पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनलमा

नेपाल साफ माहिला च्याम्पियनसिप–२०२४ को फाइनमा प्रवेश गरेको छ।

केहीबेर अघि सम्पन्न खेलमा नेपालले भारतलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो। निर्धारित समयमा दुवै टोलीले एक-एक गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए। निर्धारित ४५ मिनेट तथा अतिरिक्त तीन मिनेटको समयमा पनि नेपाल र भारतले गोल गर्न सकेनन्।

पहिलो हाफमा भारतले नेपालमाथि दबाब बनाइराख्दा नेपाल गोल गर्नबाट चुक्यो। नेपाल र भारत दुवैले केही उत्कृष्ट अवसर प्राप्त गरेपनि गोल गर्न भने सकेनन्।

मध्यान्तरपछिको खेलमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाएपछि मैदान छोड्नु परेको छ। खेलको ५१औं मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि उनले मैदान छोड्नु परेको हो।

त्यसपछि नेपाल १० खेलाडीमा सीमित बन्यो। रेखाले रातो कार्ड पाएपछि नेपाली दर्शकहरुले केहीबेर नाराबाजी गरेका थिए।

दोस्रो हाफमा भारतकी सङ्गीता बास्फोरले उत्कृष्ट गोल गर्दै अग्रता लिइन्। भारतले गोलको खुसी मनाइरहेको अवस्थामा नेपालले लगत्तै गोल गरेको थियो। तर रेफ्रीले उक्त गोललाई मान्यता दिएनन्।

तनावका कारण खेल लामो समयसम्म खेल रोकिएको थियो। खेल पुनः सुरु भए लगत्तै नेपालकी सावित्रा भण्डारी ‘साम्बा’ ले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा पुर्‍याइन्।

त्यसपछि गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा नेपालले चार तथा भारतले दुईवटा मात्र गोल गर्न सक्यो। नेपालले अब फाइनल खेल बङ्गलादेशसँग खेल्ने छ।

दशरथ रङ्गशालामा नै आज दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले भुटानलाई ७–१ गोलअन्तरले पराजित गर्दै फाइनलका लागि स्थान बनाएको हो।

सरकारले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । आइतबार मन्त्री स्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरू कान्ति बाल अस्पताल काठमाडौँ, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेका हुन् ।

मन्त्री पौडेलको सचिवालयका अनुसार मंसिर १ गतेबाट उपचार निःशुल्क हुने गरी व्यवस्था मिलाइएको छ । राज्यको सामर्थ्यका आधारमा धेरै धनराशि खर्च हुने क्यान्सर उपचार निःशुल्क गर्ने मन्त्रालयको नीति छ । यसैअन्तर्गत मन्त्री पौडेलले आफू मन्त्रालयमा पद बहाल गरे लगत्तै बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क बनाउन पहल थालेका थिए । हाल यो व्यवस्था बालबालिकाबाट सुरु गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

अब १०० रुपैयाँका नोटमा चुच्चे नक्सा, नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरका ३० करोड थान नयाँ नोट छाप्ने भएको छ ।

केन्द्रीय बैंकले १०० रुपैयाँ दरका नोट छपाइका लागि चीनको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन लाई नोटको डिजाइनसहित छपाई र ढुवानीसहितको जिम्मेवारी  दिने निर्णय गरेको जनाएको हो ।

बैंककाअनुसार चिनियाँ कम्पनीले ८९ लाख ९६ हजार ५९२ अमेरिकी डलर बराबरको खर्चमा नोट छपाईदेखि ढुवानीसम्म गर्ने बताएको छ । केन्द्रीय बैंकले बोलकबोलमा सहभागी हुने बोलपत्रलाई सबैभन्दा न्यून मूल्यको रूपमा मान्यता दिँदै प्रस्तावलाई स्विकार गरेको हो ।

ओलीको रास्वपालाई प्रश्न : खुर्सानी चपायो भने पिरो हुँदैन ?’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई चार जना अराजक तत्त्वहरू सडकमा उफ्रँदैमा नेपालमा डेमोक्रेसी खत्तम हुन नदिने बताएका छन् ।

आइतबार ‘पूर्व सुरक्षाकर्मीहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र त्यति सजिलै प्राप्त नभएको भन्दै कोही उफ्रँदैमा डेमोक्रेसी खत्तम नहुने बताए ।

‘म भन्दिन चाहन्छु, दुईचार अराजक तत्त्वहरू सडकमा उफ्रिएर नेपालमा डेमोक्रेसी खत्तम हुँदैन । हुन दिइने छैन’, प्रधानमन्त्रीको भनाइ छ । उनले जरुरी पर्दा राजनीति के हो र देशका लागि राजनीति कस्तो हो र कसरी बचाउनुपर्छ भन्ने बुझेको पनि बताए ।

कसैले हतियार चलाउन बिर्सेका छैनौँ भन्दैमा आत्तिनुनपर्ने भन्दै प्रधानमन्त्रीले दुईचार हजारको जुलुस निस्कँदैमा भरेभोली नै गयो सरकार भनेर प्रचार भएकोमा आक्रोश पोखे । ‘खाने बेलामा आँखा नदेख्ने अनि अहिले अरूलाई गाली गर्ने । अन्याय भो भन्ने । फेरि न्याय दिने काम त मेरो होइन । खुर्सानी चपायो भने पिरो हुँदैन ?’ ओलीले माओवादी केन्द्र र रास्वपाको आन्दोलनलक्षित टिप्पणी गरे । उनले सरकारले कसैलाई पनि अन्याय गर र गिरफ्तार गर नगर्ने बताए ।

‘निष्पक्षताबाट सरकार पछि हट्दैन । दुई चार जना कराएर न्यायालय प्रभावित पार्छु भन्ने ठानेको छ भने मैले विश्वास लिएको छु त्यस्ता हा..हु..बाट प्रभावित हुन थाल्यो भने नेपालमा न्यायको सम्भावनै हुँदैन’, प्रधानमन्त्रीले भने,‘मैले हिजो अदालतमाथि आक्रमण गर्दै बोलेको सुने ।’

उनले हिजो आफूले सहकारीबारे समिति नबनाऊ भन्दा उनीहरुले नै बनाउनुपर्छ भनेर जोड गरेको भन्दै सर्वसम्मत समितिले सिफारिस गरेको विषयमा सडकमा उफ्रनु गलत अभ्यास रहेको बताए । उनले भवितव्यमा राजनीतिमा आएकाहरूले त्यस्तो व्यवहार देखाएको भन्दै वर्तमान सरकार सहमतिअनुसार अघि बढ्ने दाबी गरे ।

कृष्णसारको सङ्ख्यामा बढोत्तरी

धनगढी, कात्तिक ११ गते । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटमा संरक्षित वन्यजन्तु कृष्णसारको बढोत्तरी भएको छ । कृष्णसारको संरक्षण र व्यवस्थापन गर्ने उद्देश्यका साथ हिरापुरमा ५८।८ हेक्टर फाँटलाई तारबार गरेर कृष्णसारको बासस्थान क्षेत्र बनाइएको छ । त्यसमा कृष्णसारको सङ्ख्या बढेर २९५ पुगेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए।

“निकुञ्जको हिरापुरमा झन्डै तीन सयको हाराहारीमा कृष्णसार पुगेका थिए,” उनले भने, “तर भदौ, असोजमा गरेर १२ वटा मरे ।” मनसुन सकिने बेला हरेक वर्ष अलि बढी नै कृष्णसार मर्ने गरेको जनाइएको छ । मरेका कृष्णसारको ल्याब परीक्षण गर्दा कुनै पनि रोग पुष्टि नभएको सहायक संरक्षण अधिकृत ऐरले बताए । “बढी जसो वृद्ध भाले कृष्णसार मरे,” उनले भने, “ल्याब जाँच गर्दा कुनै पनि रोग पुष्टि नभएकाले प्राकृतिक कारणले नै मरेका हुन् ।”

१२ वर्षअगाडि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सर्वप्रथम ४२ वटा कृष्णसार स्थानान्तरण गरी ल्याइएको थियो । त्यसको तुलनामा अहिले शुक्लाफाँटामा सात गुणाले कृष्णसार बढेका छन् । सन् २०१२ मा हरियो वन कार्यक्रमको साझेदारीमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले सदर चिडियाखानाबाट छ र नेपालगञ्ज मिनी चिडियाखानाबाट २२ गरी पहिलो पटक २८ वटा कृष्णसार शुक्लाफाँटा पु¥याएको थियो । त्यसपछि २०१५ मा बर्दियाको खैरापुरबाट थप १४ वटा कृष्णसार शुक्लाफाँटामा स्थानान्तरण गरी सङ्ख्या ४२ पु¥याइएको थियो ।

१९६० को दशकमा शुक्लाफाँटाको हिरापुर क्षेत्रमा कृष्णसार देखा परेको स्थानीयका भनाइलाई आधार मानेर यहाँ कृष्णसार बाँच्न सक्ने भन्दै विभिन्न ठाउँबाट कृष्णसार स्थानान्तरण गरी ल्याइएको थियो । स्थानान्तरण गरिएको छोटो समयमा यहाँ कृष्णसारको सङ्ख्या उत्साहजनक रूपले बढेको ऐरले बताउनुभयो । निकुञ्जमा सुरुमा ७।५ हेक्टर क्षेत्रमा कृष्णसारको वासस्थान बनाइएको थियो तर सो क्षेत्र अपुग भएपछि बढाएर ५८।८ हेक्टर क्षेत्रफल पु¥याइएको छ ।

