अमेरिकाको विस्कान्सनमा देउसी भैलो खेलिने

द एभरेष्ट पोष्ट
१५ कार्तिक २०८१ १:३१
अमेरिकाको विस्कान्सनमा देउसी भैलो खेलिने

यज्ञराज जोशी, विस्कान्सन ।

अमेरिकाको विस्कान्सन राज्यमा देउसी/भैलो कार्यक्रमको आयोजना हुने भएको छ ।

हिन्दु नेपालीहरुको ठूलो पर्व तिहारमा खेलिने देउसी भैलो अमेरिकामा पनि स्थानीय नेपालीहरुले आयोजना गर्ने भएका हुन् ।

“पारिवारिक देउसी भैलो” यही नोभेम्बर २ तारिख शनिबारका दिन सिवाइगनस्थित 4604 S Business Dr मा हुने भएको छ । साँझ ५ बजेदेखि सुरु हुने देउसी भैलोमा सपरिवारको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

विस्कान्सन राज्यमा २ सय परिवारभन्दा बढी नेपालीहरु रहेका छन् । अमेरिकामै जन्मिएका तथा पछिल्लो दोस्रो पुस्तालाई आफ्ना परम्परा संस्कृतिसँग घुलमिल गराउँन वर्षेनी यस खाले कार्यक्रम आयोजना गरिएको स्थानियहरुले जनाएका छन् ।

यस पटकको भाइटिका भने नेपाली पात्रो अनुसार नोभेम्बर ३ तारिखका दिन परेको छ । हिन्दु धर्मावलम्बीहरूको दसैँ पछिको सबैभन्दा ठूलो पर्व तिहारमा देउसी भैलो खेलिन्छ । यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ।

पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । देउसी भैलो समुहमा मिलेर गाइन्छ । यसमा मानिसहरु जम्मा भएर आफ्नो छिमेकीहरूको घर घरमा गएर गीत गाउँछन । टोली नाइकेले लय हालेर भट्टयाउने गर्छन् भन् सहभागीहरूले देउसी रे घन्काउँदै सामूहिक रूपमा नाँच्ने चलन पनि छ ।

देउसी खेल्ने क्रममा छिमेकीहरुले दक्षिणा तथा मिठामिठा परिकार दिन्छन् । अयोध्यावासीहरूले आफ्ना परम प्रिय राजा भगवान रामचन्द्रको आगमनमा खुसीयालीमा सबैभन्दा पहिले देउसी मनाएको मानिन्छ । श्रीरामको स्वागतमा अयोध्यावासीहरूले घिउका दियाहरू बालेका थिए । कार्तिक मासको बाक्लो कालो अमावस्याको त्यो रात्रि दियाहरूको उज्यालोले जगमगाएको थियो । मानिसहरूले घर-घरमा, गल्ली-गल्लीमा “देव श्रीराम” (हाम्रा राम देउता हुन्)को नारा लाउँदै घुमेको विश्वास गरिन्छ । देव श्रीरामबाट विकृत हुँदै “देउसिरी राम, देउसिरे ,देउसी” भएको अनुमान गरिन्छ सोही परम्पराको निरन्तरता स्वरुप आजसम्म पनि यो चलन मान्दै आइएको छ ।

देउसीसँग जोडिएको अर्को कथा पनि छ । एक जना बलि भन्ने राजा पृथ्वीमा राज्य गर्थे, उनी अति नैं दानी थिए, प्रत्येक दिन दान नगरी उनी केही खादैन थिए । यस पुण्यको प्रतापले स्वर्गादी लोकहरू हल्लिन थाले र देवताहरूले भगवान् विष्णुको प्रार्थना गरे जसमा विष्णुले बलिलाई दमन गरी पाताल पुर्याउने आश्वासन दिए । त्यसपछि बाह्मणको रुप लिएर बलिलाई छल्न विष्णु त्यहाँ गए र तीन पाउ जमिन दानको याचना गरे यसमा बलिले सोचे यो ब्राह्मण त्यसै सानो छ र यसका पाउहरू पनि अति साना छन् र यसले अति थोरै जमिन माग्यो सोचे । तर बलिले दान संकल्प के सकेका थिए ब्राह्मणको रुप विराट भयो र एउटै पाउले समस्त पृथ्वी ढाकिदियो र अर्को पाउले आकाश त्यस पछि तेस्रो पाउ भरिको जमिन कहाँबाट दिने भनी बलि अन्योलमा परे र उनले आफ्नो टाउको थापे, शिरमा विष्णुको पाउ पर्ना साथ बलि भासिएर पाताल पुगे, अन्त्यमा विष्णुसित उनले प्रार्थना गरे कि उनलाई वर्षमा एक पल्ट तिहारको बेला पृथ्वी घुम्ने अवसर दिइयोस्, यस प्रार्थनालाई स्वीकारेर बलिलाई वर्षमा एकपल्ट आउने अनुमति दिए । राजा बलि यहि तिहारको मौकामा घुम्न आउँछन् भन्ने विश्वास गरी बलिको स्वागतमा दीप जलाइएको भन्ने पनि भनाई छ । सोहीकारण देउसेहरू बलि राजा आउन नभ्याएको र उनीहरूलाई बलिले पठाएको भनी देउसी भट्याउनेले भन्छन् ।

देउसी रे गीत

आहै भन मेरा भाई हो देउसी रे

आहै राम्ररी भन देउसी रे

आहै स्वर मिलाई भन देउसी रे

आहै झिलिमिली झिलिमिली देउसी रे

आहै के को झिलिमिली देउसी रे

आहै बत्तीको झिलिमिली देउसी रे

आहै फूलको झिलिमिली देउसी रे

आहै राम्ररी भन देउसी रे

ए रातो माटो देउसी रे

चिप्लो बाटो देउसी रे

आहै लड्दै पड्दै देउसी रे

ए आएका हामी देउसी रे

देउसी रे खेल्न देउसी रे

आहै झिलिमिली झिल्ला देउसी रे

आहै तातो रोटी मिल्ला देउसी रे

आहै हामी त्यसै देउसी रे

आएका हैनौ देउसी रे

बलिमा राजा देउसी रे

हुकुमले गर्दा देउसी रे

आएका हामी देउसी रे

आहै भन मेरा भाई हो देउसी रे

आहै राम्ररी भन देउसी रे

आहै स्वर मिलाई भन देउसी रे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस