अर्बपति व्यापारी इलोन मस्कले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा निर्णायक हुन सक्ने ठानिएका राज्यका मतदातामध्ये एक जनालाई दैनिक १० लाख अमेरिकी डलर वितरण गर्ने घोषणा गरेका छन्। तर उनको यो निर्णय विधानसम्मत छ कि छैन भनेर प्रश्न उठेको छ।
अमेरिकामा नोभेम्बर ५ मा निर्वाचन हुन लागेको छ। मस्कले राष्ट्रपतिका उम्मेदवार डोनल्ड ट्रम्पको पक्षमा समर्थन जुटाउन ‘अमेरिका पीएसी’ अभियान थालेका छन्। त्यसमा सहभागी हुन सहमत हुने पेन्सिल्भेनिया राज्यका मतदाताहरूलाई हस्ताक्षर गरेकै आधारमा मस्कले नगद पुरस्कार दिने घोषणा गरेका हुन्।
सो अभियानमा सहभागी हुन हस्ताक्षर गर्ने ‘स्विङ स्टेट’ मानिएका सात राज्यका मतदातामध्येबाट प्रत्येक दिन एक जनाले १० लाख अमेरिकी डलर हात पार्ने छन्। त्यो क्रम मतदान हुने दिनसम्म चल्ने छ।
मस्कको योजनामा के छ?

अमेरिका पीएसीले “अभिव्यक्ति स्वतन्त्रता र हातहतियार बोक्न पाउने अधिकार”सम्बन्धी एक प्रस्ताव तयार गरेको छ।
त्यो प्रस्तावमा अहिलेसम्म अनिर्णीत देखिएका र राष्ट्रपतीय निर्वाचनमा निर्णायक ठानिएका जोर्जा, नभाडा, एरिजोना, मिशिगन, नोर्थ क्यारलाइना, पेन्सिल्भेनिया र विस्कन्सिन राज्यका मतदाताहरूलाई हस्ताक्षर गर्न आह्वान गरिएको छ।
अर्का एक मतदातालाई हस्ताक्षर गर्न सिफारिस गर्ने मतदातालाई ती मतदाताले हस्ताक्षर गरेको अवस्थामा ४७ अमेरिकी डलर (६,००० नेपाली रुपैयाँभन्दा बढी) पुरस्कार दिने भनिएको छ।
पेन्सिल्भेनिया राज्यमा सो प्रस्तावमा हस्ताक्षर वा सिफारिस गर्ने मतदाताले भने सबैभन्दा धेरै १०० डलर पाउँछन्। अहिले कमला ह्यारिस र ट्रम्प दुवै उम्मेदवारले उक्त राज्यमा आफ्नो ध्यान केन्द्रित गरेका छन्।
मस्कले घोषणा गरेको १० लाख डलर पुरस्कार पहिलो पटक अक्टोबर १९ मा पेन्सिल्भेनियाकी एक महिलाले पाएकी थिइन्।
त्यसरी वितरण गरिने पुरस्कारको कुल रकम १३ करोड रुपैयाँभन्दा बढी हुन्छ।
कानुनी कि गैरकानुनी?