सन् १९७० को दशकमा नेपालबाट कृष्णसार लोप भइसकेको अनुमान गरिएको थियो । १९७५ मा बर्दियाको खैरापुरमा कृष्णसार देखिएपछि कृष्णसार संरक्षण गर्ने र स्थानान्तरण गरेर सङ्ख्या बढाउने कार्यको थालनी भएको थियो । १९७७ देखि १९८९ सम्म बर्दिया राष्ट्रिय निकुञ्जको बघौराफाँटामा १६ वटा, १९८५ देखि १९८८ सम्म थप चार र १९९२ मा २६ वटा कृष्णसार स्थानान्तरण गरिएको थियो । यद्यपि त्यहाँ कृष्णसार बाँच्न नसकेको जनाइएको छ । सन् २००९ मा बर्दियाको गुलरिया नगरपालिकास्थित १६।९६ हेक्टरलाई कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेर त्यहाँ संरक्षणको कार्य जारी राखिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले कृष्णसारलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ ।

 

फिलिपिन्समा आँधीबाट मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो

फिलिपिन्समा उष्णकटिबन्धीय आँधी ‘ट्रामी’का कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुगेको उद्धारकर्मीले आइतबार बताएका छन्।

आँधीपछि आत्तिएर एउटा तालमा हाम फालेका दर्जनौँ मानिस अझै हराइरहेका छन् भने उनीहरूको खोजी भइरहेको छ। गत अक्टोबर २४ मा फिलिपिन्समा आएको ‘ट्रामी’ यस वर्षको सबैभन्दा घातक आँधीमध्ये एक थियो।

राष्ट्रिय विपद् निकायका अनुसार भूकम्पका कारण पाँच लाखभन्दा बढी मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् भने कम्तीमा ३६ जना हराइरहेका छन्।

सबैभन्दा बढी प्रभावित बिकोल क्षेत्रमा प्रहरीले ३८ जनाको डुबेर मृत्यु भएको जनाएको छ। बिकोलका क्षेत्रीय प्रहरी निर्देशक आन्द्रे डिजोनले एएफपीसँग भन्नुभयो, “हामीलाई अझै पनि धेरै फोन आइरहेका छन् र हामी सकेसम्म धेरै मानिसहरूलाई बचाउने प्रयास गरिरहेका छौं।”

“आशा छ, त्यहाँ थप मृत्यु हुनेछैन,” उनले भने।

डिजोनले यस क्षेत्रको क्यामारिन सुर प्रान्तका ‘धेरै बासिन्दाहरू’ अझै पनि आफ्नो घरको छत र माथिल्लो तलामा फसेको बताए।

मनिलाको दक्षिणमा पर्ने बाटाङ्गासमा मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको प्रान्तीय प्रहरी प्रमुख ज्याकिन्टो मालिनाओले एएफपीलाई जानकारी दिए। क्याभिट प्रान्तमा डुबेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

एएफपीको आधिकारिक प्रहरी र विपद् निकाय स्रोतका अनुसार अन्य प्रान्तमा थप पाँच जनाको शव फेला परेपछि मृतकको सङ्ख्या १०० पुगेको छ।

नागरिक सुरक्षा कार्यालयका एडगर पोसाडासले एएफपीसँग भने, “आगामी दिनमा अझै धेरै मानिसको मृत्यु भएको जानकारी आउने सम्भावना छ किनभने उद्धारकर्ताहरू पहिलेभन्दा फरक स्थानमा उद्धारका लागि पुगेका छन्।

प्रहरी, तटरक्षक र मरिन डाइभिङ टोलीले आइतबार पनि बाटाङ्गासको तालमा हामफालेका भनिएका सात परिवारको खोजी गरिरहेका छन्।

प्रान्तीय प्रहरी प्रमुख मालिनाओले भन्नुभयो, “पहाडको पानीले बालेटे शहरमा रहेको उनीहरूको घरमा पहिरो र बाढी ल्याएपछि उनीहरूको घर भत्किने डरमा आत्तिएर तालमा हाम फालेका थिए।

बटाङ्गासमा अधिकांश को मृत्यु वर्षाका कारण आएको पहिरोका कारण भएको बताइएको छ। माटो, ढुङ्गा र ढलेका रूखको थुप्रोबाट २० जनाभन्दा बढीको शव निकालिएको छ भने कम्तीमा २० जना अझै हराइरहेको प्रहरीले जनाएको छ।

मालिनाओले भने, “सबै शव नभेटिएसम्म हामी खोजी जारी राख्नेछौं।” उत्तरी फिलिपिन्सको विभिन्न भागमा आएको बाढीका कारण करिब पाँच लाख ६० हजार मानिस विस्थापित भएको राष्ट्रिय विपद् निकायले आइतबार जनाएको छ।

 

दम्पती हत्या क्षेत्रमा सुरक्षा चुनौती , प्रहरी विष्ट स्थापनाकाको माग

कैलाली । कञ्चनपुर लालझाडी गाउँपालिका वडा नम्बर १ बिनबारीमा सुरक्षा चुनौती थपिएको भन्दै प्रहरी विट स्थापनाको माग गरिएको छ । स्थानीय रमेश बडायक र उनकी श्रीमती कमला बडायकको बीभत्स हत्या भएको तीन दिनसम्म पनि घटनामा संलग्नहरूको पहिचान हुन सकेको छैन ।

बिहीबार राति घरमा सुतेकै अवस्थामा दुबै जनालाई धारिलो हतियार प्रयोग गरि हत्या गरिएको थियो । शनिबार घटनास्थलमा पुगेका प्रतिनिधि सभा सदस्य तारालामा तामाङसहितको टोलीले उक्त क्षेत्रमा सुरक्षा निकाय पुग्न नसकेको भन्दै तत्काल प्रहरी बिट स्थापना गर्नु पर्ने बताएका छन् । उनले आफूले त्यसकालागि पहल गर्ने समेत बताए । ‘दुई जनाको हत्या भएको घटनाले थप सुरक्षा चुनौती बढाएको छ’ उनले भने, ‘पहिलेबाटै यो क्षेत्रमा सुरक्षा निकाय पुग्न सकेको थिएन अब यो विषयमा थप गम्भीर हुनुपर्ने देखिन्छ ।

मैले सरकारसँग आग्रह गरेको छ । ’ इलाका प्रहरी कार्यालय शंकरपुरमा न दरबन्दी अनुसारको जनशक्ति छ नत स्रोत साधन नै छ ? सई नेतृत्वमा २३ जना प्रहरी रहने दरबन्दीमा अहिले असई को नेतृत्वमा जम्मा ६ जना मात्रै प्रहरी छन् । एक जना बिदामा जाँदा अहिले प्रहरी चौकी कुर्ने र सुरक्षा जाँचमा जाने प्रहरीकै अभाव देखिएको छ । डोकेबजार प्रहरी चौधरीले हेर्ने क्षेत्र हुँदा उक्त क्षेत्रबाट पनि घटनास्थल निकै टाढा रहेको छ ।

त्यसैमाथि सडक गतिलो नहुँदा समयमा प्रहरी पुग्नै सकस हुने गरेको देखिन्छ । हाल संघीय सांसद रहेका तामाङ यसअघि सुदूरपश्चिम प्रदेश सभा सदस्य हुँदै आर्थिक मामिला मन्त्री बनेका थिए । उनकै पहलमा परेको लालझाडी पच्कडीया सडक पनि निर्माण सुरु हुन सकेको छैन । सडकको बिच भागमा रुखहरू रहेको र बनले कटानी आदेश नदिँदा, इआइए रिपोर्ट नआउँदा सडक कालोपत्रे हुन नसकेको हो ।

उक्त सडक निर्णय नहुँदा पनि प्रहरीलाई घटनास्थल पुग्न समय लाग्ने गरेको छ । ‘सडक राम्रो छैन । गाउँमा प्रहरी बस्दैनन् त्यसले गर्दा यहाँ सुरक्षा चुनौती थपिएको हो । प्रहरीको उपस्थिति भएपछि यस्ता घटनाहरू नहोलान् ’ सांसद तामाङले भने । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी रवीन्द्र केसी पनि शनिवार घटनास्थलमा पुगेका थिए । उनीसँग सिङ्गो प्रहरी टोली थियो । उक्त टोलीसँग पनि सांसद तामाङले गाउँमा सुरक्षा चुनौती रहेको भन्दै प्रहरी बिट स्थापनको लागि पहल गर्न आग्रह गरेका थिए । प्रहरी प्रमुख केसीले सुरक्षा निकायको आवश्यकता महसुस भएको हुँदा जिल्ला सुरक्षा समितिले निर्णय गरे सुरक्षा पोष्ट स्थापना हुन सक्ने बताए ।

‘त्यहाँ प्रहरी चाकी नभएको स्थानीयले भन्नु भएको छ । माननीय ज्यूले पनि त्यो विषयमा कुरा राख्नु भएको छ जिल्ला सुरक्षा समितिले निर्णय गरे हामी केन्द्रमा सिफारिस गर्छौ र त्यसपछि केन्द्रले प्रहरी कार्यालय स्थापना गर्छ ’ उनले भने । प्रहरी चौकी राख्ने ठाउँ,भौतिक संरचना र अन्य विषयमा पनि थप छलफल हुन आवश्यक रहेको उनी बताउँछन् । प्रहरी कार्यालय स्थापना भएपछि गाउँका यस्ता जघन्य अपराध नहुने स्थानीयले अपेक्षा राखेका छन् ।

