सञ्जालमा ममता अझै जीवित नै रहेको दाबी पनि गरिरहेका छन्,’ लुगोले भने, ‘तर, मलाई लाग्दैन उनी जीवित छन्। त्यसलाई प्रमाणित गर्ने कुनै आधार छैन। यो केसलाई निष्कर्ष पुर्‍याउन हामी प्रयासरत छौँ। हामी ममतालाई न्याय दिन चाहन्छौँ।’

चितामा जलिरहिन् सरिता, नजलाउनु भन्दै रोइरहे लक्ष्मण र युवराज

कैलाली। ७ वर्षका लक्ष्मण जैशी ‘मेरो आमालाई नजलाउनु ’ भन्दै कराउँदै थिए । ९ वर्षका युवराज आमाको लास नजिकै आँखामा आँसु लिएर टोलाइरहेका थिए । दुवैले रुँदै आमाको चितामा दागबत्ती दिए।

चितामा सरिताको शव जल्दै गर्दा लक्ष्मण, युवराज डाँको छोडेर रोए । मलाम गएका सबै विक्षिप्त भए । कसैको आँखा ओभानो रहेन । बालकहरूको अवस्था देख्दा सबै भावविहल भए । त्यहाँ सन्नाटा छायो ।

अछाम ढकारी गाउँपालिका ६ कि ३० वर्षीया सरिता देवी जैसीको समयमा उपचार नपाउँदा बिहीबार मृत्यु भएको थियो ।
मध्यरातमा सुत्केरी बेथा लागेपछि स्वास्थ्य चौकी ढुङ्गाचाल्नामा लैजाने क्रममा उनले बाटोमा नै बच्चा जन्माइन् । त्यसलगत्तै उनलाई स्वास्थ्य चौकी ढुङ्गाचाल्ना पुर्‍याएको थियो तर, स्वास्थ्य कार्यालयमा आवश्यक उपकरण र दक्ष जनशक्ति नभएको भन्दै उनलाई थप उपचारको लागि जिल्ला अस्पताल मङ्गलसेन लैजान भनिएको थियो ।

सुत्केरी भएको करिब ७ घण्टासम्म पनि उपचार नपाउँदा जिल्ला अस्पतालमा उनको मृत्यु भयो । ढिलोगरि अस्पताल पुर्‍याएकाले सुत्केरीको बाटोमै मृत्यु भएको जिल्ला अस्पतालले जनाएको थियो ।

सरिताका पति टङ्क जैशी अपाङ्ग छन्। उनी आँखा देख्न सक्दैनन् । ससुराको पनि दुई वर्ष पहिल्यै मृत्यु भइसकेको हुँदा घरको सबै जिम्मेवारी सरिताकै काँधमा आएको थियो ।

समयमा उपचार नपाउँदा सरिताको मृत्यु भएपछि अहिले ९ वर्षका युवराज, ७ वर्षका लक्ष्मण र भर्खरै जन्मिएको शिशु टुहुरा भएका छन् । आमाको मृत्युले शोकमा रहेका अबोध बालकहरूलाई के खाने के लगाउने भन्ने चिन्ताले पनि सताउन थालेको छ ।

‘दुई दिनको दुधेबालक भोकले रोइरहन्छन्, अन्य दुई बालकको अवस्था पनि त्यस्तै छ’ स्थानीय टेक थापा भन्छन्, ‘आमाको मृत्युपछि उनीहरुको बिचल्ली भयो । बुवा अपाङ्ग, हजुर आमा पनि अस्वस्थ उनीहरुको लालनपालन मै समस्या आउने भयो ।’

अछामबाट निर्वाचित प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री अक्कल रावलले आमाको मृत्यु भएपछि सहारा विहीन भएका बालकहरूको लागि प्रदेश सरकारले यथोचित व्यवस्था गर्नुपर्ने बताउँछन् ।

‘अहिले पनि समयमा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था सृजना हुने कुरा निकै दुखत हो ’ उनले भने ‘आमाको मृत्यु भएपछि ती बालकहरूको बिचल्ली हुने देखिएको छ । उनीहरूलाई पढाउने देखि गाँसबास र कपासको लागि प्रदेश सरकारले चासो देखाउनु पर्छ ।’
स्थानीयहरू पनि आमाको मृत्युपछि अबोध बालकहरूको बिचल्ली हुने कुराले चिन्तित बनेका छन् ।