तस्बिर स्रोत,America/X
जोर्ज वाशिङ्टन यूनिभर्सिटीमा कानुनका प्राध्यापक पोल शिफ बर्मन भन्छन्, “मलाई लाग्छ मस्कको यो प्रस्ताव पक्कै गैरकानुनी हो।”
अमेरिकी निर्वाचन कानुनमा मतदाताको रूपमा दर्ता हुन वा कसैको पक्षमा मतदान गर्न पैसा दिने र लिनेलाई १०,००० अमेरिकी डलरसम्म जरिबाना वा पाँच वर्ष कैद हुन सक्ने प्रावधान रहेको उनले औँल्याए।
“उनले मतदाताको रूपमा दर्ता भएका मानिसहरूलाई मात्रै नगद दिने भनेका छन्। त्यस कारण उनको प्रस्तावले यो व्यवस्था उल्लङ्घन गर्छ भन्ने मलाई लाग्छ,” बर्मनले बीबीसीसँग भने।
अमेरिकाको कानुन मन्त्रालयले भने यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ। बीबीसीले सङ्घीय निर्वाचन आयोगसँग पनि प्रतिक्रिया लिने प्रयास गरेको थियो।
“उनले कसैलाई पनि प्रत्यक्ष रूपमा मतदान गर्न वा मतदाताको रूपमा दर्ता हुन पैसा दिएका छैनन्। उनले एउटा प्रस्तावमा हस्ताक्षर गरेबापत दिएका छन्। तसर्थ उनले गरेको ठिकै भन्न सकिने ठाउँ छ,” उनले भने।
तर नोर्थवेस्टर्न यूनिभर्सिटीमा निर्वाचनसम्बन्धी कानुनका प्राध्यापक माइकल काङ यो विषयमा सन्दर्भ हेर्नुपर्ने ठान्छन्।
“केही विश्लेषणमा यो गैरकानुनी नभएको तर्क गरिएको म देख्छु। तर सन्दर्भसँग मिलाएर हेर्दा मानिसहरूलाई मत दिन उत्प्रेरित गर्ने उद्देश्यले नाम दर्ता गराउनका लागि यो ल्याइएको स्पष्ट देखिन्छ। त्यसमा कानुनी समस्या देखिन्छ,” उनले भने।
कुनै पनि दलको पक्ष नलिने अभियान ‘क्याम्पेन लीगल सेन्टर’ का एडभ नोटी पनि मस्कको अभियानबाट कानुन उल्लङ्घन हुने धारणा राख्छन्। “कसैलाई मतदाताको रूपमा दर्ता हुने सर्तमा पैसा दिने कुरा गैरकानुनी हो,” उनले भने।
नोर्थवेस्टर्न यूनिभर्सिटीमा संवैधानिक कानुनका प्राध्यापक जेरमी पोलले भने मस्कले कानुनी छिद्रको फाइदा लिएको बताए। उनका अनुसार अदालतमा यसबारे मुद्दा चल्न कठिन देखिन्छ।
डेमोक्र्याटिक पार्टीका नेताहरूले भने मस्कले पैसा वितरण गरेको विषयमा छानबिन हुनुपर्ने माग गरेका छन्।
पेन्सिल्भेनियाका गभर्नर जोश शपीरोले मस्कको कदमलाई “निकै चिन्ताजनक” मानेका छन्। उनले कानुन कार्यान्वयन गर्ने सम्बन्धित निकायबाट यस विषयमा अनुसन्धान हुनुपर्ने माग गरेका छन्।
शपिरोको टिप्पणीबारे प्रतिक्रिया दिँदै मस्कले त्यसो भन्नु नै चिन्ताजनक भएको बताए।
के यसअघि पनि पैसा बाँडिएको थियो?

तस्बिर स्रोत,EPA-EFE/REX/Shutterstock
मस्कले सन् २०२० को निर्वाचनमा डेमोक्र्याटिक पार्टीका दाताहरूले पनि यस्तै गरेको प्रतिक्रिया जनाएका छन्। आफ्नो स्वामित्वमा रहेको सामाजिक सञ्जाल ‘एक्स’ लेख्दै उनले सन् २०२० मा मेटाका मालिक मार्क जकरबर्गले पनि त्यसो गरेको दाबी गरेका छन्।
तर जकरबर्गले सन् २०२० को निर्वाचनमा ४० करोड अमेरिकी डलर कुनै पनि दलको समर्थन नगर्ने संस्थाहरूलाई दिएका थिए। उक्त रकम मतदान केन्द्रहरूमा बन्दोबस्तीका सामग्री जुटाउन सहयोगस्वरूप दिइएको थियो, प्रत्यक्ष मतदाताहरूलाई दिइएको थिएन।
डेमोक्र्याटिक पार्टीले पनि विगतका निर्वाचनहरूमा आफ्ना समर्थक परिचालन र मतदाता दर्ता अभियानका लागि खर्च गर्ने गरेको थियो।
तर त्यस्तो पैसा पनि सीधै मतदाताहरूलाई दिइएको थिएन। त्यो पैसा अभियानहरूमार्फत् विज्ञापन, प्रचारप्रसारका विभिन्न गतिविधिमा खर्च भएको थियो।

तस्बिर स्रोत,Reuters
मस्क कहिले डोनल्ड ट्रम्पका समर्थक बने?
मस्क पहिला डेमोक्र्याटिक पार्टीका समर्थक थिए। ट्रम्प राष्ट्रपति हुँदा मस्कको उनीसँग त्यति राम्रो सम्बन्ध थिएन। पछि डेमोक्र्याटहरूसँग उनको सम्बन्ध बिग्रियो।
सन् २०२२ को मध्यावधि निर्वाचनअघि डेमोक्र्याटिक पार्टी परित्याग गर्दै उनले आफ्ना समर्थकहरूलाई रिपब्लिकन पार्टीलाई मत दिन आह्वान गरे।
यो वर्ष उनी अमेरिकाको राजनीतिमा अझ बढी संलग्न भएका छन्। उनले दान मात्रै दिएका छैनन्, रिपब्लिकनहरूलाई सहयोग पुर्याउन सामाजिक सञ्जालमा पोस्ट पनि गर्दै आएका छन्।
बीबीसीबाट