‘प्रहरीको उपस्थिति नहुँदा यस्तो घटना भएको हो ’ पूर्व गाउँपालिका अध्यक्ष मदनसिंह बडायकले भने ‘हामीले प्रहरी कार्यालय स्थापनाको माग गरेका छौँ । प्रहरी कार्यालय स्थापना भएपछि यस्ता घटना हुने थिएनन् । ’ केही वर्ष पहिले पनि लालझाडीमा एक जनाको हत्या भएको थियो । अझैसम्म पनि त्यो घटनामा संलग्नहरू पक्राउ पर्न सकेका छैनन् । स्थानीयले दम्पती हत्याको विषयमा प्रहरीले गम्भीर अनुसन्धान गरि तत्काल दोषि पक्राउको माग गरेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी केसीले अनुसन्धान साघुँरिदै गएको भन्दै केही दिनमा दोषि पक्राउ गर्ने दाबी गरेका छन् ।

नेपाललाई एआई एजुकेसनको हब बनाउन चाहन्छौं : प्रधानमन्त्री

११ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्स एजुकेसन (एआई शिक्षा) को ‘हब’ बनाउन चाहेको बताएका छन् । युवा संघ नेपालले आज आयोजना गरेको एआईसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा विज्ञसँगको संवादमा उनले एसईईमा धेरै विद्यार्थी अनुत्तिर्ण हुने क्रमबाट सुधार ल्याउन एआईको उपयोग कसरी गर्न सकिन्छ भन्नेबारे सरकारले हेरिरहेको बताए ।

उनले विज्ञान प्रविधिको उपयोग जीवनलाई सहज र सरल बनाउने काममा गराउन सरकार लागिपर्ने बताए । सहजकर्ताका रुपमा भूमिका निर्वाह गर्दै प्रधानमन्त्री ओलीले विकास, सकारात्मकता र सहज जीवनका लागि यसको उपयोग गर्नुपर्नेमा जोड दिए ।

‘विकासको तीर्खाबाट हामी ग्रस्त छौं, त्यसका लागि डिजिटल नेपालको अवधारणा ल्याऔं, हामीले आर्टिफिसियल इन्टेलिजेन्सको सकारात्मक उपयोग गर्नुपर्छ,’ उनले भने, ‘एआईको दुरुपयोगबाट हुन सक्ने दुष्प्रभाव रोक्न सचेतना र कानुनी प्रबन्धमा पनि जानुपर्छ ।’

उनले आटिर्फिसियल इन्टेलिजेन्ससम्बन्धी नीति र योजना ल्याउने जानकारी पनि दिए ।

गैरआवासीय नेपालीका कारण हाम्रो राष्ट्रियता बलियो बनेको छ: गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखक गैरआवासीय नेपाली नेपालका अवैतानिक राजदूत भएको बताएका छन् । गैरआवासीय नेपाली दिवस तथा वार्षिक साधारण सभा कार्यक्रममा गृहमन्त्री लेखकले गैरआवासीय नेपालीले नेपालको राष्ट्रियता बलियो पनउ बनाएको बताएका हुन्  ।

‘नेपालका लागि केही गर्न उदेश्य राख्नु भएको छ । जुन देशको नागरिक भएपनि नेपाली हुँ भनिराख्नु भएको छ, उनले भने,’गैरआवासीय नेपाली अवैतानिक राजदूत हुनुहुन्छ । तपाईंहरु रहेको देशमा तपाईंको अनुहार र व्यवहारमा नेपाल देख्छन् । तपाईंले संसारफैलिँदा नेपालको राष्ट्रियता बलियो बनाएको छ ।’

गैरआवासीय नेपालीको उदेश्य नेपालको आर्थिक उन्नति भएको भन्दै संसारमा नेपालीहरुले उत्कृष्ट काम गरिरहेको गृहमन्त्री लेखकले बताए। ‘त्यो उत्कृष्टता नेपालका लागि पनि काम लाग्नुपर्छ । तपाईंको अनुभव र शिक्षा नेपालका लागि उपयोग गर्नुपर्छ । त्यसका लागि हामी वातावरण बनाउन लाग्छौँ’उनले भने ।

यस्तै गैरआवासीय नेपालीको आर्थिक समाजिक र सांस्कृतिक अधिकारको सम्बोधन गर्न सरकार कानुन संशोधनको तयारीमा रहेको गृहमन्त्री लेखकले बताए । तपाईंहरु पनि त्यसरी नै आउनुहोस् । कानुन संशोधनका लागि हामीले गृहकार्य गरिरहेका छौँ । तपाईं पनि गृहकार्य गरेर आउनुहोस्,’उनले भने ।

लोकतन्त्र अनुशासनको पद्धति भएको भन्दै लोकतन्त्र अराजकता नभएको गृहमन्त्रीले बताए ।

एनआरएनए सम्मेलन सुरु, प्रधानमन्त्रीदेखि सरकारका मन्त्रीहरूको सहभागिता

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बद्री केसी पक्षले आज सुरु गरेको ‘ग्लोबल’ सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि सरकारका मन्त्रीहरूले सहभागिता जनाएका छन् ।

‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित सुरु भएको एनआरएन ग्लोबल कन्क्लेभ २०२४ र वार्षिक साधारण सभामा गृहमन्त्री रमेश लेखक, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पर्यटनमन्त्री बद्री पाण्डे, उपसभामुख इन्दिरा रानालगायत सरकारका विशिष्ट व्यक्तिहरूको सहभागिता छ ।

होटल सोल्टीमा सुरु भएको कार्यक्रममा गैरआवासीय नेपाली दिवस, गैरआवासीय नेपालीको विविध सरोकारका विषयमा केन्द्रित रही छलफल हुँदै छ । तीन चिरामा विभाजित भएको एनआरएनएका सबै समूहका कार्यक्रममा सरकारी अधिकारीहरूको उपस्थिति देखिने गरेको छ ।

सम्मेलनमा गैरआवासीय नेपालीहरूको आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिताको पूर्ण कार्यान्वयनका साथै नेपाली नागरिकताको निरन्तरताको बहस, नेपालमा आर्थिक रुपान्तर तथा लगानीको वातावरण, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक (पीएनओ), जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, प्रवासी युवाहरूको सशक्तीकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता, सामाजिक सुरक्षा, नेपाल पर्यटन र एनआरएनएको भूमिका लगायतका विषयमा एनआरएन ग्लोबल कन्क्लेभमा छलफल हुने जनाइएको छ ।

उक्त कार्यक्रममा प्रधानमन्त्रीको उपस्थितिलाई लिएर आरके शर्मा पक्षले विरोध जनाएको छ । शर्मा पक्षका उपाध्यक्ष एवं उपाध्यक्ष गंगाधर गौतमले साधारण सभा बहिस्कार गर्न सार्वजनिक अपिल गरेका छन् ।

गौतमले एनआरएनएको केन्द्रीय कार्यालय कब्जा गरी संघको कोष दुरुपयोग गरेको भन्दै कार्यक्रमलाई बहिष्कार गर्न अपिल गरेका हुन् । सर्वोच्च अदालतको आदेशको गलत व्याख्या गर्दै समूहले काठमाडौँमा अनधिकृत साधारण सभा आयोजना गर्न लागेको दाबी गर्दै उनले यस कार्यक्रमप्रति असहमति व्यक्त गरेका हुन् ।

गौतमका अनुसार, एनआरएनएको १० औँ महाधिवेशनपछि उत्पन्न असहज परिस्थितीलाई एकीकृत गर्न ११ औँ महाधिवेशन गर्ने दायित्व संघमा थियो, जसका लागि मिहिन अध्ययनपछि एकीकृत र निष्पक्ष निर्वाचनको पक्षमा उभिएको बताइएको छ। तर तत्कालीन समयमा सहमति कार्यान्वयन नगरेर बद्री केसी समूहले अनलाइन भोटिङ प्रणालीमा कब्जा गर्दै संघलाई तीन खेमामा विभाजन गरेको उनले आरोप लगाए ।

गौतमले पाँच वर्षदेखि विवादग्रस्त रहेको एनआरएनएको एकता कायम गर्ने अवसरलाई नेपालको प्रमुख राजनीतिक दलहरूले समर्थन गर्नुपर्ने आवश्यकता रहेको समेत जोड दिएका छन् ।

कार्यक्रमको पहिलो दिन नेपालमा आर्थिक रूपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक (पिएनआ), जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरणसम्बन्धी विषयमा छलफल हुनेछ ।

दोस्रो दिन राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तीकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा तथा नेपाल पर्यटन प्रवर्द्धन नीति निर्माण, अपेक्षा चुनौती र एनआरएनएको भूमिकालगायत सत्रहरू रहनेछन् ।

 

सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक युनिभर्सिटीबीच समझदारी

काठमाडौं– नेपालको सुदूरपश्‍चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक नेशनल युनिभर्सिटीबीच शैक्षिक कार्यक्रममा सहकार्य गर्ने सम्बन्धको समझदारीपत्र आदानप्रदान गरिएको छ।

ललितपुरमा शुक्रबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनमा आइतबार बिहान सुदूरपश्‍चिम विश्‍वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्त र दक्षिण कोरियाको जोनबुक नेशनल युनिभर्सिटीका अध्यक्ष डा. ओ बोङ याङबीच पाँच बुँदे समझदारीपत्र आदानप्रदान गरिएको हो।