पदकधारी प्रकाश: खेलाडी, प्रशिक्षक हुँदै अन्तर्राष्ट्रिय रेफ्रीसम्मको यात्रा

कैलाली ।  कराँतेबारे थाहा नपाउँदै बाल्यकालमा हरि चौहानबाट सिक्ने अवसर पाएका प्रकाश चन्दलाई त्यो बेला खेल नै भविष्य होला भन्ने कहिल्यै लागेको थिएन। तर, तीन दशक पहिले उनले सिकेको सामान्य खेलले आज उनले आफ्नो मात्रै होइन देशको पनि नाम रोशन गरेको छ ।

२०४८ सालतिर कञ्चनपुर कृष्णपुर नगरपालिका २ बङ्कमा चौहानसँग उनी ट्युसन पढ्थे । चौहानले भारतमा कराँते सिकेका थिए । बालबालिकालाई फूर्तिलो बनाउन उनले आफूले सिकेको सिप सिकाउने गर्थे । तर, त्यो कराँते हो भन्ने बारे प्रकाशले बर्षाैसम्म थाहा पाएनन् ।

गाउँमा राम्रोसँग नपढ्ने देखेपछि हजुरबुवाले फुपूको घरमा बसेर पढ्न प्रकाशलाई धनगढी पठाए । धनगढीकै शारदा माध्यमिक विद्यालयमा भर्ना भएका प्रकाशलाई ट्युसन पढ्न हसनपुर जानुपर्ने हुन्थ्यो । विद्यालय र ट्युसन सेन्टरको बीचमा धनगढीस्थित कवर्ड हल छ । जहाँ विभिन्न खेलहरू हुन्छन् ।

‘सेतो लुगा लगाएकाहरूले किक र पञ्च हानेको देखे, मलाई पनि केही वर्ष पहिले शिक्षकले त्यस्तै सिकाउनु भएको थियो ।त्यसपछि बाल्यकालमा सिकेको सिप के रहेछ भन्ने लाग्यो ’ उनले भने, ‘ एकदिन म ट्युसन नगएरै कवर्ड हल छिरे ।’

   प्रकाशले तेकवान्दो, ज्याम्नेस्टिक र कराँतेबारे सम्बन्धित प्रशिक्षकलाई बुझ्न खोजे ।

तेकवान्दोमा गोविन्द विष्टले २१० रुपैयाँ भर्ना फिस र ५० रुपैयाँ मासिक फिस लाग्ने बताएपछि प्रकाशको आट आएन । जेम्नास्टिक पनि त्यति नै महँगो लाग्यो । कराँते १६० रुपैयाँमा भर्ना हुन पाइने कुराले उनी उत्साहित भए ।

दुई विषयमा ट्युसन पढ्ने भन्दै १५० रुपैयाँमा मागेका प्रकाशले त्यो महिना ट्युसन गएनन् । १० रुपैयाँ गुरुले छुट गरेको उनी अझै सम्झन्छन् ।

‘१० रुपैयाँ नपुग्दा निकै तनाव भएको थियो र किशोर हमाल गुरु हुनुहुन्थ्यो । ‘भोलिदेखि आइजा’ भन्नुभयो ’ उनले त्यो पल सम्झँदै भने, ‘त्यो बेला मैले ट्युसन पढ्ने भन्दै  ढाँटेर कराँते नसिकेको भए आज म यहाँ हुने थिएन होला । ’

कराँतेमा भर्ना भइसक्दा उनलाई पोसाकको चिन्ता भयो । फुपूको घर नजिकै बस्ने एक भारतीय मूलका युवकले उनलाई त्यसको पनि जोहो गरिदिए । अरूले दिएको साइज नमिल्ने ड्रेस लगाएर उनी मैदानमा उत्रिए । त्यसपछि प्रकाशले त्यो मैदान कहिल्यै छोड्नु परेन ।

कराँते सिक्दै गरेको तीन महिनामै शिवा मेमोरियल आमन्त्रण अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता आयोजना भयो । पहिलो खेलमा नै उनले कांस्य पदक जिते । जापान, बङ्गलादेश ,भुटान, श्रीलङ्का भारत र नेपाल लगायतका देशहरूका बीचमा प्रकाशले पाएको पहिलो पदक त्यति थियो ।

२०५२ असोज १२ गते पछि प्रकाशको खेल जीवनले अर्काे गति पायो । आठौँ साफ खेलको छनोटका लागि भएको प्रतिस्पर्धामा उनले आफैलाई सिकाएका प्रशिक्षक मकेन्द्र बहादुर सिंहलाई हराए ।