शैक्षिक तथा प्राज्ञिक उन्‍नयनका लागि दुई विश्‍वविद्यालयबीच यो समझदारीपत्रमा हस्ताक्षर गरिएको सुदूरपश्‍चिम विश्‍वविद्यालयका उपकुलपति प्रा. डा. पन्तले जानकारी दिए ।

विश्‍वविद्यालयको फ्याकल्टी, प्राध्यापक र अनुसन्धानकर्ताहरू आदानप्रदान गर्ने, सुदूरपश्‍चिम विश्‍वविद्यालय र जोनबुक विश्‍वविद्यालयका विद्यार्थीहरू आदानप्रदान गर्ने, दुवै विश्वविद्यालयबीच शैक्षिक सामग्री तथा सूचना आदानप्रदान गर्ने, संयुक्तरुपमा अनुसन्धान सञ्चालन गर्ने, प्राज्ञिक बैठक तथा सेमिनारहरू आयोजना गर्ने पाँच बुँदे समझदारी भएको हो।

सन् १९४७ मा स्थापना भएको जोनबुक विश्‍वविद्यालयका प्रा. डा. ह्याक योङ किमले सुदूरपश्चिम विश्‍वविद्यालयका उपकुलपतिसहित २१ जनाको विद्यावारिधिका लागि सुपरभाइजर गरेका छन् ।

समझदारीपत्र आदानप्रदान गर्दै उनले नेपाली विद्यार्थीहरूको अनुसन्धान कार्यमा सहयोग गर्ने औपचारिक समझदारी भएकोमा खुसी व्यक्त गरे ।

सन् २०१० मा स्थापना भएको सुदूरपश्‍चिम विश्वविद्यालयले पछिल्लो समय अनुसन्धान र अन्वेषणमा जोड दिँदै विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय प्राज्ञिक पहुँचका लागि काम गर्दै आएको  छ ।

नेपाल मटेरियल साइन्स सोसाइटीले आयोजना गरेको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनमा सुदूरपश्चिम विश्वविद्यालय सहआयोजकको रुपमा रहेको छ ।

 

इजरायलद्वारा इरानमा आक्रमण, पश्चिम एसिया थप तनावपूर्ण

काठमाडौँ — करिब एक महिनाअघि इरानले गरेको आक्रमणको जवाफमा इजरायलले शनिबार बिहान इरानको सैन्य इलाकामा हवाई आक्रमण गरेसँगै पश्चिम एसियामा तनाव चर्केको छ । इजरायली सुरक्षा फौज (आईडीएफ) ले इरानका सैन्य अखडाहरूमा ‘सटीक आक्रमण’ गरेको जनाएको छ । उक्त आक्रमण आफूविरुद्ध इरान र उसका साझेदारहरूले बारम्बार गरेका हमलाको जवाफ भएको इजरायलको दाबी छ ।

इरानले लेबनानस्थित इरान समर्थित समूह हेजबुल्लाहलक्षित आक्रमण गरेसँगै गत अक्टोबर १ मा इजरायलमाथि १ सय ८० वटा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो । त्यसको जवाफमा शनिबार आक्रमण गरेको इजरायलको भनाइ छ ।

आईडीएफ प्रवक्ता डानियल हगारीले तत्कालका लागि आफ्नो जवाफी कारबाही पूरा भएको र आक्रमणमा प्रयोग भएका विमानहरू सुरक्षित रूपमा फर्किएको जनाएको छ । इजरायलसामु आफ्नो प्रतिरक्षा गर्ने अधिकार र दायित्व भएको हगारीको भनाइ छ । आईडीएफले गुप्तचरी सूचनाका आधारमा इरानस्थित क्षेप्यास्त्र निर्माण केन्द्रहरूमा प्रहार गरेको जनाएको छ ।

आईडीएफले राजधानी तेहरानका साथै इलम र खुजेस्तानस्थित सैन्य शिविरमा गरेको आक्रमणबाट सीमित क्षति पुगेको इरानी सेनाले जनाएको छ । इजरायली आक्रमणमा चार सैनिकको ज्यान गएको इरानले जनाएको छ । इरानस्थित परमाणु वा तेल प्रशोधन केन्द्रमा भने इजरायलले कुनै निसाना नबनाएको जनाइएको छ ।

आक्रमणको जवाफमा लेबनानी समूह हेजबुल्लाहले उत्तरी इजरायलमा रेकट प्रहार गरेको छ । हेजबुल्लाहले उत्तरी इजरायलस्थित गुप्तचर निकायको मुख्यालय र तेल अभिभस्थित टेल नोफ सैन्य अखडामा ‘साल्भो’ रकेट र ड्रोन आक्रमण गरेको अल जजिराले जनाएको छ । त्यस्तै, हेजबुल्लाहले लेबनानको आइता अल–शाव गाउँको बाह्य क्षेत्रमा रहेका इजरायली सेनालाई लक्षित गरी आक्रमण गरेको जनाइएको छ । ती आक्रमणमा भएको क्षतिबारे भने केही उल्लेख गरिएको छैन ।

अमेरिकामा शनिबार साँझसम्म ३ करोड ९५ लाख (३९.५ मिलियन)अमेरिकीहरूद्वारा अग्रिम मतदान ,ह्यारिसलाई समर्थन गर्न मिशेल ओबामा मिसिगनमा

अमेरिकामा शनिबार साँझसम्म ३ करोड ९५ लाख (३९.५ मिलियन)अमेरिकीले अग्रिम मतदान गरेका छन् ।

युनिभर्सिटी अफ फ्लोरिडा इलेक्शन ल्याब नामक संस्थाको तथ्यांकअनुसार शनिबार साँझसम्म ३९.५ मिलियन अर्थात् ३ करोड ९५ लाख अमेरिकी मतदाताहरुले अग्रिम रुपमा मतदान गरेका छन्।

ती प्रारम्भिक मतहरू बहुमत मेल मतपत्रबाट आएका हुन् । जसमा २०.५ मिलियन भन्दा बढी मेल मतपत्रहरू राष्ट्रिय रूपमा फर्किएको तथ्यांकले देखाएको छ। बाँकी १९ मिलियन अर्थात् १ करोड ९० लाख अमेरिकाभरिका विभिन्न राज्यहरुमा व्यक्तिगत रुपमा मतदानबाट मतदान स्थलहरूमा खसेका हुन् ।

अब अग्रिम रुपमा मतदान ५० वटै राज्यहरूमा खुला गरिएका छन् छन्। अग्रिम मतदान चुनावको दिन भन्दा अघिल्लो सप्ताहन्त सम्म रहन्छ। यसै गरि चुनाव प्रचार गर्ने क्रममा पूर्व प्रथम महिला मिशेल ओबामा ह्यारिससँग मिसिगनमा केही समय बिताइन ।

पूर्व प्रथम महिला मिशेल ओबामाले उपराष्ट्रपतिलाई परिचय दिनु अघि मिशिगनको कलामजुको मञ्चमा पुगेकी थिइन्।

हिरासतमा रहेका सभापति लामिछानेको रिहाइको माग गर्दै रास्वपाद्वारा थप आन्दोलनको घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगी गरेको आरोपमा प्रहरी हिरासतमा रहेका सभापति रवि लामिछानेको रिहाइको मागसहित थप आन्दोलनको घोषणा गरेको छ । शनिवार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले केही महत्वपूर्ण निर्णय गर्दै लामिछानेलाई राजनीतिक प्रतिशोधका कारण हिरासतमा राखेको भन्दै तत्काल रिहाइको माग गरेको हो ।

पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टी सभापति एवं संसदीय दलका नेता रवि लामिछानेलाई अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षड्यन्त्र देखिएको छ । राजनीतिक प्रतिशोध त्यागी तत्काल उहाँको रिहाइ गर्न सरकारसँग माग गर्दछौं ।’

पार्टीले राजनीतिक प्रतिशोध, भ्रष्टाचार, र बेथितिविरुद्ध तथा सहकारीपीडितको ८८ अर्ब रकम फिर्तासहितको न्यायका लागि निरन्तर आन्दोलन जारी राख्ने निर्णय पनि गरेको छ । आन्दोलनलाई प्रभावकारी बनाउन पार्टी उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा ७ प्रदेश सभापतिसहितको आन्दोलन सञ्चालन मूल समिति गठन गरिने रास्वपाले जनाएको छ । साथै, राजनीतिक संवादका लागि अर्का उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गरी सातै प्रदेशमा आन्दोलनका लागि प्रदेश समिति पनि गठन गरिनेछ ।

बैठकले स्थानीय तह उपनिर्वाचन संयोजन समितिलाई ३ दिनभित्र कार्ययोजना प्रस्तुत गर्न निर्देशन दिएको छ । साथै, पार्टीका स्थगित जिल्ला भेला र सांगठनिक गतिविधि पुनः सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ ।

पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘न्यायका लागि हाम्रो अभियान कुनै हालतमा रोकिँदैन, हामी जनताको पक्षमा सधैँ खडा रहनेछौं ।’

null

विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले विदेशमा रहेका नेपालीले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई मातृभूमिको उन्नयनमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिकाद्वारा वासिङ्टनमा आयोजित कार्यक्रममा उनले नेपालका प्राकृतिक साधन, स्रोत र सम्पदाको अधिकतम उपयोग गरेर ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विदेशी माटोमा आर्जन गरेका ज्ञान, सीप र पुँजी परिचालन गर्नुपर्नेमा जोड दिए ।

महासङ्घका अनुसार अध्यक्ष ढकालले कृषि, जलविद्युत्, पर्यटन, सूचना प्रविधि तथा अन्य पूर्वाधारका क्षेत्रमा लगानीका प्रशस्त सम्भावना रहेकाले ढुक्क भएर लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह गरे ।

आइसिसी विश्वकप लिग-२ मा आज अमेरिकासँग खेल्दै नेपाल

आइसिसी विश्वकप लिग-२ मा आज नेपालले अमेरिकासँग खेल्दै छ।

अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशालामा आज बेलुका सवा ९ बजे नेपालले घरेलु टोलीसँग लिग-२ को खेल खेल्न लागेको हो।

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार मात्रै लिग-२ खेल्ने नेपाली टोलीको घोषणा गरेको थियो।

लिग-२ खेल्नुअघि नेपाललले अमेरिकासँग टी-२० सिरिज खेलको थियो। सिरिज नेपालले क्लिन स्वीप गरेको थियो। सिरिजपछि अमेरिका र स्कटल्याण्डसँग लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न लागेको हो। त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ‍स्कटल्याण्डसँग अमेरिका १० विकेटले पराजित भएको थियो।

रियल मड्रिडमाथि बार्सिलोनाको सानदार जित

एल क्लासिकोमा बार्सिलोनाले सानदार जित निकालेको छ।

गएराति रियल मड्रिडलाई उसकै घरमा ४-० गोलले हराउँदै बार्सिलोनाले शीर्षस्थान थप मजबुत बनाएको हो।

रियलमाथि सानदार जित निकाल्ने क्रममा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे भने लामिन यामल र कप्तान राफिन्हाले एक/एक गोल गरे।

खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो। बार्सिलोनाले चारै गोल दोस्रो हाफमा गरेको थियो। दोस्रो हाफको ५४ औं मिनेटमा लेवान्डोस्कीले गोलको खाता खोल्दै टिमलाई पहिलो अग्रता दिलाए। लगत्तै ५६ औं मिनेटमा अग्रता दोब्बर पारे।

७७ मिनेटमा लामिन यामल र ८४ औं मिनेटमा राफिन्हाले गोल गरेपछि बार्सिलोना ४-० गोलले विजयी भएको हो।

जितसँगै बार्सिलोनाले शीर्षस्थानमा ६ अंकको अन्तर छ। ११ खेलमा १० खेल जित्दै बार्सिलोनाले ३० अंक जोड्दा दोस्रो स्थानमा रहेको रियल मड्रिडको २४ अंक छ।

बैतडीमा १५ दिनदेखि किशोरी बेपत्ता, हबलदारकाे दाेस्राे पटक म्याद थप

कैलाली । असोज २५ गते बिहानदेखि बेपत्ता बैतडी पञ्चेश्वर गाउँपालिका- २ डिम्मरकी १७ वर्षीया किशोरीको अवस्था अझै पत्ता लाग्न सकेको छैन । किशोरी हराएको १५ दिन बितिसक्दा पनि उनको अवस्था अज्ञात रहेको छ ।

किशोरी खोजीमा प्रहरी निरीक्षक बलराम पाण्डेय नेतृत्वको प्रहरी टोली पञ्चेश्वरमा सक्रिय छ, तर अहिलेसम्म प्रहरीले किशोरीको कुनै सुइँको नपाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक ढुङ्गानाले बताए ।

‘बिहान पानी लिन भनी नजिकैको धारातर्फ गएकी थिइन्, ग्यालेन र डोरी भेटिएको छ, तर किशोरीको अवस्था अज्ञात छ’, उनले भने, ‘हामीले खोजिरहेका छौं ।’

किशोरीलाई बेपत्ता पारेको आरोपमा महाकाली प्रहरी चौकीका प्रहरी हबलदार कृष्णराज जोशी पक्राउ परेका छन् । गत असोज २५ गते भागेर महाकालीपारि भारतको सुगरखाल पुगेका जोशीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । उनी अहिले जिल्ला प्रहरी कार्यालय बैतडीको हिरासतमा छन् । उनीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

किशोरीको परिवारले जोशीविरुद्ध व्यक्ति बेपत्ता पार्ने कसुरमा किटानी जाहेरी दिएपछि उनी पक्राउ परेका हुन् ।

बेपत्ता भएकी किशोरीसँग प्रहरी हबलदार जोशीको सम्पर्क रहेकाले उनले नै बेपत्ता पारेको आफन्तले आरोप लगाएका छन् । जिल्ला अदालतबाट दोस्रो पटक म्याद थपेर जोशीमाथि अनुसन्धान भइरहेको निरीक्षक ढुङ्गानाले बताए ।

उनले प्रहरीलाई दिएको बयानमा बिहान आफूसँग भेट भएको बताएका छन् ।

‘हामीबीचको सम्बन्धबारे मेरो परिवारले थाहा पायो, अब के गर्ने’, बिहान करिब ५ः३० बजे हबलदारलाई भेटेर किशोरीले भनेकी थिइन् ।
‘अहिले म केही गर्न सक्दिनँ २-४ दिन रोक, केही गरौंला’, हबलदारले भनेका थिए ।

‘त्यस्तो नभन्नुहोस्, मलाई गाह्रो हुन्छ’, यति भन्दै किशोरी बाटो लागेपछि आफू आएर सुतेको हवलदारले बयान दिएक छन् ।

पानी पँधेरो एउटै ठाउँमा गर्ने र चौकी नजिकै घर हुँदा चिनजान भएको हबलदार जोशीले प्रहरीसमक्ष बताएका छन्, तर स्थानीयले भने किशोरी बेपत्तामा हबलदारको संलग्नता रहेको आरोप लगाएका छन् ।

उनीहरुबीचको निकटता झल्काउने गरी प्रमाण पनि भेटिएका छन् । हबलदार जोशीको मोबाइलमा ती किशोरी र उनका संयुक्त तस्बिर भेटिएका छन् ।

प्रहरीलाई नै किशोरी बेपत्ताको आरोप लागेपछि हबलदारमात्रै कारबाहीमा परेनन्, प्रहरी चौकी नै सारिएको छ ।

तत्कालका लागि अस्थायी रुपमा महाकाली प्रहरी चौकीलाई कुलाउ प्रहरी चौकीमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले बताए । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार महाकाली प्रहरी चौकीलाई कुलाउमा सारिएको हो ।

महाकाली प्रहरी चौकी जीर्ण रहेको, ५ जनाभन्दा बढी बस्न नमिल्ने खालको भएको सञ्चार सम्पर्कसमेत नहुने भूगोल रहेकाले तत्कालका लागि प्रहरी चौकी सारिएको प्रहरी निरीक्षक ढुङ्गानाले बताए ।

उनले भने, ‘महाकाली प्रहरी चौकी तत्कालका लागि कुलाउमा सारिएको हो । महाकाली प्रहरी चौकीका सबै जवान अहिले कुलाउमै बस्ने गरेका छन् । पछि उपयुक्त भूगोल हेरेर चौकी स्थापना गर्छौं ।’

गएको असोज २५ गते डिम्बरकी किशोरी बेपत्ता प्रकरणमा प्रहरी हबलदार कृष्णराज जोशी तानिएपछि स्थानीयले प्रहरी चौकी सार्नुपर्ने माग गरेका थिए । जनप्रतिनिधिसहित ६४ जनाले हस्ताक्षर गरेर प्रहरी चौकी सार्नुपर्ने मागसहितको पत्र जिल्ला प्रहरी कार्यालयमा बुझाएका थिए ।

महाकाली क्षेत्रका लागि अहिले ९ जनाको नयाँ टोली खटाएको र उक्त टोली कुलाउमै बस्ने गरेको ढुङ्गानाले बताए । अहिले पनि किशोरीको खोजी जारी छ, तर कुनै सुराक भने प्रहरीले भेटेको छैन ।

सदन र सडकबाट आन्दोलन गर्ने प्रचण्डको चेतावनी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलले उठाएका मागलाई सरकारले गम्भीरतापूर्वक नलिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

माओवादी केन्द्र वाग्मती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको खबरदारीसभामा उनले आफ्नो पार्टीले उठाएका आवाजलाई गम्भीरतापूर्वक लिन आग्रह गरे । त्यसलाई बेवास्ता गरे सदन र सडकबाट आन्दोलन गर्ने उनले चेतावनी दिएका हुन् ।

वर्तमान सरकार सुशासनका विरुद्ध बनेको, आफ्नै पार्टीपंक्तिलाई समेत ढाँटेर रातको १२ बजे बनेको उनले उल्लेख गरे । सय दिन पुग्दा नपुग्दै आफूहरूले गरेको आशंका सरकार आफैँले पुष्टि गरेको उनको भनाइ थियो ।

आफूहरूले खबरदारीसभा राख्नेबित्तिकै सत्तारूढ दललाई एक ठाउँमा ल्याएर सडकबाट सरकारको विकल्प खोज्न थालिएको भन्दै होहल्ला गरिएको उनले बताए । माओवादीलाई सरकारको चिन्ता नभएको उनले उल्लेख गरे । आफूहरूले दलाल र पुँजीवादी दलहरूसँग सहकार्य गरेर गल्ती गरेको महसुस गरेको उनले बताए ।

भ्रष्ट र जाली नेताहरूसँग लागेर माओवादीप्रति पनि आशंका उब्जेका बेला सरकार ढालेर आफूहरूलाई सच्चिन मौका दिइएको उनले टिप्पणी गरे ।

यो देश नेपाली कांग्रेस र नेकपा (एमाले)को बिर्ता नभएको उनले बताए । संख्याको प्राविधिक बदलमा जस्तोसुकै अपराध गरे पनि हुन्छ भन्ने नसोच्न समेत उनले चेतावनी दिए ।