सेमिफाइनलमा आफ्नै गुरुलाई हराएपछि प्रकाशको चर्चा राष्ट्रियस्तरसम्म चुलियो ।

‘मकेन्द्रलाई जित्ने को फुच्चे रैछ’ प्रकाशको खोजी हुन थालेको थियो । २०५४ सालदेखि आफू पढ्ने शारदा माविमा कराँते सिकाउन थालेका प्रकाशले राष्ट्रिय अन्तर्राष्ट्रिय थुप्रै खेलाडी जन्माएका छन् । किशोर हमाल भरत हमाल लगायतको प्रेरणा र प्रशिक्षणबाट उनी सफल भएको ठान्छन् ।

कराँते खेल्न थालेको तीन दशक नपुग्दै प्रकाशले जिल्ला,क्षेत्र र राष्ट्रिय हुँदै अन्तर्राष्ट्रियस्तरका थुप्रै पदकहरू पाएका छन् ।

२०१२ र २०१३ मा श्रीलङ्का भएको अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा स्वर्ण पदक, २०११ र २०१३ मा बङ्गलादेश को ढाकामा भएको अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा एक स्वर्ण एक रजत पदक, सन् २००९ मा मलेसियामा भएको दोस्रो एसियन गोजुरियो कराँते प्रतियोगितामा पदक जित्नुका साथै रसियामा भएको वर्ल्ड कराँते च्याम्पियनसिप २०१० र जर्मनमा भएको २०११ म वर्ल्ड कराँते च्याम्पियनसिप सहभागी भएका थिए ।

त्यो एक दशकमा २ दर्जन बढी स्वर्ण पदक, एक दर्जन बढी रजत पदक, एक दर्जन बढी कांस्य पदक जित्न सफल भएका प्रकाश खेलाडी हुँदै प्रशिक्षक समेत भएका छन् । प्रकाशले आफूले मात्रै देशको लागि पदक जितेनन् उनले खेलाएका दर्जनौँ खेलाडीले राष्ट्रको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक दिलाएका छन् ।

धनगढीमै प्रकाशकै सक्रियतामा ९ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता भएका छन् । ‘ श्रीलङ्काबाट ५३ जना बङ्गलादेशमा २६ जना आउनु भएको थियो । धनगढीमा एक वर्षमा १०१७ जना खेलाडी आएका थिए । तर, मोफसलमा भएको हुँदा धेरै चर्चा भएन ’ उनले भने, ‘त्यो प्रतियोगितामा सहभागी भएका खेलाडीहरूले राष्ट्रिय अन्तर्राष्ट्रिय खेलहरूमा पदक जितेका छन् । ’

खेलाडी प्रशिक्षक हुँदै अहिले उनी रेफ्रीको रुपमा पनि परिचित छन् । जिल्ला, क्षेत्रीय , राष्ट्रिय , आमन्त्रण अन्तर्राष्ट्रिय तथा अफिसियल अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताहरू र तेह्रौँ साफमा गरी करिब १५० प्रतियोगितामा उनले रेफ्रीको भूमिका निर्वाह गरिसकेका छन् ।

२००८, २०१२ र २०१३ मा श्रीलङ्कामा भएको अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताहरूमा , २०११ र २०१२ मा बङ्गलादेशको राजधानी ढाकामा भएको अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताहरूमा २००९ मा मलेसियामा भएको दोस्रो एसियन गोजुरियो कराँते प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।

२०१४ र २०१५ मा इन्डोनेसियामा भएका अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताहरूमा, २०२० मा मलेसियामा भएको वर्ल्ड गोजुरियो कराँते प्रतियोगिताकामा रेफ्री को भूमिका रहेका उनी सोही वर्ष उज्बेकिस्तानमा भएको सिनियर एसियन कराँते प्रतियोगितामा रेफ्री भए।

रेफ्री कमिसन सदस्य रहेका चन्दले यस अघि भारतको नयाँ दिल्लीबाट जज बी , उज्बेकिस्तानबाट जज ए र अहिले फिलिपिन्सबाट रेफ्री बी पास गरेका हुन् । विश्व कराँते महासङ्घको रेफ्री पास गर्ने लक्ष्य रहेको उनी बताउँछन् ।

राष्ट्रिय गोजुरियो कराँते दो.सङ्घ, नेपालका महासचिवका .बा. प्रमुख प्रशिक्षक रहेको उनी राष्ट्रिय रेफ्री कमिसन सदस्य पनि हुन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ, कैलालीमा निर्वतमान अध्यक्ष हुन् ।

महिला हिंसाविरुद्ध अभियान “प्रहार” मार्फत गरिएका गतिविधि सुदूरपश्चिम प्रदेशका ९ ओटै जिल्लाहरू, बागमती प्रदेशका केही स्कुल तथा कलेजहरू र लुम्बिनी प्रदेशका केही स्थानहरूमा गरि करिब ३१ हजार ३ सय जना महिला तथा बालिकाहरूलाई आत्मरक्षा तालिम दिएका उनले आगामी ५ वर्ष भित्र २ लाख महिला तथा बालबालिकाहरूलाई आत्मरक्षा तालिम दिने योजनाका रहेको बताउँछन् ।

नागपुर स्पोटर्स एकेडेमीद्वारा “प्रतिभा सम्मान–१९९८” मा सम्मानित भएका प्रकाश अल इन्डिया वादोकाइ कराँते सङ्घ उत्तराखण्डको आयोजनामा हलद्वानी भारतमा सम्पन्न भएका आमन्त्रण अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता २०१८ को उद्घाटन सत्रमा उत्तराखण्डका तत्कालीन मुख्यमन्त्री भगतसिंह कोश्यारीबाट सम्मानित भएका थिए ।

“विशेष सेवा सम्मान २०७६’’ मा पूर्व मन्त्रिपरिषद् अध्यक्ष तथा प्रधान न्यायाधीश खिलराज रेग्मीबाट सम्मानित भएका उनी २०७२ मा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा, सन २००९ मा श्रीलङ्का मा भएको प्रथम अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा स्वर्ण पदक दिलाउन सफल भएको भन्दै पुष्पकमल दाहाल प्रचण्डबाट पनि सम्मानित भएका थिए ।

नेपालमा खेलकुदको ठूलो सम्भावना हुँदा पनि खेलाडीहरू टिकाउन समस्या भइरहेको उनको भनाइ छ । सरकारले ध्यान नदिँदा देशको लागि पदक जित्नेहरू विदेसिनु पर्ने बाध्यतासँग जुधिरहेको बताउँछन् ।

‘लामो समयसम्म खेलाडी टिक्न सकस छ । आर्थिक व्यवस्थाले पनि समस्या भइरहेको छ । खेलाडीहरूलाई शिक्षा स्वास्थ्य र खाद्यको लागि राज्यले व्यवस्था गर्नुपर्छ’ उनी भन्छन्, ‘अहिले राष्ट्रिय च्याम्पियनहरू अस्ट्रेलिया,अमेरिका, क्यानडा भासिएका छन् । दुई चार दिन खेल हुँदा चर्चा हुन्छ, बाइबाई हुन्छ त्यसपछि निकै समस्या हुन्छ ।’

नवरात्रको आज तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

काठमाडौँ । बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ ।

नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजाआराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजाआराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिए ।

मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ, उनको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको सापकोटाले बताए । चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ । यस्ती देवीले अत्याचारी दानवी स्वरुपलाई नाश गर्छिन् । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ ।

चन्द्रघण्टा देवीबाट कृपा भए समग्र पाप नाश हुने देवीको वर्णन गरिएका विभिन्न पुराण एवं ग्रन्थमा व्याख्या गरिएको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले बताए । चन्द्रघण्टा देवीको स्वरुप सामान्य, शान्त एवं करुणामयी छ । गीत सङ्गीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् । आजका दिन चन्द्रघण्टा देवीको विशेष पूजा आराधनासहित ध्यान गर्नाले ललाटमा चमक प्राप्त हुने पनि उनले सुनाए ।

नवरात्रको पहिलो दिन बिहीबार दसैँ घर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । घटस्थापनाको अर्थ देवीको ध्यान साधनामा स्थापित हुनु पनि हो भन्ने श्रीमद्देवीभागवतलगायत पुराण एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यही शास्त्रीय वचनका आधारमा धेरै भक्तजनले नवरात्रमा घर एवं शक्तिपीठमा देवीको साधना गरेर बिताउँछन् ।

घटस्थापना गरिएको दिन घडामा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो । दोस्रो दिन शुक्रबार पूजास्थलमा नवदुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो । तेस्रो दिन आज चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिँदैछ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।

दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भनिएको हो ।

नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको विशेष घुइँचो लाग्छ । बडादसैँका दिनबाहेक पनि बुधबार, बिहीबार, शुक्रबार र शनिबार देवीको विशेष रुपमा आराधना गर्न मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

बाढीपहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३९ जना पुग्यो

अघिल्लो हप्ताको बाढीपहिरो र डुबानमा परी अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३९ जना पुगेको छ ।