उनले संसदीय समितिले कांग्रेस र एमालेका नेताहरूलाई पनि दोषी ठहर गरेकामा उनीहरूलाई अनुसन्धानको दायरामा नल्याएर प्रतिपक्षमा रहेका रवि लामिछानेलाई मात्र पक्राउ गर्नु राजनीतिक विभेद र पूर्वाग्रहको उपज भएको बताए ।

अब कसैसँग गठबन्धन नगरेर एक्लै चुनाव लडेर विगतमा गरिएको गल्ती सच्याउने उनले स्पष्ट पारे ।

उनले अब उत्पादन वृद्धि गर्दै देशभित्रै लाखौँ युवालाई आत्मनिर्भर बनाउने र भ्रष्टाचारविरुद्धको अभियानमा एकताबद्ध गरेर लैजाने बताए ।

आफ्नो पार्टीले नेतृत्व गरेको सरकारले नेपालमै सुशासनको सवालमा ऐतिहासिक रेकर्ड बनाएको र त्यसलाई कसैले मेटाउन नसक्ने उनले जिकिर गरे । प्रचण्डले जनताको हकअधिकारका निम्ति निरन्तर लड्ने प्रतिबद्धता व्यक्त गरे ।

सुदूरपश्चिममा लागुऔषधको कारोबार बढ्दो, एक सातामै २१ पक्राउ

डोटी । सुदूर पश्चिममा प्रहरीले लागुऔषधको कारोबार गरेको आरोपमा शुक्रबार चार जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले दिएको जानकारीअनुसार कैलालीको भजनी नगरपालिका-५ लालबोजीबाट सोही नगरपालिका- २ रजबाराका २२ वर्षीय रुपेश बिक र घोडाघोडी नगरपालिका- ४ सिमथरीका २१ वर्षीय कुसल गिरीलाई १ ग्राम ७४० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धूलो पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै धनगढी उपमहानगरपालिका- १ त्रिवेणीघाटबाट सोही नगरपालिका- २ बैयाबेहडी बस्ने १८ वर्षीय एक किशोरलाई अवैध लागुऔषध स्पास नामक १६ ट्याबलेटसहित पक्राउ गरिएको छ । कैलालीकै बर्दगोरिया गाउँपालिका- ४ मुडा बजारबाट मोहन्याल गाउँपालिका- २ पन्डोनका २३ वर्षीय सागर शाही र १७ वर्षीय एक किशोरलाई पनि अवैध लागुऔषध ट्रमाडोल १६५ क्याप्सुल, अविल १४३ क्याप्सुल र अन्य सामग्रीहरु तथा नगदसहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रामचन्द्र जोशीले जानकारी दिए ।

लागुऔषधको अवैध कारोबारमा संलग्न भएको आरोपमा बिहीबार प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।

लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका- १८ को ५ नम्बर गल्लीबाट भारत उत्तर प्रदेशको रामपुर हाजिरनगरका २६ वर्षीय रिहान अली र २८ वर्षीय गुफरान अलीलाई पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरुको साथबाट भारतीय नम्बर यूपी २२ एडी ७२६२ को मोटरसाइकल र २८.३५ ग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धूलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

कात्तिक ३ गतेदेखि शुक्रबार रातिसम्म प्रहरीले विभिन्न स्थानबाट उल्लेखित चारसहित २१ जनालाई लागुऔषध कारोबारको आरोपमा पक्राउ गरेको छ ।

लागुऔषध कारोबारको आरोपमा पक्राउ परेकामध्ये एक महिला र २० पुरुष रहेका छन् । उनीहरुसँग भएको १८ ग्राम चरेश, ३५.७४० ग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने वस्तु र विभिन्न प्रकारका लागुऔषधका ३२४ क्याप्सुल बरामद भएको छ ।

किन बढ्दैछ अवैध लागुऔषधको कारोबार ?

अभिभावकहरुले आफ्नो छोराछोरीप्रतिको जिम्मेवारी पूरा नगरेका कारण लागुऔषधका सेवनकर्ताहरुको संख्या बढ्दै गएको बताउँछन् जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विनोद शर्मा ।

उनी भन्छन्, ‘आफ्ना छोराछोरी कहाँ गइरहेका छन्, के गरिरहेका छन् भन्ने कुराको ख्याल राख्नु जरुरी छ, तर अभिभावकहरुले वास्ता गर्दैनन् ।’

अभिभावकलाई सम्झाउन खोज्यो भने उल्टो सम्झिने गरेको प्रहरी उपरीक्षक शर्माको अनुभव छ ।

बेरोजगारीका कारण पनि लागुऔषधको कारोबार बढेको शर्मा बताउँछन् । ‘काम नभएपछि दिमागमा अनेक कुरा खेल्न थाल्छ, त्यसपछि कति बेला कुलतमा फस्छन् थाहै हुँदैन’, शर्माले भने, ‘लागुऔषधको सहज पहुँचका कारण पनि सेवनकर्ताहरु बढेका देखिन्छन् ।’

अधिवक्ता रणबहादुर सिंह पनि परिवारको लापरबाहीकै कारण लागुऔषध दुर्व्यसनीका घटना बढेको बताउँछन् ।

‘परिवारले पनि आफ्ना छोराछोरीको ख्याल गर्दैनन्, विद्यालयमा शिक्षकहरुले पनि यस विषयमा ध्यान दिँदैनन्’, अधिवक्ता सिंहले भने, ‘विद्यालयमै लागुऔषध सेवन गरेर जाने गरेका घटनाहरु पनि धेरै देखिन्छन् ।’

अरुको लहलहैमा लागेर लागुऔषधको सेवन गर्ने र पछि लत लागेपछि त्यसको कारोबारमा समेत संलग्न हुने गरेको सिंहको अनुभव छ । उनी थप्छन्, ‘लत लागिसकेपछि सेवन गर्न पैसा चाहियो, सो पैसा जुटाउन पनि उनीहरु कारोबारमा संलग्न हुन्छन् ।’

पछिल्लो समयमा अदालतहरुमा लागुऔषधका मुद्दाहरु बढ्दो क्रममा रहेको सिंहको भनाइ छ । उनी लागुऔषधको कारोबार बढ्नुमा नेपाल-भारत खुला सिमानालाई पनि कारण मान्छन् ।

सेवानिवृत्त प्रहरी नायब उपरीक्षक कृष्णानन्द भट्टको बुझाइमा विलासिताका वस्तुहरुको उपभोग गर्ने लालचले लागुऔषधको कारोबार गर्ने हदसम्म मान्छे पुग्ने गरेका छन् ।

‘मानिस धनको पछाडि मात्रै लाग्यो, धनका लागि जेसुकै गर्न पनि तयार हुने अवस्थामा पुग्यो’, भट्ट भन्छन्, ‘धनको लालचमा इमानदारी, नैतिकता सबै बिर्सेर अपराधमा संलग्न हुने गरेको पाइयो ।’

परिवार र विद्यालयले नैतिक शिक्षा सिकाउन नसक्दा पनि लागुऔषध सेवन र कारोबार बढ्न थालेको उनको भनाइ छ ।

कञ्चनपुरमा दम्पती हत्या: दुई दर्जन बढीसँग सोधपुछ, ‘सीडीआर’मार्फत पनि अनुसन्धान

कैलाली । कञ्चनपुरमा मृत अवस्थामा भेटिएका दम्पती हत्याको आशङ्कामा अनुसन्धान गरिरहेको प्रहरीले दुई दर्जन बढीलाई सोधपुछ गरेको छ । कञ्चनपुरको दक्षिणी क्षेत्र लालझाडी गाउँपालिका- १ बिनबारीका स्थानीय रमेश बडायक र उनकी श्रीमती कमला बडायकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।

प्रहरीले अहिलेसम्म घटनामा संलग्नहरूबारे कुनै तथ्य पत्ता लगाउन सकेको छैन । घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको भन्दै चाँडै घटनामा संलग्नहरू पक्राउ पर्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश रेग्मीले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म दुई दर्जन बढीलाई घटनाबारे सोधपुछ गरिसकेको छ ।

‘२५-२६ जनालाई घटनाबारे सोधपुछ गरिसकेका छौं । अहिलेसम्म त्यस्तो केही पत्ता लागेको छैन’, उनले भने, ‘हामी विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेका छौं ।’

दम्पतीले बिहीबारमात्रै बैंकबाट पैसा निकालेका थिए । प्रहरीका अनुसार हिजै रमेशले कैलाली र कञ्चनपुरबाट उखुको अनुदान रकम निकालेका थिए । सोही रकमका कारण दम्पतीको हत्या गरिएको हुनसक्ने अनुमान गरिएको थियो, तर उक्त रकम घरमै भेटिएको प्रहरीले जनाएको छ ।

पुरानो रिसइबीका कारण हत्या भएको हुनसक्नेतर्फ पनि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । मृतकको फोन प्रहरीले बरामद गरेको छ । सोही फोनको आधारमा रहेर पनि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी रवीन्द्र केसीले केही दिनभित्रै घटनामा संलग्न पक्राउ गर्नेगरी अनुसन्धान गरिरहेको बताए । उनले कल डिटेल रेकर्ड (सीडीआर)मार्फत समेत अनुसन्धान भइरहेको बताए ।

‘सीडीआरबाट पनि अनुसन्धान भइरहेको छ । घटनामा संलग्नहरू पक्राउ पर्छन्’, उनले भने, ‘अहिलेसम्म विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।’