अझै १८ जनाको अवस्था थाहा हुन सकेको छैन । बेपत्ता उनीहरुको निरन्तर खोजी भइरहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिनुभयो । विपद्का कारण एक सय ७८ जना घाइते भएका छन् ।

बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ । राहत तथा सहायता परिचालन र अवरुद्ध सडक खुलाउने गरी काम भइरहेको गृह प्रवक्ता तिवारीले बताउनुभयो ।

क्यानडाको दोस्रो रोजाईको टीमसँग पनि नेपाली टोली पराजित

काठमाडौँ- क्याडना भ्रमणमा रहेको नेपाली टोलीको खराब प्रदर्शनको श्रृंखला जारी राखेको छ।

आइसीसी लिग–२ अन्तर्गतको सिरिजमा ओमन–क्यानडाविरुद्धको सिरिजमा नेपाल जितविहीन बन्न पुग्यो। त्यसपछि त्रिकोणात्मक टि–२० सिरिजमा पनि नेपाल राम्रो प्रदर्शन गर्न सकेन।

अहिले नेपालले क्यानडाको दोस्रो रोजाईको टोलीसँग एकदिवसीय सिरिज खेलिरहेको छ। क्यानडाको हाइ प्रफर्मेन्ससँग ३ खेलको सिरिज खेलेको नेपालले पहिलो खेलमै हार बेहोर्नुपर्‍यो।

उक्त खेलमा पनि नेपाल ब्याटिङ चल्न सकेन। हाइ प्रफर्मेन्सविरुद्ध नेपाल ३६ ओभर ५ बलमा १४३ रनमा समेटिन पुग्यो।

अनिलकुमार शाहले ३४, अर्जुन साउद ३३, आरिफ शेख २३ र कुशल भुर्तेलले २५ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। ७४ रनमा पहिलो विकेट गुमाएको नेपालले त्यसपछि भने क्रमशः विकेट गुमाउँदै गयो। हाइ प्रफर्मेन्सका शाहिद अहमादजाई एक्लैले ५ विकेट लिए।

जवाफी ब्याटिङ गरेको हाइ प्रफर्मेन्सले ३९ ओभरमा ४ बलमा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो। हाइ प्रफर्मेन्सका युवराज शम्राले सर्वाधिक ४४ रन जोडे। नेपालका अनिलकुमार शाहले सर्वाधिक ४ विकेट लिए।

हाइ प्रफर्मेन्ससँग नेपालका सोमपाल कामीले कप्तानी गरेका थिए। नियमित कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, करण केसी, आसिफ शेखलाई उक्त खेलमा विश्राम दिइएको थियो।

गृह मन्त्रालयले गर्‍यो प्रहरी निरीक्षक शाहीलाई निलम्बन

काठमाडौं । गृह मन्त्रालयले प्रहरी निरीक्षक विनुकुमारी शाहीलाई निलम्बन गरेको छ । शुक्रबार गृह मन्त्रालयले शाहीको निलम्बनको पत्र प्रहरीप्रधान कार्यालयमा पठाएको स्रोतले बताएको छ ।

प्रहरी प्रभाग ललितपुर भैंसेपाटी प्रमुख हुँदा एक व्यवसायीलाई ‘हनी ट्रयाप’ गर्ने गिरोहसँग मिलेर ३० लाख रुपैयाँ रकम असुल गरेको आरोप लागेको छ । उक्त आरोपपछि प्रहरी निरीक्षक शाहीलाई भैंसेपाटी प्रहरी प्रभाग प्रमुखबाट हटाएर रानीपोखरी तानिएको थियो ।

सो घटनाबारे छानबिन गर्न ललितपुर प्रहरीले ललितपुर प्रहरी परिसरमा कार्यरत  डीएसपी नरहरी अधिकारको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । उक्त छानबिन समितिको प्रारम्भिक अनुसन्धानबाट उनको भूमिका शंकास्पद देखिएपछि निम्बनका लागि सिफारिस गरेको थियो ।

रविलाई आफ्नै निर्वाचन क्षेत्रमा देखाइयो कालो झण्डा

चितवन । चितवनका सहकारी पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन क्षेत्र नम्बर–२ का  सांसद् रवि लामिछानेलाइ कालोझण्डा देखाएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा तेस्रो सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी हुन मुग्लिन आएका लामिछानेविरुद्ध नाराबाजी गर्दै सहकारी पीडितले कालोझण्डा देखाएका हुन् । सार्वजनिक सुनुवाइ सकेर फर्किने क्रममा लामिछानेलाई मुग्लिन बजारमा सहकारी पीडितहरूले कालोझण्डा देखाएका हुन् । सहकारी पीडितहरूले सहकारी ठग मुर्दावाद, सहकारी पीडितलाई न्याय दे, हाम्रो समस्या समाधान गर जस्ता नारा लगाएका थिए ।