प्रदेश प्रहरी कार्यालय धनगढीबाट दम्पती घटनाको सूक्ष्म अध्ययन गर्न कुकुरसहित प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेशराज जोशीको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएर अनुसन्धान गरिरहेको छ ।

कस्तो थियो घटनास्थल

कञ्चनपुर लालझाडी गाउँपालिका- १ बिनवारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाले नास्ता पसल चलाउँदै आएका थिए । गाउँको घरभन्दा झन्डै डेढ किलोमिटर टाढा सानो घरमा नास्ता पसल चलाउँदै आएका बडायक दम्पतीसँग राति ८ः३० बजेसम्म उनका छोरा पनि थिए । बुवासँग आफू रहँदासम्म केही नभएको, तर भोलिपल्ट एकै पटक बुवाआमाको शव देखेको छोराले प्रहरीलाई बयान दिएका छन् ।

‘गर्मीका कारण उनीहरू पसलकै बाहिर बरण्डामा सुत्ने गरेका थिए । एक्कासि घटना भएको देखिन्छ’, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘घटना प्रकृति हेर्दा पहिले श्रीमतीलाई हानेर श्रीमानमाथि आक्रमण भएको देखिन्छ ।’

कमलाको शव सुत्ने खाट नजिकै बरण्डामा रगताम्मे अवस्थामा थियो । रमेशको शव आँगनमा थियो । ढलेको थियो । टाउकोबाट अत्यधिक रगत बगेको थियो । दुवै जनाको अनुहार र टाउकोमा चोट रहेको र हत्या नै भएको घटनास्थलमा खटिएका एक प्रहरी अधिकृतले बताए ।

प्रहरी अधिकारीका अनुसार रमेशको चोट हेर्दा उनले आक्रमणकारीसँग केहीबेर प्रतिवाद गरेको देखिन्छ । प्रहरीले हत्या भएको आशङ्का गरे पनि हत्यामा प्रयोग भएका हतियारहरू अझै बरामद भएको छैन ।

‘हामीले आक्रमणपछि हतियार फाल्नसक्ने सम्भावित ठाउँहरू पनि हेरेका थियौं, तर कहीँकतै हतियार भेटिएको छैन’, प्रहरी अधिकारीले भने, ‘आक्रमणकारीले आफ्नो कुनै सुराक नछोडेका कारण कुकुरले पनि धेरै कुरा पत्ता लगाउन सकेन ।’

तालिमप्राप्त कुकुरको टोलीले केही पत्ता लगाउन नसकेपछि अहिले प्रहरी आफैंले शङ्कास्पद क्षेत्रहरूको खोजी बढाएको छ । भारत भाग्नसक्ने सम्भावना रहेको भन्दै नाकामा पनि सुरक्षा चेकजाँच कडा पारिएको छ ।

‘तापमान वृद्धिलाई सीमित गर्ने प्रयासमा सबै राष्ट्र एकजुट हुनुपर्छ’

काठमाडौँ– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले यही कात्तिक २६ देखि मंसिर ७ गतेसम्म अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२९) मा जलवायु वित्तका विषयमा विशेष छलफल हुने बताएका छन्।

कोप–२९ लाई अर्थपूर्ण बनाउन शनिबार आयोजित ‘राष्ट्रिय जलवायु सम्मेलन’ कार्यक्रममा मन्त्री ठकुरीले कोपमा जलवायु वित्तको एजेन्डालाई महत्वका साथ उठान गरिने उल्लेख गरे। ‘कोपमा सबै देशहरू जलवायु परिवर्तनका कारण निम्तिएका संकट र समस्या समाधान गर्न एकजुट हुनेछन्। जलवायु संकटसँगै समाधानमा नेपालले गरेको उपलब्धिबारे प्रचार गरी थप सहयोग र सहकार्यका माध्यमबाट हाम्रा आवश्यकता पूर्ति गर्नेबारे अघि बढ्ने छौँ,’ उनले भने।

वित्तीय सहयोगबिना विकशीत देशलाई जलवायु परिवर्तनले निम्ताएका चुनौतीसँग लड्न असहज हुने भएकाले वित्तसम्बन्धी विषयमाथि छलफल गरिने मन्त्री ठकुरीले बताए। ‘तापमान वृद्धिलाई एक दशमलव पाँच डिग्रीमा सीमित गर्ने प्रयासमा सबै राष्ट्र एकजुट हुनु जरुरी छ। यसलाई हासिल गर्न विश्वले स्वच्छ तथा दिगो ऊर्जा स्रोत अवलम्बन गरी कार्बन उत्सर्जनमा कमी ल्याउने कार्यलाई प्राथमिकता दिनु आवश्यक छ,’ उनले भने।

जलवायु परिवर्तनका कारण केही समयअघि थामेमा भएको हिमताल विस्फोट र काठमाडौँलगायत क्षेत्रमा आएको बाढीका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइने मन्त्री ठकुरीले जानकारी दिए।

‘जलवायु परिवर्तनले निम्तिाएका संकट आज समग्र विश्वका लागि गम्भीर चुनौतीका रुपमा देखिएको छ। यससँग जुध्न कुनै एक देश वा समुदायमात्र नभई विश्व जगत एकजुट हुनु जरुरी छ। नेपालले विश्व मञ्चमा जलवायु परिवर्तनको समस्या समाधान गर्न नेतृत्वदायी भूमिका लिइरहेको छ र आगामी दिनमा पनि समन्वय र सहकार्य गर्नेछ,’ उनले भने।

सन् १९९२ को जलवायु परिवर्तन महासन्धी र सन् २०१५ को पेरिस सम्झौता अनुमोदन गर्नुका साथै नेपालले आफ्नो प्रतिबद्धता पूरा गर्दै आएको भन्दै मन्त्री ठकुरीले नेपालले विसं २०५० सम्म कार्यान्वयन गर्ने राष्ट्रिय अनुकूलन कार्यक्रम तयार पारी कार्यान्वयन गरिरहेको जानकारी दिए।

विद्युतीय सवारी प्रवर्द्धन तथा स्थानीयस्तरमा जलवायु परिवर्तन अनुकूलनका क्षेत्रमा नेपालले हासिल गरेको उपलब्धिलाई विश्वले प्रशंसा गरेको उनले उल्लेख गरे।

मन्त्री ठकुरीले जलवायु परिवर्तनका कारण खानेपानीका स्रोत सुकिरहेको, कृषि र बाली उब्जनी घटिरहेको, हिमाली क्षेत्रमा हिउँ पर्नेक्रम घटेको, बाढीपहिरोलगायत जलवायुजन्य विपत्तिहरुले निरन्तर पु¥याइरहेको क्षतिकाबारेमा सम्बन्धित जिल्लाका जनप्रतिनिधि, स्थानीय, विज्ञ तथा सञ्चारकर्मीले जानकारी गराइरहेको बताए।

‘खेतीपाती र खाद्यसुरक्षा, पानीको स्रोत, पर्यटन, स्वास्थ्यलगायत समग्र अर्थतन्त्रमा यसका दुष्परिणाम देखिन थालेका छन्। त्यसैले, जलवायु परिवर्तनको समाधानका लागि एकजुट भएर सबैले सहकार्य गर्न आवश्यक छ,’ उनले भने।

सन् २०१५ मा भएको पेरिस सम्झौतासँगै विश्वले जलवायु परिवर्तनका विरुद्ध एकत्रित प्रयास गर्न एक साझा प्रतिबद्घताका साथ अघि बढेको बताउँदै मन्त्री ठकुरीले यो सम्झौताले विकासशील र विकसित देशबीच सहकार्य गर्दै समस्या समधान गर्न प्रोत्साहित गर्ने उल्लेख गरे। हाम्राजस्ता देशका लागि जलवायु परिवर्तनका प्रभाव गम्भीर बनेका बताउँदै सीमित स्रोत र साधनले यो समस्यासँग जुध्न नसकिने भएकाले बहुपक्षीय प्रक्रियामा सहभागी हुनु अत्यन्त महत्वपूर्ण रहेको उनले बताए।

लिग टूको अमेरिका सिरिजका लागि नेपाली टोली घोषणा

१० कात्तिक, काठमाडौं । नेपाल, अमेरिका र स्कटल्याण्डबीच अमेरिकमा हुने आईसीसी विश्वकप लिग टु सिरिजका लागि नेपाली टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले शनिबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

यसअघि अमेरिका विरुद्ध टी-२० सिरिज नखेलेका सन्दीप लामिछाने टिममा समावेश भएका छन् । सागर ढकाल र देव खनाल रिजर्भमा छन् ।

लिग टु मा नेपालले पहिलो खेल आइतबार घरेलु टोली अमेरिकासँग खेल्नेछ ।

रुसी सम्पत्तिबाट युक्रेनलाई ५० अर्ब डलर ऋण दिने जी७ को अन्तिम निर्णय

एजेन्सी । संसारका सबैभन्दा धनी राष्ट्रको समूह जी७ का नेताहरूले रोक्का राखिएको रूसी सम्पत्तिबाट भएको नाफाबाट कियभलाई सहयोगस्वरुप ५० अर्ब डलर दिने अन्तिम निर्णय गरेको एक विज्ञप्तीमार्फत शुक्रबार घोषणा गरेका छन्।

सात धनी प्रजातान्त्रिक समूहका नेताहरूले यस वर्षको अन्त्यसम्ममा ऋण वितरण सुरु गर्ने लक्ष्यका साथ लगभग ५० अर्ब डलर ऋण कसरी वितरण गर्ने भन्ने कुरामा सहमति भएको बताएका छन्। 