नाराबाजीका बीच प्रहरीले लामिछानेलाई सुरक्षा दिएर आफ्नो गन्तव्य तर्फ पठाएको थियो । प्रदर्शन लगत्तै प्रहरीले कालोझण्डा खोसेको थियो।  चितवनमा साहारा चितवन बहुउद्देश्य सहकारीबाट करिब १३ करोड बराबरको रकम गोरखा मिडियामा गएको छ । उनीहरुले पटक–पटक रविलाई भेट गरेर समस्या समाधान गर्न आग्रह गरे पनि बचत फिर्ता पाएका छैनन् ।

१४ जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

सरकारले काठमाडौँ, ललितपुर र भक्तपुरसहित १४ वटा जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने भएको छ।

शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले सो निर्णय गरेको हो।

बाढी, पहिरो र डुबानबाट अति प्रभावित १४ जिल्लामा पुनःस्थापना र पुनर्निर्माणको कामलाई प्राथमिकताका साथ तिव्रता दिनेगरी स्थानीय तहको समेत किटान गरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको प्राधिकरणका सहसचिव वसन्त अधिकारीले जानकारी दिए।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको सो बैठकमा अति प्रभावित जिल्लाका स्थानीय तहको पनि नाम उल्लेख गरी संकटग्रस्त क्षेत्र घोषणा गरिने उल्लेख गरिएको छ।

प्राधिकरणका सहसचिव अधिकारीले भने, ‘विशेष गरी अस्तीको १० गते पछिको ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौं, संखुुवासभा, ललितपुर, सोलुखुम्बु, भक्तपुर, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ जिल्ला बढी प्रभावित भएको देखियो। हामी स्थानीय तहको पनि संख्या तोक्छौँ। अहिले मैले अघि भनेअनुसारको जिल्लामा ऐनको दफा ३२ बमोजिम विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिनेछ।’

गत असोज ११ १२ गते अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानले ठूलो जनधनको क्षति भएपछि सरकारले अति प्रभावित जिल्लाहरुको पहिचानका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्न लागेको हो। प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार विपद्मा परी २३९ जनाको मृत्यु भएको छ भने घाइते १६९ घाइते, १८ जना अझै बेपत्ता रहेका छन्।  १७ हजार १२० जनाको उद्धार गरिएको पनि प्राधिकरणको पछिल्लो तथ्यांक रहेको पनिसहसचिव अधिकारीले बताए।

इजरायली आक्रमणमा मारिएका हिजबुल्लाका प्रमुख हसन नसरल्लाहको शवलाई अस्थायी रुपमा गाडियाे

लेबनानी लडाकू समूह हिजबुल्लाका प्रमुख हसन नसरल्लाहको शवलाई अस्थायी रुपमा गाडिएको छ । इजरायलले आक्रमण गर्ने डरले गोप्य स्थानमा अस्थायी तबरले शव गाडिएको समूहनिकट स्रोतले शुक्रवार जनाएको छ ।

‘परिस्थितिले सार्वजनिक अन्त्येष्टिको अनुमति नदिएसम्म हसन नसरल्लाहलाई अस्थायी रुपमा गाडिएको छ,’ स्रोतले भन्यो,  ‘इजरायली धम्कीले शोक मनाउनेहरू र उहाँलाई गाडिएको स्थललाई लक्षित गर्ने डरका कारण सार्वजनिक अन्त्येष्टि गर्न असम्भव थियो ।’

शिया मुस्लिम रीतिअनुसार उचित अन्त्येष्टि गर्न परिस्थितिले नदिँदा वा मृतकलाई उनीहरूले चाहेको स्थानमा गाड्न नसकिँदा अस्थायी रुपमा गाडिने व्यवस्था छ ।

हिजबुल्लाहले शीर्ष लेबनानी अधिकारीहरूमार्फत इजरायलको प्रमुख सहयोगी अमेरिकाबाट इजरायलले सार्वजनिक अन्त्येष्टिलाई लक्षित नगर्ने ‘ग्यारेन्टी’ प्राप्त गर्न खोजेको तर असफल भएको नाम नखुलाउने शर्तमा एक लेबनानी अधिकारीले बताए ।

हिजबुल्लाहमाथि इजरायलको तीव्र बमबारीका बीच सेप्टेम्बर २७ मा समूहको दक्षिणी बेरुत गढमा भएको ठूलो आक्रमणमा नसरल्लाहका साथै इरानी रिभोल्युसनरी गार्डका एक जनरल मारिएका थिए ।

इजरायलले इरान समर्थित हिजबुल्लाहका करिब २० सदस्यको हत्या गरेको बताएको थियो ।नसरल्लाह मारिएको एक सातापछि पनि उनको उत्तराधिकारी छैनन् । सम्भावित उत्तराधिकारीका रुपमा हेरिएका प्रमुख हिजबुल्लाह व्यक्ति उनका भाइ हाशेम सफिएद्दीन हालै दक्षिणी बेरुतमा भएको इजरायली हवाई आक्रमणको निशानामा रहेको अमेरिकी र इजरायली सञ्चारमाध्यमहरूले बताएका छन् ।

कञ्चनपुरमा वयस्क पोथी हात्ती मर्‍यो, सेतो लुगाले ओढाएर अबिर लगाएर सदगत गरिँदै

कैलाली । कञ्चनपुरमा वयस्क हात्ती मरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी दक्षिणी क्षेत्र पडाउ जङ्गलमा हात्ती मरेको अवस्थामा फेला परेको निकुञ्ज कार्यालयले जनाएको छ ।

निकुञ्ज र नेपाली सेनाको गस्ती टोलीले दिउँसो १ः३० बजे हात्ती चौरमा मरेर ढलेको अवस्थामा फेला परेको निकुञ्ज कार्यालयका सूचना अधिकारी मनोज ऐरले जानकारी दिए ।

‘सुरुमा गर्भवती भएको आशंका थियो । बच्चा जन्माउन नसकेर मरेको हो कि भन्ने लागेको थियो तर, पशु चिकित्सकहरूले हात्ती गर्भवती नभएको बताएका छन्’, उनले भने । उनले चोरी शिकारीका कारण हात्ती मारिएको कुनै तथ्य फेला नपरेको बताए ।

‘बस्तीभन्दा ४्५ किलोमिटर टाढा हात्ती मरेको भेटिएको छ । शरीरमा पनि घाउ चोट छैन त्यसैले हात्ती मारिएको हो भन्न सकिने अवस्था छैन’, उनले भने । प्राकृतिक ढंगले हात्तीको मृत्यु भएको हुन सक्ने उनले बताए ।
‘हामीले हात्ती मृत फेला परेको स्थानको वस्तुस्थिति बुझ्दा हात्ती प्राकृतिक कारणले नै मरेको तथ्य फेला पारेका छौँ’, उनले भने, ‘निकुञ्ज, पशु चिकित्सकसहित सेनाको टोलीले मृत हात्तीको सदगत गर्ने तयारी गरेका छौँ ।’

जेसिबीले खाल्डो खनेर सेतो लुगाले ओढाएर अबिर लगाएर दाहसंस्कार गर्ने तयारी भइरहेको उनले बताए ।

हिजो नै हात्ती मरेको हुन सक्ने आशंका गरिएको छ । तर, अझै प्रष्ट के कारणले हात्ती मरेको हो भन्ने पत्ता लागेको छैन’, सूचना अधिकारी ऐरले भने, ‘मुटु ,कलेजो ,फोक्सो चिरेर पशु चिकित्सकहरूले हेर्दै हुनुहुन्छ त्यसपछि मात्रै हात्ती मर्नुको कारण पत्ता लाग्छ ।’

परराष्ट्रमन्त्री राणा स्वदेश फिर्ता

काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवा स्वदेश फर्किएकी छन् । मन्त्री राणा कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा भाग लिएर शुक्रबार अपरान्ह स्वदेश फर्किएकी हुन्।

क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभा बैठकपछि कतारमा भएको उक्त सम्मेलनमा सहभागी हुन मन्त्री राणा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ पुगेकी थिइन् ।