‘क्रेनको बजेट, सैन्य र पुनर्निर्माणलाई सहयोग गर्न धेरै च्यानलमार्फत ऋण वितरण गरिनेछ’, जी७ नेताहरूले बताएका छन्।

अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैङ्कले आयोजना गरेको बैठकका लागि यस हप्ता वासिङ्टनमा विश्व वित्तीय नेताहरू भेला भएपछि उनीहरूको यो घोषणा आएको हो। 

‘युक्रेनलाई आवश्यक पर्ने समर्थन दिने हाम्रो संकल्पबाट हामी पछि हट्ने छैनौँ’, समूहले प्रतिबद्धता जनाएको छ । 

उनीहरूले मस्कोलाई आफ्नो युद्ध अन्त्य गर्न र युक्रेनलाई भएको क्षतिको मूल्य चुकाउन पनि आह्वान गरेका छन्।  

कञ्चनपुरमा दम्पती हत्या: दुई दर्जन बढीसँग सोधपुछ, ‘सीडीआर’मार्फत पनि अनुसन्धान

कैलाली । कञ्चनपुरमा मृत अवस्थामा भेटिएका दम्पती हत्याको आशङ्कामा अनुसन्धान गरिरहेको प्रहरीले दुई दर्जन बढीलाई सोधपुछ गरेको छ । कञ्चनपुरको दक्षिणी क्षेत्र लालझाडी गाउँपालिका- १ बिनबारीका स्थानीय रमेश बडायक र उनकी श्रीमती कमला बडायकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।

प्रहरीले अहिलेसम्म घटनामा संलग्नहरूबारे कुनै तथ्य पत्ता लगाउन सकेको छैन । घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको भन्दै चाँडै घटनामा संलग्नहरू पक्राउ पर्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश रेग्मीले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म दुई दर्जन बढीलाई घटनाबारे सोधपुछ गरिसकेको छ ।

‘२५-२६ जनालाई घटनाबारे सोधपुछ गरिसकेका छौं । अहिलेसम्म त्यस्तो केही पत्ता लागेको छैन’, उनले भने, ‘हामी विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेका छौं ।’

दम्पतीले बिहीबारमात्रै बैंकबाट पैसा निकालेका थिए । प्रहरीका अनुसार हिजै रमेशले कैलाली र कञ्चनपुरबाट उखुको अनुदान रकम निकालेका थिए । सोही रकमका कारण दम्पतीको हत्या गरिएको हुनसक्ने अनुमान गरिएको थियो, तर उक्त रकम घरमै भेटिएको प्रहरीले जनाएको छ ।

पुरानो रिसइबीका कारण हत्या भएको हुनसक्नेतर्फ पनि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । मृतकको फोन प्रहरीले बरामद गरेको छ । सोही फोनको आधारमा रहेर पनि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी रवीन्द्र केसीले केही दिनभित्रै घटनामा संलग्न पक्राउ गर्नेगरी अनुसन्धान गरिरहेको बताए । उनले कल डिटेल रेकर्ड (सीडीआर)मार्फत समेत अनुसन्धान भइरहेको बताए ।

‘सीडीआरबाट पनि अनुसन्धान भइरहेको छ । घटनामा संलग्नहरू पक्राउ पर्छन्’, उनले भने, ‘अहिलेसम्म विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।’

प्रदेश प्रहरी कार्यालय धनगढीबाट दम्पती घटनाको सूक्ष्म अध्ययन गर्न कुकुरसहित प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेशराज जोशीको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएर अनुसन्धान गरिरहेको छ ।

कस्तो थियो घटनास्थल

कञ्चनपुर लालझाडी गाउँपालिका- १ बिनवारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाले नास्ता पसल चलाउँदै आएका थिए । गाउँको घरभन्दा झन्डै डेढ किलोमिटर टाढा सानो घरमा नास्ता पसल चलाउँदै आएका बडायक दम्पतीसँग राति ८ः३० बजेसम्म उनका छोरा पनि थिए । बुवासँग आफू रहँदासम्म केही नभएको, तर भोलिपल्ट एकै पटक बुवाआमाको शव देखेको छोराले प्रहरीलाई बयान दिएका छन् ।

‘गर्मीका कारण उनीहरू पसलकै बाहिर बरण्डामा सुत्ने गरेका थिए । एक्कासि घटना भएको देखिन्छ’, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘घटना प्रकृति हेर्दा पहिले श्रीमतीलाई हानेर श्रीमानमाथि आक्रमण भएको देखिन्छ ।’

कमलाको शव सुत्ने खाट नजिकै बरण्डामा रगताम्मे अवस्थामा थियो । रमेशको शव आँगनमा थियो । ढलेको थियो । टाउकोबाट अत्यधिक रगत बगेको थियो । दुवै जनाको अनुहार र टाउकोमा चोट रहेको र हत्या नै भएको घटनास्थलमा खटिएका एक प्रहरी अधिकृतले बताए ।

प्रहरी अधिकारीका अनुसार रमेशको चोट हेर्दा उनले आक्रमणकारीसँग केहीबेर प्रतिवाद गरेको देखिन्छ । प्रहरीले हत्या भएको आशङ्का गरे पनि हत्यामा प्रयोग भएका हतियारहरू अझै बरामद भएको छैन ।

‘हामीले आक्रमणपछि हतियार फाल्नसक्ने सम्भावित ठाउँहरू पनि हेरेका थियौं, तर कहीँकतै हतियार भेटिएको छैन’, प्रहरी अधिकारीले भने, ‘आक्रमणकारीले आफ्नो कुनै सुराक नछोडेका कारण कुकुरले पनि धेरै कुरा पत्ता लगाउन सकेन ।’

तालिमप्राप्त कुकुरको टोलीले केही पत्ता लगाउन नसकेपछि अहिले प्रहरी आफैंले शङ्कास्पद क्षेत्रहरूको खोजी बढाएको छ । भारत भाग्नसक्ने सम्भावना रहेको भन्दै नाकामा पनि सुरक्षा चेकजाँच कडा पारिएको छ ।

नाइजेरियाकाे आतंकवाद विरोधी अभियानमा १ सय ४० बन्दुकधारी मारिए

नाइजेरियाली सेनाहरूले गत हप्तामा देशभर आतंकवाद विरोधी अभियानहरूमा १ सय ४०संदिग्ध बन्दुकधारीहरू मारेको बताएको छ ।

सेनाका प्रवक्ता एडवर्ड बुबाले नाइजेरियाको राजधानी अबुजामा पत्रकारहरूलाई यस अवधिमा अन्य १३५ जनालाई सेनाले विभिन्न थिएटरमा पक्राउ गरेको बताए ।

कारबाही पछि उनीहरुको सैन्य क्षमता कमजोर भएको आफूहरुको बुझाइ रहेको बताए ।कुल ७६ बन्धकहरूलाई उनीहरूका अपहरणकर्ताहरूबाट मुक्त गरिएको थियो ।सेनाले २४१ विभिन्न हतियार र ३ हजार २५४ राउण्ड गोला बारुद पनि बरामद गरेको छ ।

सुडानमा मानवीय संकट बढ्दै गएको चेतावनी

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) र संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले लाखौँ मानिसहरूलाई तत्काल सहायता चाहिएको उल्लेख गर्दै सुडानमा मानवीय संकट निरन्तर बढ्दै गएको चेतावनी दिएका छन् ।

दुई एजेन्सीहरूले संयुक्त विज्ञप्ति मार्फत यस वर्ष पाँच वर्ष मुनिका ३७ लाख बालबालिका  कुपोषणको जोखिममा रहेको जनाउदै उनीहरुले पर्याप्त सहयोग सहायता प्राप्त नगरेमा रोगहरूबाट मर्ने सम्भावना ११ गुणाले बढ्ने चेतावनी दिएका छन् । 

उनीहरूले सबै प्रभावित समुदायहरूमा दिगो उपस्थिति राख्न अनुमतिसहित सहायता र प्राविधिक सहयोग प्रदान गर्न जिम्मेवार राष्ट्रसङ्घीय एजेन्सीको महत्वलाई जोड दिएका छन् ।

विशाल चुनौतीहरूको बावजुद, युएनएचसीआर र युनिसेफले सुडानका प्रभावितलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धतालाई नवीकरण गरी आपतकालीन आश्रय र पानी , शिक्षा, स्वास्थ्य सेवा र मनोसामाजिक समर्थनलगायतका आधारभूत सेवाहरू प्रदान गरिरहेका छन् ।

सन् २०२३ अप्रिल १५ मा सुरु भएको सुडानको द्वन्द्वले आन्तरिक वा वाह्य रुपमा एक करोड दश लाख भन्दा बढी मानिसहरूलाई विस्थापित गरेको छ भने लाखौँलाई भोकमरीको सँघारमा धकेलेको  जसमा आधिकांश  महिला तथा बालबालिका रहेका छन् ।

अस्ट्रेलियामा उडिरहेका दुई विमान ठोक्किएर खसे

काठमाडौं । अस्ट्रेलियाको  सिड्नीदेखि दक्षिणपश्चिम क्षेत्र शनिबार दुईवटा हल्का विमान आपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबार बिहान भएको विमान दुर्घटनामा तीन जना अपरिचित व्यक्तिको मृत्यु भएको पुष्टि प्रहरीले गरेको छ ।  उनीहरूको पहिचान पत्ता लगाउने प्रयास भइरहेको बताइएको छ । एजेन्सी

खोज्नुहोस