आफ्नो विदेश भ्रमण नेपालको छवि बढाउन र समृद्धिका लागि बाह्य लगानी भित्र्याउने काममा फलदायी रहेको मन्त्री राणाको दाबी छ । उनले भनिन्, ‘कतारमा एसियन कोअपरेटिभ डाइलग थियो । त्यसमा २ वटा इस्यु थियो–एउटा एआईकै इस्यु थियो । त्यसमा अन्तर्राष्ट्रिय जगतले नै चासो देखायो । वल्ड पिस, एसियामा भइरहेको लडाइँका विषयमा पनि कुरा भयो । त्यहाँ स्पोर्टस् डेभ्लोमेसीको कुरा पनि थियो । त्यसमा मैले नेपालमा माउन्टेरिङ र वाटर र्‍याफ्टिङको एकदमै सम्भावना भएको कुरा राखेँ । हामी त्यसमा लिडरसिप लिनसक्छौं भन्ने कुरा पनि राखेर आएको छु ।’

उनले आफू जुन देशमा पुग्दा पनि नेपाल र नेपालीप्रतिको राम्रो दृष्टिकोण बनेको पाएको बताइन् । ‘नेपालको इमेज बढाउन, नेपालमा इन्भेष्टमेन्ट ल्याउन, नेपालको विकास गर्ने काममा लागि यो भ्रमण सफल भएको छ,’ उनको दाबी छ ।

नारायणघाटबाट काठमाडौं प्रवेश गर्ने सडकमा ठूला सवारी साधन सञ्चालनमा रोक

काठमाडौं । चितवनको नारायणघाटदेखि काठमाडौंसम्मका सडकमा दशैंअवधिभर ट्रेलर लगायतका ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै घटस्थापनादेखि कार्तिक १ गतेसम्म ट्रेलर र अन्य ठुला सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको हो । तथापी प्रचलित कानूनबमोजिम आयातित मालबाहक सवारीको हकमा भन्सार प्रज्ञापन पत्र र निर्यातित मालबाहक सवारीको हकमा नियम अनुसारको राजश्व तिरेको रसिद हेरेर तेस्रो मुलुकका आयातरनिर्यातजन्य ढुवानीका साधन भन्सार कार्यालय बन्द रहने अवधिबाहेक नारायणगढदेखि काठमाडौंसम्मको सडक खण्डमा आवतजावतमा रोक नलगाउने पनि निर्णय भएको छ।


यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ ।

युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ ४८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९२ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ०२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ३६ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १३ पैसा र बिक्रीदर नौ रुपैयाँ १७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०५ पैसा र बिक्रीदर चार रुपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९० पैसा कायम छ ।

साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०४ पैसा र बिक्रीदर १० रुपैयाँ ०९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३ रुपैयाँ ०८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १९ रुपैयाँ ९३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २६ पैसा र बिक्रीदर १७ रुपैयाँ ३४ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ २० पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ १७ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ५७ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ १६ पैसा तोकेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खेल्ने

काठमाडौँ -आगामी कात्तिक २१ गतेदेखि नेपालले खेल्ने महिला यु–१९ टि–ट्वान्टी विश्वकपको एसिया छनोट खेलका लागि नेपाल क्रिकेट संघ (क्यान)ले २० खेलाडी छनोट गरेको छ ।

संयुक्त अरब इमिरेट्समा आयोजन हुने उक्त छनोट खेलका लागि क्यानले दोस्रो चरणमा २० खेलाडी छनोट गरेको हो । छनोटमा नेपालसँगै आयोजक संयुक्त अरब इमिरेट्स (युएई), कुवेत र थाइल्याण्ड छन् । छनोट हुने नेपाली खेलाडीमा सोनी पाख्रिन, कृष्मा गुरुङ, मनिषा उपाध्याय, साना प्रविन, प्रतिमा शाह, स्नेहा महरा, सावित्रा धामी र सुस्मिता भुसाल छन् ।

त्यसैगरी रञ्जु श्रेष्ठ, किरनकुमारी कुँवर, तृष्ना विक, रिया शर्मा, अलिशाकुमारी यादव, भवानी कामती, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र आश्मा पुलामीमगर छन् ।

विश्वकपको एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले आगामी कात्तिक २१ गते थाइल्याण्डसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ  । त्यसैगरी नेपालले दोस्रो खेल कात्तिक २२ गते कुवेतसँग खेल्ने छ भने कात्तिक २४ गते घरेलु टोली युएईसँग खेल्नेछ । नेपालको कात्तिक २५ गते थाइल्याण्डसँग खेल्ने छ भने कात्तिक २७ गते कुवेतसँग खेल्नेछ । नेपालले अन्तिम खेलमा कात्तिक २८ मा युएईसँग खेल्नेछ ।

चार टोली सहभागी रहने उक्त  छनोटमा शीर्षस्थान हासिल गर्ने टोली अर्को वर्ष मलेसियामा आयोजना हुने विश्वकपका लागि छनोट हुनेछ ।

खोज्नुहोस